२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

क्षितिजकी मायालु मनपन्छी

नेपाली कवितालाई राजनीतिले रातै पारेको छ वा रित्तै ? राजनीति भीडको पछि लाग्छ, तर कविता भीडलाई छाडेर एक्लिन्छ
समालोचकहरू मुक्तात्मालाई समेत मार्क्सवादी, समाजवादी, पुँजीवादी, विम्बवादी आदि के जाति मामुली साइनबोर्ड झुन्ड्याइदिन मरिहत्ते गर्छन् । रमेश क्षितिजलाई त्यस्तो कुनै साइनबोर्ड चाहिँदैन ।
राजकुमार बानियाँ

मेरा निम्ति प्रतीक्षित कवि हुन्, रमेश क्षितिज । उनी आजको दिनमा कविता पढेजस्तो अनुभूति दिन सक्षम एक काव्यसाधक हुन् । मलाई प्रशंसक वा पाठक, जेसुकै भन्नुस्, तपाईंकै मर्जी । उनी कविताका नाममा कवितै लेख्छन् । कविताकै गुण र गरिमा बढाउँछन् ।

क्षितिजकी मायालु मनपन्छी

हाल सालै हरियो जिल्दवाला क्षितिजकृत काव्यकृति ‘पर्वत पर्वतमा बटुवा घाम’ मा ‘झरीमा मनपन्छी’ र ‘अन्तर्यात्रा’ पढ्दा कताकता आफ्नै मनको झंकार सुनेजस्तो भइरह्यो । मनको आँगनमा खुसीको मयूर छमछम नाचिरह्यो । वर्षौंअघि आफैंबाट चोइटिएको एउटा काव्यिक झिल्को फर्किएको भान भइरह्यो ।

एक दशकअघि कवि रमेश क्षितिजलाई अर्का कवि मनु मञ्जिलले अहिलेसम्मकै ‘बेस्ट कम्प्लिमेन्ट’ दिएका थिए– कविताको भाषा फर्काएर ल्याउने कविका रूपमा । आज पनि भन्ने त्यही हो । त्यसैले त्यो पाठ दोहोर्‍याऊँ, ‘...गएका केही दशकहरूमा हाम्रा थोरै कवितामा बाहेक साँचो कविताको भाषा थिएन । बरु कविता कथाले माग्यो, उपन्यासले माग्यो, गीतले माग्यो । तर कविता स्वयम् चाहिँ अरूलाई कपडा बाँड्दाबाँड्दै आफैं नांगिएर भागेको कुनै मिथकको उदार सम्राट् जसरी बाँचिरह्यो ।’

‘कविताको भाषाको जिकिर कुनै कठिन र दस ठाउँ टालेको भाषाको आग्रह होइन । सौन्दर्य र सामर्थ्यका कारण इतिहासभरि प्रतिष्ठित कविता पछिल्लो समयमा आएर स–साना कुण्ठा र विरह व्यक्त गर्ने मरन्च्याँसे भरियाको काम गर्ने भयो । प्रत्येक कवितामा उनले यो देशको काव्यको सरल तर रहस्यमय, मौन र शालीन भाषाको उपयोग गरेका छन् । कविले कविताले हराएको भाषा आफ्नै मौनतासम्म पुगेर, खोजेर, फर्काएर ल्याएका छन् ।’

यहाँ एकथरी कवि–समालोचक मुक्तात्मालाई समेत मार्क्सवादी, समाजवादी, पुँजीवादी, विम्बवादी आदि के जाति मामुली साइनबोर्ड झुन्ड्याइदिन मरिहत्ते गर्छन् । विशिष्ट कवि रमेश क्षितिजलाई त्यस्तो कुनै साइनबोर्ड चाहिँदैन । उनका कविता स्वयं लोकलभन्दा युनिभर्सल, सामयिकभन्दा शाश्वत, तात्कालिकभन्दा सर्वकालिक हुने काव्ययात्रामा छन् । हरेक पुस्ताका पाठकमा मानवीय प्रेम, एकता र सकारात्मक ऊर्जा भरिरहने यी कवितालाई भूतपूर्व हुने छुट छैन पनि ।संसारभरि विभिन्न कालखण्डमा कविता रचिए । शासकहरूले कवितालाई राजनीतिको अधीनस्थ राख्न नखोजेका होइनन् । तर, कविहरूले त्यसको छाया पर्न नदिएकाले विश्वमा महान् साम्राज्यहरूको पतनपछि पनि कविता युगयुग बाँचिरहेकै छ । खासमा कविताले क्रान्ति गर्नेभन्दा पनि मन परिवर्तन गरिदिने रहेछ ।

नेपाली कवितालाई राजनीतिले रातै पारेको छ वा रित्तै पारेको छ ? यो बहसको विषय होला । राजनीति भीडको पछि लाग्छ भने कविता भीडलाई छाडेर एक्लिन्छ । क्षितिजका कवितामा इतिहास, स्मृति, परम्परा, आधुनिकता, समकालीनता र कालबोध छ । यी कविताको रसास्वादनमा कुनै पनि समय बाधक हुनेछैन । रमेश क्षितिज बागीभन्दा जोगी हुन रुचाउने कवि हुन् ।

कविता कवि स्वयंको आत्मकथन हो । तर, हामीकहाँ कविता विधा नै निरन्तर रिपोर्टिङमा रमाउँदो छ । कविताका नाममा कुनै घटनाको विवरण ठाडै, मुखेन्जी वा प्रत्यक्ष प्रतिक्रियात्मक शैली चलनचल्तीमा छ । मिडियाको समाचार, प्रहरीको मुचुल्का वा इतिहासका पाठलाई यी कविताले पछ्याएका छैनन् ।

त्यो लोकगायक नदी हुन सकिनँ,

जससँग थिए हृदय हुने गीतहरू

त्यो आदिकवि सूर्य पनि त हुन सकिनँ

जसले लेख्थ्यो, घामका उज्याला पंक्तिहरू

त्यो कलाकार चरा हुन सकिनँ

जसले बनाउँथ्यो, आफ्नै सीपले कलात्मक गुँड ।

(एउटा मूर्तिको आत्मसंस्मरण)

प्राञ्जल भाषा र नवीनतम शिल्प सजावट रमेश क्षितिजका काव्यिक चिनारी हुन् । पुस्तकको नाममै कविता छ । सचिन यगोल श्रेष्ठको आवरणचित्रमै पनि उम्दा कवित्व झल्किन्छ । क्षितिज यसमा पर्वत–गायक भएका छन् । पर्वतलाई उनी ज्ञान, रहस्य, साहस, अध्यात्म र सौन्दर्यका आद्यविम्ब मान्छन् ।

उनलाई कविताभित्र मात्र होइन, शीर्षक पनि कविता नै चाहिन्छ । ‘उदास भइरहेको अभिन्न मित्रसँग पाटनको एउटा क्याफेमा एक दिन’, ‘एकालाप : रूखमुनि बिसाएको एउटा बटुवाको’, ‘रानीमहल बाहिर उभिएको एक यात्री’, ‘आफैंबाट हराएकी सिल्भियालाई एक कोमल प्रश्न’ यसका दृष्टान्त हुन् । एक–दुई शब्दका त शीर्षक अब क्लिसे भइसके ।

बडा सुकिला र आला छन् क्षितिजीय विम्बहरू । टाँक झरेको पुरानो कोटझैं भएका सम्बन्धहरू । चौतारीलाई सिरान लाएर पल्टेको गोरेटो । हरियो पासपोर्ट गोजीमा राखेर हराइरहेका लाखौं योगनरेन्द्रहरू । उनी भेटिएला छाया हिँड्दाहिँड्दै कहीं फेरि बाटो दोबाटोमा भन्दै मौनताको गुञ्जन सुन्छन् । एकालापको ग्रन्थमा एकाग्र हुन्छन् ।

यी कविलाई ठूलोभन्दा पनि ठूलो हुन्छ, सानो कुरा । उनी भीडमा आफ्नो अनुहार या परिचय खोजिरहेका छन् । मानिसलाई फगत पृथ्वीरूपी संग्रहालयको फगत पर्यटक मानेका छन् । यसमा सूक्ष्म भाव, संवेदना र अन्तरदृष्टि छ ।

क्षितिज भौतिक भुइँचालो मात्रै नभएर मनलाई केन्द्रविन्दु बनाएर पटकपटक गइरहने आफैंभित्रको भुइँचालोलाई समेत महसुस गर्छन् । अशक्त बाबुआमा र नवविवाहित भार्यालाई दुर्गम गाउँमा छाडेर परदेश उड्न तयार श्रमिक युवाहरूको लस्करले पनि कविलाई बिथोलेकै छ । कोरोना महामारीमा मास्क लगाएको मानिसको दुःख त छँदै छ, नारीमुक्तिको अटुट कामना पनि छ ।

ऐना हेरेर बस्दाबस्दै

हो, ऐनामा

मुस्कुराउँदा मुस्कुराउँदै

अचानक एक दिन

फुत्त बाहिर निस्कन्छ तिम्रो आफ्नै प्रतिविम्ब

र, विद्रोहको स्वरमा भन्छ –

यसरी सधैं र सधैं कैदी भएर कहाँ सकिन्छ बस्न !

अटाउँदिनँ यो साँघुरो फ्रेममा म,

अहो ! एक युगदेखि उकुसमुकुस भएर

मुक्ति खोजिरहेकी – के त्यो तिमी थियौ ?

(स्त्री)

आम कवि बाहिरी संसारमा कविता खोज्छन्, तर रमेश क्षितिज आफैंले आफैंलाई खोज्ने वा चिन्ने कविता लेख्छन् । अध्यात्मशास्त्र अनुसार पृथ्वी, जल, वायु, अग्नि (तेज) र आकाशबाटै मानवरचना भएको हो । यस संग्रह पनि आकाशगंगा, अग्निउत्सव, जलतरंग, वायनृत्य र भू–यात्रा गरी पाँच भँगालोमा बाँडिएको छ ।

मनु मन्जिलले भनेजस्तै हाम्रा कविता दुःख, निराशा, हीनता, कुण्ठा र घृणाका मसलाले चुलिएका छन् । त्यस्ता कविता पढ्दा अनिद्रा, अवसाद र एक्लोपन अझै बढ्ने छन् । आजका व्यथित मनुवालाई आत्मिक शान्ति र अन्तस्करणमा जीवन्त ऊर्जा भर्ने काव्यथेरापी दिने सामर्थ्य क्षितिजका कवितामा छन् ।

हो एक्लोपन, निराशा, अन्याय, असमानता, गरिबी, बेथिति, विसंगति यावत् छन् दुनियाँमा । तर, रमेश क्षितिज त्यसलाई नै भव्य देखाएर बस्ने कवि होइनन् । जीवन कठिन छ तापनि प्रेम, अध्यात्म, सौन्दर्य आदिमार्फत विषम परिस्थितिमा पनि जीवित रहने उत्प्रेरणा र शक्ति प्रदान गर्छन् भन्ने उनको विश्वास छ ।

दुःख आइपर्दैमा जीवन दुःखमय हुने होइन । त्यो त हामी आफैंले कामकुराको चाँजोपाँजो मिलाउन नसकेर निम्तिने न हो । क्षितिजका कविताले भनेजस्तै जीवन र प्रकृति धन्य छन् । जस्तोसुकै अवस्थामा पनि आशाको अरुणोदय पर्खने कविको जिकिर छ– विषालु जीवन पनि पीयूषदर्शी बन्न सक्छ ।

क्षितिजका कवितामा दया, माया, प्रेम, ममता, करुणा, स्नेह, सौजन्य, क्षमता, सहनशीलता, धीरता, स्थिरता, सदिच्छा, सत्प्रयास, सद्ज्ञान, सद्धर्म, सत्कर्तव्य इत्यादि प्रसाद गुण छन् । उनको कविताकर्मको लक्ष्य नयाँ सौन्दर्य खडा गर्नु हो । भाषामा लालित्य अनि शिल्पमा सौष्ठव थप्नु पनि हो । अर्को शब्दमा सत्यं शिवं सुन्दरंको स्वर सिँगार्नु हो ।

यी कवितामार्फत क्षितिजले विमुग्धकारी सौन्दर्यको प्रतिमान खडा गरेका छन् । चाहे त्यो मानवीय सौन्दर्य होस् वा प्राकृतिक । ती आनुभूतिक सौन्दर्यले चाक्षुषीय तृप्ति दिन्छन् । पाठकलाई फराकिलो अँगालो दिन्छन् । मानसिक निर्मलता, वैचारिक पवित्रता, वाचिक मृदुलता, आचरणगत सात्विकता आदि पनि उनको काव्यिक किल्लाभित्रै छन् ।

रमेश क्षितिजको काव्यशैली किन अलग छ भने उनी आत्मबोधका साथ नवीन, तरोताजा र तीव्र आस्वाद्य कविता लेख्छन् । प्रकृतिको मानवीकरण गर्छन् । मानवको प्रकृतिकरण गर्छन् । कविको स्पर्श अद्भुतै हुन्छ । त्यो चमत्कारी मसीका कारण कहिले प्रकृति मानव बन्छ त कहिले मानव प्रकृति बन्छ । प्रकृति मानवको चिर सहचरी न हो ।

रमेश क्षितिजलाई पढ्दा लाग्छ, कविता र कठोरता सँगसँगै बस्दैनन् । कविता र कृत्रिमता पनि सँगसँगै रहँदैनन् । व्यक्ति र कृतिबीच हाडनाता हुन्छ । ५३ थान कविताभरि त्यो आभास भइरहन्छ । क्षितिजका कविता एकछिनका लागि होइन, सधैंका लागि, जीवनका लागि हो ।

‘पर्वत पर्वतमा बटुवा घाम’ का कविताहरूभित्र प्रेम, मानवता, कल्याण र न्यायका लागि गाइएका मंगल गीत वा पवित्र प्रार्थना छन् । स्वप्नदर्शी हृदयको आवाज अनि जीवनमन्त्र छन् । प्रकृति, जीवन र रहस्यहरूसँगका साक्षात्कार छन् । कविता जीवनलाई उत्सवमय बनाउन अन्तरंग साथी बनोस् भन्ने क्षितिजको आग्रह छ । र, यिनले क्षितिजको असाधारण काव्यकारिताको प्रमाण दिन्छन् ।

‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७), ‘घर फर्किरहेको मानिस’ (२०६९), हुँदै ‘पर्वत पर्वतमा बटुवा घाम’ (२०७९) सम्म आइपुग्दा रमेश क्षितिज समकालीन नेपाली कविताको एउटा चुचुरो बन्न पुगेका छन् । तर, उनका कविता हस्याङफस्याङमा भन्दा फुर्सदमा पढ्न जाती हुन्छ । भीडभाडको भन्दा एकान्तको साथी बनाउनु श्रेयस्कर हुन्छ ।

कविलाई प्रशंसा त चाहिन्छ । तर, अचाक्ली प्रशंसा चाहिँदैन । क्षितिजका कवितामा यदाकदा पुनरुक्ति या द्विरुक्ति दोष भेटिन्छन् । आफ्नै पूर्ववर्ती कवितामा प्रयोग भइसकेका विम्बहरू हुबहु दोहोरिएको छ । रमेश क्षितिजजस्ता कवि यसमा सचेत भएकै जाती । कविताको पुछारमा टीका या फुटनोट अनिवार्य थिएनन् । तिनले पाठकीय स्वतन्त्र धारणालाई कुण्ठित गरिदिन्छन् । किनभने कविको साधिकार शब्दमा मात्र छ, अर्थमा छैन ।

जहाँ पुग्छु

पुग्छु भनेर बग्ने त – गण्डकी हो

बाटो हिँड्नलाई पुग्ने मुकाम छ – जिन्दगी हो ।

(मन्दिरको घण्टी)

प्रकाशित : असार ३०, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?