१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

शक्तिमा फर्किन आधार खोज्दै कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले क्षीण बनेको राजनीतिक शक्तिलाई पुनर्जीवन दिन डेढ वर्षअघि त्यागिसकेको राजसंस्थाको मुद्दामा फर्किनुका साथै राप्रपासँग पार्टी एकताको आधार निर्माण गरिरहेका छन्
कलेन्द्र सेजुवाल

काठमाडौँ — राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै ओरालो लागेको कमल थापाको राजनीतिक सामर्थ्य २०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा थप क्षीण बन्यो । कुनै समय सत्ता–राजनीतिका माहिर खेलाडी कहलिएका उनै थापा पछिल्लो समय शक्तिमा फर्किने प्रयासमा छन् । यसका लागि उनी डेढ वर्षअघि त्यागिसकेको राजसंस्थाको मुद्दामा फर्किनुका साथै राप्रपासँग पार्टी एकताको आधार निर्माण गरिरहेका छन् ।

शक्तिमा फर्किन आधार खोज्दै कमल थापा

राप्रपाको २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा लिङ्देनसँग पराजित भएसँगै थापाले पार्टी र राजसंस्थाको मूल एजेन्डा छाडेका थिए । पराजयको दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थोपर्दै उनले ‘अब राजालाई नबोक्ने’ बताएका थिए । पूर्वराजाले आफूलाई हराउन भूमिका खेलेको उनको भनाइ थियो । अध्यक्षमा पराजित भएको तीन महिनामै फागुनमा थापा राप्रपा नेपाल पुनःस्थापित गर्दै त्यसको अध्यक्ष बने ।

उनीनिकट नेताका अनुसार राजसंस्थाको मुद्दा छोड्दा छोटो समयमै व्यहोर्नुपरेको राजनीतिक क्षतिका कारण उनी पुरानै ‘रोडम्याप’ मा हिँड्ने निर्णयमा पुगेका हुन् । २०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनको परिणामले उनलाई राजावादी लाइनमा फर्किन बाध्य बनाएको राप्रपा नेपालका एक नेताले बताए । ‘विचारका हिसाबले हाम्रो प्रमुख प्रतिस्पर्धी राप्रपा संसद्को चौथो ठूलो दल बन्दै गर्दा हाम्रो पार्टीले नराम्रो पराजय भोग्यो, स्वयं अध्यक्ष (थापा) पनि पराजित हुनुभयो,’ ती नेताले भने, ‘यसले गर्दा पार्टीभित्र पनि उहाँमाथि राजसंस्थाको पक्षमा स्पष्ट लाइन निर्दिष्ट गर्न दबाब पर्‍यो ।’

गत निर्वाचनमा घोषणापत्रमै ‘अभिभावकीय संस्थाका रूपमा राजसंस्था’ बोकेर जनतामाझ गएको राप्रपा १४ सिटसहित राष्ट्रिय पार्टी बन्यो । उसले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत ल्यायो । ‘तिर’ निर्वाचन चिह्न लिएको राप्रपा नेपालले भने देशभरबाट १२ हजार ३ सय ४० मत प्राप्त गर्‍यो । पार्टीबाट चुनाव जित्न कठिन हुने देखिएपछि थापा मकवानपुर–१ मा एमालेको सूर्य चिह्न लिएर चुनावमा उठेका थिए, तर राप्रपाका दीपक सिंहसँग पराजित भए ।

गणतन्त्र स्थापनापछि राजसंस्थाको मुद्दा बोक्दा भएको लाभलाई समेत विश्लेषण गरेर थापा पछिल्लो समय पुरानै विचारमा फर्किएका हुन् । २०६२/६३ को जनआन्दोलनले गणतन्त्र स्थापना गरेपछि थापाले राजतन्त्र पुनःस्थापनाको मुद्दा सशक्त रूपमा उठाएका थिए । उनले २०६३ मा ‘राजासहित प्रजातन्त्र’ को मूल विचारसहित राप्रपा नेपाल स्थापना गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनको पार्टीले समानुपातिकतर्फ २५ सिट पाएको थियो । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले देशमा वैदेशिक हस्तक्षेप र सार्वभौमिकतामाथि खतरा बढ्दै गएकाले राजसंस्थाको आवश्यकता

खड्किएको बताए । ‘अहिले जनताले राजादेखि विप्लव (नेत्रविक्रम चन्द) सम्म अटाउने राज्यव्यवस्था खोजेका छन्, जसमा राजालाई अभिभावकीय भूमिकामा देख्न चाहेका छन्,’ उनले भने, ‘त्यसकै लागि हामी सडक आन्दोलनमा उत्रिएका हौं ।’ असोज ३ देखि राजसंस्था पुनःस्थापनाको मुख्य मागसहित राप्रपा नेपाल सडक आन्दोलनमा गएको उनले बताए ।

०७८ मंसिरमा राप्रपाको अध्यक्षमा पराजित भएपछि थापाले सोही वर्ष फागुनमा राप्रपा नेपालको अध्यक्षबाट लाक्पा तामाङलाई राजीनामा गर्न लगाएर नेतृत्व लिएका थिए । राप्रपा नेपालको विधानमा आदर्श पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई सम्मान गर्ने र उनीबाट प्रतिपादित ‘दिव्य उपदेश’ लाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्ने उल्लेख छ । भदौ ८ मा सम्पन्न केन्द्रीय समिति बैठकबाट थापाले पार्टीलाई संवैधानिक राजतन्त्रकै एजेन्डामा फर्काएका हुन् । ‘२०७८ पछि विशिष्ट परिस्थितिमा पुनर्जागृत राप्रपा नेपालले राजसंस्था पुनःस्थापनालाई पार्टीको कार्यनीति बनाएन,’ केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा थापाको भनाइ थियो, ‘राप्रपा नेपालको मूलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ, राजसंस्था पुनःस्थापना पार्टीको कार्यनीति हुनेछ ।’

थापानिकटका अनुसार उनले मूलपार्टी राप्रपासँग एकता गर्ने वातावरण निर्माणका लागि समेत राप्रपा नेपाललाई राजसंस्थाको एजेन्डामा फर्काएका हुन् । राप्रपाको मूल मुद्दा पनि राजसंस्था पुनःस्थापना हो । राप्रपाका एक वरिष्ठ पदाधिकारीले ‘कसैले संरक्षण खोज्दै’ पार्टी एकताको प्रस्ताव गरेमा सोच्न सकिने बताए । ‘विगतमा राप्रपा चुनावका बेला फुट्ने र हारेपछि मिल्ने समस्याबाट गुज्रियो, अब हामी इतिहासको त्यो अवस्थालाई पुनरावृत्ति नगरेर नयाँ ढंगले अघि बढ्ने अभियानमा छौं,’ ती पदाधिकारीले भने, ‘पछिल्लो समय कमल थापाजी हाम्रो मुद्दामा समाहित हुनुभएको छ, उहाँ कति खरो उत्रिनुहुन्छ परीक्षाकै घडीमा हुनुभएकाले पार्टी एकताबारे सोचिएकै छैन ।’

थापा भने लिङ्देन नेतृत्वको राप्रपाभित्र पछिल्लो समय देखिएको विवादलाई समेत ख्याल गरेर सक्रिय भइरहेका छन् । साउन अन्तिम साता लिङ्देनलाई आमन्त्रण नगरीकनै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको लोकन्थलीस्थित निवासमा असन्तुष्टहरूको भेला भएको थियो । प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको निर्देशन समितिका सदस्यहरू सहभागी भेलाप्रति संस्थापन पक्षले असन्तुष्टि व्यक्त गरेको थियो । ‘राजसंस्थाको लाइन लिएमा राप्रपाको विवादभित्र खेलेर पुनः शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने कमल थापाजीको बुझाइ हुन सक्छ,’ राप्रपाका एक नेताले भने, ‘शक्तिमा आउनका लागि जतिबेला जस्तोसुकै नीति लिने उहाँको विगतले राप्रपाभित्र पनि एकखाले हलचल ल्याएको छ ।’ दुइटै पार्टीको मूलनीति राजसंस्था भएपछि राप्रपाका असन्तुष्ट नेता–कार्यकर्तालाई आकर्षित गर्ने र त्यसले एकतामा बल पुग्ने उनले बताए ।

राप्रपा नेपालका महामन्त्री बर्तौलाले मुद्दा मिल्नेसँग पार्टी एकताका लागि उदार नीति लिइने बताए । राजसंस्था, धर्मनिरपेक्षता, संघीयतालगायत मूल मुद्दामा राप्रपासँग मत मिले पनि एकताका लागि संवाद

सुरु भइनसकेको उनको भनाइ छ । ‘यी मुद्दामा लक्ष्य प्राप्तिका लागि सडक आन्दोलनको विकल्प छैन, राप्रपा यसमा सहमत भएमा पार्टी एकता हुन सक्छ,’ उनले भने ।

थापाले राजसंस्था पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन घोषणा गर्नुमा पूर्वराजालाई रिझाउने प्रयत्न पनि लुकेको छ । २०७८ फागुनमा राजासंस्थाको मुद्दा त्यागेसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसँग उनको सम्बन्ध वारपारजस्तै भएको थियो । तर पछिल्लो समय राजसंस्थाको मुद्दा छोड्दा थापा कमजोर बन्दै गए भने पूर्वराजा शाहले पनि राप्रपाबाट अपेक्षित साथ पाउन सकेनन् । ‘पूर्वराजा शाह राजसंस्था स्थापनाको माग बोकेर राप्रपा सडकमै उत्रियोस् भन्ने चाहन्छन्, तर हाम्रा पनि केही बाध्यता छन्,’ राप्रपाका एक नेताले भने, ‘सायद कमल (थापा) जी पूर्वराजाको यही चाहना बुझेर हामीभन्दा अग्रगामी भएको हुनुपर्छ ।’

राजसंस्था पुनःस्थापनाका लागि सडक आन्दोलन गर्ने राप्रपा नेपालको योजनाभित्र पूर्वराजा शाहको ‘इन्ट्रेस्ट’ लुकेको ती नेताले बताए । अध्यक्षमा लिङ्देनलाई जिताउन चलखेल गरेको आरोप खेपेका शाह पछिल्लो समय उनीसँग असन्तुष्ट छन् । राजतन्त्र पुनःस्थापनाको मुद्दालाई सशक्त रूपमा उठाउन र आवश्यक परे सडकमै उत्रेर बुलन्द बनाउनुपर्ने पूर्वराजा शाहको चाहनामा राप्रपा अध्यक्ष लिङ्देनले अनिच्छा देखाउँदा थापाले अग्रसरता देखाएको ती नेताले बताए । ‘यो अवस्थामा राजसंस्थाको मुद्दा छोडिसकेका कमल थापाजी सडक आन्दोलनमै जान कसरी अग्रसर हुनुभयो ?’ उनले भने, ‘यसमा कतै पूर्वराजाको सल्लाह र निर्देशन छ कि भन्ने हाम्रो अनुमान छ ।’

राजनीतिक विश्लेषकहरू भने थापाले कमजोर अवस्थामा पुगेको राजनीतिक अवस्थालाई त्राण दिन राजसंस्थाको मुद्दा बोकेको बताउँछन् ।

राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल संसार धेरै अघि बढिसकेकाले राजसंस्था कसैले भन्दैमा पुनःस्थापित हुन नसक्ने, बरु थापाले आफू तंग्रिन चतुर्‍याइँ गरेको बताउँछन् । ‘हिजो भर्खरै पार्टी अध्यक्ष (राप्रपाको) मा चुनाव हार्दा पूर्वराजाको धुमधाम विरोध गरेर गणतन्त्रवादी बनेको सुनिन्थ्यो, फेरि संसदीय निर्वाचन हार्दा राजावादी बन्न पुगे,’ उनले भने, ‘राजाको फेर समातेर व्यक्तिगत रूपमा केही लाभ लिन खोजेका हुन सक्छन् ।’ २०४६ को परिवर्तनपछि पनि थापाले संसदीय राजनीतिमा आफूलाई केन्द्रमा राखेर अनेक राजनीतिक तिकडम गरेका दृष्टान्त रहेकाले अहिले पनि आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न राजसंस्थाको आवरण ओढेको बरालले बताए ।

प्रकाशित : आश्विन ८, २०८० १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?