पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण- साहित्य/विविध - कान्तिपुर समाचार

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार एवं लेखक दामोदर न्यौपानेको पुस्तक ‘घरको शिक्षाः संस्कारयुक्त सिकाइ र हुकाईका मनोवैज्ञानिक अभ्यास’ सार्वजनिक भएको छ । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार लेखक न्यौपानेसहित उनका छोरा हार्दिक, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी, प्राध्यापक शिक्षाविद् विद्यानाथ कोइराला, मनोविद विजय ज्ञवाली, शिक्षक अञ्जु भट्टराई लगायतले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरे । ‘घरको शिक्षा : घर–घरको आवश्यकता’ भन्ने मूलमन्त्रलाई केन्द्रित गर्दै पुस्तकमा लेखक न्यौपानेले बालबालिका, तिनको मनोविज्ञानमा विद्यालयसँगै घरमा अभिभावकले कस्तो शिक्षा, संस्कार तथा परिवेशमा उनीहरुको सिकाईलाई अगाडि बढाउन सकिन्छ भन्ने पक्षलाई उल्लेख गरेका छन् ।

घर नै बालबालिकाका लागि सबैभन्दा ठूलो सिकाईको संस्था रहेको खुलाउँदै न्यौपानेले अहिलेको परिवेशमा शिक्षा नीति नै बालबालिकाहरुको सिकाईमा बाधक रहेकाले यसलाई बहसका रुपमा अगाडि बढाउन अभियानस्वरुप पुस्तक लेखिएको बताए । ‘म कुनै विज्ञ होइन । शिक्षा र यो क्षेत्रमा भइरहेका नीतिहरुप्रति मेरो असहमति छ’, उनले भने, ‘बालबालिकाको सिकाई हिंसामुक्त वातावरणमा हुनुपर्छ । विवेकशील समाज बनाउने चिन्तनमा नै यो पुस्तक लेखिएको हो ।’ शिक्षामा परिवर्तन र यसलाई समृद्ध बनाउने आफ्नो लेखन विद्रोहको अर्को रुप भएको सुनाउँदै उनले आफ्नो मिसन जारी रहने सुनाए ।

पुस्तकबारे बोल्दै मनोविद ज्ञवालीले पुस्तकलाई बालहृदय र पुरुषमनोविज्ञान हाबी भएको सुनाए । घर नै बालबालिकाका लागि पहिलो हुकाई स्थल भए पनि अहिले घरभित्रै कसरी बालबालिकाहरु असुरक्षित बनिरहेका छन् भन्ने पाटोलाई लेखक न्यौपानेले घुमाउरो रुपमा प्रस्तुत गरेको ज्ञवालीले बताए । उनले भने, ‘पुस्तकभित्र हार्दिक एउटा पात्र देखिए पनि यो घर–घरको पात्र हो । हामीले हाम्रा बालबालिका असल होइन खुसी नागरिक बनाउने मिसन बनाउनुपर्छ । जुन यो पुस्तकले सिकाउँछ ।’

आजको व्यस्त र आधुनिक समयमा बालबालिकालाई सिकाईमा जोड्न अत्यन्तै कठिन रहेको सुनाउँदै शिक्षक भट्टराईले बालबालिकासँगको सिकाई, उनीहरुको खुसीलाई कसरी सिर्जनात्मक बनाउने भन्ने पक्षमा विद्यालय तथा अभिभावकलाई समेत पुस्तक निकै उपयोगी रहेको सुनाइन् ।

शिक्षक महासंघका महासचिव सुवेदी र प्राध्यापक शिक्षाविद् कोइरालाले पुस्तकलाई शिक्षक, विद्यार्थी तथा अभिभावकलाई दर्पण रहेको सुनाउँदै किताबभन्दा बाहिरको ज्ञानतिर उन्मुख पुस्तालाई बुझ्न सघाउने ठहर गरे ।

प्रकाशित : माघ १४, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ राखिएको क्याप्सुल हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ रेडियोएक्टिभ सिजियम-१३७ ले भरिएको एउटा क्याप्सुल हराएको छ । अग्नि नियन्त्रण तथा आपत्कालीन सेवा पश्चिमी अस्ट्रेलिया राज्यका अनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा न्युम्यान र पर्थबीचको ठाउँमा क्याप्सुल हराएको हो ।

विशेषगरी रेडियोएक्टिभ सिजियम-१३७ खननका लागि प्रयोग हुन्छ ।

गत जनवरी १० मा उक्त क्याप्सुल प्याक गरिएको र पर्थमा मर्मतका लागि लैजाने क्रममा हराएको अधिकारीहरूले जनाएका छन् । सडकबाट लैजाने क्रममा ११ जनवरी र १४ जनवरीको बीचमा उक्त क्याप्सुल हराएको बताइएको छ । उक्त क्याप्सुलको लम्बाइ ८ मिलिमिटर र चौडाइ ६ मिलिमिटर रहेको छ ।

अधिकारीहरूले उक्त क्याप्सुल कसैले छोएमा क्यान्सर र जलनको सम्भावना हुने भन्दै नछुन चेतावनी दिएका छन् । त्यस्तै उक्त क्याप्सुल कसैले देखेमा तत्काल अधिकारीहरूलाई खबर गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित : माघ १४, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×