कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सुनको सिक्री नपाएपछि विवाह नगरेका बेहुलाविरुद्ध विवाहसम्बन्धी कसूर

भूषण यादव

वीरगन्ज — सुनको सिक्री नपाएको भन्दै विवाह नगरेका बेहुलासहित ५ जनाविरुद्ध विवाहसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ । पर्सा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय बेहुला उमेश साह गोढ, बेहुलाका बुवा बच्चालाल साह गोढ, बेहुलाका दुई जना दाइ र भिनाजुविरुद्ध आएको जाहेरी दर्ता गरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिएको छ । 

सुनको सिक्री नपाएपछि विवाह नगरेका बेहुलाविरुद्ध विवाहसम्बन्धी कसूर

डीएसपी कुमारविक्रम थापाका अनुसार सामाजिक परम्पराअनुसार विवाह भइरहेको अवस्थामा सोमबार राति करिब २ बजेको समयमा सुनको सिक्री नपाएको भन्दै बेहुला तथा निजका आफन्तहरुले बेहुली पक्षकासँग वादविवाद तथा हातपातसमेत गरी विवाह छोडी जान लागेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । वीरगन्ज–२४ रामगढवा निवासी बेहुली पक्षले सुनको सिक्री नपाएको निहुँमा विवाह रद्द गर्ने विरुद्ध जाहेरी दिएपछि प्रहरीले म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

बेहुला उमेश साह गोढ वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । स्थानीयका अनुसार मधेशी रितीरिवाजबमोजिम बेहुलाको परछावन र बरमाला हुँदासम्म कुनै विवाद भएको थिएन् । जन्तीले सहज तरिकाले नास्ता र खाना समेत खाएका थिए । ‘तर, जब बेहुला र बेहुली मण्डपमा बसे तब बेहुलाले अनेक बहाना गर्न थाले,’ स्थानीय दिपक कुमारले भने, ‘कहिले मेरो दाईको इज्जत भएन् त कहिले मेरो भिनाजुको इज्जत नभएको भन्दै बेहुला मण्डपबाट उठ्न बहाना खोज्दै थिए ।’ केही समयपछि सुनको सिक्रीको डिमान्ड राखे । ‘सुनको सिक्री नपाउन्जेल विवाह अगाडि नबढाउने अड्डी कसे,’ अर्का स्थानीय रामकिशोर कुर्मीले भने, ‘केही समयपछि नै सिक्री नपाएकाले विवाह नगर्ने भन्दै मण्डपबाट बेहुला उठे ।’

बेहुला मण्डपबाट उठेपछि बेहुलीका आफन्तले रोक्ने प्रयास गर्दा विवाद भएको थियो । मण्डपमा अचानक सुनको सिक्री डिमान्ड गरेका बेहुलाले दाइजोमा यसअघि नै १२ लाख नगद, मोटरसाइकल खरिदका लागि ३ लाख २५ हजार रुपैयाँ, ७५ हजारको ल्यापटप र एउटा सुनको औँठी लिइसकेको बेहुलीको परिवारले जनाएका छन् ।

बेहुलाका बुवा सुखल साहले छोरीले राम्रो घरपरिवार पाइन् भनेर ऋण खोजेर भए पनि दाइजोको व्यवस्था गरेको बताउँछन् । ‘जन्तीको स्वागतमा समेत कुनै कमि कमजोरी हुन दिएका थिएनौँ,’ उनले भने, ‘अचानक सिक्रीको डिमान्ड भएपछि अहिले पैसाको व्यवस्था हुन सकेन्, बिहे पछि दिन्छौँ भनेका थियौँ । तर, पनि उहाँहरु मान्नु भएन् ।’

माछा नखुवाएको निहुँमा भाँडिएको विहे एक सातापछि सम्पन्न

गत फागुन २१ मा जन्तीलाई बेहुली पक्षले भोजमा माछा नखुवाएको भन्दै भाँडिएको विहे सोमबार राति आपसी समझदारीमा सम्पन्न भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवल टोल निवासी हरेन्द्र साहको घरमा सखुवाप्रसौनी गाउँपालिका– ५ देउरबानाका धुरी साहको घरबाट आएको जन्तीलाई माछा नखुवाएको भन्दै विवाद सृजना भएको थियो । विवाद बढ्दै गएपछि दुबै पक्षबीच कुटाकुट समेत भएको थियो । बेहुलाका बुवा सामान्य घाइते भएका थिए । बेहुली पक्षले बेहुलालाई रातिभरि नियन्त्रणमा लिएका थिए । जन्तीको भागाभाग भएको थियो ।

ईलाका प्रहरी कार्यालय पोखरियाका निरीक्षक मोहनविक्रम केसीको नेतृत्वमा गएको टोलीले बेहुलालाई उद्धार गरेको थियो । फागुन २२ मा प्रहरी कार्यालयमै भएको छलफलमा बेहुलाले विवाह गर्न अस्वीकार गरेका थिए । बेहुलीपक्षले विवाहमा खर्च भएको १२ लाख रुपैयाँ माग गरेका थिए । बेहुला पक्षले पैसा नदिने अडान लिएका थिए । फागुन २६ मा सामाजिक अगुवा र स्थानीय जनप्रतिनिधि दुवै पक्षलाई राखेर सहमति गराएपछि फागुन २८ मा विवाह गर्ने तय भएको रामप्रवेश साहले जनाए । ‘सोमबार राति बेहुला पक्षबाट १०/१२ जना जन्ती आएर सौहादैपूर्ण वातावरणमा विवाह सम्पन्न भयो,’ सामाजिक अगुवा साह भन्छन्, ‘रितीरिवाज अनुसार विवाह सम्पन्न भएपछि बेहुली लिएर बेहुला घर फर्किए ।’

प्रकाशित : फाल्गुन २९, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×