गौरमा एकजना आन्दोलनकारीको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरमा एकजना आन्दोलनकारीको मृत्यु

शिव पुरी

रौतहट — प्रहरीको गोली लागेर रौतहटको सदरमुकाम गौरमा मंगलबार एकजना आन्दोलनकारीको मृत्यु भएको छ । तमलोपा नेता अनिल सिंहका अनुसार मठिया-६ का २४ वर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले एकजना आन्दोलनकारीको मृत्यु भएको पुष्टी गरेको छ ।


प्रहरीले माइकिङ गरी दंगा क्षेत्र घोषणा गरेको क्षेत्रमा अपरान्ह आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप भएको हो । गौरको कबिर चोकमा प्रहरीले चलाएको गोली आन्दोलनकारी ठाकुरको छातिमा लागेको छ । उपचारका लागि बिरगंज लग्दै गर्दा रौतहटकै शिवनगर पुग्दा उनको निधन भएको तमलोपा नेता सिंहले बताए ।

प्रकाशित : भाद्र ८, २०७२ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

पितालाई पछ्याउँदै

कान्तिपुर संवाददाता

काठमाडौं — सेतै दारी, लाम्चो अनुहार, शिरमा नेपाली ढाका टोपी। हमेसा कुर्तासुरुवाल र ज्वारी कोटमा सजिएर हिँड्ने हनिफ मियाँ हालैको दिन राजधानीमा भेटिए।

गंगालाल हृदय रोग केन्द्रमा नियमित स्वास्थ परीक्षणका लागि पोखराबाट आएका उनी केही चटारोमा थिए। मुस्लिम भएर पनि नेपाली लोकभाका संकलन र प्रवद्र्धनमा ठूलो योगदान पुर्‍याएर दिवंगत भएका बुबा अली मियाँको स्मृतिसभा चाँजोपाँजो गर्नु नै थियो। यसबाहेक आफैंले बुबाको नाममा स्थापना गरेको अली मियाँ लोकवाङमय प्रतिष्ठानको नियमित गतिविधिलाई गति दिनु पनि थियो। 
‘आफैं पनि एउटा किताब लेख्दै छु,’ कवितात्मक तर नीति सन्देशयुक्त किताबको पाण्डुलिपि हातमा बोकेका ७५ वर्षेले भने, ‘यसमा पनि लोकछन्दलाई नै प्राथमिकतामा राखेको छु।’ अंग्रेजी, नेपाली, हिन्दी र अरबी गरी एकसाथ चार भाषामा निकाल्ने सुर कसिरहेका यिनी जीवनभर भने बुबा अली मियाँकै कृति प्रचार र संरक्षणमा जुटे। लोकछन्दमा विशेष काम गरेबापत जगदम्बाश्री पुरस्कार समेत पाएका अली मियाँ दिवंगत भएयता हनिफले अर्को जिम्मेवारी पनि बोके– बुबाको नाममा मुलुकभरका स्रष्टालाई सम्मान गर्दै हिँड्ने। यिनको आफ्नै मान्यता छ– पुरस्कार बोलाएर दिने हैन, गएर दिने हो। यही अभियानअन्तर्गत यिनी बितेको एक दशकमा मुलुकका सबैजसो अञ्चल पुगेका छन्। भारत र बंगलादेश समेत पुगेर यिनले आफ्नो बुबाको सम्झनामा कार्यक्रम गरे। 
‘बुबाले जे गर्नुभएको थियो, त्यो अहिले म पनि गर्न सक्दिनँ,’ उनले भने, ‘मैले सक्ने भनेको यसरी नै प्रचार र प्रवद्र्धन गर्ने हो।’ अली मियाँले संकलन गरेका लोकभाकामध्ये धेरैजसो त अहिले लोपोन्मुख छन्। मेला पर्वको अवसर पारी राति अबेरसम्म जुहारी गाउने चलन गाउँघरतिर हराउँदै गएको छ। बदलामा मोबाइलबाट गीत बजाएर हिन्दी र अंग्रेजी गीत बजाएर नाच्छन् अचेलका पुस्ता। त्यही भएर हनिफ प्रतिष्ठानमार्फत लोक सांस्कृतिक संरक्षणका गतिविधिहरू गरिरहन्छन्। कहिले उनी सारंगी बाँडदै हिँड्छन्, कहिले लोकगीत प्रतियोगिता गर्छन्। ‘पहिलेको जस्तो अब रहेन,’ उनी भन्छन्, ‘समय बदलिँदै गयो।’ बदलिँदै गएको समयप्रति उनेको गुनासो हैन, उनको गुनासो नेपाली लोकजीवनको मौलिकता संरक्षणप्रति हो, जुन बुबा अली मियाँको योगदानसित जोडिन्छ। 
भारतस्थित सिमरा सरिफबाट फारसी भाषामा विशेषज्ञता हासिल गरेका उनी पञ्चायत काल (२०३८) मा पोखरा मियाँपाटनका वडाध्यक्षसमेत थिए। त्यसबखत उनले बुबाका कृति छाप्न काठमाडौंमा ६ जना लेखकलाई पाण्डुलिपि पठाएका थिए, तीमध्ये ‘धेरैले आ–आफ्नै नाममा किताब छापे’। आर्थिक अभावका कारण बुबाका कृतिमाथि अन्याय भएको ठहर गरेपछि उनी वडाध्यक्ष त्यागेर अरब भासिएका थिए, कमाउन।
‘बल्ल यसपछि बुबाको कृति छाप्न सजिलो भयो,’ उनले भने, ‘यसपछिका पनि अनेक दु:खका कथा छन्।’ तर यसपटक उनले दु:खका कुरा खासै गरेनन्, योजनाको कुरा गरे। लोक साहित्यको खोजी, अनुसन्धान, स्रष्टालाई प्रोत्साहन र सम्मानका लागि उनले अली मियाँ संग्रहालय, पुस्तकालय र स्रष्टाहरू बसेर साधना गर्न मिल्ने गार्डेनसहितको थलो बनाउन चाहेको धेरै अघिदेखि हो। आफ्नै बलबुताबाट सानो भवन पनि बनेको छ।
‘तर बृहत्तर परियोजनाका लागि धेरैपटक सहरका मन्त्रालय धाएँ, फाइल बोक्दाबोक्दै थाकें,’ उनले लामो सास ताने, ‘जे सक्छु आफैंले गर्दै आएको छु। हेरूँ कतिन्जेललाई हो।’

 

प्रकाशित : भाद्र ८, २०७२ १६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×