२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

उत्साही दर्पणमा बढ्दो निराशा

तृप्ति शाही

वीरेन्द्रनगर — पञ्चपुरी नगरपालिका–९ विद्यापुर सुर्खेतका २२ वर्षीय दर्पण खराल यो क्षेत्रमा बेलाबेलामा चर्चामा आइराख्ने नाम हो । स्कुले जीवनमै उनले पानी तताउने डिभाइस, रिमोट कन्ट्रोलबाट चल्ने कार, रातमा बल्ने र दिउँसो आफैं निभ्ने स्वचालित बत्ती जस्ता स–साना उपकरण आफैंले बनाएर सबैलाई चकित पार्थे । स्कुलमा हुने विज्ञान मेला जस्ता प्रतियोगितामा जिज्ञासु खराल सधैं प्रथम भइराख्थे । 

उत्साही दर्पणमा बढ्दो निराशा

कक्षा ९ पढ्दै गर्दा उनले युट्युब हेरेर एक महिना लगाएर बग्गी कार बनाएका थिए । उनलाई सम्झना छ, त्यतिबेला उनले दुईसिटे कार बनाउन मोटरसाइकलका इन्जिन, पुराना टायर, फलामका सामग्रीहरू प्रयोग गरेका थिए । जसको खर्च ५ लाख रुपैयाँ पुगेको थियो । उनले बनाएको बग्गी कारलाई कर्णाली प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका थिए ।

मन्त्री बुढाले उक्त कार बनेको लागतमा प्रदेश सरकारले खरिद गरी संग्रहालयमा राख्ने पनि बताएका थिए । तर पछि सरकारले वास्ता नगरेपछि उनले त्यो कार कवाडीको मूल्यमा बेच्न बाध्य भए । ५ लाख लगानीमा बनेको कार उनले केही महत्त्वपूर्ण सामान निकालेर ८ हजारमा कवाडीमा बेचे । कवाडीमा बेच्नुअघि कारबाट निकालेका सामान प्रयोग गरेर उनले कृषि विज्ञानतर्फको स्नातक पढ्दै गरेका झलकराज जोशीसँग मिलेर घाँस काट्ने मेसिन बनाए । बिजुलीबाट चल्ने यो मेसिनबाट घाँस, पराल काट्ने काम भइरहेको छ ।

दर्पणको केही गर्ने हुटहुटी यत्तिमै सकिएन । उनले गाउँमा तारजाली बुन्ने हाते मेसिनहरू देखेका थिए । जसको मुख्य ४ देखि ५ लाख पर्ने थाहा पाएपछि योभन्दा राम्रो मेसिन अझै कम मूल्यमा आफैंले बनाउन सकिन्छ कि भन्ने हुटहुटीले उनलाई सतायो । अनेक सामान अनेकतिरबाट जोरजाम गरेर उनले तारजाली बुन्ने मेसिन तयार पारे । सुरुमा म्यानुअल मेसिन बनाएका उनले पछि यसलाई स्तरोन्नति गरेर सेमी अटोमेटिक मेसिन बनाए । उनले भने, ‘सुरुमा ८० हजार लागतमा बनेको यो मेसिनमा अहिलेसम्म ३ लाख बराबर खर्च भइसक्यो ।’

यो मेसिन बनाउँदा आवश्यक सरसामान जोड्न उनले निकै दौडधुप गर्नुपर्‍यो । उनले भारतबाट अनलाइन कारोबार गर्ने कम्पनी अमेजनमार्फत भारतीय ब्रोकरमार्फत सामान झिकाए । यसरी सामान किन्दा उनलाई मूल्य महँगो पर्न गयो । मेसिन बनाएपछि उनले सुरुआतमा दुई सय क्विन्टल जाली बुनेर पनि बेचे । तर अहिले भने जालीको कुनै अर्डर नआएर उनी खाली बसेका छन् ।

नयाँ–नयाँ उपकरणहरू बनाउने हुटहुटी भएका दर्पण हिजोआज भने निराश छन् । उनी आफ्नो कामको मूल्यांकन नभएको र नवप्रवर्तनलाई नेपालमा उत्साहजनक अवस्था नभएकोमा दिक्क छन् । उनले भने, ‘यहाँ यसरी व्यक्तिले बनाएको मेसिनहरूको आधिकारिकता पनि छैन । बेच्न पनि पाइँदैन । अर्को कुरा पहिले सरकारले किन्छु भनेर बग्गी काम पनि कवाडीको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आयो । सधैं घरबाट लगानी गर्ने कुरा पनि आएन । त्यसैले अब विदेश जाने योजना बनाएको हुँ ।’

प्रकाशित : चैत्र ३०, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?