कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

सेनामा भर्तीबारे भ्रम

राजेन्द्र थापा

काठमाडौ — मधेसी युवाको भर्ती विषयमा थुप्रै सवाल उठेको छ, जसको जवाफ खोजिनुपर्छ । जस्तो- नेपाली सेनामा मधेसी युवाको छुट्टै पहिचानसहित समूहगत समावेश गर्ने मुद्दाको दीर्घकालीन राजनीतिक प्रभाव के होला ?

यो उद्देश्यमा सेनामा मधेसीको संख्या बढाउने मनसाय छ कि छुट्टै परिचयको मधेसी सेनाको प्रतिकात्मक स्थापनाको एजेन्डा पनि छ ? यी सवाल मूलतः निम्न तीन चर्चाका कारण उत्पन्न भएको छ । एक, हाल तीन हजार रिक्त स्थानमा पहिलो चरणमा 'सामूहिक' भर्ती गर्ने र क्रमशः दस हजार पुर्‍याउने । दुई, भविष्यमा मधेसीमात्रको बेग्लै फर्मेसन -वाहिनी/पृतना) खडा गर्ने । र तीन, अढाई सय वर्षदेखि राष्ट्रिय पहिचान कायम रहेको सेनामा छुट्टै मधेसी पहिचान स्थापित भएपछि अन्य जातीय पहिचानको माग बढ्ने अवस्था सिर्जना गर्दै यो संगठनमा राजनीतीकरण गर्ने ।
तर भुल्न नमिल्ने कुरा के छ भने सुरक्षा संगठनको सवाल राजनीतिक हुनै सक्दैन । सरकारभित्रै र दलमै विपक्षी मनस्थितिको दबाब खेपिरहेका र सुरक्षा विज्ञको अभाव खेपिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो निर्णय गरेपछि हुनसक्ने 'डेमेज इस्टिमेसन', 'डेमेज मिनिमाइजेसन' तथा 'डेमेज मेनेजमेन्ट'का विषयमा आवश्यक परामर्श गरेरमात्रै निर्णय लिनु उचित हुन्छ । खासमा माओवादी र मधेसी मोर्चा दुवैले यो 'भर्ती मिसाइल' 'फायर एन्ड फरगेट' खालको पटक्कै होइन भन्ने बुझ्नुपर्छ ।
अझ बुझ्नुपर्ने कुराचाहिँ सेनामा मधेसीहरूलाई भर्ना लिइन्न भनिनु भनेर जसरी भ्रम फैलाइएको छ, त्यो सत्य होइन । सेनामा मधेसी युवाहरूलाई धेरै वर्ष अघिदेखि समावेश गर्न खोज्दा पनि सहभागिता न्यून हुनुका पछाडि केही कारण छन् । पहिलो, स्व. गजेन्द्रनारायण सिंहले मधेसी भर्तीको माग र नारा सार्नुभएको सन्दर्भमा ०४१ सालमा तत्कालीन राजा वीरेन्द्रले गरेेको आग्रहअनुसार, १०० जना मधेसी युवा भर्ती गरिए, तर सिपाही हुने बेलासम्ममा ९१ जना पलायन भएका थिए । पंक्तिकार पनि सेनामा रहँदा ०५२ देखि ०५६ सम्म भर्ना छनोटको प्रमुख हुँदा पटक-पटक मधेसी युवा भर्ना गर्न खोजिए पनि असफल भएको थियो । दोस्रो, ०५२ सालमा धर्मपाल थापा चिफ हुनासाथ सप्तरीमा स्थानीय नेताहरूको सहयोगमा ठूलो संख्यामा मधेसी युवा भर्ती लिन खोजिएको थियो । तर धेरै कम प्रक्रियामा समावेश भए र विशेष छुटा दिँदा पनि धेरै कम पास भए । पास भएका ४/५ सयमा धेरै फर्केरै आएनन् र आएका पनि तालिम छोडे । पंक्तिकार त्यो बेला बुटवल गणपति रहँदा झन्डै सयजना टोली म अन्तर्गत पठाइएको थियो ।
बाटोबाटै र ब्यारेकबाट भाग्न थालेपछि बाँकी रहेकाहरूसँग सोध्दा उनीहरू भन्थे- 'हामीलाई सेनामा जान इच्छा छैन । हाम्रा बा/काकालाई नेताहरूले भनेकाले मात्रै आएका हौं । सबै साथी भागिसके । हामी खेतीपाती, व्यापार, ज्यामी गरेर स्वतन्त्र बस्ने मान्छे, ब्यारेकको कैदमा बस्नै सक्दैनौं । सेनाको दौड्ने-उप|mने गर्न सक्दैनौं । गर्मीको मान्छे हामी पहाड र हिमालमा बस्न सक्दैनांै । मैदानमा दस कोस हिँड्दा थाक्दैनौं, तर पहाड चढ्नै सक्दैनौं । भारतमा काम गर्दा पनि हामी चाडबाडमा घर नआई हुन्न, सेनामा पाइन्न । टाउका र कन्धामा जत्ति भारी पनि बोकेर दगुरिन्छ, तर पिठमा झोला कसरी बोक्ने ?'
तेस्रो, यसै सन्दर्भमा बि्रटिस सेनामा पहाडमै हुर्केकालाई गोर्खा भर्तीमा लिने कारण स्मरण गरौं । एक सिपाहीले बोक्ने उसका बहुसंख्यक -पर्सनल गियर) हतियार, गठ्ठा तथा अन्य सामग्री बोक्दा त्यसको गह्रुँगो भार कम्मर र खुट्टाले लिन्छ । अध्ययन अनुसार, पहाडी क्षेत्रका वासिन्दाको कम्मर र खुट्टा दहि्रलो हुने भएकाले सेनामा जान योग्य मानिन्छ । उकालो-ओरालोमा पनि कम्मर र खुट्टाले सबैभन्दा बढी भार लिनुपर्छ । तर मधेसमा टाउका र कन्धामा सामान बोक्ने कारण खप्पर, गर्धन र कन्धा बलियो हुन्छ । मैदानी जमिनमा जन्मे-हुर्केकाका निम्ति सबै किसिमका जमिन उत्तिकै मैत्री नहुन सक्छ । चौथो, मधेसवासी शारीरिक र मानसिक रूपमै सहनशील तथा बलियो भए पनि सैनिक वृत्तिको 'एप्टिच्युड' तथा 'एडप्टिबिलिटी'को कमीले स्वयम् नै सैनिक सेवामा अनिच्छुक छन् ।
यिनै मनोवैज्ञानिक तथा सामाजिक सत्यका कारण नेपाल र भारत दुवैतिरका सेनामा भारतवर्षकै सबैभन्दा पुरानो सभ्यताको मैथिली, भोजपुरी तथा अवधी समाजको न्यूनतम सहभागिता छ । तर यसैलाई बारम्बार राजनीतिक स्वार्थनिम्ति दुरुपयोग गरी जनमानसमा वितृष्णा फैलाइनु ठीक होइन । यद्यपि सेनामा मधेसी युवाको सहभागिता बढाउन अनुसन्धान र दलहरूसँग सहकार्य गरिनुपर्छ । हालको ५ हजार ४ सय ३३ अर्थात् ६ दसमलव २६ प्रतिशत मधेसी सहभागिता पनि थारु युवाहरूको परम्परागत कमैया दासत्वका विरुद्ध स्थायी गिर खाने मनोविज्ञान बढेका कारण गएका पच्चीस वर्षयता बढेको हो ।
अहिले मधेसी युवाको सहभागिता बढाउन खोजेको कि छुट्टै मधेसी पहिचानको मधेसी सेनाको माग हो ? राजनीतिक चेत या जातिगत सोच भएको सेनामा समूहगत सोच हुने प्रमाण माओवादी जनसेनाले दिइसकेको छैन र ? थारु मोर्चाले १५ हजार मागिसकेको छ । किरातीबाट पनि माग आएको छ । साधारणतया सेनामा नआउने तामाङ, नेवार तथा लाहुरे भर्तीको दाँजोमा नेपाली सेनाको चाहना कम राख्ने लिम्बुहरूका कति-कति थप राख्ने ? त्यस्तै दलित, बाहुन, थारु, सेर्पा, थकाली, भोटे, चेपाङ इत्यादिको कति सहभागिता बढाउने ? आधा आकाश ओगट्ने महिलाको कमसेकम ५० हजार त दाबी लाग्छ नै । क्षेत्रगत रूपमा सुदूर तथा मध्य दुर्गमका कम सहभागिता भएकाले उनीहरूको संख्या कति ? अहिले ४२ प्रतिशत खाल्टामा सुत्छन् । कोठा र बरान्डामा सुत्नेसँग खाट छैन, हतियार, गोली, उपकरण छैन, न्यूनतम पूर्वाधार छैन । अरू थप २ लाखले पनि खाल्टैमा सुतुन्, हतियार नभए पनि, तालिम नभए पनि नौरंगी अक्षम गुरुज्यूको धार्मिक पल्टनजस्तो जातजातको सहभागिता भएको जातीय पल्टन बनाउने हो भने जे गरे पनि हुन्छ । अमेरिकन विज्ञहरूले अढाई लाख सेना नभएसम्म भविष्यमा हुने विद्रोह नियन्त्रण गर्न सम्भव नहुने भनेकै छ । बजेट नभए पनि कि पहिले-पहिलेझैं मिलिसिया पल्टन खडा गर्ने ? अर्थात् भर्ती हुने तर आफ्नै घर बसी खेतीपाती गरी कमाइ खाने र परेको बेलामात्र हाजिर दिन जाने ।
अगल पहिचान निर्माण गर्न खोजिएको हो भने सबै जातका आआफ्नै पृतनाहरू किन खडा नगर्ने ? मगर, गुरुङ, मधेसी तथा किरातीहरूको सहभागिताको एकएक गण राखिएको अलग पहिचानका लागि नभई एक प्रतिकात्मक रूपका लागिमात्र हो । बाँकी सम्पूर्ण सेना मिश्रति परिचयको छ । प्रतिकात्मक भनेको एकमात्र हुन्छ, दस हुँदैन । १० हजार भनेको करिब १२ बटालियन अर्थात् तीन बि्रगेड अर्थात् एक पृतना हो । नेपालमा बि्रगेड र पृतनाका मुख्यालयहरू क्रमशः अञ्चल तथा क्षेत्रमा स्थायी छन् । बटालियनका हकमा स्थानीय समुदायसँग हिमचिम नहोस् तथा देशभरको परिचय र
ज्ञान बोकोस् भनेर संसारकै अन्य फौजझैं हरेक चार वर्षमा आलोपालो देशभरि पहाड, हिमाल, मधेस, उपत्यकामा स्थायी पृतना हेक्वा अन्तर्गत मुकाम हुन्छ । अब के मधेसी १३ बटालियन सबै एकै स्थानमा अलग पहिचान बनाएर राख्ने हो त ?
मधेसी १० हजारको छुट्टै गणहरूको कल्पना गर्नेले सेनाको संरचनाबारे नबुझी हचुवाका भरमा असम्भव कल्पना गरेको देखिन्छ । एक गण भनेको करिब साढे आठ सयको एक इकाइ हो, जसमा परिचरदेखि माथि प्रमुख सेनानीसम्मका तहतह हुन्छ । ३६ संख्याका अधिकृत बाहिरबाट आउने-जाने गरिए पनि अन्य विभिन्न दर्जा, उमेर, ट्रेड -काम) काहरू एकै पल्टनमा सदा रहन्छन् । १८ वर्षका सिपाहीदेखि ५० वर्षका सुबेदारसम्मकाहरूको गणमा १ वर्षदेखि १२/१५ वर्षसम्म सेवा भएका सिपाहीहरू भने ३९४ मात्रै हुने र ती पनि पुराना र नयाँ मिसाएर सेक्सन बनाइन्छ । तसर्थ १० हजार नयाँ मधेसी सिपाहीका लागि करिब २५ गण खडा गर्नुपर्ने र पुराना लेसनायकदेखि सुबेदारसम्मका मधेसीहरू बाहिरबाट अर्को १० हजार कसरी ल्याउने ? कि सबै नयाँ सिपाहीहरू मध्येबाटै एक्कैचोटी ५० वर्षे सुबेदार, ४० वर्षे जमदार, ३० वर्षे हवल्दार तथा नायक, लेसनायक इत्यादि दर्जामा नियुक्ति गर्ने ? तसर्थ छुट्टै बटालियनको राजनीतिक लक्ष्य त्याग गरी मधेसी युवाहरूको सक्दो भर्ती गरी सेनाभरि मिसाउँदा भने मनोवैज्ञानिक लाभसमेत हुन्छ ।
जनतासामु मधेसी दल स्पष्ट हुनुपर्‍यो, गजेन्द्रजीले चाहेजस्तो बढीसेबढी मधेसी युवालाई सेनामा सहभागी गराई त्यक्तताको पीडाबाट मुक्ति दिन चाहेको कि कुनै राजनीतिक लक्ष्य प्राप्तिका लागि मधेसी सेना खडा गर्न खोजेको ? राष्ट्रिय परिचयभित्र सहभागिता बढाउने चाहनामात्रै समावेशी र राष्ट्रिय अखण्डताको प्रमाण हुन्छ । साथै मधेसी युवाहरूको सहज सहभागिताबारे पनि अन्यले शंका गर्नु अखण्डताका विरुद्ध हुन्छ ।
लेखक पूर्वउपरथी हुन् ।

प्रकाशित : पुस १५, २०६८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?