२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तनहुँ-१ मा रास्वपाका वाग्लेले गरे उम्मेदवारी दर्ता

सम्झना रसाइली

तनहुँ — तनहुँ-१ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।

तनहुँ-१ मा रास्वपाका वाग्लेले गरे उम्मेदवारी दर्ता

वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा रुपक विक घिमिरे रहेका छन् । नेपाली कांग्रेसका पूर्वसचिवसमेत रहेका बाँस्तोला सोमबार नै रास्वपा प्रवेश गरेका हुन् । घिमिरे पनि तनहुँ-१ मा उम्मेदवारका आकांक्षी भए पनि पछि वाग्लेलाई छाडेका थिए ।

समर्थकहरुको जुलुससहित रास्वपाका नेता कार्यकर्ता निर्वाचन कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्ताअघि उपनिर्वाचनको कार्यालय उद्घाटन गरेका थिए । त्यसक्रममा सम्बोधन गर्दै वाग्लेले वैशाख १० गते नेपालको नयाँ युगको आह्वान गर्ने दिन भएको बताए । 'नेपालमा सुशासन छैन कुशासन छ । किनबेच र सेटिङ छ । सार्वजनिक संस्थाहरु नालायक छन् । त्यसैले सुशासन प्राथमिकता दिनुपर्ने छ । पुराना भ्रष्टाचारका फाइल खोल्छौं,' वाग्लेले भने । उनले बिरामी परेको अर्थतन्त्रलाई अब चिरफार नै गर्नुपर्ने बताए ।

सभापति लामिछानेले हरेक वर्ष क्यालेन्डर फेरियो तर मुलुकले काँचुली नफेरेको बताए । 'त्यसैले यसपटक क्यालेन्डर फेरिँदा यो देशको भाग्य पनि फेरिने छ । यो देशको भाग्य फेर्नका लागि जान्नेलाई छानेका छौं । संसद्‍मा युवाहरु आएका छन्,' लामिछानेे भने ।

प्रकाशित : चैत्र २०, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?