कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

डेब्यु कविको एकालाप

मानिस केमा खुसी हुन्छ– अध्यात्ममा कि नास्तिकतामा ? भौतिकताका तमाम प्राप्तिबाट दिक्क भएपछि मानिस के चाहन्छ ? कविताले विमर्श गरेको छ ।
प्रकाश थाम्सुहाङ

पत्रकारिता र काव्य कर्मलाई सँगै डोर्‍याउने सर्जकको सूची लामै बन्न सक्ला । ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ पत्रकार/कवि देवव्रतको पहिलो कविता–किताब हो, जहाँ ३८ थान कविता छन् । पहिलो किताबबाटै उनले नेपाली काव्यमा दर्बिलो हस्तक्षेप गरेका छन् । अभिव्यक्ति कौशललाई कसरी खिरिलो बनाउन सकिन्छ, दृष्टान्त पेस गरेका छन् ।

डेब्यु कविको एकालाप

पत्रकारको कवितामा सदैव एउटा गल्तीको सम्भावना हुन्छ, कि कविता कतै ‘रिपोर्टाज’ शैलीको नभइजावोस् । तर, यो आशंकालाई निस्तेज पार्दै कला, विचारको उत्कृष्ट संयोजनले ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कवितासंग्रह अब्बल बनेको छ ।

यो किताब एक युवाकविले देश, समाज र राजनीतिलाई मिहिन ढंगले आत्मसात गरी लेखेकाले पनि उम्दा बनेको छ । पुँजीवादको उत्कर्ष उपभोक्तावादी संस्कृति, नैतिकता र वैचारिक स्खलनले आम मानिसमा पारेको नकारात्मक प्रभाव देवव्रतका कविताका मूल स्वर हुन् । उनका अधिकांश कविता मोनोलग शैलीका छन् । आफ्ना कवितामा समाजका पछिल्ला विसंगतिसँग एक्लै बर्बराउँछन् ।

लाग्छ, उनी बिट जेनेरेसनका पछिल्ला भर्सन हुन् । महामारी र कुशासनबाट निःसृत आर्थिक मन्दी, राजनीतिको रङ्गमञ्चमा मन्चन भइरहने ब्लाक कमेडीले कविलाई फगत झोंक चलाएको छ । यो झोंक कविताभित्र सहरका गल्लीहरूमा, भट्टी पसलहरूमा पोखिन्छ । दोस्रो जनआन्दोलनको उत्सर्ग दुई दशक पुग्न लाग्दा पनि आम मानिसमा छाएको नैराश्यताको प्रतिविम्ब हो, देवव्रतका कविता । भारतीय कवि कुँवर नारायण भन्छन्, ‘कविताले समाज बुझ्न खास किसिमको दृष्टिबोध दिन्छ ।’ देवव्रतका कविता पढ्दा नारायण सही लाग्छन् ।

देवव्रत आफ्ना कवितामा स्पष्ट छन्, विचारमा दुविधा छैन । एउटा कवि आफ्नो सौन्दर्य चेतनामा स्पष्ट भएपछि कविता स्वतः बलशाली उभिँदो रहेछ । जस्तो सङ्ग्रहको शीर्ष कविता छ, ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ ।’ यो कविता तथाकथित राष्ट्रवादीमाथि गतिलो झापड हो, जो सीमान्तकृतलाई दलनमा राख्न मन पराउँछन् । सत्ताले निर्माण गरेको विभेदकारी मानकसँग विद्रोह गर्दै भुइँमान्छेको पक्षमा वकालत गरेको कविता हो यो ।

सङ्ग्रहमा ‘कोठा’ सिरिजका तीन थान कविता छन् । यी कविता क्राफ्टका हिसाबले उम्दा छन् । कवितामा दर्शनको आकाश टाङ्न ठूलो कुरा गर्नुपर्दैन भन्ने सुन्दर दृष्टान्त हो– कोठा (एक) कविता । उपभोक्तावादी संस्कृतिमा मानिस खुसी छैन, कविता बोल्छ । सुखसुविधा, यशआराम, प्रविधिको सहज पहुँचमा पनि मानिस खुसी छैन । अस्तित्वको खोज हो यो कविता । मानिस केमा खुसी हुन्छ ? अध्यात्म ? नास्तिकता ? भौतिकताका तमाम प्राप्तिहरूबाट वाक्कदिक्क भएपछि मानिस के चाहन्छ ? प्रश्न गर्छ यो कविता । जवाफ पाठकमा नीहित छ । पाठकको मस्तिष्क चलायमान बनाउन यो कविता काफी छ ।

‘फूलहरू’ सङ्ग्रहको अर्को नमुना कविता हो । यो कविता अनेक कारणले फेदमा पारिएका पीडित महिलाको दारुण कथा हो । यो कथा सोझै नभनी कलात्मक र विम्बात्मक भन्नु कविको कौशल हो । यस्ता कविता लेख्न लामो अभ्यास र साधनाको जरुरत पर्छ । यो कविता पढ्दा लाग्छ, नेपाली कविताको भविष्य उज्ज्वल छ । अहिलेका युवा कविहरू शिल्पमा कसरी काम गरिरहेछन्, बुझ्न यो कविता काफी छ । पछिल्ला छिमलका कविताहरू प्रायः सरल, छोटा लेखिँदै छन् । फास्टफुड कल्चरको कारण पनि हुन सक्छ, लामा कविता आजकल उति लेखिँदैनन् । टिकटक युगमा मानिसलाई सबै कुरा छिटो र छोटो चाहिएको छ । कस्मेटिक कविता लेखेर रातारात भाइरल हुने लोभ अधिकांश कविमा पलाएको छ । कवितामा चिन्तन, दर्शन र विचारको ठाउँ भावुकताले ओगट्दै छ । साधना कविबाट टाढा भाग्दैछ । सस्तो भावुकता बेच्ने उट्पट्याङ कविताले साँचो र अर्थपूर्ण कविता कतै गुमनाम छ ।

गुटहरूबाट टाढा, बिनाअर्थका विवाद र चर्चाबाट आफूलाई अलग राख्दै चुपचाप कविता साधनामा तल्लीन कविले उत्कृष्ट कविता लेख्दोरहेछ भन्ने दसी हो यो किताब । यी कविता सरल, छोटा तर बोधगम्य छन् । सरल छोटा कविता लेख्नु जोखिम मोल्नु हो । थोरैमा सरल बोधगम्य कुरा भन्नु चुनौती स्विकार्नु हो । यसो गर्न उम्दा कला चाहिन्छ । फ्रान्सेली लेखक गुस्ताव फ्लाबेयरले त्यसै भनेका होइनन्– ‘सरल हुनु सानो हुनु होइन, अदभुत् हुनु हो ।’ सङ्ग्रहको छोटो कविता ‘जरुरत’ दसी आफैं उभिएको छ र अद्भुत उभिएको छ ।

कविता–किताब साथै कवि कविकै नाम महाभारतबाट प्रेरित भए पनि सङ्ग्रहका कवितामा महाभारतकालीन मिथक आएका छैनन् । यद्यपि, यो किताबलाई उत्तरआधुनिक महाभारतको नयाँ अध्यायभन्दा चाहिँ हुन्छ होला । चिन्तक प्रदीप गिरि भन्थे, ‘महाभारतले बोलेको दर्शन हो– मानिस कर्तव्यबाट च्युत भएपछि विसंगतिले जन्म लिन्छ ।’

यी कविताले समाज, देशका तथाकथित अभियन्ताहरू कर्तव्यविमुख भएपछि उत्पन्न विसंगति चित्रण गरेको छ । अचम्मलाग्दो गरी आर्टिफिसियल इन्टिलिजेन्सले सृजनात्मक क्षेत्रमा धावा बोलिरहेको बेला छ । अबको बहस, सत्यको नजिक प्रविधि कि कवि पुग्ने ? भन्ने तहमा आइपुगेको छ । त्यसकारण अब मस्तिष्क र हृदयको सरोबरी मन्थनले प्रस्फुटन हुने कलात्मक अभिव्यक्ति मात्रै यो लडाइँमा जीवित रहला भन्ने अनुमान आइरहेछ ।

देवव्रतले आफ्नो पहिलो किताबमै भरपूर प्रयास गरेका छन् । संग्रहका केही कविताहरू माथि उल्लिखित मापदण्डमा नपुगे पनि अधिकांश कविता आफ्नो अस्तित्व दाबी गर्न सक्षम छन् । यस अर्थमा पत्रकार देवव्रतको कवि ‘डेब्यु’ सुखद छ ।

प्रकाशित : आश्विन २०, २०८० १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?