२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

एमालेको दोहोरो चरित्रले लाखौं युवा अनागरिक बनिरहेका छन् : नेता निधि

श्यामसुन्दर शशि

जनकपुर — कांग्रेस सांसद विमलेन्द्र निधिले एमालेको दोहोरो चरित्रका कारण मुलुकका लाखौं युवा अनागरिकको जीवन बिताउनु परिरहेको आरोप लगाएका छन् ।

एमालेको दोहोरो चरित्रले लाखौं युवा अनागरिक बनिरहेका छन् : नेता निधि

कांग्रेस क्षेत्र नम्बर ३ (१) ले शनिबार जनकपुरको ऐतिहासिक नोचा पोखरीको डिलमा अयोजना गरेको नियमित बैठकलाई सम्बोधन गर्दै निधिले एमाले पहिल्यैदेखि एमाले नागरिकताका विषयमा अनुदार रहेको बताएका हुन् । उनले भने, 'नागरिकता विधेयकमाथि संसद्‌मा बहस हुँदा विरोध गर्ने, सम्मानित राष्ट्रपतिजीले प्रमाणीकरण गर्दा विरोध गर्ने एमाले सुरुदेखि नै नागरिकताको विषयमा अनुदार रहँदै आएको छ ।’

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको गम्भीर उल्लंघन भएको उनको जिकिर थियो । उनले भने, 'नेपालको संविधानले राष्ट्रपतिलाई दुई पटक पारित भएर आएको विधेयकलाई रोक्ने अधिकार दिँदैन । दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ तर एमालेका साथीहरु अचेल कुतर्कमा उत्रेका छन् ।’

नागरिकता विधेयक जिउँदै रहेको तर्क गर्दै उनले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रमाणीकरण संविधानसम्मत भएको दाबी गरे । 'अदालतले समयमै यस विषयलाई संबोधन गर्नु पर्दछ । संविधानमा प्रस्ट उल्लेख भए पनि कानुनको अभावमा नागरिकताबाट वञ्चित बनाइएकाहरुलाई यथाशीघ्र न्याय दिनु पर्दछ,’ उनले भने ।

नागरिकता समस्या समाधानमा ढिलो भएमा कांग्रेस आन्दोलनमा उत्रिने भन्दै उनले पार्टी कार्यकर्ताहरुलाई तयार रहन निर्देशन पनि दिएका थिए ।

कार्यक्रममा सहभागी स्थानीय तहका नेताहरुले सिँचाइ, मलखाद तथा बीउविजनको समस्याबारे निधिलाई ध्यानाकर्षण गराएका थिए । जवाफमा उनले भनेका थिए, '२२ जिल्लाकै मधेस नेपालको अन्नको भकारी हो तर किसानहरुलाई समयमा सिँचाइ, मलखाद पाउन गाह्रो छ । तीनै तहको सरकार किसानको समस्यालाई गम्भीरतापूर्वक लिनु पर्दछ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साहलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : असार २, २०८० २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?