कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राष्ट्रिय सभामा नयाँ अनुहारलाई प्राथमिकता दिन कांग्रेसमा दबाब

केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसबाटै मन्त्री बनेकाहरुको पनि चर्को आलोचना
प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरूले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनोट गर्दा नयाँ अनुहारलाई प्राथमिकता दिन दबाब दिएका छन् । टिकट वितरणकै कारण विगतदेखि नै पार्टीको छवि धुमिल रहेको भन्दै सदस्यहरूले यसपटक विषयविज्ञ, योग्य र नेपाली राजनीतिमै उदाहरणीय हुने गरी उम्मेदवार छनोट गर्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।  

राष्ट्रिय सभामा नयाँ अनुहारलाई प्राथमिकता दिन कांग्रेसमा दबाब

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टीले गुट र वरिष्ठताका आधारमा एकै व्यक्तिलाई पटक–पटक अवसर दिँदा नेता कार्यकर्तामा निराशा छाएको र नयाँ पुस्तामा समेत गलत सन्देश गएको बताए । केन्द्रीय सदस्य रामहरि खतिवडाले यसपटक उम्मेदवार चयन गर्दा कांग्रेसले जनताबाट प्रशंसा बटुल्नुपर्ने धारणा राखे ।

‘अस्ति भर्खरै चुनाव हारेका, समानुपातिकमा उम्मेदवार भएर अस्वीकृत भएकाहरूलाई होइन, माथिल्लो सदनको गरिमालाई उचो बनाउने खालका उम्मेदवार छानौँ,’ खतिवडाले भने, ‘यो गुट र त्यो गुट भन्ने आधारमा होइन, कांग्रेसले प्रशंसा कमाउने र राष्ट्रिय राजनीतिमै उदाहरणीय बन्ने गरी उम्मेदवार चयन गरौँ ।’

बरू जीवनभरि आफ्नो क्षेत्रबाट योगदान दिएर अहिले कांग्रेसले बिर्सिंदा अर्कोतिर ढल्किन लागेकाहरूलाई अवसर दिनुपर्ने खतिवडाको जोड थियो । सदस्यहरूले सभापति देउवा फेरि पार्टीमा उम्मेदवार नबन्ने भएकाले पनि अब टिकट वितरणमा गुट/उपगुट हेर्नुपर्ने आवश्यकता नरहेको भनेका थिए ।

अवसर दिँदा एकै व्यक्तिलाई भ्याइ–नभ्याइ हुने गरी दिने गरिएकोप्रति असहमति राख्दै केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले यसपटक नयाँ अनुहारलाई मौका दिनुपर्ने बताइन् ।

‘एउटा पूरानो ढुंगा छ, पार्टीले त्यही ढुंगालाई कहिले यता पल्टाउँछ, कहिले उता पल्टाउँछ, त्यो ढुंगामुनि केही छैन भनेर पटक–पटक परीक्षण भइसक्यो, जनताले थाहा पाइसके,’ बैठकमा ढुंगालाई उदाहरण बनाउँदै नेता अवालले भनिन्, ‘नयाँ ढुंगा लिएर हेर्ने हो भने नयाँ रहस्य खुल्न सक्छ । पुरानोले भन्दा धेरै जनताको मत जित्ने गरी काम गर्न सक्छ ।’

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उम्मेदयार चयनका लागि पारदर्शी र स्पष्ट मापदण्ड अपनाउनुपर्ने बताए । ‘उम्मेदवार छनोट गर्ने विधि पुरानै हो कि वर्तमान राजनीतिक परिस्थिति अनुकूलको नयाँ मापदण्ड अपनाउने हो ? देशले मागिरहेको नयाँ अनुहार र आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएका मान्छेहरूलाई रोज्ने हो कि उही गुटप्रति बफादारलाई मात्रै रोज्ने हो ?,’ शिवाकोटीले प्रश्न गरे, ‘देशभरिका युवाहरूले आज कांग्रेसलाई नियालिरहेका छन् । यस्तो बेला समय सुहाउँदो लय नसमाउने हो भने पार्टी थप अलोकप्रिय बन्दै जानेछ ।’

बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नयाँ अनुहारलाई मौका दिनुपर्ने धारणा राखेको उनले बताए । ‘जो आफैँ आकांक्षी हुनुहुन्छ, उहाँहरूको तलमाथि हो, नभए सबैको धारणा पटक–पटक अवसर पाएकालाई होइन, सक्षम र जनाधार समेत भएकालाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत आएको छ,’ शिवाकोटीले इकान्तिपुरसँग भने ।

अर्का केन्द्रीय सदस्य सदस्य कृष्णकिशोर घिमिरेले टिकट वितरणमा गुटप्रतिको बफादारितालाई मात्रै मापदण्ड बनाउन नहुने बताए । ‘कुनै गुटमा भएका कारण योग्य हुने, र नभएका कारण अयोग्य हुने गरी नहोस् । नेतृत्वले अवसरको बाँडफाँड गर्दा ध्यान पुर्‍याउनु आवश्यक छ,’ घिमिरेको जोड थियो ।

विधानअनुसार उम्मेदवार चयन केन्द्रीय संसदीय बोर्डले गर्छ । तर विधानको त्यो व्यवस्थालाई नै खारेज गरेर केन्द्रीय समितिबाट उम्मेदवार चयन गर्नुपर्ने सदस्य टेकप्रसाद गुरुङले बताए । ‘टिकट दिने बेला उम्मेदवार कस्तो हो ? सभापतिज्यूलाई थाहा नभएर गलत मान्छेलाई दिने गरिएको हो भने केन्द्रीय समितिबाटै टिकट वितरण गरौँ । यहाँ छलफल गरेर टिकट दिँदा उपयुक्त मान्छेले टिकट पाउने सुनिश्चिता रहन्छ,’ उनले भने ।

माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ । तर कांग्रेसमा मात्रै चार सयभन्दा धेरैले आकांक्षा देखाएका छन् । जसमा पटक–पटक अवसर पाएका, चुनाव हारेका र समानुपातिकमा परेका नेताहरू समेत छन् । उम्मेदवारको मनोनयन गर्नुअघि बसेको केन्द्रीय समितिमा सदस्यहरूले नेतृत्वलाई खबरदारी गरेका छन् ।

मन्त्रीहरूले पेस गरे कार्यप्रगति

शुक्रबारको बैठकमा पाँच मन्त्रीहरूले सरकारमा सहभागी भएपछि गरेका कामको विवरण पेस गरे । बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकूदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बसेर गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री महतले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले तुलनात्मकरुपमा इमान्दार भएर काम गरेको दाबी गरे । ‘म अर्थमन्त्री हुँदा अर्थतन्त्र लथालिंग बनेको अवस्था थियो । तर अहिले अर्थतन्त्र सुधारको बाटोमा छ । बजार चलायमान हुँदैछ,’ महतले अघि भने, ‘जनताको अपेक्षाअनुसार काम हुन नसकेको हुनसक्छ । तर केही नभएको भने होइन । कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले राम्रै काम गरेको देखेको छु।’

परराष्ट्रमन्त्री एनपी साउदले आफू सरकारमा गएपछि कुटनीतिक सम्बन्धमा सुधार आएको दाबी पेश गरे । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीबारै प्रगति पेस गरेका थिए भने उद्योगमन्त्री रमेश रिजाल र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङले कार्यप्रगति पेश गर्न बाँकी छ ।

आफ्नै मन्त्रीहरूको चर्को आलोचना

मन्त्रीहरूले सरकारले थुप्रै काम गरेको विवरण सुनाएपनि सदस्यहरूले भने आफ्नै पार्टीबाट मन्त्री बनेकाहरूको समेत चर्को आलोचना गरे । मन्त्रीहरूले पार्टीका लागि काम नगरेको, पार्टीभन्दा बढी गठबन्धन दलसँग उत्तरदायी बनेको, पार्टीलाई भन्दा गुटलाई केन्द्रमा राखेर काम गरेको सदस्यहरूको आरोप छ ।

‘प्रधानमन्त्रीपछि मन्त्रीहरूले यो भयो, र त्यो भयो भनेर सुनाउनुभयो । तर जनताले महसुस गर्ने गरी कहाँ के भयो ? मैले देखिरहेको छैन,’ केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘मन्त्रीहरू चिल्लो पिरो भएको देखिएको छ, उहाँहरूका परिवार र नातागोतामा त्यसको अनुभूति छ । तर जनताले त्यो अनुभूति गर्न पाएका छैनन् ।’

उनले अहिले पार्टीले जनतामाझ लोकप्रिय हुने गरी काम गर्नुपर्ने बेला भएपनि मन्त्रीहरूले काम गर्न नसकेको आरोप लगाए । ‘फेरि जनतामा जाने आधार बनेको छैन । सरकारको अकर्मण्यता यति भइसकेको छ कि जनता आक्रोशित छन् । गाउँ जाँदा हिजो चुनाव जिताउने जनताले कालो मोसो दल्छन् कि भनेर डराउनुपर्ने अवस्था छ,’ खतिवडाले थपेका थिए ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सरकारले संविधान कार्यान्वयनमा ध्यान नदिएको आरोप बताए । ‘सरकारले संविधान कार्यान्वयमा ध्यान दिएको छैन । कानुन बनेका छैनन् । संविधानमा लेखिएको अधिकार जनताले पाएको छैन,’ चौधरीले भने, ‘त्यहीकारण जनताले न्यायको अनुभूति गर्न सकेका छैनन्, निराशा छाएको छ ।’

अर्का सदस्य गोविन्दराज पोखरेलले सरकारले जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।

‘नेपाल सधैँ भूकम्पीय जोखिममा छ । सरकारले त्यहीअनुसार विपद्को तयारी गर्नुपर्छ,’ उनले भने, ‘तर विगतदेखि पटक–पटक विपद् झेल्दा पनि हाम्रो तयारी फित्तलो देखिएको छ । जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा पनि सरकारको सक्रियता देखिएको छैन ।’ उनले सरकारको अकर्मण्यताकै कारण युवाहरूमा निराशा बढेर गएको बताए ।

शुक्रबार मात्रै बैठकमा ४७ जना सदस्यहरूले धारणा राखे । अर्को बैठक शनिबार साढे १२ बजे बस्दैछ ।

प्रकाशित : पुस १४, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?