कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] भाण्टाबारीमा भारतीय एसएसबीले गोली चलाएको स्वीकार गर्‍यो

गोली चलाउनु जवानको गल्ति : इन्चार्ज रणवीर सिंह
वेदराज पौडेल

इनरुवा — सुनसरीको भण्टाबारीमा आज बिहान आफ्ना जवानहरुबाट गोली चलेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सतना पोष्टका इन्चार्ज रणविर सिंहले स्वीकार गरेका छन् । उनले सुनसरी प्रहरी प्रमुख संजयराज शर्मालाई टेलिफोन गरी घटनामा आफ्ना जवानहरुबाट फायर भएको स्वीकार गरेका छन् ।

अपडेट::

भारतको सुपौल जिल्लाको भीमनगर बजारबाट स्थानियले साइकलमा रसायनिक मल लिएर आउँदै गरेकाबेला दशगजामा रहेको एसएसबीले रोकेपछि विवाद भएको थियो । विवाद बढ्दै गएपछि स्थानियलाई लक्ष्य गरेर एसएसबीले नेपाली क्षेत्र भित्र गोली चलाएको थियो ।

स्थानियका अनुसार भारतीय सुरक्षाकर्मीले नेपालीक्षेत्र भित्र प्रवेश गरि गोली प्रहार गरेको बताएका छन् । एसएसबीका इञ्चार्ज रणवीर सिंहले आफ्ना जवानहरुलेगोली चलाउनु गल्ति भएकोले छानविन गरी कारवाही समेत गर्ने बताएको नेपाल प्रहरीका एसपी संजयराज शर्माले सिंहलाई उद्धृत गर्दै बताएका छन् ।
 
घटनाको प्रकृति हेर्दा पनि एसएसबी नेपाली क्षेत्र भित्र प्रवेश गरेको देखिएको सुरक्षा स्रोतले दाबि गरेको छ । एसएसबीको गोली लागि घाईते भएकाहरुको उपचार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सघन उपचारकक्षामा भइरहेको छ । घाईते हरिपुर–७ का अशोक यादवको छातीको दाहिने भागमा गोली लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
 
अर्का घाइते नरेश यादवको बाँया कम्मरमा गोली लागेको छ । अर्का घाईते सरोज यादवको दाहिने तिघ्रामा गोली लागेको छ । मनोज यादवको भने इनरुवा अस्पतालमा उपचार गरी उनी घर फर्कीएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

...

सुनसरीको भाण्टाबारीमा भारतीय सीमा सुरक्षा फौज (एसएसबी)ले गोली चलाउँदा स्थानीय चार जना नेपाली गोली लागी घाइते भएका छन् ।
 
हरिपुर गाविस–७ मा पर्ने भाण्टाबारी पूर्व दशगजा क्षेत्रमा एसएसबीले बिहान साढ ६ बजे गोली चलाएको थियो । एसएसबीको गोली लागी घाइते हुनेमा हरिपुरकै आशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव रहेको सुरक्षा स्रोतले जनाएको छ । 

गोली लागि घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घटनाको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले मल ल्याउने क्रममा क्यारियरवालासँग विवाद भएपछि एसएसबीले गोली चलाएको तर गोली स्थानीयलाई लागेको बताए ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक संजयराज शर्माले बताए । 

प्रकाशित : मंसिर ९, २०७२ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?