कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

हे प्रचण्ड ! अब साहस गरेर अघि बढ !!

विजयकुमार

काठमाडौ — 'कालो रातको अध्यारोसँग डराउने बालकलाई हामी सहजै क्षमा गर्न सक्छांै, तर जब मानिसहरू दिनको उज्यालोसँग त्रसित भएर भाग्छन्, तब समाजका निम्ति वास्तविक विडम्बना सुरु हुन्छ ।'


प्लेटोको यो महावाक्यलाई, सर्वोच्च अदालतको दरपीठ निर्णयप्रति चियाको कपमा तुफान उठाउन खोज्ने सबै प्रकारका 'वृद्ध बालक' प्रवृत्तिप्रति प्रतीकात्मक कटाक्षका रूपमा आज पनि प्रयोग गर्न सकिन्छ । यो संसारमा केही मानिस यस्ता पनि हुन्छन्, जो उमेरका हिसाबले जतिसुकै वृद्ध भए तापनि बुद्धि र व्यवहारका मापदण्डमा हमेसा बालक नै रहन्छन् । त्यस्ताका निम्ति 'वृद्ध बालक' शब्दावली प्रयोग गरिन्छ । सर्वोच्चको फैसला कानुनी रूपले सही छ वा छैन भनेर वृद्ध बालकहरूले झैं केरा-केस्रा केलाएर हेर्ने धैर्य आम जनतामा अब बाँकी छैन ।
यो धैर्य एकैदिनमा हराएको पनि होइन । जनताले दिएको दुईवर्षे सीमारेखा बितेको हप्तांै होइन, महिनौं होइन, वर्षौंपछि, आजको दिनमा आएर रकमी कानुनी कुराहरू जनताको नजरमा अर्थहीन हुन पुग्छन् । म कानुनको विद्यार्थी होइन, तर न्यायका प्रति आस्था राख्ने सामान्यजन हँु । मजस्ता लाखांै सामान्यजनलाई त यति मात्र थाहा छ- न्यायको आधारमा कानुन उभिएको हुन्छ, न कि कानुनको आधारमा न्याय ! हामीजस्ता सामान्यजनलाई त यति मात्र थाहा छ कि अब कुनै पनि बहानामा संविधानसभाले आपmनो म्याद आफैं बढाउने खेला गर्नु न्यायिक होइन । सर्वोच्चको फैसला कानुनी हो वा होइन हामी भन्न सक्दैनौं तर अनन्तकालसम्म आपmनो म्याद आफंै बढाउन पाइँदैन भन्ने आदेश सोह्रै आना न्यायिक हो भनेर ठोकुवा गर्न अधिकांश जनता हिच्किचाएका छैनन् ।
अब छ महिनाभन्दा बढी म्याद थप्न पाइन्न भन्ने फैसला हुनेबित्तिकै आजको नेपालका सबैभन्दा महत्त्वपूर्ण नेता प्रचण्डजीले भने, 'सर्वोच्चको फैसलामा के छ, के छैन, मलाई थाहा छैन । तर, जनताको फैसलाचाहिँ छ महिनाभित्रै संविधान बन्नुपर्छ भन्ने नै हो ।' जनताको राजनीति लामो समयसम्म गर्ने हो भने अन्य नेताजीहरूले पनि प्रचण्डजीको यो भनाइबाट शिक्षा लिनुपर्छ । अदालतले 'चोरको खुट्टा काट' भन्दा संविधानसभाले आफ्नो खुट्टा माथि तानेर अनावश्यक बबाल झक्िनुपर्ने कुनै कारण छैन । जनताको नजरमा यो कुनै रकमी कानुनी प्रश्न होइन, यो सामान्य न्यायिक विषय हो । दुई वर्षका निम्ति पाएको जनमत अब अरू कति वर्षहरूका निम्ति जनतामाथि जबर्जस्ती थोपर्ने ?
बेलायती संसद्मा आफ्नो लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेपछि ७ मे १९९७ मा भएको संसदीय दलको पहिलो बैठकमा नेता टोनी ब्लेयरले भनेका थिए, 'हामी स्पष्ट बहुमतका साथ आएका छौं, तर याद रहोस्- हामी मालिक होइनौं । मालिक त जनता हुन् । हामी जनताका सेवक हौं । मतदाताले आज हामीलाई जे दिएका छन्, त्यो फिर्ता लिएर जान पनि सक्छन् । हामीलाई दिइएको मत एक निश्चित अवधिका लागि मात्र हो । याद रहोस् ।'
आदरणीय पाठकहरू, आजभोलि जब-जब म गणतान्त्रिक नेपालका छोटे राजाहरूले पटक-पटक आपmनो म्याद आफैं बढाउने राजनीतिक सहमतिरूपी 'हुकुम प्रमाङ्गी' जारी गरेको देख्छु, तब-तब टोनी ब्लेयरको त्यो भनाइ सम्झना आउँछ । त्यसै भनिएको होइन रहेछ, बेलायतलाई लोकतन्त्रको जननी ! खैर, अब हामी १९९७ बाट अघि बढौं । आज सन् २०११ को अन्तिम दिन हो । के यो नयाँ वर्षले नेपाली जनजीवनमा कुनै नयाँ आशाको सञ्चार गर्ला त ? म यसै भन्न सक्दिनँ । तर एउटा ठोकुवा गर्न मलाई कुनै हिचकिचाहट छैन- १२ बुँदे समझदारीको आधारमा नेपालमा भएका राम्रा-नराम्रा परिवर्तनहरूलाई अब पाँच महिनाभित्र पनि संस्थागत नगरिने हो भने २०६३ सालयता खेलिँदै आएको सारा खेल 'रिप्ले' हुनेछ । दोहोर्‍याएर खेलिने खेल 'रिप्ले' मा अहिले कल्पना नै नगरिएका खेलाडी पनि मैदानमा ओर्लिने छन् । यो 'रिप्ले' को नतिजाले कसलाई कहाँ पुर्‍याउला भन्न सकिन्न । हाल चलिरहेको परिणामविहीन राजनीतिक उछलकुदबाट वाक्कदिक्क भएका आमजनता चाहेर, नचाहेर त्यो 'रिप्ले' खेलको टिकट किन्न जुलुसमा लाम लाग्ने छन् । अब पनि नेताले जनतालाई समाधान दिएनन् भने जनताले यी नेता र यो संविधानसभा दुवैको विकल्प एकैपटक खोज्न बाध्य हुनेछन् । यो अपि्रय अपरिहार्य काम २०१२ मा सुरु त हुनेछ, तर समाप्त हुने छैन । म यो कुरा 'अनुमान' होइन, 'जानकारी' का आधारबाट लेख्दैछु । के यस्तो दुःखद, अपि्रय अपरिहार्य स्थितिबाट हामीलाई कसैले बचाउन सक्छ ? के हामीसँग कुनै त्यस्तो देव छ, जसले देशलाई अनिर्णयको वर्तमान बन्धनबाट मुक्त गरोस् ?
नेपाली समाज, राजनीति र पत्रकारिताको एक ठूलो हिस्साले हमेसा कुनै न कुनै देव वा दानवको खोजी गरिरहेको हुन्छ । धेरै बितेको छैन, बाबुराम भट्टराईजीका मिडिया म्यानेजरहरूले उहाँ प्रधानमन्त्री हुनेबित्तिकै बालुवाटारमा 'देव आगमनको घोषणा' टेलिभिजन, छापा र इन्टरनेटमा राम्रैसँग गर्ने चाँजोपाँजो मिलाए । बाबुरामका बबुरा मिडिया म्यानेजरहरूले नबुझेको तथ्य के हो भने मिडियाले बनाउँदैमा कोही धेरै दिनसम्म देव बनेर टिक्न सक्दैन । आजको मूलधार नेपाली मिडिया भनेको माओको पालाको रातो किताब होइन, जसमा लेखिएका हरेक अक्षरलाई त्यसबेलाको चिनियाँ जनताले अन्तिम सत्य ठान्दथे । आजका जनताले त सोध्छन्, 'तपाईंले देव बनाएको मानिस साँच्चैको दैवी क्षमता राख्छ भने त्यसले एउटा नाथे संविधान किन बनाउँदैन ? किन महँगी र अभाव कम गर्दैन ? किन देशमा उत्पादनका अवसर बढाउँदैन ? तपाईंले देव बनाएको मानिस वास्तवमा नै देवतुल्य शक्तिले युक्त छ/हो भने हामी जनता यस्तो नारकीय जीवन बाँच्न किन बाध्य छौं ?' यी र यस्ता साधारणझैं देखिने प्रश्नहरूले 'देवत्वकरणको पक्षधर' कुनै पनि मिडिया म्यानेजरको अङकारलाई क्षणभरमा तिरोहित गराउने क्षमता राख्छन् । मिडियाले केही क्षण, केही कालका निम्ति कसैलाई देवत्वकरण गर्न नसक्ने होइन, तर त्यहाँ टिकाइराख्न कदापि सक्दैनन् । अलि-अलि दैव र अलि-अलि दानव मिलेर बनेको हुन्छ मानव । जो-जो नेता साधारण मानिसझैं भएर बसे उनीहरू, उनीहरू धेरै टिके । ढल्दा पनि जमिनमै ढले । देवता बनाइएकाहरू न त देवता बन्न सके, नत मानिस नै हुन सके । ढलेको दिन जमिनमा नखसेर एकैपटक पातालमा गायब भए ।
म हाल प्रधानमन्त्री बाबुरामजीको पुरानो शुभचिन्तक हुँ । उहाँका महत्त्वाकांक्षामात्र होइन, बाध्यताहरू पनि राम्ररी बुझ्दछु । अबको समय बाबुरामजीका निम्ति आफ्नो 'पोलिटिकल क्यारियर' को सर्वकालिक संवेदनशील समय हो । परिस्थितिको तकाजा के छ भने, अब अगाडिको खेल उहाँले एक्लै खेल्नै सक्नु हुन्न । डा'साबको कोटामा अब प्रचण्ड कमरेडसँग मिलेर खेल्नुबाहेक धेरै विकल्प बाँकी छैनन् । अब डा'साबले आफ्नो देवत्वकरण अभियानका बच्चाहरूबाट बिदा लिएर एक राजनीतिक योद्धाका रूपमा आफ्नो पार्टी अध्यक्ष प्रचण्डजीलाई सघाउनु पर्दछ । राइटिङ अन द वाल इज भेरी क्लियर । भित्तामा लेखिएको सन्देश बढो प्रस्ट छ । नेपाली जनताले थाहा पाइसके शान्ति र संविधानको सबैभन्दा ठूलो बाधक अरू कोही नभएर नेकपा माओवादीभित्रको अन्तरविरोध हो । देशको सबैभन्दा ठूलो दलभित्रको यो अन्तरविरोधको अन्त्य तत्काल हुनै पर्दछ ।
रिपोर्टस् क्लबमा पनि ऋषि धमलाले अब अरू सबै विषयका कार्यक्रम रद्द गरी 'माओवादी अन्तरविरोध सप्ताह विशेष कार्यक्रम' सञ्चालनमा ल्याउनु पर्दछ । हुनत नाटक गर्ने क्षमताको पृष्ठभूमि हेर्दा माओवादी अन्तरकलह एक नयाँ 'नाटक' पनि हुन सक्छ भन्नेहरूको कमी छैन । त्यसो हो भने, बानेश्वरबाट उठिबास हुन थालेको सुनील पोखरेलको 'गुरुकुल' समूहलाई पेरिसडाँडाको एक कुनामा नाटय तालिम 'दिन' होइन, 'लिन' आमन्त्रण गरे वेश होला ! सुनील र उनको टिमले पेरिसडाँडामा जे नाट्यकला सिक्ला, त्यो 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' बराबर हुनेछ !
ठट्टा मजाक छाडेर, जाँदाजाँदै, म नेकपा माओवादीका अध्यक्ष प्रचण्डजीसमक्ष एक धेरै गम्भीर कुरा राख्न चाहन्छु । अध्यक्षज्यू, देशको सबैभन्दा ठूलो पार्टीको हैसियतले तपाईंको पार्टीभित्रका गतिविधिसित सबैको सरोकार हुनु स्वाभाविकै हो । जनताको छटपटी र सर्वोच्चको फैसलापछि त झन् तपाईंको पार्टीको नीतिका विषयमा जनताको 'सरोकार' ठूलो 'चिन्ता' को स्तरमा परिणत भएको छ । त्यो स्वाभाविक पनि हो । किनभने तपाईंको पार्टीको निर्णयबिना शान्ति र संविधानको जनचाहनाले मूर्तरूप पाउँदैन । प्रचण्डजी तपाईं, वैद्यजी र बाबुरामजीसित व्यक्तिगत कुराकानी नभएको धेरै भए तापनि टेलिभिजनमा तीनै थरीको मुहार रोजैजसो देख्दैछु । पछिल्ला केही महिनाहरूमा, एकातिर तपाईंको अनुहार थकित र निकै गम्भीर देखिन्छ भने बाँकी दुई कमरेडको मुहार उज्यालिँदै गएको प्रस्ट देख्न सकिन्छ ।
बाबुरामजी त बालुवाटारको बसाइले उज्यालिएका हुन् भन्ने अनुमान गर्न कसैलाई मुस्किल पर्दैन । बालुवाटार जो पस्छ, गोरो/राम्रो भएर आउँछ । कहिलेकाहीं सोच्छु, माओवादी नेतृत्वको अन्तरकलह 'नाटक' भएको भए तीनैथरी उज्यालिनुपर्ने थियो । तपाईंको मुहारको थकान र गम्भीरताले बताउँछ, कुरा त्यति सस्तो र हलुका होइन । माथि नै भनिसकें, म कसैको देवत्वकरणमा विश्वास गर्दिनँ । तर, इतिहासले कहिलेकाहीं कुनै एक व्यक्तिमाथि देश र जनताको बृहत्तर हित गर्ने वा नगर्नेजस्तो गहन जिम्मेवारी सुम्पिदिन्छ । त्यो जिम्मेवारी अहिले तपाईंको काँधमा आएको छ कमरेड प्रचण्ड ! आज देशका अधिकांश जनता, सहरिया हुन् वा ग्रामीण, धनी हुन् या गरिब, देशभित्र हुन् वा परदेशमा, कांग्रेस हुन् वा कम्युनिस्ट, मधेसवादी हुन् या पहाडी जनजाति, सबै शान्ति, संविधान र समृद्धिको पक्षमा छन् । तर शान्ति र संविधानको यात्रा हाल तपाईंको पार्टीभित्रको द्वन्द्वले गर्दा अड्किएको छ ।
द्वन्द्व जीवनको अनिवार्य हिस्सा हो । तर हरेक द्वन्द्वको एक समयसीमा हुन्छ । कुनै पनि पार्टीमा द्वन्द्वले सीमा नाघेपछि अध्यक्षले अन्तिम निर्णय गर्नैपर्ने हुन्छ । प्रचण्ड कमरेड, एक साहसिक निर्णय गरी सबैभन्दा पहिला आफू अनिर्णयको द्वन्द्वबाट मुक्त हुनुस् । प्रचण्डजी ! तपाई आफू प्रस्ट भएपछि तपाईंको पार्टी र सारा देशले सुस्पष्ट दिशानिर्देश प्राप्त गर्नेछ । अध्यक्षले 'बोल्ड डिसिजन' गर्दा केही कागजी क्रान्तिकारी बाघहरू यताउता लाग्ने कुरा गर्लान् । माओवादी अध्यक्ष स्वयं र ती कागजी क्रान्तिकारी बाघहरूभन्दा बढ्ता यो कुरा कसलाई बढी थाहा होला कि सन् २०१२ को नेपालमा र यसका छिमेकी देशहरूमा सक्कली र नक्कली दुवैथरी बाघहरूलाई लुक्न धेरै ठाउँ बाँकी हुने छैन । नेताहरू लुक्ने ठाउँ बाँकी नरहेको यस अवस्थामा जनविद्रोह एक कागजी गफ हो । कसैलाई रहर छ भने गरेर हेरे हुन्छ । त्यो कथित जनविद्रोहको मालगाडीले नेपालीका घर-आँगनमा २०६९ सालको होइन, २०४६ सालको संविधान उपहारस्वरूप ल्याउने छ ।
आजभोलि प्रचण्डजी बडा दोधारमा होलान्, पार्टीभित्र नाटकबाजी यत्तिकै चल्न दिउँ भने समय पाँच महिनामात्र छ । ठोस निर्णय गरौं त कसरी गरौं ? अब, प्रचण्डजीले बुझसिक्नुभएको होला, नेपालमा जनयुद्ध गर्न/गराउन जति साहस चाहिन्छ, शान्ति र संविधान ल्याउन त्योभन्दा धेरै बढी आँट चाहिन्छ । नेपाली जनताले पनि त हेरून्- उनीहरूका नेता पुष्पकमल दाहाल शान्ति र संविधानका निम्ति आफ्नै पार्टीभित्र कतिसम्म 'प्रचण्ड' हुन सक्दा रहेछन् ?
[email protected]
facebook.com/vijaykumarpanday

प्रकाशित : पुस १६, २०६८ ००:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?