१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

पानीका स्रोतहरू र विकल्पले निम्त्याएको दूरी

भूमिका थापा

पानी मीठो मूलको भन्छन्,’ ‘साह्रै मीठो रैछ कुवाको पानी’ जस्ता सदाबहार गीतहरू सायद त्यसै सृजना भएका होइनन् । गाउँघरका कुनाकन्दराबाट रसाएर निस्किएका मूलको पानी सफा र मीठो हुनुको विशेषता जनजीवनले बुझेको छ ।

पानीका स्रोतहरू र विकल्पले निम्त्याएको दूरी

अझै पनि गाउँघरमा मुहानमै वा मुहानबाट बोकेर ल्याएको पानी खाएर तिर्खा मेटाउने पुस्ता भेटिनु नौलो भएन । तर, अहिलेको मान्छे र पानी मुहानबीचको सम्बन्ध केलाउने हो भने के पहिलेको जस्तै भेटिएला त ?

राति घरका गाग्री र करुवा रित्तो राख्नु हुँदैन भनेर साँझ परेपछि पँधेरामा गएर गाग्रीभरि पानी ल्याउने र रात बितेपछि बासी चल्दैन भनेर बेलुकी भरेको पानी सबै घोप्ट्याएर झिसमिसेमा फेरि भर्न जाने पहाडी ग्रामीण परम्परा अहिले कथाजस्तै सुनिन्छ । आगलागीका जोखिमबीच राति घरमा पानी हुनु वैज्ञानिक कारण पनि हुनुपर्छ भन्ने लख काट्न सकिन्छ । बिहान पानी पोख्दा घरवरपरको करेसाबारी सिञ्चित हुन्थ्यो होला । त्यो बेला बिहानबेलुका पानी भर्न जाँदा साथीसंगीसँग हुने संवाद, सुखदुःख र अन्य खबरको साटासाट सायद मुहान र मानिसबीचको आत्मीयता बढाउने बहाना थियो, जुन अहिले पनि कतिपय भेगमा छँदै छ ।

डेढ–दुई दशकअघिसम्म हिमाल, पहाड र तराईका ग्रामीण भेगहरूमा मानिसहरूसँग धेरै विकल्प थिएनन् । जहाँ पानीको दुःख हुन्थ्यो, त्यहाँ जीवन चलाउन वैज्ञानिक जुक्ति लगाइन्थे । चार महिना परेको पानीले नै बाँकी आठ महिना धान्नुपर्ने हुन्थ्यो । पानीबिना दैनिकी चल्ने कुरा भएन । करेसाबारीदेखि अन्न बालीको खेतीपातीसम्मका लागि सिँचाइ आवश्यक भएकाले पानीको जोहो र मुहान संरक्षणमा गाउँलेको गहन भूमिका हुन्थ्यो । ठाउँ–ठाउँमा आकासेपानी संकलनका लागि पोखरी, कुलेसा खनिन्थे । पोखरीले भूमिगत जलको पुनर्भरणमा खेल्ने भूमिकालाई बूढापाकाले बुझेका थिए ।

काठमाडौं उपत्यकामा ढुंगेधारा वा मुहानको तल बगेको पानी जम्मा गर्ने पोखरीहरू अनिवार्य हुन्थे । पानी संरक्षणको महत्त्वलाई बुझेरै होला, चाडपर्व मुहान, स्रोतमा मनाउने चलन चलाइएका । धर्मकर्म, चाडपर्वका लागि सफा, चोखो पानी चाहिन्छ । त्यसका लागि आफैंले स्रोत सफा राख्ने हेक्का गर्नुपर्छ । पानीको महत्त्व बुझेरै सिथि नखः, नाग पञ्चमी, छठ, तुलसीतारिणी एकादशीजस्ता पानीका स्रोत सफा गर्ने चाडपर्वहरूको सुरुआत गरेका थिए । तर, अहिलेका मानिसहरूसँग विकल्प धेरै छन् । गाउँघरमा अर्बौंका खानेपानी परियोजनाहरू पुगेका छन् । मुहान सुके पनि लिफ्टिङले खोलाको पानी घर–घरमा ल्याइदिन्छ, लिफ्ट सम्भव नभएका ठाउँमा बोरिङले पानी ल्याइदिन्छ । त्यो पनि सम्भव नभए टाढादेखिका मुहानहरूबाट पानी संकलन गरेर पहाडी सहरहरूको बढ्दो तिर्खा मेटाइन्छ । सहरी क्षेत्रमा ट्यांकर, जार वा बोतलको पानीको विकल्प पनि छ ।

के यी सबै दिगो विकल्प हुन् ? राम्रोसँग अध्ययन नगरी प्रयोगमा ल्याइएका विकल्पको आयु कति हुन्छ ? के यस्ता विकल्पहरूको जथाभावी प्रयोगले भविष्यमा हुने सकारात्मक र नकारात्मक पक्षको लेखाजोखा भएको छ ? यो हेर्ने जिम्मेवारी कसको हो ?

जमिनमा भएको पानीको पनि आफ्नै चक्र हुन्छ । एउटा मुहानबाट बगेको पानी जमिनमुनि छिरेर कहीँकतैबाट अर्को मुहानका रूपमा निस्किन्छ र त्यसले अर्को बस्तीका लागि स्रोतको काम गर्छ । तर, हामीले मुहानै थुनेर पाइपका माध्यमबाट घरघरै धारा लैजान थाल्यौं । यो प्रवृत्तिले सुक्दै गएका मुहान सुकाउन झनै सहयोग पुर्‍याएको छ । कतिपय ठाउँमा जथाभावी खनिएका बोरिङले जमिनमुनिको पानी (ग्राउन्ड वाटर) को मात्रा घटाएर वरिपरिका अरू मुहान सुकाएका छन् ।

यो प्रणालीको चक्र हाम्रो बस्ती विकाससँग प्रत्यक्ष जोडिएको छ । खेतीपाती हुने वा धाप, कुलो भएका क्षेत्र पुरेर विस्तार भएको बस्ती क्षेत्रमा भूमिगत जलीय पुनर्भरणको चक्र नै बिथोलिएको हुन्छ । साना–ठूला मुहानहरूका पानीको संगमको चक्र नाला, खोल्सा बन्दै ठूला खोलाहरू बन्ने हुन्, जुन पहाडी खेतीपातीका लागि र सदाबहार बग्ने खोलाको बहाव बढाउन अति नै महत्त्वपूर्ण मानिन्छन् । तर, बढ्दो मुहान सुक्ने क्रमले खोला–खोल्साहरू सुक्न थालिसकेका छन् भने खेतीपातीमा असर देखिन सुरु भइसकेको छ । खोलाको बहावको रूप पनि फेरिएको कारण यहाँ आएर जोडिएको छ । यसको असर भविष्यमा लिफ्टिङ प्रणालीमा पनि नपर्ला भन्न सकिँदैन ।

बढ्दो सहरीकरण र जनसंख्या वृद्धिका कारण पानीको माग बर्सेनि बढ्दै छ । तर, परापूर्वकालदेखिका पानीका मुख्य स्रोत मुहान, धारा, कुवा, ढुंगेधारा आदि भने सुक्दै गएका छन् । उदाहरणका लागि धेरै टाढा जानैपर्दैन । काठमाडौंको कीर्तिपुर डाँडामा दशकअघिसम्म पानीका मुहान प्रशस्त थिए । अहिले झन्डै आधा मुहान स्थायी रूपमै सुकिसकेका छन् । बाँकीमध्ये धेरैजसो हिउँदमा सुक्छन् र केही मात्र मुहानहरूमा वर्षभरि पानी आउँछ । कुनै समयमा स्थानीयवासीका लागि पानीको मख्य स्रोत रहेका मुहानहरूमा पहिले वर्षभरि नै पानी आउँथ्यो । पानी सफा हुन्थ्यो । अहिले केही मुहानमा मात्रै पानी नियमित पलाउँछ । मुहानको पानीलाई स्थानीयवासीले नुहाउन, भाँडा माझ्न, लुगा र सवारीसाधन धुनबाहेक प्रयोग गर्दैनन्, किनकि खानका लागि घर–घरमा धारा छ ।

धेरै घरमा पिउन जारको पानीको प्रयोग हुन्छ । महिनैपिच्छे डिस्चार्ज नाप्ने क्रममा पानी थाप्न जाँदा अनुसन्धानकर्ताहरूलाई पानी भरिरहेका र लुगा धोइरहेका प्रयोगकर्ताहरूले पानी खानका लागि थाप्न लागेको भए नखान सुझाउने गरेका छन् । तर, पानीको गुणस्तरबारे सोध्दा कसैलाई पनि थाहा नभएको बताउने गरेका छन् । जार, बोतल र ट्यांकरका पानीका स्रोतहरू पनि मुहान र भूमिगत पानी नै हुन्, जसलाई पैसा तिरेकै भएमा गुणस्तरीय पानीको दर्जामा राखिएको छ । तर, प्रत्येक वर्ष राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारको पानीमा हैजाको जीवाणु भेटिएको सूचना दिए पनि त्यसमा खासै ध्यान जान सकेको छैन ।

जमिनको सतहमा भएका विभिन्न क्रियाकलापले जमिनमुनिको र सतहकै पानीका स्रोतहरू दूषित हुन्छन् । यस्तो अवस्थामा समय–समयमा पानी परीक्षण गरेर अवस्थाको जानकारी लिने र दूषित भएको खण्डमा शुद्धीकरणका उपाय गरेर पनि मुहानको पानी सदुपयोग गर्नु आवश्यक छ । स्वच्छ पानी खान पाउनु नागरिकको हक हो भने स्थानीय पानीका स्रोतहरूको उचित व्यवस्थापन गरी सरल रूपमा पानी उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो ।

मुहान, ढुंगेधारा, कुवाको पानीमा रमाउने पुस्तादेखि धाराको पानी हुँदै जारको पानीमा रमाउने पुस्तासम्म आइपुग्दा विकल्पले मानिसलाई प्रकृतिसँगको सम्बन्धमा टाढा बनाइरहेको छ । मुहानसँगको सम्बन्ध घट्दै गएको सजिलै अनुमान लगाउन सकिन्छ । यसले भविष्यमा प्राकृतिक पानीका स्रोत संरक्षणमा असर पुर्‍याउनुका साथै पानीको अभाव थप हुने निश्चित छ । मुहान सुक्ने समस्याले मानिसलाई त असर पुर्‍याउँछ नै, विभिन्न जलचरलाई पनि हानि गर्छ । मुहान सुक्ने समस्या मुलुकभर नै भएका तथ्यहरू छन् । मुहान संरक्षण जरुरी छ । त्यसका लागि अनुसन्धान गरेर योजना बनाइनुपर्छ ।

पानी संकटको दिगो समाधानका लागि सरल विकल्पको पछि नलागी स्थानीय स्तरका मुहानहरूको व्यवस्थापनमा सम्बन्धित निकाय, संस्था, र व्यक्ति लाग्नु आवश्यक छ । होइन भने जमिनमुनिको पानी कम भए मुहान र बोरिङमा पानी नआउला, मुहानमा पानी नभए खोलामा पानी नआउला, खोलामा पानी नभए लिफ्टमा पानी नहोला । त्यसैले, जमिनमा पानीको चक्र बचाइराख्न पनि मुहान, ढुंगेधारा, कुवाजस्ता स्रोतको संरक्षण गरिनु जरुरी छ ।

प्रकाशित : फाल्गुन १५, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?