२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०
नाटक

मायावीका ३ अवतार

‘ट्रान्जिट’ अद्भुत रसप्रधान छ । यसका स्वप्निल पाठहरूले दर्शकलाई चकित ओ चकित पारिरहन्छन् । नगरकोटीको नाटकमा कोही रुन थाले भने त्यो घोर आश्चर्यको बात हुन्छ । उनको सिर्जनशीलतामा रूने सहुलियत नै हुन्न ।
राजकुमार बानियाँ

शिल्पी थिएटरमा पस्ने बेला माथिल्तिर ‘ट्रान्जिट’ र तल्तिर ‘मिनिस्ट्री अफ टाइम टुरिजम’ लिखित ठ्याक्कै पासपोर्ट साइजको ब्रोसर हात पर्‍यो । ट्रान्जिटमा ट्राभल डकुमेन्ट पनि त चाहियो । कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको नाटकमा यस्तो प्रयोग देखिने नै भयो ।

मायावीका ३ अवतार

काठमाडौं सहरमा नाटकघर र सिनेमाघर बराबर छन् । १२ सिनेमाघर छन् भने नाटकघर पनि १२ वटै । सम्भवतः यो नाटकका लागि स्वर्णिम कालखण्ड हो । नाटक लगभग जीवनशैली नै बन्न पुगेको छ सहरमा । नाट्यकर्मी कति ‘क्रेजी’ छन् भने आफ्नो घरमै नाटकघर खोलेका छन् । पारखी दर्शकले रोजीछानी नाटकको आनन्द लिइरहेका छन् । हामीकहाँ नाटकघर र कलाकारको तुलनामा नाटककारको भने उल्लेखनीय कमी छ । त्यसकारण रंगकर्मीलाई मौलिक नाटक नै देखाउने सहुलियत छैन । विदेशी नाटकलाई नै मञ्चन गर्नुपर्ने बाध्यता त्यसकै उपज हो । नाटक भयो भने नाटकघर रहला वा नरहला, जुनसुकै समयमा मञ्चन हुनेछ । लगभग भूतपूर्व बन्न लागेको साहित्यकै पुरानो विधा नाटकमा कोही समकालीन नेभेटिँदा पनि नगरकोटी एक्लै भिडिरहेका छन् ।

‘तपाईंको पहिलो परिचय के हो’ भनेर कसैले सोधे नगरकोटीले अवश्य भन्ने छन्, ‘जीवनमा मैले धेरै विधामा लेखें । कथा, कविता, उपन्यास, संस्मरण, अनुवाद आदि इत्यादि । तर, मेरो पहिलो परिचय नाटककार नगरकोटी हो, त्यसपछि मात्र अरू परिचय ।’

नाटक चानेचुने होइन, चुनौतीपूर्ण लेखन हो । नगरकोटीको अनुभवमा एउटा लेखक तब मात्र पूर्ण हुन्छ, जब उसले नाटक लेख्छ । नाटक नलेखेसम्म लेखक सदा अपुरो, अधुरो रहन्छ । नाटक यस्तो आनन्ददायक विधा हो, जुन अरू कुनै विधामा छैन । जहाँ शब्दहरू आफ्नै आँखा सामुन्ने जीवन्त हुन्छन् ।

‘ट्रान्जिट’ नाटकका पात्रहरू भविष्यबाट अतीतको काल्पनिक यात्रामा निस्किएका छन् अनि अतीतबाट भविष्यमा फर्किनुअघिको ट्रान्जिटमा छन् । विसं २१७५ बाट २००७ हुँदै २०७५ को समय शयररत ‘सम कलेज अफ ड्राम्याटिक्स’ ग्य्राजुएट मायावी नाट्यनिर्देशक मानव शास्त्रीको स्टुडियोमा पसेपछि के के हुन्छ ? नाटकले यसै प्रकरण वरिपरि घनचक्कर लगाएको छ ।

मायावी आफैंले आफूलाई रोचक, आकर्षक र चाखलाग्दी नारी घोषणा गरेकी छे । खासमा मानव शास्त्रीको अवचेतन मनमा छाएकी छायापात्र हो, मानवी । उसका त्रयावतार छन् । मानव स्वयं भ्रामकको संसारमा बाँचेको छ । कल्पना र यथार्थको झोलुंगोमा हल्लिरहेको छ । एक्काइसौं शताब्दीको पुरुष र बाइसौं शताब्दीकी नारीबीचको प्रेम र अस्तित्वको वार्तालाभ नगरकोटीकै भाषामा अजिबोगरिब छ ।

कालपर्यटन (टाइम ट्राभल) आफैंमा सोचका घेरा भत्काउने विशिष्ट अवसर हो । टाइम मेसिनका रूपमा चिनिने स्वैरकाल्पनिक उपकरण प्रयोग हुन्छ यसमा । तर, ‘ट्रान्जिट’ सम्पूर्ण रूपमा साइन्स फिक्सन होइन । विज्ञानले के भन्छ भने समय शयर सम्भव छ, तर त्यो तपाईंले सोचिरहेको तरिकामा होइन । वास्तवमा यो मनोवैज्ञानिक नाटक हो, जहाँ फल्स मेमोरी (झूटो स्मृति) को कुरा छ ।

यस नाटकको विशेषता के हो भने एउटै नारी पात्रलाई तीन जना कलाकारमार्फत अभिनय गराइएको छ । नगरकोटीका नारी चरित्र ‘बोल्ड एन्ड ब्युटिफुल’ त हुने नै भए । नाटकले यसपछि के हुन्छ भन्ने कुतूहलले बाँधिराख्छ । दर्शक थप रहस्य थाहा पाउन उत्सुक हुन्छ । मनोवैज्ञानिक रोमान्चको विशेष अनुभव हुन्छ ।

वास्तविक र मनोवैज्ञानिक समय दुवै छ नाटकमा । भौतिक समय घडी र पात्रोमा अडिएको छ भने मनोवैज्ञानिक समय स्मृति वा मानसपटलमा चित्रित छ । जीवन कति विसंगत छ भने मानवशास्त्री आफूलाई श्रापित प्रेमी मान्छ । ऊ ‘लिपस्टिक, सिग्रेट र अन्य एकान्त’ नाटकमा अभिनय गरेका तीन अभिनेत्रीको आवधिक मञ्चन सकिएलगत्तै मृत्यु भएको भ्रममा छ भने तीनै जना अभिनेत्री आफ्नो प्रेमीको हत्या गरेको ‘कन्फेसन’ गर्छन् । सर्रियल दृश्यहरूले भरिपूर्ण छ नाटक ।

नाटकमा मानव बनेका दिव्य देव, मायावी बनेका शिल्पा मास्के, आकांक्षा कार्की, वासना तिमिल्सिना अनि जेलर मिल्सन राई । निर्देशक घिमिरे अतिथि भूमिकामा छन् । कलाकारहरूको अंग्रेजी लहजा विशेष छ । उनीहरूले नाटकलाई दर्शनीय मात्र बनाएका छैनन्, नाटकको मूल्यसमेत संवर्धित गरिदिएका छन् ।

यस्तो लाग्छ, दिव्यदेवकै निम्ति नाटक लेखेका हुन् नगरकोटीले । नेपाली नाटकमा दिव्यदेवको आगमन सुखद छ । उनले काल्पनिक चुरोट सल्काएको अनि काल्पनिक धुवाँ उडाएको दृश्य उल्लेखनीय छ । नाटकको मुख्य पात्र मानव शास्त्री आफैंलाई तेस्रो व्यक्ति मानेर व्यवहार गर्दै भनिरहेको छ, ‘म दिव्यदेवको अल्टर इगोसँग तिमी (मायावी) लाई नाटक खेलाउँछु ।’ नाटकको भाषामा यो इलिइज्म हो ।

नाटकमा प्रयोग गरिरहन रुचाउँछन् नगरकोटी र युवराज । परम्परागत नाटकको मेनु यसमा नहुनु स्वाभाविकै हो । नगरकोटीको गह्रुँगो खोपडीका कल्पना, पराकल्पना, एकालापलाई विभिन्न नाट्य टेक्निकमार्फत दर्शकहरूसामु ल्याउन घिमिरे युवराजले अतिरिक्त मिहिनेत गरेका छन् । अझ भन्ने हो भने नाटकको ‘फोर्थ वाल’ भत्काएका छन् ।

नगरकोटीका समकालीन लेखकहरू नाटकमा खासै देखापरेका छैनन् । घिमिरे युवराजले एक दशकको कालखण्डमा नगरकोटीका तीन नाटक मञ्चन गरे– ‘कोमाः अ पोलिटिकल सेक्स’, ‘बाथटब’ र ‘ट्रान्जिट’ । उनले गोठाले नाटकघरको उद्घाटनमै नगरकोटीलाई नाटककारको हुलियामा उतारे । लाग्छ, घिमिरे युवराजबाहेक अरूले नगरकोटीलाई नाटक लेखाउनै सक्दैनन् । अरूका लागि उनले नाटक लेखेका पनि छैनन् ।

निर्देशक घिमिरे युवराज नाटकमा जहिल्यै नयाँपन खोज्छन् । नाटक जीवनको अनुकरण मानिने भए पनि दर्शकलाई आफू बाँचिरहेको समयभन्दा फरक कुराको अनुभव गराउँछन् । दैनन्दिनी घटना, सुखदुःखभन्दा पर पुर्‍याउँछन् । चलिरहेका नाटकभन्दा फरक भएकाले विचलित दर्शकलाई पनि नाटकघरसम्म तानिरहेकै छन् । उनी बहुपत्रे कथा अनि जीवनलाई बहुआयाममा बुझ्ने र बहुल अर्थ निस्कने नाटक पस्किन्छन् । यसपटक पनि उनले नगरकोटीको पाठको आत्मामा मजासित छिरेर प्रस्तुत गरेका छन् ।

‘ट्रान्जिट’ मा स्टुडियो, कफीघाट र संग्रहालय गरी तीनवटा सेटिङ छन् । ती सर्रियल स्पेस देखाउँदै अमूर्त पाठलाई समेत मञ्च, संगीत र ध्वनि, प्रकाश परिकल्पना र नेपथ्य आदिमार्फत मूर्त बनाउने कोसिस अभूतपूर्व छ । टाइम ह्वीलको तीनवटा चक्का घुमाउने, मस्तिष्कभित्रको कुरा देखाउन जाली हाल्ने, कफीघाटमा मुनिबाट बत्ती बाल्ने, चेयरभित्रै बत्ती बाल्ने आदि खर्चिला प्रयोग पनि उनले गरे । यो नाटक लेखन र शैलीमा रूपान्तरण हो ।

भन्नैपर्ने के हो भने हाम्रो साहित्य अलि एकाकी छ । लेखकहरूमा रूचिसम्पन्नता भेटिँदैन । रुचि यति सीमित छ कि त्यसले साहित्यमा विविधता पल्लवित, पुष्पित र सुफलित हुन सकेको छैन । नगरकोटीले तीनवटै नाटकमा आफूलाई त्यो विविधता पस्कन सक्षम लेखकका रूपमा प्रस्तुत गरेका छन् ।

‘ट्रान्जिट’ ले नेपाली नाटक संसारलाई पनि देखाउने जमर्को गरेको छ । त्यसमा पनि सुप्रसिद्ध नाटककार बालकृष्ण समको व्यक्तित्वको रोचक सन्दर्भ स्मरणीय छ । आफ्नो अनुहारको हेभी मेकअप बिग्रने डरले जुनसुकै समय कालो छाता ओढ्ने र कम मुस्कुराउने अनि धर्मपत्नीसँग पनि ज्यू–हजुरको लवजमा बोल्ने ।

‘ट्रान्जिट’ का पात्रहरू भविष्यबाट अतीतको काल्पनिक यात्रामा निस्किएका छन्

नाटकहरू रससिद्धान्तमा आधारित हुन्छन् । ‘ट्रान्जिट’ चाहिँ अद्भुत रसप्रधान छ । अद्भुत रस यसको आत्मा हो । यसका स्वप्निल पाठहरूले दर्शकलाई चकित ओ चकित पारिरहन्छन् । नगरकोटीको नाटकमा कोही रुन थाले भने त्यो घोर आश्चर्यको बात हुन्छ । उनको सिर्जनशीलतामा रूने सहुलियत नै हुन्न ।

काव्यशास्त्र अनुसार, अद्भुत रसको स्थायीभाव विचित्रता, आश्चर्य वा विस्मय हो । यसमा अलौकिक वा अनौठो कुरा नै हुन्छन् । पूर्वीय नाट्यशास्त्रमा भरतमुनिले यस रसलाई ‘दिव्य र आनन्दज’ भनेका छन् । यसमा अनुभूति र संवेदनाका साथमा मानसिक खेल पनि नगरकोटीले घुसाएका छन् । नाटकमा प्रायः संवाद उम्दा छन् ः

– जो मुग्ध भयो/ऊ मुक्त भयो ।

– कहिलेकाहीँ घरमा हुन्छु, कहिलेकाहीँ एकान्त बगरमा । आफ्नै लास रुँगी बस्छु मनको सुनसान खण्डहरमा ।

– तिम्रो शरीरबाट त मगमग बास्ना आइरहेको छ, मायावी । सुगन्धित अगरबत्तीझैं तिमी बसाइरहेकी छौ । तिम्रो सासमा सुकुमेलको बास्ना छ । औंलाहरूको काप–कापमा चन्दनको सुवास छ । तिम्रो केशमा कफीको कुतकुत्याउने कामुक वासना छ ।

– मेरो कफीमा तीन बिर्को ब्रान्डी, चार बिर्को रम र पाँच बिर्को ह्वीस्की मिसाउनु ल ।

– मेरा निम्ति तिमी भविष्य, तिम्रानिम्ति म इतिहास ।

– आई एम नोबडी । हु आर यु ? आर यु नोबडी टु ?

– बेडरुम सम्भोगको दुर्घटनाग्रस्त क्षेत्र हो ।

नगरकोटीको नाट्यशिल्प जहिल्यै नवीन हुन्छ । त्यो नस्विकारी धरै छैन । ‘ट्रान्जिट’ ले के देखाएको छ भने नगरकोटी सपना–देखक मात्र होइन, सपना–लेखक पनि हुन् । डेढ महिनाको रिहर्सलपछि घिमिरे युवराजले नगरकोटीको सर्रियल सपनाको मञ्चन गरेका छन् । एक स्वप्नस्रष्टाको स्वप्नद्रष्टा बन्ने अवसर शिल्पी थिएटरले दिएको छ ।

प्रकाशित : श्रावण २०, २०८० १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?