२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

चिकित्सक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

कृष्ण थापा

नुवाकोट — चिकित्सक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एकजना कारागार चलान भएका छन् ।  १३ वर्षपछि विदुर नगरपालिका १२ का ३९ वर्षीय सुब्बा तामाङ (लुप्पा) पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नरीक्षक (इन्स्पेक्टर) पुष्प दर्लामीले तामाङलाई शनिबार पक्राउ गरी आइतबार नुवाकोट अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार जिल्ला कारागार नुवाकोटमा पठाइएको बताए ।

चिकित्सक श्रेष्ठ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनका तत्कालीन कार्यकारी निर्देशक थिए । अपहरण काण्डमा दोषी ठहरिएका निज तामाङ आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनापछि फरार रहेका तामाङलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि अदालत पेस गरिएपछि कारागार चलान भएका हुन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा चितवन जिल्ला अदालतले निज तामाङलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । निजलाई २०६७ साल जेठ ४ गते चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले २०६९ जेठ २४ गते कैदसहित जरिवाना तोकेका थियो ।

चिकित्सक श्रेष्ठको अपहरण र त्यसपछि ३ किलो सुन फिरौती मागेको प्रहरीले जनाएको छ । अपहरणमा निज तामाङसहित नुवाकोटका ३ जना, २ जना काठमाडौंका र २ जना भारतीय रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?