१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

सबैभन्दा ठूलो शत्रु

सरस्वती प्रतीक्षा

मेरो सबैभन्दा ठूलो शत्रु
कहीँ छ भने त्यो म आफैंभित्र छ ।

सबैभन्दा ठूलो शत्रु

सर्पले के फणा फिजाउँछ ?

फणा त मभित्रको अर्को मान्छेले फिजाउँछ

र, जीवनको हरेक मोडमा मलाई नै डसेर मरणासन्न बनाइरहन्छ ।


कोही छ मभित्र

जो मेरो खिलाफ मलाई नै प्रयोग गर्न माहिर छ

म भरिएको आधा गिलासको कुरा गर्छु

ऊ प्याच्च गिलास त आधा खाली छ भन्छ

म मभित्रको बुद्धसित बोधिचर्याको कुरा गर्छु

ऊ मभित्रको हिटलर जगाउन हरक्षण अलार्म बजाइरहन्छ

म जाँगर र उत्साहका कविताहरु लेख्न बस्छु

ऊ आलस्य र थकानका शब्दहरु थुपारेर मलाई हैरान बनाउँछ ।


ऊ हल्लाको हिमायती/सकेसम्म आफैंलाई प्रदर्शन गर्छ

म मौनताको पुजारी/सकेसम्म स्वयंलाई लुकाउँछु

एकान्तमा बसेर मैले एकान्त सेवन गरिरहँदा

ऊ कटुवाली पारामा मलाई एकान्तको दुर्व्यसनी घोषित गर्छ ।


मैले जीवनका मन्त्रहरु उच्चारण गरिरहँदा

ऊ छेवैमा बसेर मृत्युको सहनाई बजाइरहन्छ

बदमास पनि यतिसम्मको बदमास छ कि

बारबार मेरो आशाको शिरोच्छेदन गरेर निराशाको टाउको जोडिरहन्छ ।


दुनियाको बाल मतलब !

मिलन हुँदा

म चिहानघारीमा समेत प्रेमका रोमान्टिक गीतहरु गाइदिन्छु

विछोड हुँदा

कसैको यादलाई सितन बनाएर घुटुक्क आफ्नै आँसु पिइदिन्छु

र, आँसुकै क्यानभासमा आफ्नो रून्चे पोट्रेट बनाइदिन्छु

ऊ ‘मकुण्डोधारीहरुको यो जमानामा

जतिबेला पनि मुस्कुराइरहेको मकुन्डो पहिरेर हिंड’ भनिरहन्छ

बारबार मलाई प्राकृत हुनबाट रोकिरहन्छ ।


म जराप्रेमी

हाँगामा एउटा पात नहुँदा पनि

जराको गीतमा मनमगन नृत्य गर्ने मान्छे !

ऊ हाँगामा नक्कली प्लास्टिकका पातहरु गाँसेर भए पनि

जङ्गलमा राज गर्न कुनै कसर छोड्न हुन्न भन्छ

ऊ क्रूरताको आर्किटेक्चर

मेरो कोमलपनलाई फगत कमजोरीको संज्ञा दिन्छ ।


म मायाको कुरा गर्छु

ऊ मोहको राग अलापी–अलापी मलाई दिग्भ्रमित पारिरहन्छ

म करूणाको कुरा गर्छु

ऊ वासनाको तीनपाने प्याला पिलाएर मलाई

लठ्याइरहन्छ ।


मलाई फसाउन ज–जसले खाडल खने

ती त केटाकेटीले खेल्नका लागि बनाएका खाडलजस्ता हुन् मेरा लागि

मलाई कसैले खाडलमा जाक्न सक्छ भने

मभित्रको ‘म’ ले मात्र जाक्न सक्छ

म कुन र कस्तो खाडलमा फस्छु ?

मभित्रको मान्छेलाई बाहेक अरुलाई थाहा छैन ।


मभित्रै छन् सेता परेवाहरु र परेवाहरुको कलरव पनि

मभित्रै छन् हुँडारहरू र हुँडारहरुको नृशंस गर्जन पनि ।


मभित्रको विश्वयुद्धमा

म आफैं यो पक्षको पनि हुँ र त्यो पक्षको पनि

यो दुईधारे हतियार–दुईधारे कटान

म आफैं यताको पनि हतियार हुँ र उताको पनि ।


वर्षौंदेखि म मेरो सबैभन्दा ठूलो शत्रुसित लडिरहेछु

अर्थात् म आफैंभित्रको अर्को कुरुप मान्छेसित लडिरहेछु ।


मान्छेको सबैभन्दा ठूलो शत्रु ऊ आफैंभित्र हुँदोरहेछ

जसले आफैंभित्रको शत्रुलाई जित्यो,

उसले जित्न बाँकी केही रहँदैन रहेछ ।

प्रकाशित : श्रावण ६, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?