१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९
खाना अध्याय

समयबजी फ्युजन

नेवार सम्प्रदायले सन्तुलित, तागतिलो र रोग प्रतिरोधात्मक खानाको सम्मिश्रण गरेको छ 
सुमनराज ताम्राकार

‘धान आयो गुठी
धान सक्यो सिठी’
नेवार जातिमा खानाको परिकार कसरी खाने ? कहिले खाने ? त्यसको आ–आफ्नै नीतिनियम छ । सहरीकरणसँगै फेरिएको जीवनशैली र व्यावसायिकताले सबैखाले नेवारी परिकार बाह्रैमास पाइन थालेको छ । तर, योमरी गर्मीमा अनि चटामरी र बारा (वः) जाडो मौसममा खाने जिनिस होइन । चन्द्रमासको तिथिमितिअनुसारका जात्रापर्व र सांस्कृतिक अवसरअनुसार फरक–फरक नेवारी परिकार खाइन्छ वा खानुपर्छ ।

समयबजी फ्युजन

कुमार षष्ठी (सिठी) सबैजसो नेवारको भकारी रित्तिने समय हो । त्यसबेला सांकेतिक स्वरूप चामलको पिठोलाई पनि पातलो परिकार बनाई (चटामरी) खाने गरिन्छ । जनैपूर्णिमा र गाईजात्रा अत्यधिक गर्मीको समय हो । त्यो झाडापखाला र हैजा फैलिन सक्ने बेला पनि हो, त्यसैले त्यसबेला झोलिलो खानेकुरा (अर्थात् नौथरी गेडागुडीयुक्त क्वाँटी) खाने गरिन्छ । जाडो याममा शरीरलाई शक्तिवर्द्धक खाद्यपदार्थ चाहिन्छ र सखरखण्ड, तरुल, घिउ, चाकु खाइन्छ । पर्वअनुसार सबैखाले खाद्य सामग्रीलाई नेवारी परिकारले उत्तिकै महत्त्व दिएको छ । आरुको बियाँ, भुटेको मकै, भटमास, गेडागुडी, दही आदिले पर्वअनुसार स्थान पाउँछ ।

नेवारी चलनमा प्रत्येक शुभअवसरमा ‘सगं’ (सगुन) लिइन्छ । सँगमा हुन्छ– उसिनेर भुटेको अण्डा, बारा, माछा, अय्ला (वा दही) । प्रत्येक सांस्कृतिक जमघट वा देव–देवालयमा पूजाआजापछि मुख्य भोजनअघि स्न्याक्सका रूपमा समयबजी खाने गरिन्छ । मुख्य भोजको आंशिक रूप हो– समयबजी, जसमा हुन्छ– पञ्चतत्त्व । त्यो समयबजी सेट, जसमा समावेश हुन्छ– स्याबजी (चिउरा), कालो भटमास, अदुवा, सिध्रा माछा वा मासु, रक्सी । स्याबजी आकाशतत्त्व, कालो भटमास वायुतत्त्व, अदुवा जलतत्त्व, छोयला पृथ्वीतत्त्व र रक्सी तेजतत्त्व । त्यो सेट पञ्चतत्त्वको प्रतीक भएकैले ‘पाँचै परिकार राखेरै मात्र देउतालाई चढाउनुपर्छ’ भन्ने विश्वास छ ।

अचेल होटल एवं रेस्टुँरामा पस्किइने नेवारी खाजासेट यही समयबजीको फ्युजन भर्सन हो । खासमा अथेन्टिक नेवारी खाजा सेटमा हुनुपर्छ– टाइचिनको चिउरा, साँधेको कालो भटमास, बोडी, आलु, बफ छोयला, अचार, उसिनेर भुटेको अण्डा र बारा । मुख्य भोजनमा पनि नियम पुर्‍याएर एपेटाइजर, मेन कोर्स अनि अन्तिमतिर पाचनमा सहयोग पुर्‍याउने डेजर्ट सर्भ गरिन्छ । झ्व भ्वय (सुकुलमा लामबद्ध बसेर खाइने) को मुख्य भोजमा सालको पात (लपेस) मा समयबजीमा झैं चिउरा, भटमास, बोडी, अचार (मुला, गाजर, भिजाएको केराउ, तीलयुक्त), हरियो सागपात (विशेषतः तोरीको) सर्भ गरिन्छ । त्यसपछि आलुतामा, काउली, गोलभेंडाको अचार, राँगाको झोल हालेको मासु (द्याकुला), पकाएको केराउ, नेवारभित्रकै प्रजाति अनुसार चिकेन वा मटनको मासु सर्भ गरिन्छ । त्यसपछि मेथी, अमिलो, भुटन, एकथरी मिठाई, दही र अन्तिममा सिसाबुसा (फलफूलका टुक्राहरू) सर्भ गरिन्छ । मुख्य भोजको सुरुदेखि अन्त्यसम्ममा बीच–बीचमा चिउरा र रक्सी (वा जाँड) निरन्तर सर्भ भइरहेकै हुन्छ ।

नेवारी परिकारमा बफ आईटमकै विशेष स्थान छ । पछिल्लो समय जँला (राँगाको घिच्रो एवं ढाडको मासु), कचिला (किमाजस्तै काँचो मासु जुन मसला मात्रै हालेर मोलिन्छ), सपुम्हिचा (आमाशयको सयपत्रीको तहलाई खल्तीजस्तो बनाई त्यसभित्र बोसो राखी उसिनेर फ्राई गरेको), खागो (बाक्लो सयपत्री उसिनेर टुक्रा गरि फ्राई गरेको), सोंपुका (फोक्सो फ्राई), न्हेपु (गिदी उसिनेर फ्राई गरेको), चोही (रक्ती), अँटी पुका (आन्द्राभरि त्यसलाई उसिनेर टुक्रा पारी भुटेको) जस्ता टिपिकल नेवारी बफ–आइटम गैरनेवारहरूले पनि रुचाउँछन् । यी त भए परिकारका कुरा । नेवारी परम्परा तथा परिकारले वातावरणीय पक्षलाई अधिक ध्यान दिएको छ । सिठीको दिन घर नजिकको इनार, कुवा तथा पानीको मुहान सफा गरिन्छ । घण्टाकर्णमा घर घरबाट सिस्नु, च्वाकंसहितको छ्वालीको मुठो बालेर उडुस, उपियाँ र लामखुट्टे धपाइन्छ । जनैपूर्णिमामा कीराफट्याङ्ग्रा खाइदिने भ्यागुतालाई ‘ब्याँ जानकेगु’ भनि खेतमा चामल, अक्षताले पुजिन्छ । पौष शुक्ल पूर्णिमा (छ्याला पुन्ही) को बेलुका घर–घरबाट माटाका पुराना भाँडाहरू फयाँकेर रिसाइक्लिङ अर्थात् पुनः प्रयोगलाई महत्त्व दिन्छ ।

ठेट नेवारी भोज पकाउन, खुवाउन सालको पातबाट बनाइएको लपेस, बोता, टपरी र माटोबाट बनाइएका सली, भाजं, तेपः, भिउँट, पोटासीको व्यापक प्रयोग गरिन्छ भने परिकारहरू पनि तामा, पित्तल फलामबाट बनाइएका भाँडाहरूमा बनाइन्छ । ती खाना काँस, तामा, पित्तलबाट बनाइएका भाँडाहरूमा पनि पस्किने चलन छ । पित्तलको अन्तीबाट रक्सी दिइन्छ, माटाको भाँडाबाट जाँड खन्याइन्छ र परालको सुकुलमा पलेंटी कसेर खाइन्छ ।

यसरी नेवार सम्प्रदायले सन्तुलित, तागतिलो र रोगसँग लड्न सक्ने खानाको सम्मिश्रण गरेको छ । त्यसो त भोजन मात्रै होइन, रहनसहन, कला, संगीत, लवाइ–खवाइमा पनि पृथक् छ नेवार समुदाय ।

प्रकाशित : भाद्र ९, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?