२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभलाग्दो 

नारायण खड्का

अस्ट्रेलिया — काठमाडौंको बी एन्ड सी अस्पतालमा मेडिकल अफिसर रहेका चिकित्सक सनी श्रेष्ठ केही समयअघि अस्ट्रेलिया आए । उनी धेरै मिहिनेत र परीक्षापछि अहिले यहाँको प्रतिष्ठित सरकारी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् ।

अस्ट्रेलियामा नेपाली चिकित्सकको तलब लोभलाग्दो 

‘सबैको अलग–अलग कारण होला तर समग्रमा आफ्नो पर्सनल ग्रोथ, पारिवारिक समस्या र उज्ज्वल भविष्यका लागि नै नेपाली चिकित्सक अस्ट्रेलिया आइरहेका हुन्,’ डा. श्रेष्ठले अनुभव सुनाए ।

अस्ट्रेलिया पछिल्लो समय नेपालका विद्यार्थीका लागि मात्र नभएर चिकित्सकका लागि रोजाइको स्थान बनिरहेको छ । ५ वर्षयता सयौं नेपाली चिकित्सक आफ्नो पेसा छाडेर उज्ज्वल भविष्य तथा करिअरको खोजीमा अस्ट्रेलिया आएका छन् । नेपालमा चिकित्सा शिक्षा अध्ययन सकेर यहाँ आएका अधिकांश चिकित्सक काम गर्न भने त्यति सहज नभएको बताउँछन् । विदेशी चिकित्सकले यहाँको नियामक निकायमा दर्ता हुन कठिन परीक्षा पास गर्नुपर्छ भने काम पाउन पनि सहज छैन ।

अस्ट्रेलियामा कति नेपाली चिकित्सक आइरहेका छन् भन्ने वास्तविक तथ्यांक नभए पनि यहाँ रहेका नेपालीमूलका चिकित्सकको संगठन अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसन (एम्डा) का अनुसार कम्तीमा पनि ४ सय नेपाली कार्यरत छन् । एसोसिएसनका निवर्तमान अध्यक्ष डा. अनुपम पोखरेल नेपाली चिकित्सक अस्ट्रेलिया आउने क्रम बढ्नुको मुख्य कारण अवसरको खोजी, देशको भद्रगोल अवस्था तथा पारिवारिक कारण भएको सुनाउँछन् ।

अस्ट्रेलियामा काम गर्ने जुनियर चिकित्सकले सुरुमा वार्षिक कम्तीमा ८० हजार अस्ट्रेलियन डलरसम्म कमाउँछन् । सप्ताहन्त, ओभरटाइम गरेको अवस्थामा त उनीहरूले नेपालको एक महिनाको तलब एक दिनमै कमाउन सक्छन् । अस्ट्रेलियाको नियामक निकायमा दर्ता भएर सिनियर चिकित्सकका रूपमा काम गर्न थालेपछि भने कम्तीमा वार्षिक १ लाख ५० हजारदेखि ५ लाख डलरसम्म कमाउन सकिने चिकित्सकहरू बताउँछन् । त्यसमा पनि दुर्गम क्षेत्रमा काम गर्न गएको खण्डमा आम्दानी अझ बढ्छ ।

प्रकाशित : पुस २७, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?