१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

मास्टर मित्रसेन थापाको सांगीतिक योगदान

मित्रसेनलाई ‘मास्टर’ उपाधि उनका प्रशंसकद्वारा दिइएको हो, लोकले अर्पण गरेको श्रीपेच हो, न कि त्यो सरकार वा संस्थाले पहिराइदिएको पगरी थियो । जनताले चढाएको उपहार जहिले पनि अमर रहन्छ । त्यसैले मास्टर मित्रसेन आज जन्मेको १२९ वर्ष पश्चात् पनि सबैको हृदयमा बसेका छन् ।
विजय हितान

काठमाडौँ — मास्टर मित्रसेन थापाको बलियो चिनारी मूलतः उनको सांगीतिक पक्ष नै हो । उनले दर्जनौं गीत, भजन, र नाटक लेखेका छन् । उनका गीतहरु समाज र राष्ट्रप्रेम भावनाले ओतप्रोत भएको पाईन्छ । उनलाई धर्मकर्ममा पनि अचाक्ली रुचि थियो । उनका भजनमा गीता, कृष्ण र गोरख बाबाको महिमाको वर्णन पाईन्छ ।

मास्टर मित्रसेन थापाको सांगीतिक योगदान

आफूले रचेका गीतलाई स्वयंले गाएका पनि छन्, नाटकलाई निर्देशन गर्दै आफू स्वयं कलाकारको भूमिका निर्वाह गरेर मञ्चन पनि गरेका छन । उनी हार्मोनी, तबला, मादल बजाउँथे । ती गीतहरुमा आफू स्वयंले संगीत भर्थे । यसर्थ उनी प्रख्यात संगीतकार पनि हुन् ।

उनका बहुचर्चित गीतहरुमध्ये ‘लाहुरेको रेलीमाई फेसनै राम्रो, चुईं चुईं चुईंकने जुत्ता, मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले, अब त जाँउ कान्छी घर, धानको बाला झुल्यो हजुर देसै रमाइलो, भन गोर्खाली दाजुभाइ, छ्त्रे टोपीट ढल्काई खुकुरी चम्काई इत्यादि हुन् । आफ्नो जिवनकालभर उनले ९७ वटा गीत लेखेका थिए । यसरी उनी एक गीतकार, संगीतकार, गायक तथा कलाकार थिए ।

गीतहरु गाएनन् मात्रै, ३२ वटा गीतमा आफ्नै संगीत र स्वर भरेर ग्रामोफोन डिस्क रेकर्ड पनि गराए । जनवरी १९४५ मा अल ईन्डिया रेडियो दिल्लीमा गीत, भजन, नाटक रेकर्डिङका लागि गएको पाइन्छ । नेपाली गीतलाई पहिलोपल्ट रेकर्ड गराउने श्रेय उनैलाई जान्छ । उनका गीत त्यतिबेला अल इन्डिया रेडियोमा बज्दथे ।

प्रकाश सायमीका अनुसार- मित्रसेनले आफ्नो गायनमा युद्ध, नेपालीको पछौटेपन, तत्कालीन समयको चारित्रिक चित्रण लगायत काव्य बोलीलाई प्रधानता दिएका छन् तर उनको गायकीबाट बाहिर हेर्ने हो भने रचनागत स्वभावमा व्यङ्ग्य र परिहासको पुट पनि प्रशस्त पाइन्छ । उनले रचना गरेका चालीसभन्दा भन्दा बढी गीतमा महिलाको जीवनदशा, पुरुषको वेवारिसपन, (मलाई खुत्रुक्कै पा-यो जेठान) स्थानगत परिचय, (तानसेनको सितलपाटी, एउटा घर त सिम्ले), यात्रिक मनोवृत्ति, (अब त जाउँ कान्छी घर, रेलीमै भर्खर जाँदो बैँस), धर्मान्धतामा पाखुरीबल, (गाई खाने पोडे भए भन्दै हिँड्छन् दुनियाँ ढाँटी), जाति जागरणका गीत, भावशालीनतका उद्बोधक, सामाजिक सुधारका सञ्चेतनाको पुँजी प्रशस्त पाइन्छ तर ती समूल रचनाको भूगोलमा उनको सबभन्दा ठूलो भावभूमि हो, संस्कृति र संस्कृतिले बनाएको नेपालीपन ।

उनले नेपाल संस्कृतिलाई गीति गायनका कारण बचाएका छन् । त्यो नै उनको ठोस शक्ति हो ।उनको त्यो उच्चस्तरको सांगीतिक योगदानको कदर गर्दै कलान्तरमा उनलाई मास्टर, किंग अफ झ्याउरे, र वेग्गेयकार गरी तीन विशेष उपाधि दिइएको छ ।

मास्टर

मित्रसेनले सन १९२६ मा हिमालयन थिएट्रिकल कम्पनी स्थापना गरे । अनि यसै संस्थाका नाट्यदललाई लिएर अमृतसहर, जलान्धर र लाहोर सत्संग तथा नाटक प्रदर्शन गर्न पुगेको देखिन्छ । त्यतिबेला लाहोर संगीत र कलाको केन्द्रबिन्दु थियो । आफ्नो प्रस्तुतिको क्रममा त्यहाका शास्त्रीय संगीत तथा कलाका ज्ञाताहरुसँग सम्बन्ध विस्तार भएको हुनसक्छ । लाहोरमा छँदा उनको सनातन धर्मावलम्बी प्रतिनिधिहरुसँग भेटवार्ता भएको थियो । पछि पञ्जाव आर्य धर्म प्रचारिणी सभामा आबद्ध भएर हिन्दू धर्म प्रचारप्रसारमा पनि खटिएका थिए ।

मित्रको त्यो बसाइमा गीतसंगीत र कला झनै निखारिएर आयो । उनी तबला र हार्मोनियम बजाउन पोख्त भए । धारावाहिक रुपमा रामायण, गीता र महाभारतका श्लोक कर्णप्रिय स्वरमा गाएर प्रवचन दिने क्षमताको बृद्धि भयो । उनको यस्तो उत्कृष्ट प्रस्तुतिबाट प्रभावित भएर त्यो क्षेत्रका दर्शक, स्रोता, भक्तजन तथा संगीतका उस्तादले उनलाई सन १९२८ तिर ‘मास्टर’ नामले बोलाउन सुरु गरेको देखिन्छ ।

पञ्जाव आर्य धर्म प्रचारिणी सभामा बसेर काम गर्दा अन्य नेपाली पनि आएर ज्ञानवर्धक कुरा सिकुन् भन्ने उनलाई लागेको हुँदो हो, तर कोहि नेपाली आउँदैनन् । यस्ता सत्कार्यमा आफ्नो समुदायको संलग्नता नपाउँदा उनी दु:खित बन्छन् । अनि आफ्नो त्यो ज्ञान र कलालाई नेपाली समुदायमै बाँड्न आवश्क ठान्दछन् । त्यसपछि पञ्जाव आर्य धर्म प्रचारिणी सभाबाट राजीनामा दिएर सत्संग, नाट्य र सांगीतिक यात्रा भाग्सु धर्मशाला विस्तार गर्छन् । उनको अव्वल प्रस्तुतिबाट प्रभावित भएर यताका नेपालीले पनि उनलाई ‘मास्टर’ भनेर सम्बोधन गर्न थाल्छन् । यसर्थ मित्रसेनलाई ‘मास्टर’ उपाधि उनका प्रशंसकद्वारा दिइएको हो, लोकले अर्पण गरेको श्रीपेच हो, न कि त्यो सरकार वा संस्थाले पहिराइदिएको पगरी थियो । जनताले चढाएको उपहार जहिले पनि अमर रहन्छ । त्यसैले मास्टर मित्रसेन आज जन्मेको १२९ वर्ष पश्चात् पनि सबैको हृदयमा बसेका छन् ।

किङ अफ झ्याउरे

मित्रसेनका प्रायजसो गीतहरु लोक भाकामा तरंगीत छन् । उनले तीनमा संगीत पनि पृथक् तरिकाले भरेका छन् । लोक भाकाभित्र पनि सालैजो, यानीमाया, कौडा, हाक्पारे, देउडा इत्यादि भाकाहरु पर्दछन् । त्यसै मध्येको एक झ्याउरे भाका पनि हो । उनका गीतमा रेलिमाई, लैनीमाया, जुलपी लर्काइ लर्काई जस्ता झर्रा शब्दहरुको अधिकतम प्रयोग गरेको पाइन्छ । यसै झर्रा शब्दबाट झ्याउरे भएको हुनसक्छ । यसरी झ्याउरे लयको प्रणेताको श्रेय मित्रसेनलाई जान्छ र उनलाई ‘किङ अफ झ्याउरे’ उपनामले पनि चिनिन्छ ।

आफ्नो त्यो झ्याउरे पहिचानको गीतसंगीतलाई प्रवर्धन गर्न भारत र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका थिए । जतिबेला उनी झ्याउरे भाकामा गीत गाउँदै हिंड्थे काठमाडौंको राजा र राणाको राजदरबार, ब्रिटिस लिजन, र उच्च घरानामा नेपाली गीत गाईने प्रचलन थिएन । प्राय हिन्दी, उर्दु र अंग्रेजी गीतसंगीत सुन्ने चलन थियो । नेपाली मौलिक लोकसंगितलाई त्यतिखेर ‘गाइने गीत’ भनेर घृणा गरिन्थ्यो ।

सन १९३७ मा श्री ५ महेन्द्रको जन्मोत्सवमा सांस्कृतिक टोली लिएर काठमाडौं जाँदा उनीबाट हिन्दी तथा उर्दू गीत गाइयोस् भन्ने आशा राखिएको रहेछ । तर उनले झ्याउरे गीत गाएर नेपाली लोकभाकाको स्वाद पस्केका थिए । प्रधानमन्त्री जुद्धशमशेर राणा यसबाट प्रभावित भएर उनलाई इनाम पनि प्रदान गरेका थिए । मित्रको यस सांगीतिक भ्रमण पस्चात् रत्नदास प्रकाश जस्ता काठमाडौंबासी गायक झ्याउरे गीत गाउन प्रोत्साहित बनेको देखिन्छ । नेपालमा झ्याउरे जस्ता लोकभाकालाई दरबारदेखि झुपडीसम्म लोकप्रिय बनाउने श्रेय मास्टर मित्रसेनलाई जान्छ ।

मित्रसेनले सिलाङमा झ्याउरे लोकसंगीतक प्रस्तुत गर्दाको एउटा रोचक प्रसंग छ । एकजनाले आफ्नो घरमा सत्य नारायणको पूजा लगाए । पूजामा मित्रसेनलाई गीत तथा भजन गाउन बोलाइयो । मित्रसेन आउँछन् भन्ने हल्ला भएपछि निम्ता नपाएका गाउँका मान्छेको पनि धुइरो लाग्यो । घरभित्रको एउटा कोठामा मनिपुरी युवतीको हिन्दी गीतमा नृत्य सुरु भएछ । सबैले मित्रसेनको नेपाली गीत सुन्न छोडेर युवतीको नृत्य हेर्न गएछन् । उनको पालो हिन्दी र उर्दू मिश्रित गीतहरु यसरी गाएछन् कि सबै फेरि मित्रको वरिपरी थुप्रिएछन् । ती सिलाङे नेपालीको नेपाली गीत प्रतिको अरुचिको कारण रिसले चुर पर्दै गायन कार्यलाई बीचमै स्थगित गरेछन् । आफ्नो हार्मोनियम च्यापेर घरबाट बाहिरिदै गर्दा, ‘म नेपाली गीत गाएर नेपाली भाषा संरक्षणमा लागेको मान्छे हुँ, हिन्दी उर्दूमा गीत गाउन सक्छु तर म गाउँदिन ।’ भनेछन् । केहि आलोचकले मित्रसेनका गीत गाइने पाराका हुन्छन् भनेर उनलाई ‘थेत्तरसेन’ पनि भन्ने गर्थे ।

वाग्गेयकार

वाग्गेयकार मित्रसेनलाई दिइएको तेस्रो र कान्छो टाइटल हो । प्रकाश सायमीका अनुसार- वाग्गेयकारको अर्थ हुन्छ, प्राचीनकालमा जो व्यक्ति पद रचना, स्वर रचना दुवैमा प्रवीण हुन्छ, उसलाई वाग्गेयकार भनिन्थ्यो । वाक् अर्थात् पद्य अनि गेय अर्थात् संगीत दुवैको ज्ञातालाई भनिन्थ्यो जसमा स्वतन्त्र तथा शीघ्र रचना गर्न सक्ने शक्ति, एकाग्र चित्त, तीनै सप्तकमा गमक गाउने शक्ति, रागत द्वेशको अभाव, अलौकिक बुद्धि, वाक चातुर्य, गायन, वादन अनि नृत्यमा कुशलता अरुको मनको भाव जान्ने शक्ति आदि गुण हुन आवश्यक हुन्छ । गीत लेख्न सक्ने उत्तम दर्जाको रचनाकार जसलाई गीतकार भनिन्छ अनि ऊ गाउन पनि सक्ने भयो भने गेयकार पनि भयो । वाक् र गेय दुवैसित कुशल सम्बन्ध भएको साधकलाई वाग्गेयर भनिन्छ, यो उपाधि पाउने नेपाली कलाकार हुन्, मित्रसेन । उनको गीतको बलियो पक्ष नै सांस्कृतिक धार भएको हुनाले उनी नेपाली र गैरनेपालीका माझ छिटै स्थापित भए । उनले पूर्वोत्तर भारतमा र नेपालका सबै भूभागमा प्रभाव पारे । उनको गायनमार्फत् नेपाली संगीतलाई व्यावसायीकरण गर्न त्यो समय भारतीय सञ्चार माध्यमले तत्कालै अल इन्डिया रेडियोबाट गोर्खे गीत प्रशारण सुरु भयो । त्यसपछि भारतमा रहेका व्यावसायिक रेकर्डिङ कम्पनीले विस्तारै नेपाली गीत संगीतमा रुचि लिन थालेको इतिहास देखिन्छ । मित्रसेनको आगमनपूर्व भारतीय नेपालीमा नेपालीभाषाको गीतको प्रभाव थिएन वा अझै भनौँ नेपाली भाषाको माया भए पनि उनी भन्दा पहिले कसैले नेपाली गीत गाउने आँट गरेका थिएनन् । उनी यस हिसाबले भारतीय नेपालीमध्ये प्रथम गायक मान्न सकिन्छ ।

लाहुरेको रेलिमाई

जसरि नारायण गोपालको ‘आँखा छोपि नरोउ भनि भन्नु पर्‍या छ, मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ...’ र अरुण थापाको ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, नदीहरुमा तिमी पवित्र गंगा हौ...’ कालजयी गीत हुन त्यसैगरि मित्रसेनको ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको...’ गीत एक कालजयी गीत हो । यहि गीतले नै मित्रसेन अम्बर रहेका छन् भन्दा कुनै अत्युक्ति नहोला । यस गीतको विषेशताको कुरा गर्दा यसका रचयीता, संगीतकार र गायक स्वयं मित्रसेन हुन् । सन् १९२० मा सेनाबाट स्वअवकाश लिन्छन् । पाँच वर्ष लामो प्रथम विश्वयुद्ध लडेर आएपछि युद्धले विछिप्त मानसिकताबाट छुटकारा पाउन उनलाई दुइ तीन बर्ष लाग्छ । यसै अवधिमा श्रीमती र छोराछोरी महामारीको कारण गुमाउनु पर्छ । यो कष्टपूर्ण जीवनबाट मुक्त भएर सन १९२६ देखिमात्र मित्रसेन सैनिक क्याम्प र नेपाली बस्तीहरुमा गएर आफ्ना सांंगीतिक प्रस्तुति आरम्भ गरेको इतिहासले बताउँछ । यसैबेला ‘लाहुरेको रेलिमाई फेसनै राम्रो...’ गीतको गायन सुरु गरेको अनुमान गर्न सकिन्छ ।

लाहुरेको रेलिमाई जसरी सर्वसाधारणबीच प्रिय छ त्यो भन्दा बढी प्रिय भारत, वेलायतका गोर्खा पल्टन र नेपाली सेनाका ब्यारेकभित्र पनि छ । यस गीतको लयमा ब्याण्ड बाजा बजाइन्छ र लाहुरे परेड खेल्छन् । पल्टनघर भित्र लाहुरे यस गीतमा धुलो उड्ने गरेर कम्मर भाँच्दै खकुरी चम्काउँदै नाच्छन् । युद्ध अभ्यास र युद्धका मैदानमा पनि सैनिकको मुखबाट यो गीत गुञ्जिन्छ । यो गीत गाँउको पाखा पखेरामा मात्रै होइन रेस्टुरेन्ट, बार, होटेल, र पर्वमा बजाइन्छ । नेपाल, भारत र वेलायतका रेडियो एफएम बाट पनि घन्काइन्छ । देश विदेशका कलाकारले संभवत सर्वाधिक मात्रामा रिमिक्स गरेर गाइएको गीत पनि यहि हुनसक्छ ।

(लेखक हितानले मित्रसेनको जिवनीमा आधारित भएर ‘लाहुरेको रेलिमाई’ उपन्यास लेखेका छन् । यो पुस्तकले २०७९ सालको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ )

प्रकाशित : पुस १३, २०८० १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?