कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

एमाले प्रतिनिधि परिषद्को प्रस्ताव : सहकारी ठगीमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग

अघिल्लो गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन सफल भएको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष धन्यवाद
गंगा बीसी

काठमाडौँ — सत्ता साझेदार प्रमुख दल एमालेले सहकारीको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन सरकारसँग माग गरेको छ ।ललितपुरको गोदावरीमा शनिबार र आइतबार भएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले सहकारीका बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन माग गरेको हो ।

एमाले प्रतिनिधि परिषद्को प्रस्ताव : सहकारी ठगीमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग

‘देशका केही सहकारीहरूमा गम्भीर समस्या र बेथिति देखापरेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बौं रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ताह सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ । लघुवित्तका ऋणिहरू पनि समस्यामा परेका छन् । मिटरब्याज पीडितका समस्या पनि पूर्ण रूपले समाधान भएका छैनन्,’ प्रस्तावमा उल्लेख छ, ‘सहकारीमा पैदा भएका यस प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ ।’

त्यस्तै, एमालेले आगामी निर्वाचनसम्म समीकरण टिकाउने संकल्प गर्दै अन्य सत्तारूढ दललाई समेत सहकार्य कमजोर हुने काम नगर्न आग्रह गरेको छ । संघ र प्रदेशमा भागबन्डाका कारण सत्ता समीकरणमा देखापर्ने संकटलाई लक्षित गर्दै एमालेले आगामी निर्वाचनसम्म समीकरण टिकाउने प्रतिबद्धता जाहेर गरेको हो । एमालेलाई राष्ट्रिय निर्णायक शक्ति निर्माणका लागि समीकरण साढे तीन वर्ष टिक्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘सहकार्य कमजोर गर्ने कुनै काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र तथा जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै दललाई आह्वान गर्दछ’ दुई हजार चार प्रतिनिधि सहभागी बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग र मिथ्या प्रचारका बाढीलाई चिर्दै एमाले राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीका रूपमा पुनःस्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने संकल्प गर्दछ ।’

अघिल्लो गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन सफल भएको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशेष धन्यवाद’ समेत दिएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न तथा राजनीतिक स्थायित्वका लागि समीकरण बलियो हुनुपर्ने र पार्टी संगठन सुदृढीकरण गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बताए । ‘एमाले पहिलो राष्ट्रिय निर्णायक शक्ति नभई मुलुकमा राजनीतिक स्थायित्व नहुने भएकाले त्यसका लागि पार्टीभित्र र बाहिर पहल गर्ने निर्णय गरेका छौं’ उनले भने, ‘समीकरण बलियो बनाएर सरकारका कामकारबाही प्रभावकारी बनाउने र पार्टी संगठनलाई सुदृढीकरण गर्ने विशेष प्रस्ताव पारित गरिएको छ ।’

सत्ता समीकरण भित्रबाटै कमजोरी देखिएकाले त्यसो नगर्न औपचारिक रूपमै आग्रह गरिएको पनि उनले बताए । ‘समीकरण साढे तीन वर्ष टिकाउने गरी प्रस्ताव पारित गरेका छौं, अब मुलुक प्रयोगको थलो बनाउन हुँदैन’ उनले भने, ‘केही पात्रका क्रियाकलापले सहकार्य दरिलो बनाउने देखिँदैन । साझेदारीमा असन्तुष्टि रहन सक्छ । तर समीकरण नै कमजोर बनाउने काम गर्नु गलत हुन्छ ।’

प्रदेश सरकार भागबन्डामा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीले समीकरण छाड्ने चेतावनी दिएको दृष्टान्तलाई संकेत गर्दै एमालेले समीकरण बलियो बनाउन साझेदार दललाई आग्रह गरेको हो ।

एमालेले संगठन सुदृढीकरणका लागि प्रतिनिधिलाई ६ समूहमा विभाजन गरी सुझाव पेस गर्न निर्देशन दिएको थियो । समूह नेताहरू मोहनमाया ढकाल, कृष्णप्रसाद जैशी, ठाकुर गैरे, शान्ति पाख्रिन, ऋषिकेश पोख्रेल र श्याम बस्नेतले सिद्धान्त र व्यवहारबीच तालमेल नभएका कारण समस्या आएको बताएका थिए । ‘नेता तथा कार्यकर्ताको आचरण कार्यशैली सुधार हुनुपर्छ, दण्ड सजाय कडाइपूर्वक लागू हुनुपर्छ’ उनीहरूको सुझाव थियो, ‘नेता तथा कार्यकर्ताको सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।’

बैठकमा प्रस्तुत अनुशासन आयोगको प्रतिवेदनमा पटकपटक आग्रह गर्दा पनि नेता तथा कार्यकर्ताको सम्पत्ति विवरण प्राप्त नभएको उल्लेख छ । बैठकमा प्रतिनिधिहरूले नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने, भड्किलो जीवनशैली त्याग्नुपर्ने, माथिबाट कार्यशैली सुधारको थालनी गर्नुपर्ने लगायत सुझाव दिएका थिए । ‘नीति, नेतृत्व ठीक भए पनि व्यहारमा सुधार नहुँदा संगठन सुदृढ हुन सकेको छैन’ उनीहरूको भनाइ थियो ।

उपमहासचिव ज्ञवालीले पार्टीलाई युवापुस्तासँग जोड्न विशेष अभियान चलाउने निर्णय भएको बताए । ‘पार्टीलाई युवापुस्तामा जोड्न विशेष अभियान चलाइनेछ’ उनले भने, ‘कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य पुर्‍याउने अभियान चलाउने निर्णय भएको छ ।’

केन्द्रीय सदस्य नीरज आचार्यले मिसन ०८४ मा एमालेलाई निर्णायक शक्ति बनाउने खुला छलफल भएको बताए । ‘मुलुकमा राजनीतिक स्थयित्वका लागि एमाले निर्णायक शक्ति बनाउन कडा कसरत गर्नुपर्ने गहिरो बुझाइ देखियो’ उनले भने, ‘त्यसका लागि पार्टी नेतृत्व, संगठन सुदृढीकरण हुनुको विकल्प छैन भन्ने निष्कर्ष हो ।’ अध्यक्ष ओलीको राजनीतिक प्रस्ताव, महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमा समेत पार्टीलाई निर्णायक शक्ति बनाउन जोड दिइएको छ ।

एमालेले नयाँ सत्ता सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ‘पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पले आजका मुख्य समस्याहरूलाई सम्बोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ’ एमालेको निर्णयमा भनिएको छ ।

बैठकले आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्य सञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरूको भयावह स्खलनका कारणले समाजमा चौतर्फी नैराश्य बढेको निष्कर्ष निकालेको छ । ‘अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नुपरेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीहरूमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरूमा यो देश बन्छ र देश हामीले नै बनाउँछौं भन्ने सकारात्मक ऊर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई यो बैठक आह्वान गर्दछ’ एमालेले भनेको छ ।

बैठकले ‘भ्रष्टाचारका विरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न’ सरकारसँग माग गरेको छ । एमालेले रुस–युक्रेन युद्धमा विभिन्न कारणले नेपाली युवासमेत फस्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भई युद्ध मैदानमा पुगेका युवालाई कूटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाको बन्धक बनेकालाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गर्दछ’ निर्णयमा भनिएको छ । गाजा क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशीसहित सबै बन्धक रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्बाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्नसमेत एमालेले माग गरेको छ ।

७५ औं पार्टी दिवसमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी हुने

एमालेको ७५ औं पार्टी दिवसका अवसरमा प्रमुख दलका नेताहरू सहभागी हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

एमाले परिषद् बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष सम्मान गर्ने भएको छ । उनलाई पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ‘गणतन्त्र गौरव’ सम्मानबाट सम्मान गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको समापन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टीलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताएका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?