कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पैदलयात्रीलाई सुरक्षा खोइ ?

‘हेर्नु न, यसरी गाडी राख्दा महानगरलाई केही भएको छैन, मैले आागनको यो कुनामा ठेला राखेर मकै उसिन्दा सडक अतिक्रमण भयो भन्दै मेरो ठेला लिएर गए । के भन्नू !’
रामेश्वरी पन्त

जब हरेक बिहान नुहाउँदै गर्दा घुँडाको खत देख्छु, गत मंसिर १ गतेको त्यो त्रासद घटना ताजा भएर आउँछ । घटना विवरण सुनिसकेपछि धेरैलाई लाग्न सक्छ- जाबो घुँडा ठोक्किएको रहेछ ! हो, त्यो दिन मेरो घुँडा ठोक्किएको हो तर त्यो ठोक्काइसँगैको परिवेश अकल्पनीय थियो ।

पैदलयात्रीलाई सुरक्षा खोइ ?

खाना खाईवरी भान्साको काम सकेर कान्तिपुर पब्लिकेसन्सको थापाथली कार्यालयतिर जान घरबाट निस्कें । मार्टिन चौतारीनेरको मोडदेखि प्रसूतिगृह नजिकको मोडसम्मै सडकको बायाँ साइडमा सधैंजसो लस्करै पार्किङ गरिने निजी कारहरूले त्यो दिन पनि त्यसरी नै लमतन्न परेर सडकको आधा भाग ओगटिरहेका थिए । बाँकी आधा भागमा आउने र जाने गाडीहरू मुश्किलले ओहोरदोहोर गरिरहेका थिए । पैदलयात्रुहरू कति बेला गाडीको चेपुवामा परिने हो भन्ने डराउँदै हिँड्नुपर्ने अवस्था हमेशा रहने त्यो भित्री तर अत्यन्त व्यस्त सडकमा यसै गरी त्रस्त हुँदै, हिँड्दै म प्रसूतिगृहभन्दा अलि वरको मोडमा पुग्नै लाग्दा अगाडिबाट एउटा कार हुइँकिएर आयो । सँगसँगै पछाडिबाट पनि अर्को कार त्यसरी नै आइरहेको थियो । तर्केर देब्रे साइड लागूँ, त्यता पनि गाडी ठडिएको थियो । सकेसम्म जोगिने कोसिसमा देब्रेतिर तर्किंदै थिएँ, अचानक मेरो देब्रे खुट्टा यस्तरी चिप्लियो कि म दाहिने घुँडाको भर परेर पछारिएँ । पछाडिबाट आएको गाडीले मलाई कसरी केही नगरी गयो, भन्न सक्दिनँ तर त्यसको कडा हम्काइले भने मेरो सातो लिएर गयो ।

एउटा खुट्टा चिप्लिएर तनक्क तन्किएको छ, अर्को घुँडा टेकेको अवस्थामा दुवै हातले टेकेर घोप्टिएको शरीरलाई एक छिन त उठ्न पनि सकस भयो । बल्लतल्ल उठेर आफू केमा चिप्लिएँ भनेर यताउता हेरें, म त गाडी छल्न खोज्दा केराको बोक्रामा पो चिप्लिएकी रहिछु । घुँडा असाध्यै दुख्यो, कपडा माथि सारेर हेरेको त दुई पत्र लुगाभित्रै भएर पनि रगताम्मे भएछ । तत्कालका लागि केरा खाएर बोक्रा बाटामा फाल्नेलाई मनमनै अपराधीको संज्ञा दिँदै र खुट्टा खोच्याउँदै कान्तिपुर पब्लिकेसन्ससम्म पुगें र जम्मा भएको लेखकस्व थापेर बल्लतल्ल घर फर्कें ।

करिब एक महिनासम्म घुँडाको दुखाइले हिँडडुल गर्न सकिनँ र आजसम्म पनि बेलाबेला त्यो सडकको पिचमा पछारिएर ठोक्किएको घुँडा दुखिरहन्छ । अनि जब त्यो बाटो आउजाउ गर्छु, मन त्यसैत्यसै त्रस्त हुन्छ ।

प्रसूतिगृहदेखि मार्टिन चौतारी मोडसम्म र त्यहाँबाट बबरमहल निस्कने बाटाको बीचबीचमा अनि यता बबरमहलको राधाकृष्ण चोकबाट (जुन बाटालाई अहिले राधाकृष्ण मार्ग नाम राखिएको छ) काठमाडौं डेरी हुँदै मूल सडकमा निस्कने भित्री बाटामा हमेशा निजी सवारीहरू पार्किङ गरिरहने हुँदा दोहोरो आवतजावत गर्ने सवारीबाट पैदलयात्रुले ज्यान जोगाएर हिँड्न मुश्किल परिरहन्छ । यो समस्यालाई लिएर तस्बिरसहित पटकपटक महानगरीय ट्राफिक कार्यालयलाई सूचित गर्दा पनि बेवास्ता भइरहेको हुनाले पैदलयात्रुले भोग्नुपरिरहेको जोखिमपूर्ण यात्राको समस्यालाई आज यसै लेखमार्फत सार्वजनिक रूपमा अभिव्यक्त गर्न बाध्य भएकी छु ।

स्थानीय निकायको चुनावलगत्तै बेजोड रूपमा उदाएका काठमाडौं महानगरका मेयर बालेन शाहको रापताप देख्दा अब पक्कै काठमाडौंका सडकहरूको समस्या हल हुने भयो भन्ने आशा जागेको थियो तर उनको अभियान दुई–चार दिनको तोडफोड र भत्काउमै सीमित भएर सेलायो । पछिल्ला दिनमा त ‘सबैका आशाका केन्द्र’ भएका मेयरसाबको उपस्थिति शून्यप्रायः भएको छ । ‘सडक सौन्दर्य’ लाई मूल मन्त्र बनाएको महानगरीय ट्राफिक प्रहरीले अझै पनि यदाकदा भित्री सडकको कुनामा ठेलामा मकै पोलेर हातमुख जोर्ने दुखियाहरूका ठेला समातेर लगेका खबर पढ्न, सुन्न र देख्न पाइन्छ तर तिनै सडक कब्जा गरेर दिनभर पार्किङ गरिरहेका निजी गाडीहरूमा उनीहरूको नजर पर्दैन, किन ? कि मैला र झुत्रेझाम्रे लुगा लगाएर ठेलामा मकै पोलेर जीविका चलाउनेले सडकको सौन्दर्य बिगार्ने र नयाँनयाँ र टिलिक्क टल्केका कारहरू सडकमा लमतन्न पार्किङ गरिएका दृश्यले सडकको सौन्दर्य बढ्ने हो ?

काठमाडौंका भित्री सडकहरू यसै त साँघुरा छन्, त्यसमाथि पनि पैदलयात्रुका लागि फुटपाथ त छँदै छैनन् भने पनि हुन्छ । भित्री सडकमा दोहोरो गाडी आउजाउ गर्न केही निजी घरका पर्खाल र भित्ताहरू कोपर्ने काम गरिए पनि ती साँघुरा सडकमा गाडी गुड्ने मात्र होइन, पैदलयात्रु पनि हिँड्ने गर्छन् भन्ने सोच सडक विभाग धानेकालाई आएको देखिँदैन । म बसोबास गरेको बबरमहल आसपासको क्षेत्रमा मात्र होइन, प्रायः भित्री सडकको हालत यस्तै फुटपाथबिनाको हुन सक्छ । त्यसमाथि बबरमहल क्षेत्र प्रमुख प्रशासनिक क्षेत्र मात्र नभएर अधिकांश कार्यालय यहीँ छन् । साथै न्यायालयहरू यहीँ र आसपास रहेकाले पनि यी कार्यालय/न्यायालयहरूमा आउनेहरूका निजी सवारीहरू दिनभरि नै निर्धक्कसँग सडकमा पार्किङ भइरहेका हुन्छन् । मेयर बालेनको प्रारम्भिक उत्साहमा मूल सडकको पार्किङ समस्या कति हल भयो थाहा छैन तर त्यहाँबाट लखेटिएका गाडीहरू भित्र छिर्नाले भित्री सडकको अवस्था झन् जोखिमपूर्ण भएको छ ।

आफू दुर्घटनामा परिसकेपछि मैले दुई पटकसम्म सडकको अवस्थाका तस्बिरसहित महानगरीय ट्राफिक प्रहरीको पेजमा समस्या अवगत गराएँ । पहिलो पटक त प्रमुख मीरा चौधरीले आश्वासन दिनुभएको थियो तर समस्या समाधान हुन सकेन । निजी गाडीहरू निर्धक्क पार्किङ भइरहे । बबरमहल वन परिसरको पछाडिको सडकमा पार्किङ भएर बचेको ठाउँबाट दोहोरो गाडी पास हुन पनि मुश्किल पर्छ । हिँडिरहेको अवस्थामा दुईतिरबाट गाडी आएमा म मात्र होइन, हरेक पैदलयात्रुले ज्यान जोगाउन मुश्किल पर्छ । हरेक पटक गाडीहरू पास भइसकेपछि ‘आजलाई ज्यान बच्यो’ भन्दै हिँड्नुपर्ने अवस्था छ । सम्बन्धित निकायलाई यो अवस्थाको जानकारी नभएको होइन तर यसरी सुनेको नसुन्यै र देखेको नदेख्यै गरिरहनुको भित्री अर्थ केही न केही त पक्कै हुनुपर्छ नै ।

केही दिनअघि यही सडकसँगै जोडिएको एउटा घरको आँगनको एउटा कुनामा सानो ठेला राखेर वर्षौंदेखि मकै उसिनेर गुजारा गर्दै आएकी एक दिदीले म ती गाडीहरू छेल्दै आइरहेको परैदेखि हेर्दै रहिछन् । म नजिक आएपछि भनिन्, ‘हेर्नु न, यसरी गाडी राख्दा महानगरलाई केही भएको छैन, मैले आँगनको यो कुनामा ठेला राखेर मकै उसिन्दा सडक अतिक्रमण भयो भन्दै मेरो ठेला लिएर गए । के भन्नू !’ उनको रुन्चे अनुहार त प्रतिनिधि अनुहार मात्र थियो, गरिबका हातमुख जोर्ने ठेला महानगरले उठाएपछि कैयौं अनुहार डाँको छोडेर रुँदै गरेका दृश्य छरपस्ट भएका थिए र छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने, महानगरको नियत गरिब ठेलावालालाई पेल्ने र सम्पन्न गाडीवालालाई सेक्ने रहेको छ । होइन भने यस क्षेत्रका सम्बन्धित कार्यालयका कर्मचारीहरू र ती कार्यालयमा आउने सेवाग्राहीहरूका गाडीहरू सम्बन्धित कार्यालयभित्रै पार्किङ गरिने व्यवस्था गर्न र कडा अनुगमन गर्न सम्बन्धित निकायको यथाशीघ्र ध्यान पुगोस् र पैदलयात्रुले निर्धक्क र भयरहित भएर हिँड्न पाऊन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?