कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमसेन थापा र 'देशभक्ति’ को त्रासदी

राजेन्द्र महर्जन

काठमाडौ — 'दे श र जनताका लागि राम्रो काम गर्न खोज्दा भीमसेन थापा सेरिएर मर्नुपरेको थियो । जनताका पक्षमा राम्रा काम गर्नु अपराध हो भने बाबुराम अर्काे भीमसेन थापा हुन तयार छ ।'


मनमा पीडा, आँखामा छचल्किएका आँसु, शब्दमा आक्रोश । सायद डा. बाबुराम भट्टराईको मुद्रा यस्तै थियो, राम्रा काम गर्ने 'अपराध' गरेबापत भीमसेन थापाजस्तै मारिन तयार रहेको घोषणा गर्दा । यस्तो मुद्रा र शब्दमा अतिशयोक्ति नहुन सक्छ, तर भीमसेन थापाका काममा भने 'मिथ' बेसी छन् । उनले जिल्लावासी भएर भावुकतावश मात्रै भीमसेन थापासँग आफ्नो नाम र काम पनि जोड्न खोजेको होइन होला । राजनीतिक अर्थशास्त्रका अध्येता भट्टराईले अठारौं र उन्नाइसौं शताब्दीको नेपाली अर्थ-राजनीति, दरबारिया राजनीति र भीमसेन थापाको भूमिकालाई गहन अध्ययन गरेरै उनलाई प्रतीक बनाएको हुनसक्छ । तर इतिहासको रङ्गमञ्चमा थापाले खेलेको भूमिकालाई देश र जनताका लागि राम्रो काम गर्न खोजेको अर्थमा व्याख्या गरियो भने इतिहासको अपव्याख्या गरेको ठहरिन सक्छ ।
इतिहास निर्मम र कठोर हुन्छ, चाहे सेरिएर मर्न बाध्य थापाको सन्दर्भमा होस् या थापाजस्तै मारिन तयार भट्टराईको प्रसंगमा । भट्टराईले थापालाई कहिले 'देशभक्त' त कहिले 'सापेक्ष रूपमा 'देशभक्त मुख्तियार'का रूपमा विश्लेषण गर्दै आएका छन् । पछिल्लो चरणमा उनले थापा 'जनताका लागि पनि राम्रा काम गर्न खोज्दा मारिएको' व्याख्या थपेका छन् । अब उनीसामु थापाको 'देशभक्तिपूर्ण काम'को मात्रै होइन, 'जनताका लागि गर्न खोजेका राम्रा काम'को उदाहरण दिने जिम्मेवारी थपिएको छ । होइन भने महेन्द्रकालीन राष्ट्रवादी प्रचारबाट मुक्त भएर 'राष्ट्रिय विभूति' थापाको इतिहास पुनव्र्याख्या गर्नु जरुरी हुन्छ ।
शासक वर्गको 'देश' ः मल्ल हुन् या शाह, सबैजसो वंशका राजाका लागि देश भनेको निजी भूमि थियो, थापा, पाण्डे, बस्नेत, राणा खलकका भारदारचाहिँ राजसेवा गर्दै उनको निजी भूमि पाउने 'जागिरे' थिए । ती राजा र भारदारका लागि देश भनेको जनता थिएनन्, जनता त उनीहरूका भोग्यवस्तु उत्पादन गर्ने प्रजा र दासमात्रै थिए । त्यही शासक वर्गमा जन्मिएका भीमसेन थापाका लागि पनि देशभक्तिको अर्थ थियो, सत्ता-शक्ति-सम्पत्तिप्रति आशक्त राजा-रानीको चाकडी गर्नु अनि उनीहरूको सिंहासन बलियो बनाएर धन र शक्ति आर्जन गर्नु । पृथ्वीनारायण शाह र बहादुर शाहले जस्तै उनले पनि देश विस्तार गर्न युद्ध नगरेको होइन, नाबालक राजा रणबहादुर शाह र गिर्वाणयुद्धलाई अगाडि राखेर । तर त्यस्ता युद्धको नेपथ्यमा थियो, बेसीभन्दा बेसी भूमि, भूमिमा काम गर्ने प्रजा र चीन-भारत व्यापारको नाका हडप्ने स्वार्थ ।
गरिब र दास प्रजाको शोषण अनि अविकसित देशका स्रोतको दोहनका आधारमा चलाइएको निरर्थक युद्धमा हारिनु अनौठो होइन । त्यस्तो युद्ध सञ्चालन गर्ने थापालाई कुनै मतलब थिएन, निमुखा किसान र व्यवसायीलाई निचोर्नेेगरी युद्धमा खर्चिएको धनराशिको । राज्यविस्तार, सैन्य अभियान र हजारौं रोपनी जग्गा कब्जाको नारामा मोहित पार्दै हजारौं नेपालीलाई लडाइँमा धकेल्ने महाभूलको पीडा थिएन । उनलाई दुःख थियो त महाकालीदेखि पश्चिमी भूभाग, तराईका केही भूमि र पूर्वमा मेचीदेखि टिस्टा नदीसम्मको भूभाग गुमेकोमा मात्रै थियो, त्यो पनि भूमिकर नउठ्ने भएकाले । नेपाल र बि्रटेनबीच भएको खर्चिलो देशघाती युद्धको पराजयले पनि पटक्कै पोलेन उनलाई । र त उनी नाबालक राजा गिर्वाणयुद्धलाई बोकी टाँसिरहे, मुख्तियारको कुर्सीमा ।
लुड्विग स्टिलरका अनुसार मुख्तियार थापाको नेतृत्वमा चलाइएको युद्धमा नराम्ररी हारेकै कारण बि्रटेनले यहाँ स्थायी नियोग राख्ने मौका पायो र नेपाली युवालाई आफ्नो सेनामा भर्ती गर्ने अधिकार पायो । सन् १८१६ को सुगौली सन्धिकै दुष्प्रभाव हो, लाखौं युवा लाहुरे हुने क्रमसँगै कृषि उत्पादन र राज्यको आम्दानी घट्नु । तर सम्भ्रान्त शासक वर्गका लागि युवा असन्तुष्टि र विद्रोहलाई विदेश निर्यात गर्न सक्नु र सामाजिक व्यवस्थापन गर्न सजिलो हुनु सुगौली सन्धिको फाइदा हो ।
सत्ता-शक्तिका मोलमोलाइ ः युद्धमा हार-जित देशभक्तिको मापदण्ड हुनसक्दैन, हारेकै कारण कोही खराब र देशघाती हुँदैन । तर भूमि विस्तार गर्ने, भूमिकर फैलाउने र प्रतिपक्षीलाई सत्ता-केन्द्रबाट पन्छाउने नियतले चलाइएको युद्धले थापालाई खराब शासकमा दर्ज गर्‍यो । सत्ता-शक्ति-सम्पत्तिका लागि जे पनि गर्न तयार हुने स्वभावले उनलाई असल शासकमा दर्ता गरेन । सत्तामा जान र टाँसिरहन उनले गरेका देशविरोधी कामले उनको 'राष्ट्रिय विभूति'मा पनि कलंक लगायो ।
बहादुर शाहको हत्या र नाबालक पुत्र गिर्वाणयुद्धलाई राजा नियुक्ति गरेपछि रणबहादुर शाह दरबारमाथि पुनः कब्जाका लागि भारदारसँग झन्डै गृहयुद्धमा फँसेका थिए । तर उनी सैनिक नेतृत्व र भारदारले गिर्वाणयुद्ध र काजी दामोदर पााडेलाई समर्थन गरेपछि सन् १८०० मा बनारस निर्वासनमा गए । लियो ई. रोजका अनुसार रणबहादुर शाह र उनीसँगै गएका थापाको मनसुवा थियो, दरबारमाथि कब्जा गर्न र निर्वासनमा जान बाध्य पार्ने विपक्षीलाई दण्ड दिन बि्रटिस साम्राज्यको सहयोग लिने । शाह र थापाले बि्रटेनका दूत क्याप्टेन नक्सकहाँ गएर राखेको प्रस्ताव थियो, नेपाल-राज्यको पूरा राज्याधिकार दिलाइदिएको खण्डमा नेपालको आम्दानीको चौवन्नी भाग इष्ट इन्डिया कम्पनी सरकारलाई प्रतिवर्ष बुझाउने । नेपालका गद्दीनसिनको उत्तराधिकारी कोही नरहेमा कम्पनी सरकारलाई नेपालको राज्यमा तजबिज जमाउन पाउने र आफूलाई कम्पनी सरकारबाट सालबसाल तीस हजार रुपैयाँ दिलाउने ।
पूर्वराजा शाह र थापाले यस्तो खतरनाक प्रस्ताव राखेर गद्दी र शक्तिका लागि बि्रटेनसँग मोलमोलाइ गरे । त्यही सूचना पाएपछि काठमाडौं दरबारले हतारमा बि्रटेनसँग सम्झौता गरी बि्रटिस नियोग स्थापना गर्न दियो र गद्दी बचाउन खोज्यो । त्यही सम्झौताका कारण दामोदर पाँडे दरबारमा एक्लिए, सम्झौता भंग भएपछि रणबहादुर शाहको समर्थन बढ्यो । त्यही मौका छोपी उनीहरूले दामोदर पाँडेको प्रतिरोध तोडेर दरबार कब्जा गरे । सत्ता-शक्तिका लागि बि्रटेनसँग मोलमोलाइ गर्नेहरूले नै सन् १८०६ मा पाँडेलाई सिध्याए, उनका दुई छोरा र अन्य काजी र सरदारलाई पनि मारे । छोरा गिर्वाणयुद्धको नायव भई राज्याधिकार पाएपछि शाहले आफ्ना प्रमुख मतियार थापालाई काजी बनाए, सयौं खेत र हजारौं रुपैयाँ दिएर सर्वेसर्वा बनाए ।
३४ वर्षसम्म सर्वेसर्वा ः शाहलाई राजकाज दिलाउन जस्तोसुकै उपाय पनि प्रयोग गर्ने थापाले गरेका काम थिए, विपक्षीको संहार गरी आफ्नो सत्ता-शक्ति-सम्पत्ति वृद्धि गर्नु अनि आफूभन्दा निकै बलियो बि्रटेनसग युद्धको तयारी गर्नु । कुमाऊतिर सैनिक अभियान चलाउने क्रममा राजा संसार चन्द र राजा रणजित सिंहलाई पनि चिढ्याएर उनले बि्रटेनसँगको युद्धमा हारका लागि मार्गप्रशस्त गरे । देशभित्र युद्ध र सैन्य संगठन विस्तारका लागि राजकोष भर्न जनताबाट मालपोत बढाउने र बाहुनहरूको विर्ता हरण गर्नथाले । रणबहादुरलाई मारेको र बि्रटेनलाई सघाएको निहुँमा उनले भारदार खलककै १६ जना स्त्री र ७७ जना पुरुषको नृशंस हत्या गर्न लगाए, विरोधीका शाखासन्तानै मास्ने नियतले २ देखि १५ वर्षका केटाहरूलाई पनि काट्न लगाए, कुनै न्यायिक छानबिन र सुनुवाइबिना । यसरी गिर्वाणयुद्धको नाममा आफू सर्वेसर्वा हुँदै, भाइभतिजालाई उच्चपदमा आसीन गर्दै उनले लुटको स्वर्ग बनाउन कुनै कसर बाँकी राखेनन् । महेशचन्द्र रेग्मीको भाषामा रणबहादुरसँगै बनारसको निर्वासनबाट चुनदाम पनि नहुनेगरी बेहाल स्थितिमा काठमाडौं आएका थापाले 'तराईलाई उपनिवेश'मात्रै बनाएनन्, काठमाडौंदेखि गोर्खा, नुवाकोट र पाल्पासम्म हजारौं रोपनी खेत र दर्जनौं-दर्जन महल बनाए ।
चतुर खेलाडी थापाले चलाएको युद्ध त पराजित भयो, तर उनको भने पराजय भएन । नेपाल-बि्रटेन युद्ध र सुगौली सन्धिपछि पनि १५ वर्षसम्म शासन गरेका थापाको मुख्य कार्यनीति थियो ः बि्रटिस साम्राज्यलाई आफू उसको विरोधी होइन, सैन्य-शक्ति बढाउने छैन भनी आश्वस्त पार्ने, नेपालभित्र आफूलाई बि्रटिस साम्राज्यको विरोधी बताएर राष्ट्रवादी जनमानसलाई विश्वस्त तुल्याउने अनि चीनदेखि भारतका विभिन्न राज्यसँग बि्रटिस साम्राज्यविरुद्ध मोर्चाबन्दी गर्न खोज्ने । यही तीनधारे कार्यनीतिकै बलमा टिकेको थापाको मुख्तियारीमा तब संकट आइलाग्यो, जब गिर्वाणयुद्धका छोरा राजेन्द्र युवा भए, उनलाई बि्रटिस साम्राज्यका दूत हडसन र पाँडे परिवारले सत्ता-शक्तिका लागि उक्साए । देशभित्र आफ्नो सत्ता-शक्तिमा आँच आउन थालेपछि उनले बाह्य शक्तिको साथ लिने बनारसकालीन रणनीति अख्तियार गरे । धर्मपुत्र माथवरसिंह थापालाई कलकत्ता पठाएर बि्रटेनको सहयोग लिन खोजे । लियो ई. रोजका अनुसार बि्रटेनलाई आफ्नो नयाँ विदेशनीतिप्रति आश्वस्त तुल्याई आफ्ना विपक्षीलाई दिइएको समर्थन खरिद गर्नु उनको मिसन थियो । तर थापा-शासनको अन्त्यपछि मात्रै उत्तरी सीमा सुरक्षित हुने मतका साथ हस्तक्षेपकारी काममा लागेका हडसनको मतकै कारण मिसन असफल भयो ।
विष्णुमतीमा कुहिएको लास ः ६ महिने छोरालाई विष खुवाएर मारेको र बि्रटिस साम्राज्यसँग मिलेको आरोपमा राजा राजेन्द्रले मुख्तियार थापा र उनको सरकारका सबै नेतृत्वलाई बर्खास्त गरे, सम्पत्ति पनि हरे । आफ्ना बाजे रणबहादुरका बडीगार्डबाट प्रधानमन्त्रीसम्म भई राज्यकै सर्वेसर्वा भएका थापालाई आत्महत्या गर्न बाध्य पारे, उनकै बागदरबारको छिँडीमा । किर्ते कागज र फर्जी साक्षी खडा गरिने, बेइज्जतीपूर्ण सजाय दिइने हल्लाबाट मर्माहत भएका थापा खुकुरीले गला रेटेर मर्न खोज्दा पनि मर्न सकेनन् । बाबुराम आचार्यका अनुसार उनको अर्धमृत शरीर विष्णुमतीपारि त्यही बगरमा फ्याँक्न लगाइयो, जहाँ उनले चौतरिया शेरबहादुर शाही र राजा पृथ्वीपाल सेनसँगै ४५ जनाका लास स्याल, कुकुर र गिद्धलाई लुछ्न लगाएका थिए । मध्य वषर्ात्मा ९ दिनपछि मात्रै उनको भयावह मृत्यु भयो र उनको लास पनि स्याल, कुकुर र गिद्धलाई लुछाइयो ।
आफ्ना विपक्षीलाई उनले जुन सजाय दिए, त्यस्तै दण्ड पाएका थापाको ६४ वर्षको जीवन र ३४ वर्ष निष्कन्टक राज देश र जनताका पक्षमा भन्दा पनि निजी सत्ता-शक्ति-सम्पत्तिका पक्षमा केन्दि्रत थियो । सत्ता-शक्ति-सम्पत्तिलाई केन्द्रमा राख्दै थापाले कहिलेकाहीं बि्रटिस साम्राज्यविरुद्ध खेलेको भूमिकालाई देशभक्तिपूर्ण कामका रूपमा अथ्र्याइनु वस्तुगत र ऐतिहासिक हुनसक्दैन । त्यसैले देश र जनताको घात गर्ने शासक, नेता वा पात्रलाई सकारात्मक पक्षका प्रतीकका रूपमा उभ्याउनुभन्दा अघि दसपटक सोच्नु जरुरी हुन्छ ।

प्रकाशित : चैत्र ९, २०६७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?