२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेवा आयोग अध्यक्षलाई दुर्व्यवहार गर्ने नेविसंघ नेता पक्राउ

देवनायारण साह

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो । 

सेवा आयोग अध्यक्षलाई दुर्व्यवहार गर्ने नेविसंघ नेता पक्राउ

सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकालले सेवा आयोगको जाहेरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिएको जानकारी दिए ।

इकान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'सेवा आयोगका अध्यक्षमाथि भएको दुर्व्यवहारमा नेतृत्व गर्ने नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ । सेवा आयोगको जाहेरीअनुसार अरु ६/७ जनाको पनि खोजी भइरहेको छ ।'

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो। सुनसरीको इटहरी उपमहानगरको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेताहरूले दाहालको अनुहारमा मोसोजस्तो कालो पदार्थ पोखिदिएका हुन् ।

सेवा आयोगको अध्यक्ष भएपछि दाहालले अधिकृतदेखि श्रेणीविहीनसम्मका १ सय १५ कर्मचारी भर्ना गर्न २०७८ चैत १५ मा विज्ञापन खुलाएका थिए । ‘पहिलो पत्रको परीक्षा २०७९ भदौ २६ देखि २८ सम्ममा लियौं,’ दाहालले भने, ‘२०७९ असोज २४ मा परिणाम सार्वजनिक गरेदेखि विद्यार्थी आन्दोलनका कारण कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।’

पहिलो पत्रको परीक्षाको परिणाम सार्वजनिक भएपछि नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रूपमा विश्वविद्यालय, आयोगको कार्यालयलगायतमा तालाबन्दी गरेका थिए  ।

विश्वविद्यालयको पदपूर्ति प्रक्रिया रोकिएपछि गत जेठ १४ मा सुन्दरहरैंचा नगरस्तरीय सर्वपक्षीय भेला बोलाइएको थियो । भेलामा स्थानीय नेताहरूले निर्णय गरेर ताला फुटाएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०८० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?