२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

‘चिमाल’ले रंगियो हिमाली वन 

केदार शिवाकोटी

दोलखा — चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रंगीन बनेका छन् । समुन्द्री सतहबाट २ हजार १ सय मिटरदेखि ३ हजार ५ सय मिटरसम्म फुल्ने चिमालले जेठसम्मै वन ढाकिने गर्छन् । जिल्लाको जिरी, कालिञ्चोक, शैलुङ, भीमेश्वर नगरपालिका…–९ लाँकुरीडाँडाको डाँङडुङेलगायतका वनमा अहिले विभिन्न प्रजातिका गुराँस फुलेका छन् ।

‘चिमाल’ले रंगियो हिमाली वन 

यतिबेला वनैभरि थरीथरीका गुराँस फुलेर रंगीचंगी देखिएको छ । माथिल्लो क्षेत्रमा फुल्ने गुराँसलाई स्थानीय भाषामा चिमाल भन्ने गरिन्छ । डाङडुङे यतिखेर चिमालका १४ भन्दा बढी थरीका फूलले ढकमक्क बनेको छ ।

चिमालसँग तस्बिर खिच्ने र रमाउनेहरू यतिखेर यहाँ आउने गरेका छन् । यही ठाउँमा सरकारले बनाउने भनेको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्र पनि रहेको छ । त्यहाँ पुग्नका लागि कालोपत्र सडक बनेको छ । खरीढुंगाबाट ६ किलोमिटरको उकालो लोगपछि चिमालले रंगीचंगी बनेको वनक्षेत्र पुगिन्छ । हिमाली क्षेत्रका माथिल्लो भेगका वन चिमाल फुलेर ढकमक्क बनेका छन् । हरेक वर्ष चिमालसँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय जीतबहादुर श्रेष्ठले बताए । ‘हरेक वर्षमा चिमालसँग रमाउन डाङडुङे आउनेको संख्यामा वृद्धि भइरहेको छ,’ उनले भने, ‘३ महिना वनै चिमालले रमणीय बनेको हुन्छ, चिमालसँग सेल्फी खिच्न र भिडियो बनाउन आन्तरिक पर्यटक आउने गरेका छन् ।’ डाङडुङेमा चिमालका कति प्रजाति फुल्छन्, त्यो भने कतैबाट अध्ययन नभएकामा उनले गुनासो गरे ।

गौरीशंकर संरक्षण क्षेत्रले गरेको अध्ययन अनुसार जिल्लामा १४ प्रजातिका गुराँस फुल्ने गरेको छ । हरेक २ वर्षमा हिमाली क्षेत्रका वनमा रंगीचंगी चिमाल फुल्ने गरेको स्थानीय जयबहादुर श्रेष्ठले बताए । डाङडुङे क्षेत्रमा धेरै रंगका चिमाल फुल्छन् भनेर कसैलाई समेत जानकारी नभएकाले ओझेलमा परेको उनको भनाइ छ । पछिल्लो समयमा चिमालका बोट मास्ने काम भइरहेको छ । चिमालका बोट खासगरी दाउराका लागि मास्ने काम भएको स्थानीय श्रेष्ठले बताए । ‘खरिढुंगाको माथिल्लो क्षेत्रमा चिमालका धेरै प्रजाति छन्,’ उनले भने, ‘तर यसको संरक्षणभन्दा पनि विनाश भइरहेको छ ।’

दाउराका लागि स्थानीयले चिमालका बोट मास्ने काम भइरहेको उनले बताए । ‘परागसेचन हुने समयमा वनमा पुग्नेले फूलका हाँगै लछार्छन्,’ उनले भने, ‘सडक वरपरका चिमालका रुखहरू सबै मासिएको छ ।’ विगतमा लामासाँघु–जिरी सडक खण्डको खरिढुंगा क्षेत्रको सडक दायाँबायाँ चिमाल फुलेर रमणीय देखिन्थे । हाल यस क्षेत्रका चिमालका रुख मासिएका छन् । ‘वन क्षेत्रमा घुम्न जानेले चिमालका हाँगा लुछिरहेका हुन्छन्,’ श्रेष्ठले भने, ‘यस्तै गरी मास्ने काम भइरह्यो भने एक दिन डाङडुङे पनि उजाड हुनेछ ।’ प्रत्येक वर्ष फुले पनि हरेक २ वर्षमा भने वनै ढकमक्क भएर फुल्ने गरेको स्थानीय बताउँछन् । सेतो, रातो, गुलाबी, अर्धसेतो अर्धनीलोलगायतका गुराँसका प्रजाति जिल्लाभरि पाइने गरेका छन् ।

कालीञ्चोक क्षेत्रमा दाउराका लागि चोरी निकासीले पनि चिमालको जंगल मासिएको डिभिजन वन कार्यालयका रेन्जर गुप्तबहादुर बस्नेतले बताए । ‘माथिल्लो क्षेत्रमा फुल्ने चिमाल डाँफे र मुनालको मुख्य आहारा पनि हो,’ उनले भने, ‘तर, दाउराका लागि चोरी निकासी बढ्दा मासिने क्रम बढ्दो छ, संरक्षणमा स्थानीयको सहभागिता देखिएको छैन ।’ गुराँस एक प्रकारको जडिबुटी पनि भएको उनले बताए ।

हिमाली वनको शोभा बढाउने चिमाल संरक्षणमा स्थानीय तहले तदरुकता देखाउनु पर्नेमा उनले जोड दिए । गुराँसको हाँगै लछारेर फूल टिप्ने प्रवृत्तिले पनि संरक्षणमा चुनौती बढेको उनले बताए । ‘कालीञ्चोक क्षेत्रमा यो बेलामा चिमाल फुलेर मगमगाउने समय हो,’ उनले भने, ‘तर चोरी निकासीले उक्त क्षेत्रमा चिमाल विरलै देखिन्छ, फुलेका चिमाल पनि फूल टिप्नेले हाँगो लछारेर मासिएका छन् ।’ जिल्लाको जिरी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने गुराँसको वन संरक्षण गर्न गुराँस पार्क निर्माण गरेको छ ।

प्रकाशित : चैत्र १५, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?