२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

जलिरहेछ इमाहरूको सहर

मणिपुरमा कहाँबाट आयो त्यो आगो, जसले आज कुकीको घर खोजी–खोजी सल्कायो ? कहाँबाट ल्याइयो त्यो बन्दुक, जसले मैतेईको छाती चर्कायो ? आक्रोशको आगो सल्काउने कट्टरपनको माचिस कुन बाटो मणिपुर छिर्‍यो ?
छुदेन काविमो

५ सालअघिको कुरा हो ।
मौसम वर्षात्को थियो । तैपनि आकाश खुल्दै थियो । त्यही नीलो आकाशमाथि उड्दै गर्दा मैले पहिलोचोटि देखेको हुँ, त्यो इम्फाल सहर, जसको चारतिर थालजस्ता खेतहरू थिए । त्यही खेतमा जमिरहेको पानीमा जब घामको किरण पर्थ्यो, हिऊँझैं टलक्क टल्किन्थे । त्यही टल्किरहेका खेतभन्दा माथि उभिएका थिए, हरिया पहाडहरू, जहाँ बादलका सेता टुक्रा परेवाका जोडीझैं लुकामारी खेलिरहन्थे । त्यही पहाडका चुचुरामाथि उडिरहेको हवाईजहाजले जब समतलका भुइँ चुमे, मैले पहिलोचोटि मणिपुरको धरती टेकेँ ।

जलिरहेछ इमाहरूको सहर

त्यो धरती, जसको आफ्नै इतिहास छ, अलग गौरव छ । त्यो धरती, जहाँ आमाहरूले मात्रै चलाउने ‘इमा मार्केट’ छ । त्यो धरती, जहाँ दक्षिण एसियाकै लार्जेस्ट फ्रेस वाटर लेक ‘लोकताक’ छ । त्यो धरती, जहाँ विश्कै सबैभन्दा पुरानो पोलो ग्राउन्ड छ । त्यो धरती, जसलाई हेरेपछि जवहारलाल नेहेरू दंग परे र लेखे, ‘द ल्यान्ड अफ जेवेल्स ।’ हो, म त्यही मोतीको सहरको कुरा गर्दैछु, जो आज दनदनी बलेको आगोको ज्वालाबीच उभिएको छ ।

जब म मणिपुर पुगेँ, लाग्यो, ‘कति सफा छ यो सहर ! कति फराकिला छन् बाटाहरू ! कति चौडादार छन् माथि उभिएका पहाडहरू !’ तर, यही पहाड र समतल एक दिन बाँडिएर बन्दुक हानाहान गर्नेछन्, यो त मैले सोचेकै थिइनँ । एक दिन यही सडकमा मैतेई र कुकी खेदाखेद गर्नेछन्, त्यो त मैले कल्पनै गरेको थिइनँ ।

कहाँबाट आयो त्यो आगो, जसले आज कुकीको घर खोजी खोजी सल्काइदिन थाल्यो ? कहाँबाट ल्याइयो त्यो बन्दुक, जसले मैतेईको छाती चर्काइदिन थाल्यो ? कहाँबाट उठ्यो त्यो आक्रोशको लहर, जसले महिलालाई नांगै परेड खेलाइदिन थाल्यो ?

थाहा छैन, आक्रोशको आगो सल्काउने कट्टरपनको माचिस कुन बाटो भएर मणिपुर छिर्‍यो ? मणिपुर, म जीवनमा दुईचोटि मात्रै पुगेको छु । संयोग कस्तो रह्यो भने, दुवैचोटि म किताबकै कारण त्यो सहर छिरेको छु ।

संसारको सबैभन्दा सुन्दर सम्बन्ध त्यही हो, जो किताबको माध्यमबाट सुरु हुन्छ । किनकि, किताबबाट सुरु भएको सम्बन्ध अक्षरहरूझैं चम्किला हुन्छन् । मणिपुरसँगको मेरो सम्बन्ध त्यस्तै छ । मणिपुर त्यही सहर हो, जसले मलाई जीवनकै पहिलो साहित्यिक पुरस्कार दिएको थियो । राष्ट्रिय स्तरका कथालाई दिइने आशरानी राई स्मृति पुरस्कार लिन पुगेकै एक सालपछि हो, त्यही सहरले मलाई फेरि युवा साहित्य अकादमी थाप्न बोलाएको थियो ।

त्यही बेलाको कुरा त हो, म पहिलोचोटि इमा मार्केट पुगेको थिएँ । इमा मार्केट अर्थात् आमाहरूको बजार । त्यही बजार छिरेपछि मैले थाहा पाएँ, मेरो अनुहार त मणिपुरेहरूसँग एकदम मिल्ने रहेछ । किनकि इमाहरू जब मतिर हेर्थे, मणिपुरी भाषामै बोल्न थाल्थे, ‘करी पामे ?’

अर्थात् के चाहियो ? मलाई न मणिपुरी आउँथ्यो । न त्यहाँको केही चीजबारे नै जानकारी थियो । म त त्यो सहरकै निम्ति नौलो मान्छे थिएँ । त्यसैले ट्वाल्ल परेर हाँसिरहन्थें । मेरो समस्या थाहा पाएपछि बल्ल नेपाली साथीहरू अघि आउँथे र भनिदिन्थे, ‘उहाँ मणिपुरीजस्ता देखिएका मात्रै हुन्, तर दार्जिलिङका नेपाली लेखक हुन् ।’

अब इमा अर्थात् आमा लजाएर उता फर्किन्थिन् ।

ठ्याक्क पाँच साल पूरा भएछ, मैले इमा मार्केट घुमेको ।

तर, सालहरू जतिसुकै किन नबितून् ? इमाहरूको बजारलाई मैले अहिलेसम्म भुलेको छैन । त्यही भएर हो, आज पनि जब म सहरको कुरा गर्न थाल्छु, सबै भन्दा पहिले इमा मार्केटकै नाम लिन्छु । किनकि, त्यो आमाहरूको बजार हो ।

आमा बसेको कुन ठाउँ राम्रो हुँदैन ? जुन ठाउँमा आमा बस्छिन्, त्यो ठाउँ त्यसै सुन्दर भइजान्छ । आमा बसेको घर राम्रो हुन्छ । आमा बसेको गाउँ राम्रो हुन्छ । आमा बसेको सहर राम्रो हुन्छ । त्यै भएर ‘इमा मार्केट’ मलाई सबैभन्दा राम्रो लागेको हो ।

त्यही सुन्दर इमाहरूको सहरमा अहिले गोली चलिरहेको छ । घर जलिरहेको छ । महिलाहरू नांगै परेड खेलिरहेका छन् ।

यो भन्दा दुर्भाग्यको कुरा अरू के हुन सक्छ ?

काङलातुम्बीदेखि चार हजारेसम्म । लोकताक लेकदेखि मन्त्री पोखरीसम्म । सबै घुमेपछि हामी त्यो दिन कालापहाड उक्लिँदै थियौं । मलाई घुमाइरहेका कविले नयाँ खुलासा गरे, ‘अलिक छिट्टै फर्कौं है । यहाँको केही भरोसा हुँदैन, भूमिगत संगठनहरू धेरै छन् यता ।’

‘मलाई त मणिपुरे नै सम्झिहाल्ने रहेछन्’, मैले भूमिगतको कुरालाई खासै सिरियस्ली लिएको थिइनँ ।

‘हवाईजहाजबाट कति नयाँ मान्छे झर्‍यो ? को को झर्‍यो ?’, ती कवि हठात् गम्भीर बनेका थिए, ‘हरेक रिपोर्ट उनेरसँग हुन्छ । यो त डेन्जर एरिया पो हो, है ।’

‘त्यस्तो नि हुन्छ र ?’

आज बुझ्दै छु, मणिपुरको त इतिहास अलग रहेछ । जीवनको संघर्ष अलग रहेछ । त्यसैले पहिचानको लडाइँ पनि अलग रहेछ । मणिपुरलाई त रैथानेहरू ‘काङलैपाक’ पो भन्दा रहेछन् । हो, काङलैपाक– त्यो समय मणिपुर बन्यो, जुन समय त्यहाँका राजा पामहैबा थिए ।

पामहैबा मैतेई वंशका राजा थिए, जो शान्तिदासको प्रभावमा आएर हिन्दु बने । र, सन् १७१७ मा हिन्दु धर्मलाई राज्य धर्म घोषणा गरे । त्यसपछि १७२४ मा काङलैपाकको नामलाई नै हिन्दूकरण गर्दै ‘मणिपुर’ बनाइदिए, जसको फलस्वरूप आज त्यहाँका अधिकांश मैतेईहरू हिन्दु छन् ।

पामहैबाको शासनकालमा बर्मा शक्तिशाली देश थियो, जसले १५६२ तिर मणिपुरको भूभाग नै कब्जा गरिदिएको थियो । अब पामहैबाले तिनै बर्मेलीहरूलाई तारो बनाउन थाले । लडाइँ गर्दै जमिन कब्जा गर्न सुरु गरे ।

बर्मा र मणिपुरको पहाड एकै किसिमको थियो । ती पहाडहरूमा अलग अलग थरीका आदिवासीहरू रहन्थे, जसमा कुकी र नागाहरू प्रमुख थिए । आदिवासीहरूको आफ्नै नियम थियो । उनीहरू सुविधाअनुरूप एउटा जंगलदेखि अर्को जंगल सरिरहन्थे । यो क्रम पामहैबाको समयमा पनि चलिरह्यो ।

तर, जब पामहैबाको मृत्यु भयो, मणिपुर राज्य फेरि कमजोर बन्दै गयो । मणिपुरमा फेरि पुरानै दिन फर्किए । बर्माले फेरि आक्रमण सुरु गरे । लुटपाट मच्चाउन थाले । १८१९ तिर त यस्तो समय आयो– मणिपुरमा बर्मेलीहरूको आतंकले हरेक सीमा नाघिदियो, जसले गर्दा मणिपुरका राजा गम्भीर सिंह यति आत्तिए, १८२४ तिर गुहार माग्न ब्रिटिसको शरणमै आइपुगे । अंग्रेजले चाहेको त्यही थियो । अब ‘एंग्लो बर्मा वार’ सुरु भयो, जुन लडाइँ दुई वर्षसम्म चलिरह्यो । अन्त्यमा बर्मेलीहरू हारे ।

जितसँगै मणिपुरमा अंग्रेजको हस्तक्षेप ह्वात्तै बढ्यो । राजालाई बस्न त दिइयो, तर पूरै प्रान्त ब्रिटिसहरूले नै चलाउन थाले । १८९० सम्म सब ठीकठाक थियो । तर, त्यसपछि मणिपुरको राजपरिवारमा अन्तरकलह सुरु भइदियो । राजाभन्दा शक्तिशाली सेनापति निस्किए, जसले अंग्रेजको कानुन उल्लंघन गरिदिन थाले । सेनापतिविरुद्ध पोल लगाउन राजा भागेर फेरि बंगाल पुगे । यता सेनापतिले मणिपुरको राजा नै नयाँ बनाइदिए । अब अंग्रेजले मणिपुरसँगै लडाइँ सुरु गरे, जसलाई एंग्लो–मणिपुर वार भनिन्छ । त्यो लडाइँ जितेपछि नै हो, मणिपुरमा ब्रिटिसहरूको मनोमानी अझै बढेर गयो ।

जुन ठाउँमा आमा बस्छिन्, त्यो त्यसै सुन्दर भइजान्छ । त्यो सुन्दर ‘इमा मार्केट’ अर्थात् इमाहरूको सहरमा अहिले घर जलिरहेको छ । योभन्दा दुर्भाग्य के हुन सक्छ ?

अब अंग्रेजहरूले आफ्नै तरिकाले प्रशासन चलाउन थाले । काम सहज गर्न मणिपुरको पहाड र समतलबीच अदृश्य रेखा नै कोरिदिए । उनीहरूले इम्फाल भेल्लीलाई मात्रै फोकस गरिरहे । त्यहीँ व्यापार हुन्थ्यो । त्यहीँबाट कर संग्रह हुन्थ्यो । त्यसैले पहाडी क्षेत्रलाई यतिकै लत्याइदिए । पहाड र समतलबीच बनेको त्यही अदृश्य दूरी नै हो, जो आज आएर मणिपुर दंगाको जरा बन्न पुग्यो । १९१४ मा जब पहिलो विश्वयुद्ध सुरु भयो, अंग्रेजहरूलाई मानव संसाधनको अझै धेरै जरुरत पर्न थाल्यो । त्यसैले मणिपुरका राजालाई दुई हजार जना मान्छे पठाउने आग्रह अंग्रेजहरूले गरे ।

तर, त्यही बेला मणिपुरको पहाडी इलाकाका आदिवासीहरूले विद्रोह गरिदिए । त्यहाँका ट्राइबल चिफले अंग्रेजसँग लडाइँमा जान मनाही गरिदिए । जुन ठाउँमा अंग्रेजहरूकै वर्चस्व छ, त्यो ठाउँले कसरी उनीहरूकै हुकुम नकार्न सक्छ ? अब गोराहरूले त्यहाँका आदिवासीहरूसँग पनि लडाइँ लड्ने भए । फलस्वरूप १९१७ मा एंग्लो–कुकी वार सुरु भयो ।

भनिन्छ, १८५७ को सिपाही विद्रोहपछि अंग्रेजले सबैभन्दा ठूलो क्षति यही लडाइँमा भोग्नुपरेको थियो । जंगलमा रहने सामान्य आदिवासीहरूलाई जित्न अंग्रेजलाई दुई साल लाग्यो । आजको मणिपुर दंगाको अर्को जरा यही हो । किनकि, कुकीहरू भन्छन्, ‘अंग्रेजविरुद्धको त्यो लडाइँ हामीले पुर्खाको जमिन बचाउन गरेका थियौं ।’ तर, मैतेईसँगै नागाहरूको दाबी छ, ‘यो जमिन नै कुकीको होइन । तब फेरि कसरी त्यो लडाइँ पुर्खाको जमिन जोगाउने लडाइँ भयो ? त्यो त कुकीहरूले अंग्रेजसँग लडाइँमा नजान गरेको विद्रोह मात्रै थियो ।’

जे होस्, अंग्रेजहरूले कुकीसँगको लडाइँ त जिते, तर, कुकीहरूलाई अधीनमा राख्न सहज थिएन । त्यही भएर कुकीहरूलाई सामाजिक रूपमा जोड्न अंग्रेजहरूले धर्मलाई हतियार बनाए । उनीहरूलाई क्रिस्चियन बनाउन थाले । फलस्वरूप नै आज कुकीहरूमा धेरै क्रिस्चियन छन् । दंगापछि भाजपा सरकारले आज जुन धर्मको कार्ड खेल्न सुरु गरेको छ, त्यसको जरा त्यही हो ।

तर, दंगाको कारण यो होइन ।

जब दोस्रो विश्वयुद्ध सकियो, अंग्रेजहरूले भारत छोड्ने तर्खर गर्न थाले । तब उनीहरूले भारतको पूर्वोत्तर क्षेत्रलाई अलग राख्ने योजना बनाउन थाले । त्यो बेला मणिरपुरका राजा थिए, महाराजा बुद्धचन्द्र । त्यही बेला मणिपुरका जनताले अचानक गणतन्त्रको माग गर्न थाले । त्यही मागका कारण २६ जुलाई १९४६ मा मणिपुर स्टेट कन्स्टिट्युसन एक्ट बनाइयो ।

तर, उक्त एक्ट कार्यान्वयन नहुँदै भारत स्वतन्त्र भइदियो । त्यसको ठीक दुई सालपछिको कुरा हो, मणिपुरका राजा शिलोङ आइपुगे । भारत सरकारले उनलाई त्यहीँ गृहबन्दी बनाइदियो । र, १९४९ मा मर्जर एग्रिमेन्टमा सम्झौता गर्न लगायो । अब मणिपुर पूर्ण रूपले भारतमा गाभियो । मैतेईहरूको दाबी छ, ‘त्यो बेलासम्म मैतेईहरू पनि जनजाति नै थिए । त्यसैले भारत सरकारले फेरि त्यही जनजातिको मर्यादा दिनैपर्छ ।’

भारतमा गाभिएपछि १९५६ मा युनियन टेरिटोरी बनेको मणिपुर, १९७२ मा पूर्ण राज्य बनेको हो । तर, राज्य बनेपछि पनि मणिपुरलाई हेर्ने भारत सरकारको नजर पुरानै रहिरह्यो । मणिपुरको पहाड र समतलबीचको दूरी उस्तै रहिरह्यो, जुन दूरी नै मणिपुर दंगाको अर्को जरा हो ।

१९६० को कुरा हो यो । मणिपुर ल्यान्ड रिभिन्यु एन्ड ल्यान्ड रिफर्म एक्ट तयार गरियो । त्यो ऐनले मणिपुरको पहाडी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिदियो, जसले गर्दा उक्त क्षेत्रमा जनजातिबाहेक अरूले जमिन किन्न नपाउने भए ।

अब मणिपुरको पहाड र समतलबीचको दूरी अझै बढेर गयो । बहुसंख्यकका रूपमा रहेका मैतेईहरू गैरजनजाति हुन् । त्यसैले उनीहरूले पहाडी इलाकामा जमिन किन्न नपाउने भए । तर, मणिपुरको पहाडी इलाकामा त ९० प्रतिशत जमिन छ, जहाँ कुकी र नागाहरूसहित ४२.८ प्रतिशत मानिस मात्रै रहन्छन् । तर, जहाँ दस प्रतिशत मात्रै जमिन छ । त्यहाँचाहिँ राज्यका ५३ प्रतिशत मैतेईहरू खुम्चिन पुगे । अझ नेपाली लगायत अन्य समुदाय जोडिँदा समतलको जनसंख्या ५७.२ प्रतिशत पुग्यो । मणिपुर दंगाको खास जरा यही जमिनको लडाइँ हो ।

मणिपुरका असली जनजाति को हुन् ? को जनजाति होइनन् ? सो तयार गर्न १९६५ मा लोकर कमिटी बनाइएको थियो । त्यही कमिटीले सिफारिस गर्‍यो, ‘मैतेईहरू जनजातिको दायराभित्र रहन सक्दैनन् ।’ त्यसको सट्टा कुकी र नागाहरू त्यहाँका जनजाति भए ।

फलस्वरूप अब पहाडी क्षेत्रमा रहेको ९० प्रतिशत जमिन यी दुई जातिले मात्रै किन्न पाउने भए । तर, मैतेईहरूले पहाडको जमिन किन्न नपाउने भए । मैतेईहरू त्यसैले आक्रोशित बन्न थाले, ‘मणिपुर हाम्रो हो । यहाँको पहाड र समतल दुवै हाम्रै हो । अंग्रेजले त प्रशासन चलाउन सुविधाका निम्ति मात्रै यसलाई छुट्याएको थियो ।’

तर, कुकीहरूको आफ्नै दाबी छ, ‘मैतेईहरूले मागेको जनजाति पहाडको जमिन हत्याउने षड्यन्त्र मात्रै हो ।’

यसका पछाडि राजनीतिक कारण पनि छन् ।

मणिपुरको राजनीतिक इतिहासमा केवल दुई मुख्यमन्त्री मात्रै थिए, जो गैरमैतेई समुदायबाट आएका थिए । किनकि साठी विधायक रहेको मणिपुरमा ४० विधायक त मैतेई समुदायकै हुन्छन् । केवल २० विधायक जनजाति क्षेत्रबाट आउँछन् । त्यसैले मणिपुरमा त्यही मुख्यमन्त्री बन्छन्, जो गैरजनजाति रहेका मेतैईहरू चाहन्छन् ।

‘जसको हातमा अघिबाट नै राजनीतिक क्षमता छ, उनीहरूले किन जनजाति मागिरहने ?’, कुकीहरूको आफ्नै गुनासो छ, ‘सबै जनजाति भए, यसको महत्त्व के रहन्छ ?’

‘मणिपुरको मालिक को हो ?’, त्यो दाबीको लडाइँ अहिले पनि त्यहाँ जारी छ । मैतेई, नागा र कुकी जोसुकै किन नहोस्, मौका पर्नासाथ आफ्नै इतिहासको डम्फु बजाउन सुरु गरिहाल्छन् । त्यही इतिहाससँगै आ–आफ्नो भूमिको दाबी गर्दै आउने हरेक समुदायलाई आफ्नै भविष्यको धेरै चिन्ता छ । यही एउटा कारण हो, जसले गर्दा नै मणिपुरमा लगातार भूमिगत संगठनहरू जन्मिरहेका छन् ।

सबैभन्दा पहिले त्यहाँ अलग मणिपुर देशकै माग उठेको थियो । पछि फेरि नागाहरूले ग्रेटर नागाल्यान्डको कुरा अगाडि ल्याए । ‘मैतेई र नागाले आ–आफ्नै जमीनको दाबी गरिरहेकै छन् । हामीले किन नगर्ने ?’, अब कुकीहरूले पनि भूमिगत संगठन तयार गरे । र, अलग कुकी राज्यको दाबी सुरु गरे ।

जसले जेसुकै माग गरिरहून्, मणिपुरमा त मैतेईहरूकै बहुमतको सरकार रहने हो । त्यही भएर हो, मणिपुर सरकारले बिस्तारै भूमि राजस्व ऐनलाई संशोधन गर्ने विषयमा जोड दिन थाल्यो । यसो भइदिए, मैतेईहरूले पनि पहाडी क्षेत्रमा जग्गा लिन सक्नेछन् । किनकि, मैतेईहरूलाई लाग्छ, ‘पहाडी क्षेत्रमा अप्राकृतिक रूपमा जनसंख्या बढिरहेको छ, जो बर्मा र बंगलादेशबाट आएका कुकी अनुप्रवेशकारीहरूको कारण हो । नत्र १९६० मा मणिपुरमा मैतेईहरू ६० प्रतिशत थिए । तर, २०२२ मा कसरी ४९ प्रतिशतमा झरे ? उनीहरूको सोझो आरोप छ, ‘बर्माबाट अवैध घुसपैठ भइरहेको छ । पहाडका जंगलहरूमा अफिमको खेती गरिँदै छ । गोल्डन ट्रेंगलको ड्रग्स व्यापारको मुख्य केन्द्र मणिपुर बनिन लागेको छ । यसलाई रोक्नु जरुरी छ ।’ के साँच्चै यस्तै भइरहेको छ ? त्यो विमर्शको विषय हो । तर, यसचोटि मणिपुरमा रहेको भाजपा सरकारले कुकीहरूविरुद्ध एक्सन सुरु गरिदिए । फलस्वरूप पहाडी इलाकाका केही बस्तीहरू उच्छेदसम्म गरिदिए । अफिमको खेती गरेको भन्दै धेरै ठाउँमा पुलिस लगाएरै गाँस फाँडिदिए ।

‘पहाड त निषेधित क्षेत्र हो । कसरी राज्यले सोझै हस्तक्षेप गर्न सक्छ ?’, कुकीहरू फेरि बिच्किए ।

‘मणिपुरको पहाडी इलाकालाई ३७१– सीले सुरक्षित गरेको छ । यसबाहेक वन अधिनियम ऐन २००६ छ, जसले जनजातिहरूलाई आफ्नो जीविकोपार्जनका लागि जंगलको स्रोतसम्म प्रयोग गर्नु भन्छ । तब, यो सरकार कहाँबाट आयो, जसले देशकै ऐनको उल्लंघन गरिरहेको छ ?’, अबचाहिँ कुकीहरू सडकमै आउन थाले, ‘मुख्यमन्त्री मैतेई भएपछि हामीलाई गर्ने व्यवहार यही हो । हामीलाई किन छैटौं अनुसूचीसम्म दिँदैन ?’ मणिपुरको पहाडी क्षेत्रमा अलग नियम छ । केही गर्नुपरे, राज्यले त्यहाँका जनजाति विधायकहरूद्वारा बनाइएको कमिटीलाई सोध्नुपर्ने हुन्छ । ‘तर, यसो किन गरिएन ? किन सोझै राज्यले मनपरी गर्दै छ ?’ कुकीहरूले प्रश्न गर्न थाले, ‘अहिले नै यो अवस्था छ, अझै मैतेईहरूले जनजातिको मान्यता पाए, हाम्रो हालत के होला ?’

यही सन्त्रासको माहोलबीच हो, मणिपुर हाई कोर्टले नयाँ आदेश दियो, ‘मैतेईहरूलाई जनजाति दिने कि नदिने ? राज्य सरकारले अनुमोदन गरेर केन्द्रलाई पठाइयोस् ।’ अब के चाहिन्थ्यो ? पहाड र समतलबीच घमासान सुरु भइहाल्यो ।

यसै पनि मणिपुरमा समतलको तुलनामा पहाड धेरै पछाडिएको छ । यहाँको गरिबीको स्वरूपसम्म समतल भन्दा अलग रहेको रिपोर्टहरूले देखाइरहन्छ । मणिपुरको समतल इलाकामा केही यस्ता जिल्लाहरू छन्, जो नर्थ इस्टकै सबैभन्दा विकसित जिल्लाहरूमा गनिन्छन् । तर, त्यही राज्यको पहाडी जिल्लाहरू यस्ता पनि छन्, जसको नाउँ सबैभन्दा गरिब जिल्लाको रूपमा लिन सकिन्छ । त्यहाँको शैक्षिक संस्थानहरूको आँकडाले पनि पहाडलाई लत्याएको स्पष्ट झल्काउँछ । मणिपुरमा जम्मा आठवटा विश्वविद्यालय, दुईवटा मेडिकल इन्सस्टिट्युट अनि तीनवटा टेक्निकल इन्सस्टिट्युटहरू छन् । तर, यी जम्मै केवल समतल क्षेत्रमै सीमित छन्, जहाँ मैतेईहरू बस्छन् । जनजातिहरू बस्ने पहाडी क्षेत्रमा त इन्दिरा गान्धी नेसनल ट्राइबल युनिभर्सिटीबाहेक अरू केही छैन ।

‘पहाडलाई राजनीतिकसँगै प्रशासनिक विभेद पनि त भएकै छ । यस्तोमा किन राज्य सत्ताले हामीलाई नसोधी हाम्रैविरुद्धको कानुन तयार गर्दै छ ?’ यही आक्रोशको धूवाँ उठिरहेकै बेला हो, मणिपुर हाई कोर्टले आगोमा घिउ हालिदिएको थियो । त्यसपछि त कुकी, नागा लगायतका जम्मै जनजाति सुमदाय सडकमा उत्रिए ,‘मैतेईहरूलाई कसरी जनजातिको मर्यादा दिन सक्छ ?’, नारा लगाउन सुरु गरे ।

अब पहाड अलग भयो । समतल अलग भयो । कुकी अलग भयो । मैतेई अलग भयो । एकले अर्कोलाई देख्नै नसक्ने भए । घर जलाइन थाले । मान्छे मारिन थाले । बलात्कारका घटना सामान्यझैं बन्न थाले । मान्छे बन्दुक बोकेरै हिँड्न थाले ।

अहिले पनि कुकी र मैतेई आ–आफ्नो जग्गा कब्जा गरेर बसेका छन् । सिमानामा बंकर बनाएर रात–दिन सुरक्षामा खटिरहेका छन् । दुई देशबीच युद्ध हुँदा जुन परिस्थिति बन्छ, मणिपुरमा पहाड र समतलबीच आज त्यही परिस्थिति बनिएको छ । ‘इम्फालमा नयाँ मान्छे को आइपुग्यो ? त्यसको रेकर्ड कसरी भूमिगत संगठनहरूको हातमा पुग्न सक्छ ?’, त्यो कुरा म आज मात्रै बुझ्दै छु । काला पहाड उक्लिँदा ती कविले जुन कुरा भनेका थिए, त्यो मैले त्यस दिन अझै धेरै सम्झिएँ, जुन दिन दुई महिलालाई नांगै परेड खेलाइएको भिडियो सामाजिक सञ्जालमा देखा पर्‍यो ।

मान्छे यति धेरै क्रुद्ध कसरी बन्न सक्छ ? एउटा मान्छेले अर्कोलाई कसरी यति धेरै घृणा गर्न सक्छ ? एउटा जातिले अर्को जातिलाई कसरी यति धेरै नफरत गर्न सक्छ ? सोचेरै हैरान छु ।

तर, मणिपुरमा महिला हिंसाको घटना जति बाहिर देखिएको छ, त्योभन्दा अझै धेरै भएको छ, जसलाई बाहिर आउन दिइएको छैन । किनकि त्यहाँ इन्टरनेट पूर्ण बन्द छ । अझ कुकीहरूसँग त न पत्रकार छ, न त खबर पठाउने कुनै माध्यम नै । मणिपुरी सामानसँगै उनीहरूले पत्र–पत्रिकालाई समेत बहिष्कार गरिदिएका छन् । त्यसैले त्यो पहाडमा के हुँदै छ ? त्यसको लेखाजोखा हुनै बाँकी छ ।

तर, मणिपुरको लडाइँ अब पहाड र समतलबीचको लडाइँ बनिसकेको छ । त्यसैले त्यहाँ रहने नेपालीहरू पनि चेपुवामा परेका छन् । किनकि उनीहरू दुवैतिर छरिएर बसेका छन् । त्यसैले त मणिपुरको परिवेश आज पूरै बदलिएको छ । जुन घरको दैलौमा ‘वेलकम’ लेखिएको भेटिन्थ्यो, अचेल त्यहाँ नयाँ साइनबोर्ड टाँसिन थालेको छ ‘नेपाली हाउस् । नागा हाउस् । मुस्लिम हाउस् ।’

नेपालीहरूचाहिँ कसरी पिसँदै छन् नि त्यहाँ ?

त्यो पुरानै पारा हो । अन्डरग्राउन्डबाट फोन आइरहन्छ । फाइटिङ फन्डको माग भइरहन्छ । त्यही धम्की धेरै भएपछि हो, नेपालीहरूले एउटा गोप्य चिठी सरकारलाई पठाएको थियो । त्यो चिठी पाएपछि सरकारले तर, अर्कै राजनीति सुरु गरिदियो । गोप्य रूपमा पठाइएको चिठीलाई मिडियामा सार्वजनिक गरिदियो ।

भएन त साँढेको जुझाइमा बाच्छाको मिचाइ ?

हजार सहयोग माग्नेहरूबाट अब धम्की आउन लागे, ‘हल्ला गर्छस् होइन ? अब लाख रुपैयाँ निकाल्लास् ।’

मणिपुरको त्यही धरती हो, जहाँ उभिएर पाँच सालअघि मैले भनेको थिएँ, ‘यो ठाउँलाई म कहिल्यै भुल्नेछैन । यो पहिलो प्रेमलाई म सधैं सम्झिरहनेछु ।’ साँच्चै हो नि । म त्यो मणिपुरलाई कसरी पो भुल्न सक्थेँ र ?

अहिले पनि म त्यही धरतीलाई सम्झिरहेको छु, जहाँको स्कुल बन्द छ, कलेज बन्द छ, सडक बन्द बन्छ, बजार व्यवसाय ठप्प छ, मान्छे बन्दुकको नाल सुमसुम्याउँदै हिँडिरहेका छन् । अब फेरि कुनै दिन म त्यो सहर पुग्छु वा पुग्दिनँ ? त्यो मलाई थाहा छैन ।

तर, पुगिहाले म एकचोटि फेरि त्यो इमा मार्केट जानेछु, जहाँ पुगेपछि सायद फेरि इमाहरू मसँग झुक्किनेछन् । र, पहिले जसरी नै सोध्ने छन्, ‘करी पामे ?’

यसचोटिचाहिँ म भनिदिने छु, ‘तन्दुलैताना पामे !’

अर्थात् ‘शान्ति चाहियो ।’

हो, मलाई मणिपुरकै शान्ति चाहिएको छ ‘इमा’ ।

प्रकाशित : श्रावण २७, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?