कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

धुम्म काठमाडौं

डढेलो र कृषि अवशेषहरू जलाउने क्रम बढेकाले वायु प्रदूषण अत्यधिक
मर्निङवाकमा ननिस्कन र घरबाहिर निस्किनै परे मास्क लगाउन विज्ञको सुझाव
विद्या राई

काठमाडौँ — देशभर डढेलो लाग्ने क्रम सुरु भएसँगै राजधानी काठमाडौंसहितका स्थानमा केही दिनयता वायु प्रदूषण बढेको छ । सुक्खायामका कारण डढेलो र गहुँका छ्वालीजस्ता कृषि अवशेषहरू जलाउने क्रम बढेकाले अघिपछिभन्दा वायु प्रदूषण उच्च भएको हो ।

धुम्म काठमाडौं

वातावरण विभागका अनुसार सोमबार दिउँसो ५ बजेतिर पछिल्लो २४ घण्टामा उपत्यकाको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) १६९ थियो । सबैभन्दा बढी भैंसेपाटीमा १८०, रत्नपार्कमा १७८, शंखपार्कमा १७७, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा १६३, खुमलटारमा १६० र भक्तपुरमा १५८ थियो ।

विभागले १५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई सातायता देशभर ३३७ स्थानमा डढेलो लागेको छ । सोमबार दिउँसो देशभर १३३ आगलागी सक्रिय देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । काठमाडौंमा सोमबार बेलुकी सात बजेतिर हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कणको मात्रा ८७ माइक्रोग्रामसम्म पुगेको थियो । जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १७ गुणा बढी हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले देशभरि तथा भारतको आगलागीका धूवाँ–धूलो तथा तुवाँलो काठमाडौंमा थपिँदै गएको र स्थानीय वायु स्थिर रहेकाले वायु प्रदूषण उच्च भएको हो । ‘आइतबार वायु प्रदूषण यस वर्षकै सबैभन्दा उच्च तहको थियो, सोमबार केही मात्रामा हावा चलेकाले अलि कम भएको थियो तर प्रदूषण एकदमै छ,’ उनले भने ।

कचौरा आकारको भएकाले पानी नपरेसम्म र ठूलो हावाहुरी चलेसम्म काठमाडौं उपत्यकामा वायु प्रदूषण लामो समयसम्म रहने वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउँछन् । हरेक वर्ष प्रि–मनसुनका बेला काठमाडौं उपत्यकाले यो समस्या झेल्दै आएको छ । सामान्य अवस्थामा काठमाडौंमा तराईबाट आएको हावा दक्षिणकाली–वाग्मती किनार हुँदै र दक्षिण पश्चिमको धादिङबाट आएको हावा थानकोट तथा भीमढुंगा भन्ज्याङ हुँदै भित्रिने गर्छ । उत्तर पश्चिमको नुवाकोटबाट आएको हावा मुड्खु तथा तीनपिप्ले भन्ज्याङ हुँदै उपत्यका प्रवेश गर्छ । वर्षात् नभए उपत्यकाको वायु प्रदूषण रहिरहने र स्वास्थ्य जटिलता थपिँदै जाने तथा दैनिकीमा प्रत्यक्ष असर पार्ने दासले बताए ।

एक सातायता उपत्यकामा वर्षा भएको छैन । आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानले यो सम्भावना एकदमै न्यून देखिएको छ । वायु प्रदूषण थपिँदै जाने क्रम बढ्ने हो भने हवाई उडानमा असर पार्ने मौसमविद् लामिछानेले बताए ।

वायु गुणस्तर विज्ञ दासका अनुसार डढेलो र कृषि अवशेष जलाउनेबाहेक काठमाडौंमा वायु प्रदूषणको समस्या पैदा गर्ने अरू कारणहरू छन् । इँटाभट्टा, कलकारखाना, इन्धनजन्य सवारीसाधनहरूको प्रयोग साथै फोहोरमैला जलाउँदा वायु प्रदूषण हुने गरेको छ । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै बर्सेनि ७ हजार ४ सय मेट्रिक टन फोहोरजन्य पदार्थ, ४४ हजार मेट्रिक टन कृषि अवशेष जलाइन्छ । हरेक वर्ष १५ देखि १६ प्रतिशतका दरले सवारीसाधनको प्रयोग बढ्छ । देशभर भने प्रत्येक वर्ष ३० लाख मेट्रिक टन कृषि अवशेष जलाइन्छ ।

दासले छिमेकी राष्ट्रहरूमा औद्योगिकीकरण र कोइलाको उच्चतम प्रयोगले पनि नेपालमा असर पारिरहेको बताए । ‘वायु प्रदूषणको सिमाना हुँदैन, ठूला शक्ति राष्ट्रहरूको औद्योगिक गतिविधिले निस्केको धूवाँ–धूलो जहाँसुकै पुग्ने भयो, अहिले सुक्खा भएकाले फैलावट झन् छिटो हुन्छ,’ उनले भने । वायु प्रदूषण भर्खर सुरु भएकाले यो स्थिति अप्रिल महिनाभरि रहने उनले बताए ।

२.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) मा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलो हुन्छन् । यस्ता कण श्वासप्रश्वास नलीको भित्री तहसम्म सजिलै प्रवेश गर्ने भएकाले स्वास्थ्यका लागि खतरनाक हुने श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ डा. अर्जुन कार्कीले बताए ।

वायु प्रदूषण बढेका बेला सास फेर्न गाह्रो हुने, आँखा पोल्ने, नाक चिलाउने, हाछ्युँ लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने समस्याहरू देखिन्छ । पहिल्यै दम रोग लागेका वा दीर्घरोगीहरूलाई बिरामले झनै च्याप्छ । ‘यस्तो धूलोले श्वासप्रश्वास नलीको भित्री तहलाई बिगार्छ, दमरोगी, दीर्घरोगीहरूलाई यस्तो बेला बढी च्यापेर अस्पतालतिर लैजानुपर्ने सम्भावना बढ्छ,’ कार्कीले भने ।

स्वास्थ्य समस्याहरू हुन नदिन वा जोगिन सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परे एन–९५ मास्क लगाएर निस्कने, घरभित्र बस्दा झ्यालढोका बन्द गरेर बस्ने, बिहानको समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषण बढी हुने हुँदा मर्निङ वाक सकेसम्म नजान कार्कीले सुझाए । अघिपछिको प्रदूषणभन्दा उच्चदरको वायु प्रदूषणका बेला धूमपान गर्नेका लागि श्वासप्रश्वाससम्बन्धी दोहोरो जोखिम हुन्छ । वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले वायु प्रदूषणको जोखिम बढेकाले फोहोर जलाउने, सवारीसाधन मर्मत गर्नेजस्ता कार्यहरू नगर्न सुझाएका छन् ।

‘स्टेट अफ ग्लोबल एयर–२०२०’ को तथ्यांकअनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १ सय मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को रिपोर्टअनुसार करिब ३७ हजार जनाको मृत्यु भएको देखिएको थियो ।

प्रकाशित : चैत्र २७, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?