कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६९

अन्तरपार्टी संघर्षको खतरनाक पक्ष

मुमाराम खनाल

काठमाडौ — ठूला राजनीतिक दलहरू होउन् वा साना, नेपालका सबै दलहरूमा अहिले एक प्रकारको द्वन्द्व देखिन्छ । दलहरू भिन्न सिद्धान्तको आधारमा संगठित हुने हुनाले भिन्नभिन्न दलहरूको बीचमा आपसी द्वन्द्व देखिनु स्वाभाविक कुरा हो ।

त्यसैगरी एउटै दलभित्र पनि आफ्नो दलको घोषित सिद्धान्तको व्याख्या, विश्लेषण तथा कार्यान्वयनको तहमा अन्तरपार्टी द्वन्द्व उत्पन्न हुनु पनि उत्तिकै स्वाभाविक कुरा हो । त्यसकारण निश्चित राजनीतिक विचारहरूले निश्चित सिद्धान्तको आधारलाई समातिरहेका हुन्छन् । यहाँसम्मको राजनीतक विचार र त्यसको सिद्धान्तसँगको सम्बन्धको कुरा ठीकै हो । तर समस्या त्यहाँबाट उत्पन्न हुन आरम्भ गर्छ, जहाँबाट राजनीतिले वर्ग र राष्ट्रको सम्बन्धको चरित्रलाई अन्वेषण गर्न छोड्छ । र, विचारले वर्ग र राष्ट्र्रको प्रतिविम्ब उतार्न र त्यसको व्याख्या गर्न असमर्थ हुन्छ । यो एउटा सिद्धान्तको तहमा देखिने खतरनाक प्रस्थापना हो । दलहरूभित्र अहिले देखिएका आन्तरिक द्वन्द्वहरूले कुनै वैचारिक विभेदको प्रतिनिधित्व नगर्नु नेपाली लोकतन्त्रको एउटा खतरनाक पक्ष हो ।
उदाहरणका लागि नेपालका सबैभन्दा ठूला मानिएका मुख्य चारवटा राजनीतिक दलहरूलाई यहाँ उभ्याउन सकिन्छ । शान्तिमार्गमा अवतरणपछिको अल्प अवधिभित्र माओवादीमा देखिएको द्वन्द्वलाई सामान्य मूल्यांकन गरौं । एमाओवादीभित्र 'कथित विचार समूह'को नेतृत्व गर्ने तीनजना मुख्य नेताहरू अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्ष्यद्वय मोहन वैद्य र बाबुराम भट्टराई हुन् । एमाओवादीको शान्ति यात्रापछि यी तीनैजना पात्रहरूले एक अर्काेसँग पालैपालो फरक फरक समीकरण निर्माण गरेर आफ्नो सांगठनिक अवस्थालाई सुदृढ गरिसकेका छन् । अध्यक्ष्य पुष्पकमल दाहालले कहिले मोहन वैद्य त कहिले बाबुराम भट्टराई समूहसँग एकता गर्दै संगठन सञ्चालन गर्ने माओवादी विधिको एउता 'ब्रान्ड' नै स्थापित गरेका छन् । त्यसको सिको गर्दै पुष्पकमल दाहालविरुद्ध सदावहार एक अर्काको विरोधी ठानिएका मोहन वैद्य र बाबुरामको बीचमा पनि अर्को समीकरण बन्यो । के यस प्रकारको द्वन्द्वलाई सैद्धान्तीकरण गर्न सकिन्छ ?
स्पष्ट छ, यो वा त्यो समीकरण बनाएर पार्टीभित्र आफ्नो व्यक्तिगत वर्चस्व स्थापित गर्न खोज्ने प्राविधिक कारणलाई सिद्धान्त्ाको कोटिमा राख्न कदापि सकिँदैन । हिजो के कति कारणले उनीहरूको बीचमा अन्तरविरोध उत्पन्न भयो र आज के कति कारणले उनीहरूको एकता भयो भन्ने कुरा जनता र कार्यकर्ताको त कुरै छोडौं, उनीहरूको सबैभन्दा नजिक ठान्ािएका नेताहरूलाई समेत थाहा हुँदैन । नेकपा -एमाले) कै कुरा लिउँ । त्यहाँ पनि माधव नेपाल, झलनाथ खनाल तथा केपी ओलीका आ-आफ्ना सांगठनिक समूहहरू छन् । कुनै समयमा एक अर्काको कट्टरविरोधी ठानिएका माधव नेपाल र केपी ओलीको बीचमा आठौं महाधिवेशनको पूर्वसन्ध्यामा मित्रता कायम हुन पुग्यो । त्यस्तै सार्वजनिक रूपमा नै एक अर्काेलाई कटाक्ष गर्ने झलनाथ खनाल र केपी ओलीको बीचमा राम्रोसँग बोलीचालीसमेत हुँदैनथ्यो । तर अहिले उनीहरूको शत्रुता अनन्य मित्रतामा बदलिएका समाचारहरू आइरहेका छन् । न त उनीहरूको विरोधको कुनै सैद्धान्तिक आधारसँग जनता र कार्यकर्ता सुुसूचित थिए न त एकताको आधारसँग नै उनीहरू सुसूचित छन् । यसप्रकारको व्यक्तिवादी गुट निर्माण र त्यसको स्वार्थअनुकूलको अदलाबदलीलाईर् सिद्धान्तको कोटिमा राखेर व्याख्या गर्न सकिन्छ ?
यसप्रकारको गुटवादी द्वन्द्वहरू पार्टीभित्रको सत्ता प्राप्त गर्न गरिएका जालसाझीपूर्ण क्रियाकलाप मात्र हुन् । किनकि पार्टीभित्रको सत्ता कब्जा नगर्दासम्म मुलुकको सत्तामा पुग्न कठिन हुन्छ । अर्थात् पार्टीभित्रको सत्ता र शाधनमाथि आधिपत्य कायम नगर्दासम्म मुलुकको बागडोरमा पुग्न असहज हुन्छ । त्यसैकारण यस्ता असैद्धान्तिक एकता वा विग्रहहरू राजनीत्ािक पार्टीभित्र दोहोरिरहन्छन् । नेपाली कांग्रेसको उदाहरण लिउँ । त्यहाँभित्र लामो समयदेखि दुईवटा समूहहरू अस्तित्वमा छन् । तर ती समूहको बीचमा नेपाली लोकतन्त्रको यात्रा र गन्त्ाव्यलाई लिएर कुनै फरक बहसहरू भएका छैनन् । फगत प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षी लालसाबाट उत्प्रेरित भएर मात्र यस्ता गुटहरू क्रियाशील देखिन्छन् । आफ्नो महत्त्वाकांक्षाका लागि लोकतन्त्रको बेवास्ता गर्दै राजाको कदमसँगै पार्टीलाई विभाजित गरेर भए पनि प्रधानमन्त्री बनिरहने चाहना राख्ने शेरबहादुर देउवाले पार्टी विभाजनको कुनै सैद्धान्तिक विभेद देखाउन सकेनन् । न त पार्टी एकीकरणका लाग्ीि कुनै वैचारिक आधार निर्माण गर्ने कुरामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले नै ध्यान दिए । तर फेरि पनि पार्टी एकता भयो । त्ौपनि सुशील कोइराला र शेरबहादुर देउवाका अलग अलग समूहहरू सनातन चलिरहेका छन् । तर नेपाली लोकतन्त्रको चरित्र, विकास र मोडेलबारे उनीहरूको विवाद कहीं कतै देखिँदैन ।
मधेसी जनसमुदायको हितार्थ गठन भएको दाबी गर्ने मधेसवादी दलहरू गुट, फुट र विभाजनको पर्याय बनिसकेका छन् । मधेस आन्दोलनको जगमा निर्माण भएको मधेसी जनअधिकार फोरम पनि ३, ४ वटा टुक्राहरूमा विभाजित भइसकेको छ । तर त्यसको नेतृत्व गरेका उपेन्द्र यादव, विजयकुमार गच्छदार र जेपी गुप्ताको महत्त्वाकांक्षामा बाहेक उनीहरूको फरक सैद्धान्तिक धरातल छैन । त्यस्तै सद्भावना पार्टीबाट टुक्रिएका समूहहरू र तराई मधेस लोकतान्त्रिक पार्टीबाट अलग भएका समूहहरूको बीचमा पनि कुनै सैद्धान्तिक अन्तरविरोध छैन । न त उनीहरू र अन्य मधेसवादी समूहहरूको बीचमा नै । तैपनि पार्टी टुक्रिने प्रक्रिया रोकिएको छैन । त्यहाँ झगडा छ त केवल व्यक्तिगत पद, प्रतिष्ठा, महत्त्वाकांक्षा र आर्थिक उपार्जनको लोभी प्रवृत्तिको बीचमा मात्र छ । मन्त्री बन्न र शाधन स्रोतमाथि प्रभुत्व कायम गर्ने उद्देश्यबाट मात्र अभिप्रेरित त्यसप्रकारको व्यक्तिवादी द्वन्द्वसँग सिद्धान्तको कुनै गोरु बेचेको साइनोसमेत छैन । कथित मधेसको अधिकारको नक्कली नारामा संगठित भएका पुरानै अभिजात वर्गीय नेताहरूको अर्थाेपार्जनको व्यक्तिवादबाट जन्मिएको झगडासँग सिद्धान्तलाई कदापि जोड्न सकिन्न ।
लोकतन्त्रमा बहस, विवाद र मतमतान्तर हुनु स्वाभाविक मात्र होइन, अपरिहार्य पनि छ । तर त्यस्ता विषयहरू एउटा निश्चित विचारको आधारमा मात्र बहसमा आउनुपर्छ । यहाँ त हरेक पार्टीभित्र व्यक्तिगत द्वन्द्वहरू मात्र देखिन्छन् । आग्रह, पूर्वाग्रह, व्यक्तिगत स्वार्थ, लेनदेन, पद प्रतिष्ठा आदि जस्ता अराजनीतिक प्रवृत्तिबाट उत्पन्न भएका द्वन्द्वले नेपाली लोकतन्त्रलाई निकै कमजोर तुल्याएका छन् । एउटै पार्टीभित्र मात्र होइन, विभिन्न पार्टीहरूको बीचमा पनि आज वैचारिक भिन्नता केवल दस्तावेजमा मात्र देखिन्ा थालेको छ । उनीहरू पुँजीवादी, समाजवादी, जनवादी वा जुनसुकै वादका हिमायतीहरू किन नहोउन् तर उनीहरूको सोच, व्यवहार र चरित्र एउटै देखिन्छ । आर्थिक लाभको कुनै निर्णय हुँदा सबै दलहरू मिल्छन् तर पदीय बाँडफाँडमा झगडा गर्छन् । यो सैद्धान्तिक दरिद्रताको नेपाली विशेषता दिन प्रतिदिन बढ्दै गइरहेको छ । विचारधारात्मक बहसको स्थान आज प्रत्येक पार्टीभित्र व्यक्ति व्यक्तिको झगडाले ओगटिरहेको छ । आगामी लोकतन्त्रको चरित्रलाई यसले खतरनाक ढंगले प्रभावित पार्नेछ । र, आज देखिएका पार्टीभित्रका अराजनीतिक व्यक्तिवादी लडाइँले नेपाली लोकतन्त्रलाई दीर्घकालीन असर पार्नेछ ।
जब एउटा सुंसगत विचारको आधारमा राजनीति डोरिँदैन त्यहाँ व्यक्तिवादी द्वन्द्वको खतरनाक संस्कृति निर्माण हुन पुग्छ । पार्टीहरूभित्र एउटा उल्लेख्य व्यक्तित्व्ा निर्माण गरिसकेपछि त्यसैको गुरुत्वभित्र गुट निर्माण गर्ने र आफ्ना नजिकका आसेपासेहरूको स्वार्थलाई सम्बोधन गर्ने परम्पराले एउटै पार्टीभित्र र पार्टी पार्टीहरूको बीचमा वैचारिक बहसको बन्ध्याकरण गरेको छ । बाहिरबाट झ्वाट्ट हेर्दा पार्टीहरूको बीचमा पर्याप्त बहस भएको जस्तो देखिनु तर यथार्थमा उक्त बहस व्यक्तिगत स्वार्थका लागि गरिएको एउटा तुच्छ झगडा मात्र हुनु यसैको परिणाम हो । नेपालमा ३, ३ पटकसम्म लोकतन्त्रको लडाइँ गर्नुपर्ने अवस्था दलहरूको यस्तै असैद्धान्तिक द्वन्द्वको कारणबाट उत्पन्न भएको हो । जबसम्म लोकतान्त्रिक मूल्यमा आधारित वैचारिक द्वन्द्वको लोकतान्त्रिक विधि दलहरूले अपनाउँदैनन् तबसम्म नेपालमा लोकतन्त्रको स्थायित्व स्थापित हुने छैन । दलहरूमा देखिएको विचार शून्यता, सिद्धान्तप्रतिको उदासीनता र सतहमा देखिएको व्यक्तिवादी द्वन्द्व नेपाली राजनीतिको खतरनाक प्रवृत्ति हो ।
विचारधारात्मक अवरुद्धताबाट पैदा भएको वर्तमान राजनीतिक लडाइँ यथार्थमा एउटा कृत्रिम लडाइँ मात्र हो । सामाजिक प्रभुत्वका लागि वर्गहरूको बीचमा द्वन्द्व हुनु र त्यसका लागि लोकतान्त्रिक विधि र पद्धतिको प्रक्रियाद्वारा सत्तामा स्थापित हुनु सामान्य कुरा हो । तर व्यक्तिवादको अराजनीतिक द्वन्द्वले लोकतन्त्रका विधि र पद्धतिलाई भत्काउँदै स्वेच्छचारिता प्रदर्शन गर्नु खतरनाक कुरा हो । आज नेपालका राजनीतिक दलहरू यही रोगको सिकार बन्दै गइरहेका छन् । पार्टीहरूका वैचारिक दृष्टिकोणहरूले अहिले उनीहरूको राजनीतिसँग कुनै सरोकार राख्दैनन् । आफ्नो पदीय प्रतिष्ठाको आधारमा गुट र अन्तरपार्टी समीकरणहरू बन्न थालेका छन् । पार्टी पार्टीबीचमा यस्ता अन्तरघाती समीकरणहरूको व्यापक निर्माण प्रक्रिया सुरु हुँदै छ । यसले एकातिर संविधान निर्माणलाई र अर्काेतिर शान्ति प्रक्रियाको अन्तिम टुंगोलाई पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । अतः नेपालका राजनीतिक दलहरूले विचारका आधारमा आफ्नो राजनीतिलाई डोर्‍याउन र त्यस्तो वैचारिक द्वन्द्वलाई लोकतन्त्रको विधि र प्रक्रियाद्वारा व्यवस्थापन गर्न ढिलो गरे वा सकेनन् भने वर्तमान वैचारिक शून्यताको अराजनीतिक द्वन्द्वले कुनै न कुनै रूपको तानाशाहलाई निम्त्याउनेछन् । अन्तरपार्टी संघर्षको वर्तमान अवस्थाले संकेत गरेको यो एउटा डरलाग्दो पक्ष हो ।




 

प्रकाशित : पुस १४, २०६८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?