२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

सुन तस्करीका ९ अभियुक्त पुर्पक्षका लागि थुनामा

दोलखा

काठमाडौँ — चिनियाँ नाका रोङजियाबाट दोलखा हुँदै सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरूलाई थुनामा पठाएको हो । 

सुन तस्करीका ९ अभियुक्त पुर्पक्षका लागि थुनामा

यस्तै, सुन तस्करीमा संलग्न तीन जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छाड्ने आदेश पनि इजलासले दिएको छ । सुन तस्करीका मुख्य आरोपित चिनियाँ नागरिक दाबा भनिने आकार लामा र टाँसी भनिने ग्याङ रुसहित तस्करीमा सघाउने नेपाली नागरिक नुर्वछिरिङ शेर्पा, भरिया पेम्बा तामाङ, केशर तामाङ, चसमान तामाङ, लालबहादुर तामाङ, माधवकुमार मगर र बेच्न सघाउने सनद प्रधानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सुन तस्करीमा संलग्नता नदेखिएको भन्दै सुनमाला तामाङ, चेतनाथ न्यौपाने र एक नाबालकलाई साधारण तारिखमा छाड्न अदालतले आदेश दिएको छ । दोलखाबाट १० महिनामा ३३ किलो सुन तस्करी गरेको आरोपमा २७ जनाविरुद्ध सरकारी वकिल कार्यालय दोलखाले मंसिर १० मा मुद्दा दायर गरेको थियो ।

प्रहरीले सुन तस्करीमा संलग्न १५ जनालाई पक्राउ गरे पनि अझै १२ जना फरार छन् । गत असोज १० र १२ मा विगु गाउँपालिका–३ र १ जामुने र लामाबगरबाट ११ किलो सुन प्रहरीले बरामद गरेको थियो । सुन ओसारपसारमा संलग्न पक्राउ परेसँगै चिनियाँ नाका रोङजियाबाट लामाबगरतर्फ पैदलमार्ग हुँदै तस्करी हुने गरेको खुलेको थियो ।

प्रकाशित : मंसिर १७, २०८० ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?