२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

दोलखा सुन तस्करी : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश 

३ जनालाई धरौटीमा र ३ जनालाई साधारण तारेखमा छाड्न अदालतको आदेश
केदार सिवाकोटी

दोलखा — चिनियाँ नाका रोङजियाबाट दोलखा हुँदै सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ । शुक्रबार दोलखा जिल्ला अदालतका न्यायधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

दोलखा सुन तस्करी : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश 

त्यस्तै ३ जनालाई धरौटीमा र ३ जनालाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । सुन तस्करीका मुख्य आरोपी चिनियाँ नागरिक दावा भनिने आकार लामा र टासी भनिने ग्याङ रुसहित सुन तस्करीमा सघाउने नेपाली नागरिक नुर्वछिरिङ शेर्पा, भरिया पेम्वा तामाङ, केशर तामाङ, चसमान तामाङ, लालबहादुर तामाङ, माधवकुमार मगर र सुन बेच्न सघाउने सनद प्रधानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

तस्करीमा संलग्न अवैध क्रिप्टोकरेन्सी कारोबारी महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार, दीपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र तिलक विकलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अवैध क्रिप्टो कारोबारबाट सुन तस्करीमा संलग्न रहेको भन्दै महिमाविरुद्ध ३१ करोड ११ लाख ७० हजार ४ सय ४६ रुयैया १५ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

यस्तै दीपेन्द्रराज र तिलकलाई २० करोड ७४ लाख ४६ हजार ९ सय ६४ रुपैयाँ १० पैसा बिगो दाबी गरेर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । सुन तस्करीमा संलग्नता नदेखिएको भन्दै सुनमाला तामाङ, चेतनाथ न्यौपाने एक नाबालकलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि उनीहरू धरौटी नबुझाएका थुनामै रहेका छन् ।

दोलखाबाट १० महिनामा ३३ केजी सुन तस्करी गरेका आरोपमा २७ जनाविरुद्ध सरकारी वकिल कार्यालय दोलखाले मंसिर १० गते मुद्दा दायर गरेको थियो । प्रहरीले सुन तस्करीमा संलग्न १५ जनालाई पक्राउ गरे पनि अझै १२ जना फरार रहेका छन् ।

गएको असोज १० र १२ गते विगु गाउँपालिका–३ र १ जामुने र लामाबगरबाट ११ केजी सुन प्रहरीले बरामद गरेको थियो । सुन पक्राउ परेसँगै चिनियाँ नाका रोङजिया हुँदै लामाबगरबाट पैदलमार्ग हुँदै सुन तस्करी हुने गरेको खुलेको थियो ।

प्रकाशित : मंसिर १६, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?