कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धर्का, खम्बा र सिमाना क्षेत्र

धर्का र खाँबोदेखि अलिक पर गएर, भारत र छिमेकी राष्ट्रहरूले सिमाना क्षेत्रको बीजारोपण गर्नुपर्छ । यसो हुँदा समाज–समुदाय–राष्ट्र मात्रै नफस्टाएर, पर्यावरण–प्राकृतिक सम्पदाको पनि सुरक्षा हुन्छ, युद्ध र सुरक्षामा लाग्ने धन–सामग्री–खर्चलाई अन्य बुनियादी विकासमा लगाउन सकिन्छ र प्राकृतिक प्रकोप, महामारी आदिलाई संयुक्त रूपमा निमोठ्याउन पनि ।
महेन्द्र पी‍. लामा

भारतको छिमेकी राष्ट्रहरूसँगको सिमाना क्षेत्र रोचक, विचित्रको एवं अद्वितीय नै छ । सायद विश्वमा नै यस्ता विभिन्नताले परिपूर्ण सिमाना क्षेत्रहरू छैनन् । यसैले भारतलाई सिमाना व्यवस्थापनको एउटा प्रयोगशाला नै मानिन्छ ।

धर्का, खम्बा र सिमाना क्षेत्र

धेरै राष्ट्रहरूले भारतले अपनाएका मोडलसम्म पनि लिने प्रयास गर्छन् । भारतको १५१०६.७ किलोमिटर भू–सिमाना छ भने ७५१६.६ किलोमिटर समुद्र तटको सिमाना छ । मोठ २९ वटा राज्य–प्रान्तहरूमा १७ राज्यहरू अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका छन् । सातवटा अन्तर्राष्ट्रिय सिमाना भएका भारतको बंगलादेशसँगको सिमाना ४०७६.७ किलोमिटर, सबैभन्दा लामो र अफगानिस्तानसँगको १०६ किलोमिटर सबैभन्दा छोटो छ । चीनसँग ३४८८ किलोमिटर, पाकिस्तानसँग ३३२३ किलोमिटर, नेपालसँग १७५१ किलोमिटर, म्यानमारसँग १६४३ किलोमिटर अनि भोटाङसँग ६९९ किलोमिटरको लामो सिमाना भारतले छिमेकी राष्ट्रहरूसँग साझा गर्दछ ।

भारतका विभिन्न राज्यहरूले छिमेकी राष्ट्रहरूसँग कसरी सिमाना साझा गरेका छन् भन्ने अरू अत्यन्तै चाखलाग्दा र घतलाग्दा कुराहरू छन् । पाँचवटा राज्य तीन–तीनवटा छिमेकी राष्ट्रहरूसँग सिमाना साझा गरेर बसेका छन् । जम्मु–कश्मीरले चीनसँग १५९७ किलोमिटर, पाकिस्तानसँग १२२५ किलोमिटर अनि अफगानिस्तानसँग १०६ किलोमिटर सिमाना साझा गरेको छ भने, सिक्किमले चीनसँग २२० किलोमिटर, भोटाङसँग ३२ किलोमिटर अनि नेपालसँग ९९ किलोमिटर; अरुणाचल प्रदेशले चीनसँग ११२६ किलोमिटर, म्यानमारसँग ५२० किलोमिटर अनि भोटाङसँग २१७ किलोमिटर अनि पश्चिम बंगालले नेपालसँग १०० किलोमिटर, भोटाङसँग १८३ किलोमिटर र बंगलादेशसँग २२१६ किलोमिटर सिमाना साझा गरेका छन् । यसरी नै आसामले भोटाङसँग २६७ किलोमिटर र बंगलादेशसँग २६३ किलोमिटर अनि मिजोराम राज्यले म्यानमारसँग ५१० किलोमिटर र बंगलादेशसँग ३१८ किलोमिटर सिमाना साझा गरेका छन् ।

भारतका यी सात छिमेकी राष्ट्रहरूसँग रहेका सिमानाका आ–आफ्ना विशेषताहरू छन् । भूगोल–इतिहास–राजनीति–सार्वभौमिकता र सम्झौताहरूका कारणले कुनै पनि सिमाना क्षेत्रका रूपरेखा–व्यवस्थापन–समस्याहरू एकै प्रकारका वा मिल्दाजुल्दा छैनन् । बंगलादेश र पाकिस्तान सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि एउटा सग्लो–सुगठित रूपमा रहेको भारतकै अंग थिए । स्वतन्त्र हुनुअघि भारत र पाकिस्तानलाई विभाजन गराइएपछि हिजोसम्म एउटै–सग्लै रहेकोलाई सिरिल र्‍याडक्लीफ, एक कानुनविद्ले धर्कैधर्का-रेखैरेखा कोरेर यी दुई राष्ट्रहरू बनाए । त्यो पनि धर्मको नाममा । त्यति मात्रै कहाँ हो र ! यता पश्चिमतिर पश्चिमी पाकिस्तान अनि पूर्वतिर पूर्वी पाकिस्तान । पश्चिमतिर उर्दूभाषी र पूर्वतिर बंगालीभाषी, धर्म एउटै भए पनि । पश्चिमबाट पूर्व कसरी जाने भन्ने कुरोको भने र्‍याडक्लिफले ध्यानै दिएनन् । रेलको बाटो, बिजुलीको तार, संघसंस्था, शैक्षिक–स्वास्थ्य–कानुन–प्रशासन व्यवस्था, संस्कृति र इतिहास, पर्यावरण र प्राकृतिक संशाधन, राजनीति र सैन्यशक्ति एउटै धर्का कोराइले स्वाहा बनाइए । हिजो एउटै थियो, आज दुई टुक्रा पारेरै गए अंग्रेज उपनिवेशवादका जण्ड झाँक्रीहरूले । ‘हामीलाई खेद्ने, जरैबाट उखेलेर फ्याक्ने र डाँडै कटाइदिने’ लाई टुक्रा–टुक्रा बनाएर नै जान्छौं भनेर भुकभुक उज्यालो हुँदा अललिएका अंग्रेज उपनिवेशवादका भूत–प्रेतले दक्षिण एसियालाई एउटै बनावटी धर्का कोरेर लथालिंगै पारिदिए । यही बनावटी कोराइले पाकिस्तानमा अर्को उखारमाउलो ल्यायो, पूर्वी पाकिस्तान फेरि दोस्रो पटक स्वाधीन भएर छुट्टिएपछि बंगलादेश बन्यो ।

पहाड, कन्दरा, इतिहास, संस्कृति, भाषा–समुदाय, खोला–नाला, वन–जंगल केही राम्रो बुझ्नु त परै जाओस्, नदेखीकनै अंग्रेज शासन अन्तर्गत रहेका विदेश सचिव हेनरी म्याकमोहनले भारत र चीनबीच अर्को धर्का कोरिदिए । भारत–तिब्बतको गहिरो पारम्परिक एवं व्यापक ऐतिहासिक सम्बन्धलाई धर्काले नै छिया–छिया बनाइदिए । उता अफगानिस्तान र पाकिस्तानबीच यस्तै ब्रिटिस सरकारका सचिव मोटिमर डुरान्डले धर्कै कोरेर अलगअलग बनाइदिए । आधा पस्तुनहरू उता आधा यता, बलुचको पनि त्यही हालत, सबैलाई छरपस्टै बनाइदिए । अंग्रेजको उपनिवेशवादभित्रका भालेमुंग्रे र साँपहरूले भारत–नेपाल, भारत–भोटाङ, भोटाङ–तिब्बत, नेपाल–तिब्बत, म्यानमार–चीन, म्यानमार–भारत सबैका धर्काहरू अध्ययन नै नगरी, विज्ञान र भूगोलको काँटाहरू नचलाई र संस्कृति–सभ्यता–प्राकृतिक संसाधन र समुदायलाई ध्यानमा नराखी कोरेपछि आज पनि दक्षिण एसियाका राष्ट्रहरू शान्तिमय वातावरणमा वसुधैव कुटुम्बकमको सिद्धान्तमा बस्नै सक्तैनन् ।

यी धर्काहरूले कहाँ–कस्तो–कसरी–किन प्रभाव पार्‍यो भन्ने कुरोमा यथेष्ट–मनग्गे अध्ययनहरू गरिए, रिपोर्टहरू लेखिए । धर्काले युद्ध ल्यायो, भीषण रूपमा मारामारी भयो; लाखौंको संख्यामा शरणार्थी जन्मायो । एउटै समुदायलाई सिमाना वल्लो–पल्लोपट्टि पारियो; प्राकृतिक संशाधनहरू बाँडिए–लेटिए–ध्वंस भए; साम्प्रदायिक विभाजले जरै गाडे, गरिबी–विषमता अझै फैलिए, बजार–व्यवस्था साँघुरिए, जातपातको भेदभाव अझै चर्किए, विश्व मञ्चमा पनि यी राष्ट्रहरू एकार्कामा लड्न थाले । धर्काले ठूलो राष्ट्र, धनी राष्ट्र, राजनीतिक प्रणाली र निकै गहिरै रूपमा सार्वभौमिकताको प्रश्नहरू अघि ल्यायो । हिजो गाडी जान्थे, रेलले डाँडै काट्थे, पर्यावरणका असीमित फाइदाहरू देखिन्थे, व्यापार–वाणिज्य–उद्योग धन्दा–शिक्षा–स्वास्थ्य एकत्रित–व्यापक थिए; आज घटेर सिमानामा हाटबजारका लागि पनि दुई राष्ट्रबीच सम्झौता गर्नुपर्ने भयो । हिजो पर्वतमालाको उद्गमस्थलमा सुरु भएका नदीहरू समुद्रसम्म पुग्नुअघि नै ‘यो मेरो– त्यो तेरो’ भन्ने स्थितिमा पुगेपछि, पानी सुक्दै गएपछि, आज पानी–युद्ध पनि होला कि भन्ने आशंका जाग्न थाल्यो । त्यति मात्रै कहाँ हो र, यही धर्काले ल्याएको दुश्मनी, लुछाचुँडी र अस्थिरताले अर्को देशमा आधिपत्य जमाउने भयंकर शृंखला सुरु भयो । देश–देशहरू झुन्डझुन्डमा बाँडिन थाले । हजारौं किलोमिटर दूर रहेका राष्ट्रहरू देउसी खेल्न हरेकको घर आँगनमा पुगे ।

आज भारतसँगको छिमेकी राष्ट्रका सिमानाहरू भिन्नाभिन्नै बनावटी–सञ्चालन आदिमा आधारित छन् । भारत र नेपालको सिमाना क्षेत्र खुला छ; मानव–समूह, वस्तु–व्यापार आदिको खुला आवतजावत छ । अंग्रेजका भारत र तिनताका नेपालका राणा शासनको सन् १९२३ मा भएको सम्झौतालाई नै कायम राख्तै, सन् १९५० मा स्वतन्त्र भारत र राणा शासनबीच शान्ति–मैत्री सन्धि भएपछि सीमा–सिमाना व्यवस्था पहिल्यै जस्तो चली नै रह्यो । यसरी भारत–भोटाङबीच पनि सन् १९४९ मा सन्धि भएपछि, खुला आदानप्रदान अघि नै रह्यो । यी दुई प्रकारका सिमाना–सञ्चालन अद्वितीय नै छन् । यसबाट तीनैवटा राष्ट्रहरूले फाइदा पाएका छन्, आ–आफ्नै तरिकाले । भारतको आर्थिक सहयोगले प्रथम पटक सुरु गरिएका विकास, संस्था, मानव संसाधन आदिले नेपाल–भोटाङलाई धेरै माथि नै पुर्‍यायो । अर्कोतिर कम रोजगारीका अवसर भएका बिहार–उत्तर प्रदेशकाहरू नेपाल पसे अनि नेपालीहरू बंग्लोर, दिल्ली, कलकत्ता, बम्बईदेखि गोआ र त्रिवेन्द्रमसम्म पुगे । खम्बैखम्बाले छुट्याइएका छन् यी सिमानाहरू । पैले बाढीले खम्बा बगाए, अर्को खम्बा गाडिने प्रक्रिया जारी छ । उता भोटाङमा आवत–जावतमा खुलै सिमाना भए पनि निकै कठिनाइहरू देखा पर्दै छन् । गेलुफु–कोक्राझार, सामड्रुपजोङ्खार–दरंगा, फुन्टसोलिङ–जय गाउँमा भोटाङ छिर्ने द्वारमा कागज–पत्र आदि मात्रै देखाउन नपरेर भित्र छिर्ने शुल्क पनि दिनुपर्ने भयो ।

भारत–बंगलादेश सिमानामा अधिकांश धर्कामा काँडेतार लगाएर बारबेर गरिएको भए तापनि धेरै सिमाना क्षेत्रमा सहजै आवतजावत गर्न सकिन्छ । त्यति लामो सिमानामा आज पनि मेघालयसँगको जोडिएको सीमाक्षेत्र दाउकीमा भुजा, चना–झालमुरीवाला सिमाना भएर उभिएका हुन्छन् । मुरीवालाको पछि उभिए बंगलादेश अनि अघि उभिए भारत । यो अर्को अचम्मको सिमाना क्षेत्र हो ।

अझै भिन्नै प्रकारको सिमाना हो म्यानमार (बर्मा) र भारतको । न काँडेतार, न पर्खाल, न खुला सीमा । मिजोरम, मणिपुर, नागाल्यान्ड र अरुणाचल प्रदेशसँग जोडिएका प्रवेशद्वारहरू छन् । अरू रहेका लामो सिमाना क्षेत्रमा बोर्डर खाँबा गाडिएका छन् । सन् १८२६ मा भएको यानडाबु सन्धिपछि सन् १९६९ मा भारत–बर्माबीचको सिमाना सम्झौता मात्रै हो, यस सिमानालाई परिचालन गर्ने । यति लामो १६४३ किलोमिटरको सिमानामा केवल १८६ वटा खाँबा गाडिएका छन् । यतापटि मिजो–मणिपुरी–नागा–अरुणाचली उतापट्टि बर्माका सिमाना क्षेत्रहरूमा पनि उनीहरू नै । र नै सरकारले बनाएको प्रवेशद्वारभन्दा पनि बढी संख्यामा समाज–समुदायले चलाएको आवत–जावत गर्ने ढोका–द्वारहरू छन् । सुरक्षाकर्मीहरू पनि सामाजिक आदान–प्रदान र मैत्रीभाव देखेर अचम्मै मान्छन् । यही कारण, भारत–बर्मा सरकारले सन् २०१८ मा दुई राष्ट्रका मानिसहरू एकार्काको सिमानाको १६ किलोमिटरभित्र २४ घण्टाको निम्ति प्रवेश गर्न सक्छन् भन्ने सम्झौता नै गरे ।

ठीक उल्टो, भारत–पाकिस्तान सिमाना क्षेत्रमा घना रूपमा काँडेतार–पर्खाल बनाइएको छ । आवत–जावतको नामोनिसान हुँदैन । आतंकवादीहरू सुरुङ खनेर पस्छन् कहिलेकाहीँ, सुरक्षाकर्मीहरू २४ घण्टा नै आँखाका नानीहरू ट्वालट्वाल पार्दै घुमिरहन्छन् । हम्मेहम्मे पर्ने स्थिति छ सदैव यो सिमानामा । उता भारत र चीनको सिमाना क्षेत्र अझै साह्रै भिन्न । लाइन अफ एक्चुअल कन्ट्रोल अन्तर्गत भारतले आफ्नो सिमाना तोकेको छ त चीनले पनि आफ्नै । तर कुन कसको सिमाना भन्ने निर्दिष्ट कुरो भने वैज्ञानिक ढंगमा तोकिएको नै छैन । र नै चीनले अड्डा जमाउन खोज्छ भारतको सिमानामा पनि । आ–आफ्नो सिमानाभित्र बसिरहे भारत–चीनको सम्बन्धमा तिक्तता आउने नै थिएन । तर चीनको साउथ चाइना समुद्र, जापानको सेनकाकु टापु आदि स्थानहरूमा अड्डा जमाउने प्रवृत्तिले भारतसँग रहेको सिमानालाई पनि छुन्छ, तब भारत रिसले चुर हुनु सामान्य हो । यस्तै भयो सन् २०२० मा, र त्यसअघि पनि धेरै पटक । बाहिर नेतासँग अँगालो, भित्र सिमानामा अँगालो गर्ने चीनको दोगला नीतिमा यसर्थ विश्वका धेरै राष्ट्रहरू असन्तुष्ट छन् ।

सिमानामा धर्का र खम्बा भन्ने साथ राष्ट्र र सरकार जनतासमेत भावुक हुन्छन्, सतर्क बन्छन् र राष्ट्रहितको एजेन्डा ल्याउँछन् । ठूलो–सानो सबै राष्ट्रको सोच–गतिविधि विश्वभरि यस्तै हुन्छ । लक्ष्मणरेखा नै हुन् धर्का र खम्बा; कसैले अर्कोपट्टिबाट उल्लंघन गर्ना साथ राष्ट्रिय सुरक्षाका सैन्य दल आदि जुर्मुरिएर उठ्छन्, गोला–बारुद–ट्यांक र सबम्यारिन–मिसायलको कुरा गर्छन् । सुरक्षा दलको प्रशिक्षण नै यस्तै प्रकारले भएको हुन्छ । लक्ष्मणरेखा काट्नसाथ पड्काइहाल भन्ने मनोविज्ञानभित्रै जन्म लिएर–हुर्किएर–छिप्पिएका हुन्छन् यिनीहरू । तर भारतसँगको छिमेकी राष्ट्रहरूको सिमानामा कहिल्यै धर्का र खम्बा थिएन, यो त अंग्रेज उपनिवेशवादका कीटाणु–फट्यांग्राहरूले ल्याएर लादेका हुन् । यहाँ त सिमाना क्षेत्र थियो, राष्ट्रहरू सार्वभौमिक नै र बेग्लाबेग्लै भए तापनि । धर्का–खम्बा र लक्ष्मणरेखादेखि टाढा र भिन्नै यी सिमाना क्षेत्र (बोर्डर ल्यान्ड) मा संस्कृतिको आदानप्रदान हुन्थ्यो, खुला व्यापार वाणिज्य हुन्थ्यो, पर्यटक–तीर्थयात्रीहरू आउँथे–जान्थे, गाडी–बाहन–नौका–जहाज–रेल ढुक्कै दौडन्थे, मेरो खोला–तिम्रो नदी, हाम्रो जंगल–तिम्रो जडीबुटी कसैले भन्दैनथे, कृषक–धामी–झाँक्री–फेदाङ्बा–बोन्बो सबैले दसैं, इद, क्रिसमस, विहु र पोंगलसँगै मनाउँथे । राम–कृष्ण–बुद्ध–यिशु–गुरु गोविन्द–अल्लाह सबै सिमाना क्षेत्रमा बास लिन पुग्थे । अर्थात् राष्ट्र र सार्वभौमिकता, राष्ट्रहित र स्वतन्त्रता सबैका थिए, र पनि सिमाना क्षेत्र एउटा खुला मैदान थियो, एउटा साझा मञ्च थियो र एउटा वसुधैव कुटुम्बकमको गाउँ–सहर नै थियो ।

यसर्थ आज पनि हरेक सीमा–सिमाना–भन्ज्याङमा सिमाना क्षेत्र बसाइनुपर्छ जसले उताका नागा र यताका नागा, उताका पन्जाबी र यताका पन्जाबी, उताका नेपाली र यताका नेपाली अनि उताका तिब्बती र यताका तिब्बतीलाई एउटा न्यानो, ताजा र मीठो सपना–विपनाहरू आदान–प्रदान गर्ने मौका दिन सक्छ । समुद्र तटका नजिक रहेका चीनको सेन्जेन र सांघाई, पाकिस्तानको कराँची, बंगलादेशको चिटागोंग, भारतको बम्बई–मद्रास–विशाखापटनममा स्पेसल इकोनमिक जोन (एसई) बनाएर व्यापक विकासको आधार निर्माण गरिन्छ भने, भू–जमिन क्षेत्रमा फ्रन्टियर इकोनमिक जोड (एफईजेट) बनाएर त्यहाँ पनि विकासको मूल फुटाउन सकिन्छ । यसर्थ धर्का र खाँबोदेखि अलिक पर गएर, भारत र छिमेकी राष्ट्रहरूले सिमाना क्षेत्रको बीजारोपण गर्नुपर्छ । यसो हुँदा समाज–समुदाय–राष्ट्र मात्रै नफस्टाएर, पर्यावरण–प्राकृतिक सम्पदाको पनि सुरक्षा हुन्छ, युद्ध र सुरक्षामा लाग्ने धन–सामग्री–खर्चलाई अन्य बुनियादी विकासमा लगाउन सकिन्छ र प्राकृतिक प्रकोप, महामारी आदिलाई संयुक्त रूपमा निमोठ्याउन सकिन्छ । किनकि अबउसो धर्का र खाँबोको वास्ता नै नगर्ने मौसम परिवर्तनले ल्याएको घटनाहरूले लछेप्रै पार्ने छ हामी सबैलाई ।

प्रकाशित : चैत्र २१, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?