२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

“बाथः प्याखँ” का तीन धूर्तहरू

युवराज भट्टराई

दाजु, समादाजु र बाथःकिजा । क्रमशः काठमाडौं, भक्तपुर र पाटन (ललितपुर) का तीन बाठा मानिसहरू । लोकनाटकका यी तीन पात्र पाटनको कृष्ण मन्दिरक्षेत्रको डबलीमा देखाइने कात्तिक नाचका अभिन्न हिस्सा हुन् ।

“बाथः प्याखँ” का तीन धूर्तहरू

नेपाल संवत् ७५४ मा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाचका दौरान यिनका छलकपट र ठगठागका कैयौं किस्सा ‘बाथः प्याखँ’ को स्वरूपमा हरेक साँझ देखाइने प्रचलन थियो । आजकल पनि तिनका चार प्रस्तुति अस्तित्वमा छन् ।

पाटनको बाथः प्याखँको पहिलो प्रस्तुति ‘छँ धाल खः’ (तैंले भनेको ठीक हो) मा यी तीन छट्टुले एकअर्काले भनेको कुरा पत्याउनैपर्ने सर्त तेर्स्याउँछन् । नपत्याएको खण्डमा विमति राख्नेले उल्टै नोकर बन्नुपर्ने हुन्छ । कान्तिपुरे गँदाजुले माकुराको जालले बुनेको बाटामा हात्तीघोडा दौडाएको गफ दिन्छ, बाँकी दुवैले पत्याइदिन्छन् । समादाजुले एउटा रायोको सागको पात बढेर भक्तपुर ढाकेको गफ दिन्छ, बाँकी दुवैले पत्याइदिन्छन् । नपत्याए नोकर बनिहालिन्छ । अन्ततः बाथःकिजाले आफू दुई नोकर लिएर आसामी उठाउन जाँदा नोकरहरू हराएको र आज भेट्टाएको भन्दै गँदाजु र समादाजुलाई नोकर बनाएर लैजान्छ । आखिर सर्त मुताबिक बाथःकिजाको कुरा नपत्याउने हो भने पनि गँदाजु र समादाजुले नोकर बन्नैपर्ने थियो ।

अर्को प्रहसनमा यी तीनमध्ये ‘को जेठो’ भन्ने होड चल्छ । छाती पिटीपिटी आफ्नो नाति मरेको ढोङ गर्दै त्यही नाटकीय अभिनयको सहारा लिएर बाथःकिजाले श्रीकृष्णको कचहरीबाट आफू जेठो भएको फैसला गराउँछ । सबैभन्दा मूर्ख को बन्ने भन्ने प्रतिस्पर्धा गर्न पनि यी छट्टुहरू पछि पर्दैनन् । यी तीन पात्रले अरूलाई पनि ठग्छन् । १२ दामको बाख्रो ६ दाममा किन्छन्, बाख्रा बेच्ने महिला ठगिएको थाहा पाएर डबलीमा पुग्दा यी ठगहरू पहिल्यै सुइँकुच्चा ठोकिसकेका हुन्छन् ।

श्रुति परम्पराबाट जन्मिएका हास्यरसप्रधान यस्ता लोकनाटक र प्रहसनमा ठगहरूको भूमिका विशिष्ट छ । ‘चोरमाथि चण्डाल’ भन्ने विषयमा बनेका हास्य–प्रहसन विश्वभर नै लोकप्रिय छन् ।

दुःखको कुरा, यस्ता पात्रहरूको भूमिका अब पाटनको डबलीमा मात्रै सीमित छैन । सत्ताप्राप्तिका लागि संसद्भित्र र बाहिर मुख्य राजनीतिक पात्रहरूले देखाइरहेको (अ)राजनीतिक प्रहसनले कात्तिक नाचका दौरान पाटनका डबलीमा देखाइने तीन छट्टुको प्रहसनलाई नै माथ खुवाइदिइसकेको छ । टीठलाग्दो त के छ भने, अझै यस्तै पात्रहरू राजनीतिक वृत्तमा जिउँदो–जाग्दो भएर उदाउँदै छन् ।

हाम्रा नेतात्रय

गँदाजु, समादाजु र बाथःकिजाले क्रमशः काठमाडौं, भक्तपुर र पाटनका धूर्त मानिसहरूको प्रतिनिधित्व गर्छन् । ठ्याक्कै यस्तै बसोबास छ हाम्रो नेतात्रयको । हाम्रा गँदाजु (शेरबहादुर देउवा) बस्छन् धुम्बाराही, काठमाडौंमा; समादाजु (केपी ओली) बालकोट, भक्तपुरमा र बाथःकिजा (पुष्पकमल दहाल) खुमलटार, ललितपुर) मा । हाम्रा गँदाजु, समादाजु र बाथःकिजाको प्रहसनस्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद्भवन हो ।

आ–आफ्ना स्वार्थअनुकूल हाम्रा नेतात्रय पनि एकअर्काका निवासतिर ओहोरदोहोर गरिरहन्छन् । छलछामको धन्दामा कहिले कसले कसलाई कसरी काखी च्याप्छन् अथवा कोखमा छुरा रोप्छन्, स्वयं यी तीन उस्तादहरूले समेत अनुमान लगाउन सक्दैनन् ।

सबैभन्दा चतुर वा धूर्त कहलिएर बाँकी दुईलाई पंगु बनाउँदै प्रधानमन्त्रीको कुर्सीमा कसरी आफू पुग्ने अनि अधिकतम समय कसरी त्यहाँ टिक्ने भन्ने नै यी तीन पात्रको एक मात्र ध्याउन्ने हुने गर्छ । वर्तमान नेपाली राजनीतिको मियोका रूपमा लिइने यिनीहरू मुलुकको सुदूरपूर्व, मध्य तथा सुदूरपश्चिमबाट निर्वाचित भएर आएका हुन् । अनि सिंगो मुलुक यिनका लागि खेलोफड्को र तिकडमबाजी गर्ने थलो हो भने राजनीति फगत एक तमासा ।

आफ्नो प्रहसन उनीहरू यति सपाट ढंगले गर्छन्, बुझ्नलाई कष्ट गरिरहनै पर्दैन । एक छिनलाई २०७४ को प्रादेशिक तथा संघीय निर्वाचनतिर फर्कौं । समादाजु (ओली) र बाथःकिजा (प्रचण्ड) पार्टी एकीकरण गर्दै चुनावी मैदानमा पसे । चुनाव आफैंमा हाम्रा नेताका लागि छलकपट र तिकडमबाजीको अर्को सुअवसर हो भने आम नागरिकका लागि एक रमिता । तर, त्यो आम निर्वाचन फगत रमिता बनेन, महोत्सवमा बदलियो ।

एकातिर, दुई भयानक बाठा मानिसहरूले एकता गरेका थिए; त्यसैले अस्थिर सरकारका कारण आजित बनेका नागरिकहरूले स्थिरताको आशा राखे । अर्कातिर, ‘समृद्ध नेपाल सुखी नेपाली’ को चास्नी नै देखाइदिइसकेपछि तिनमाथि विश्वास नगर्ने कुरै भएन । फलतः दुईतिहाइनिकट सरकारसहित समादाजु (ओली) प्रधानमन्त्री बन्न पुगे ।

उनले प्रधानमन्त्रीको कुर्सीबाट शृंखलाबद्ध रमिता मात्र देखाइरहे । कोभिड महामारीबीच सिंगो मुलुक समादाजुका तमासा टुलुटुलु हेर्न बाध्य भयो । जे होस्, सबैलाई थाहा थियो उनका यी गतिविधि अढाई–तीन वर्षका लागि मात्रै हुन् भनेर । त्यसपछि त चुनावी एकताको सर्त अनुसार, बाथःकिजा (प्रचण्ड) दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेवाला थिए ।

तर, समादाजुले प्रधानमन्त्रीको कुर्सी बाथःकिजालाई सुम्पन मानेनन् । परिणामस्वरूप, झन्डै दुईतिहाइवाला समादाजु अल्पमतमा परे, पार्टी टुक्रियो, रिसको झोंकमा समादाजुले संसदीय डबली नै भत्काउने कुचेष्टा गरे । मुलुकमा संवैधानिक संकट देखा पर्‍यो । बाथःकिजा (प्रचण्ड) अब गँदाजु (देउवा) र अन्यसँग मिल्न पुगे । अदालतले संसद् पुनःस्थापना गरिदिएपछि बाथःकिजाको साथ र सहयोगमा बालुवाटार डबलीमा पनि गँदाजुको प्रवेश भयो ।

सत्तामा गँदाजु र बाथःकिजा लगायतको गठबन्धन थियो । पछिल्लो आम निर्वाचन–२०७९ मा समेत यो गठबन्धन कायमै रह्यो । यो चुनावी गठबन्धनको आधार र एजेन्डा के थियो ? चित्तबुझ्दो जवाफ कतैबाट आएन । दुई–दुई पटक संसदीय डबली भत्काउने समादाजुलाई रोक्नकै लागि यो गठबन्धन बनेको थियो सायद ।

गँदाजु र बाथःकिजाको चुनावी तालमेलमा पहिलो आधा कार्यकाल बाथःकिजालाई प्रधानमन्त्री दिने सर्त थियो । सहमतिमा प्रधानमन्त्रीको प्रस्ताव लाने समयसीमा पुस १० सम्म तोकिएको थियो । गँदाजुले ओगटेको बालुवाटारमा गँदाजु र बाथःकिजाबीच प्रधानमन्त्रीका लागि रस्साकस्सी थियो । दुवैबीचको सहमति अनुसार, बाथःकिजा पहिलो आधा कार्यकालको हकदार थिए ।

तर, राजनीतिक प्रहसन उत्कर्षमा पुग्न बाँकी नै थियो । एकातिर, आसेपासेले गँदाजुलाई प्रधानमन्त्री छोड्नै नहुने दबाब दिइरहे, उता भक्तपुर (बालकोट) बाट समादाजुले फोनमै भावी प्रधानमन्त्री तपाईं नै हो र आफूले कुनै हालतमा बाथःकिजालाई समर्थन नगर्ने भन्दै अल्झाइरहे । बाथःकिजा जसरी पनि आफूतिरै फर्केर आइहाल्ने भ्रममा बालुवाटारमा गँदाजुले कुरिरहे । उता बालकोटमै बोलाएर समादाजुले बाथःकिजालाई प्रधानमन्त्री बनाइदिए । अहिले फेरि बाथःकिजाले समादाजुलाई जिल खुवाए ।

यी राजनीतिक घटनाक्रमहरू स्वयम् डबलीको प्रहसनभन्दा पनि बेजोड छन् । समादाजुले पहिल्यै पाँचौं शक्ति राप्रपा समाइहालेका थिए । त्यत्तिले मात्रै पनि भक्तपुरे समादाजु र ललितपुरे बाथःकिजाको पल्ला भारी हुने थिएन । त्यसका लागि बडो नाटकीय ढंगमा राजनीतिक डबलीमा आइपुगे अर्का पात्र- रवि दाजु । उनकै समर्थनमा अन्ततः बाथःकिजा प्रधानमन्त्रीका लागि सबैभन्दा योग्य पात्र दरिए ।

गँदाजु, समादाजु र बाथःकिजाले ओगटिरहेको यो राजनीतिक प्रहसनमा यी तीनमध्ये को ठूलो भन्ने निर्णय दिन अर्को चौथो पात्र चाहिएको थियो । जस्तो- पाटनको डबलीमा थिए भगवान् श्रीकृष्ण । अब यहाँ श्रीकृष्णको भूमिकामा रवि नै आइसकेपछि भने नेपाली राजनीतिको तमासा पनि चरमोत्कर्षमा पुग्यो ।

विश्वासको मत लिने क्रममा संसदीय डबलीमा पाटनको प्रहसनको ‘छँ धाल खः’ (तैंले भनेको ठीक हो) भन्ने प्रस्तुति पनि हुबहु भनेजसरी नै प्रदर्शन गरियो । सत्तामा सक्रिय सहभागिता अनि प्रादेशिक सरकार गठनका लागि समादाजुले बाथःकिजालाई विश्वासको मत दिए । नयाँ पात्र रविलाई पनि सत्ताको चास्नी चाख्नु थियो । त्यसैले उनीसहित सत्ता–समीकरणमा भाग लिने अन्यले पनि विश्वासको मत दिनु स्वाभाविक थियो । तर, सबैलाई आश्चर्यचकित तुल्याउँदै प्रतिपक्षका गँदाजुले समेत बाथःकिजालाई विश्वासको मत दिन पुगे, बाथःकिजालाई स्विकार्न पुगे ।

लोक नाटकमा जसरी ललितपुरे बाथःकिजाको कुरालाई ‘तैंले भनेको त ठीकै हो’ भनेर समर्थन गर्दा पनि गँदाजु र समादाजुले बाथःकिजाकै दास बन्ने स्थिति आउँछ, त्यसरी नै सबैका आ–आफ्ना राजनीतिक स्वार्थका कारण मन नलागे पनि बाथःकिजालाई प्रधानमन्त्रीमा विश्वासको मत दिन सबै बाध्य भए । अहिलेका लागि दुवै गँदाजु र समादाजु राष्ट्रपतिमा च्याँखे दाउ लगाइरहेका छन् । त्यसैले पनि सत्ता–प्रहसनको उत्कर्ष आगामी राष्ट्रपति निर्वाचनमा देखिने पक्कापक्की छ ।

गँदाजु, समादाजु र बाथःकिजालाई पनि माथ खुवाउने अराजनीतिक प्रहसनको खास विद्रूप दृश्य नयाँ राजनीतिक पात्र ‘रवि दाजु’ ले देखाइसकेका छन् । हाम्रा बाठा नेतात्रय रातारात राजनीतिक वृत्तमा उदाएका होइनन् । उनीहरू राजनीतिक रूपान्तरण र व्यवस्था परिवर्तनका ठूला संवाहक हुन् । उनीहरूकै योगदानका कारण मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा छ । उनीहरूले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण उनीहरूका कमजोरीमाथि खुलेर लेख्न, बोल्न र निर्धक्क प्रश्न गर्न सकिरहेका छौं ।

समस्या तिनको राजनीतिको मियो बनिरहने अभिलाषाले सिर्जेको थियो/छ । ‘पद्धति प्रमुख हो र व्यक्ति गौण’ भन्ने लोकतन्त्रको आधारभूत मान्यतालाई जुन दिन हामी स्थापित गर्न सक्छौं, त्यही विन्दुदेखि हाम्रा परम्परागत बाठा मानिसहरू राजनीतिबाट विस्थापित हुने क्रम सुरु हुनेछ र सँगै तिनीहरूको प्रहसन पनि ।

‘नो नट अगेन’ भन्दै निर्वाचनमा नयाँ शक्ति र व्यक्तिहरू उदाउनुको खास औचित्य पनि हाम्रा बाथः प्याखँको प्रहसनलाई राजनीतिबाट विस्थापन गर्नु नै थियो । तर, नयाँ दलका नयाँ पात्रले आफू दूधले नुहाएको दाबी गर्दागर्दै पनि समादाजु र बाथःकिजासँग कुम मिलाउँदै परम्परागत सत्ता–प्रहसनमा भाग लिन पुगे । अब उनी पनि सत्ता–समीकरणका अर्का धूर्त खेलाडी बनिसकेका थिए । जसै आफू उपप्रधान तथा गृहमन्त्रीबाट केही समयका लागि बाहिरिनुपर्‍यो, उनी असली स्वरूपमा प्रकट भए । उनमा धीरता, बुद्धि, विवेक, शालीनता र चेतनाजस्ता कुनै पनि नेतामा हुनुपर्ने कुनै गुण नभएको आफैंले पुष्टि गरिदिए । उनको उपस्थितिले राजनीतिक वृत्तका स्थापित बाठा नेताहरूलाई सुध्रन दबाब मिल्ला भन्ने झिनो आशामाथि नै तुषारपात भयो । राजनीतिलाई प्रहसनका रूपमा लिइरहने हाम्रा परम्परागत ‘कलाकार’ हरूको विकल्पमा उदाएका नयाँ पात्र हेर्दाहेर्दै मारुनी नाचको ढँटुवारेमा रूपान्तरित भए ।

र, यसो हुनु स्वाभाविक थियो । जुन दिनसम्म ‘लोकतन्त्र एउटा प्रणाली हो, व्यक्तिविशेष मसिहा होइन’ भन्ने हामी बुझ्दैनौं, त्यस दिनसम्म यस्तै धूर्त व्यक्तिहरूले मुलुकमा डबलीको (अ)राजनीतिक ‘बाथः प्याखँ’ प्रहसन गरिरहनेछन्, र तिनको विकल्पमा हामीले झन् सस्ता तमासा देखाउने रंगीबिरंगी ढँटुवारेहरू भेट्टाइरहनेछौं ।

प्रकाशित : फाल्गुन १६, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?