२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रियदर्शिनीको प्रेम परीक्षा

किताबले निराशाबाट आशा, अँध्यारोबाट उज्यालो र नकारात्मकताबाट सकारात्मकतातिरको जीवनयात्रा गराएको छ
राजकुमार बानियाँ

म यस्तो पात्रलाई पढूँ, जसलाई पढेर आफैंलाई सान्त्वना दिन सकूँ । यस्तो दर्शन पढूँ, जुन पढेर आफूले टेकेको धरती र उभिएको आकाशमा सन्तुष्टिका साथ बाँच्न सकूँ । यो उपन्यास मैले आफूलाई मन पर्ने स्वादअनुरूप लेखेको छु । आफूलाई मन पर्ने दर्शनलाई आफ्नै लयमा लेखेको छु । अन्तर्मनमा उठेका लहरहरूलाई शान्त बनाउन र आफ्नै प्रेरणापुस्तिका जसरी पुस्तक कलेवरमा ढालेर त्यसलाई सिरानीमा राख्न लेखेको छु ।’

प्रियदर्शिनीको प्रेम परीक्षा

आजका सक्रिय पाठक लेखकहरूसँग गुनासो गरेर बस्दैनन् । आफ्नो स्वादको उपन्यास आफैं लेख्छन् । चिकित्सक पृष्ठभूमिका दोस्ती रेग्मीले त्यसै गरेका छन् । उनले साहित्य, ध्यान र दर्शनको सम्मिश्रणमा एउटा आकर्षक आख्यान उभ्याएका छन्, ‘पारमिता’ । यसले आफूलाई आफैंले माया गर्न सिकाउँछ । आफूले आफूलाई आफैंबाट बचाउन सिकाउँछ । निराशाबाट आशा, अँध्यारोबाट उज्यालो र नकारात्मकताबाट सकारात्मकतातिरको जीवनयात्रा गराएको छ ।

यस आख्यानले डिप्रेसन (अवसाद) र दुर्व्यसनमा फसेको किशोरको प्रेमकथा पस्केको छ । किशोरोचित गुण नै भन्नुपर्छ, पदयात्राका क्रममा आफ्नै उमेर समूहकी प्रियदर्शिनीलाई अग्घोरै मन पराउँछ अनघ । कतिसम्म भने फेसबुकबाट उसका सबै तस्बिर डाउनलोड गरेर राख्छ । कहिले स्लाइड सो गरेर हेर्छ त कहिले जुम गरीगरी हेर्छ । कतिपय तस्बिर प्रिन्ट गरेर किताबका पत्रहरूमा राख्छ । ऊ आफ्नो पवित्र प्रेमको परिचय उसको नाम ट्याटु खोपाएर दिन्छ, ‘प्रिया’ । तर, उही प्रियदर्शिनी प्रेमको परीक्षा लिन्छे । ऊ चुनौती दिन्छे– एक महिनासम्म चुरोट, खैनी, गाँजा र नाइट्रोसन ट्याब्लेट छुँदै नछुने ।

दुर्व्यसन अजिंगरजस्तो भएर बसेको छ अनघभित्र । उसले केही दिन निलम्बित माया फर्काउने कोसिस गर्छ पनि । तर, प्रत्याहार र संयमको परीक्षामा सफल हुन सक्दैन । उत्साह कम हुँदै गएर फेरि पनि दुर्व्यसनकै एम्बुसमा पर्छ । ओभरडोज एडिक्सनका कारण अस्पतालको मानसिक वार्डमा पुगेको अनघलाई प्रियदर्शिनीको माया स्वीकार गर्ने पात्रता महसुस हुन्न र पत्र लेख्छ, ‘...म तिमीलाई माया गर्छु । तिम्रो मायाको कदर पनि गर्छु । तर, यो मायालाई काँधमा बोकेर म अब हिँड्न सक्दिनँ ।’

प्रियदर्शिनी सम्झाउँछे उसलाई, ‘म त तिमीलाई नदीसम्म मात्र लान सक्छु । आफूभित्र तिर्खा भए मात्र तिमीले पानी पिउन सक्छौं । प्लिज हेल्प योरसेल्फ ।’ प्रियदर्शिनीसँगको सम्बन्ध टुंगिएपछि पश्चिम नेपालको यात्रामा जान्छ अनघ । ओशो सन्न्यासी, साधुबाबा र सिल्भियासँगको भेटपछि ऊ ध्यानमार्फत आफूभित्रको चेतनामा फर्कन्छ । बाबुसँगको कटुता बिर्सन्छ । बाबुको दोस्रो बिहेलाई उचित ठान्छ । बाबुकै पाइला पछ्याउँदै आफ्नो इन्जिनियरिङको अधुरो पढाइ अघि बढाउँछ । कन्सल्टेन्सीमा काम गर्छ । त्यसपछि उसले अर्को प्रेमिल संसार भेट्टाउँछ । पहिलो प्रेमको ट्याटुमा ‘सु’ थपेर नयाँ प्रेमयात्रामा मोडिन्छ । आख्यानमा ‘ह्याप्पी इन्डिङ’ छ ।

आख्यानकारले हरेक पात्रलाई उत्तिकै न्याय गरेका छन् । अनघ मात्रै नभएर प्रियदर्शिनी, सिल्भिया, अभिनव, बाबाजी, चित्रेश आदि पनि उत्तिकै बलिया पात्र छन् । जन्मनासाथ आमा गुमाएको, बाबुले दोस्रो बिहे गरेको अनि आफूलाई छहारी दिने हजुरबासँग सात वर्षकै उमेरमा विछोडपछि अनघ डिप्रेसनमा जान्छ । डिप्रेसनका कारण दुर्व्यसनमा फस्छ । दुर्व्यसनलाई ध्यानसाधनाको तागतले जितेर आफूजस्तै कडा मानसिक विषादमा परेकी युवतीलाई त्यो दलदलबाट मुक्त गर्नतिर लाग्छ ।

आख्यानको प्रारम्भ हेर्दा पाठकलाई सामान्य कोटिको लाग्न सक्छ । तर, वेदना छिचोलेर बोधि र विरेचनसम्म पुग्दा आख्यान दार्शनिक उचाइमा पुग्छ । दार्शनिक विषयवस्तु भए पनि यसमा रोचकताको कमी छैन । पाठकलाई शब्द–शब्दमा रोक्छ र सोच्न बाध्य बनाउँछ । अत्यन्त थोरै पात्र भएको र हिमनदीको प्रवाहमा बगेको यस आख्यानको संवाद जिउँदाजाग्दो छ । शाब्दिक मीठास लोभलाग्दो छ । दोस्तीको कलाचेतनाले आख्यान झरिझुट्ट छ । ‘पारमिता’ यात्रालु आख्यान हो । यसले काठमाडौंको सेरोफेरो मात्रै नभएर पश्चिम नेपालको पनि परिभ्रमण गरेको छ । आख्यानमा त्यो भूगोलको नक्सांकनसमेत छ । यसले पात्रका माध्यमबाट पशुपतिको सूर्यघाट, तपोवन, चिसापानीदेखि जखौर र घोडाघोडी ताल, साँफेबगर, कोल्टी, मार्तडी, बडीमालिका, राराताल, मुर्माटपसम्म यात्रा गराएको छ ।

पारमिताको सामान्य अर्थ लाग्छ, पूर्णता । बौद्धदर्शन अनुसार, बुद्धत्वका १० खुड्किला छन् । दान, शिल, नैष्क्रम्य, प्रज्ञा, वीर्य, क्षाती, सत्य, अधिष्ठान, मैत्री र उपेक्षा । यस आख्यानले पनि जोगीसँग हिँडेको अनघलाई समाजमा फर्काएको छ । निषेधले पूर्णतामा लैजाँदैन । आजको मानिस समाजबाट पूर्णतः भाग्न सक्दैन । बुद्धमन्त्र ‘गते गते पारगते पारसं गते बोधि स्वाहा’ (जाऊ जाऊ पर जाऊ अझ पर जाऊ, त्यहीं नै तिम्रो ज्ञान र बोधिसत्व खुल्छ) लाई यस आख्यानले सार्थक बनाएको छ ।

सबभन्दा सकारात्मक पक्ष कहिले आफ्नै कथाको खलनायक त कहिले आफ्नै कथाको नायक बनेको अनघले कुलत र नैराश्यको आफूलाई परास्त गर्ने अर्को आफू पनि फेला पारेको छ । अनघको कायाकल्प गर्ने प्रियदर्शिनी नै हो । उसमा संयक दृष्टिबोध छ । प्रियदर्शिनीको भेटपछि नै उसले जीवनबोध गरेको छ । भलै ‘आई क्यान लभ यु, बट आई कान्ट सेभ यु’ भन्ने कुरालाई पछि मात्रै आत्मसात् गरेको छ । यो आख्यान सबै पाठकका लागि उपयुक्त छ । विशेषगरी नवयुवायुवतीले यसमा आफ्नै जिन्दगीको छाया पाउन सक्छन् । एकएकवटा शब्दमा आफूलाई महसुस गर्न सक्छन् ।

नामका कारण यो आख्यान बुद्धिजमको नजिक लागे पनि यसले नागार्जुन, ओशो, रमण महर्षि, कामु, काफ्का, नित्से, गुर्जिएफ आदिका विचारलाई समेत समेटेको छ । आफू खुसी भए अरूलाई पनि खुसी बनाउन सकिन्छ, आफैं दुःखी भए कसैलाई खुसी बनाउन सकिँदैन । आफूभित्र स्वर्ग भयो भने सबथोक स्वर्गीय लाग्छ, आफूभित्र नरक छ भने सबथोक नारकीय लाग्छ । आफूलाई माया गर्नु भनेको स्वार्थी हुनु होइन भन्ने सार्विक सत्यलाई आख्यानले अँगालेको छ ।

डिप्रेसन र दुर्व्यसनले आफूलाई आफैंबाट टाढा पुर्‍याइदिन्छन् । त्यतिबेला मानिसका निम्ति अध्यात्म मियो हुन सक्छ । हरेक व्यक्ति आफ्नो संसारको नागरिक हो । अन्तर्यात्राका निम्ति उसलाई पासपोर्ट, भिसा, लाइसेन्स केही चाहिँदैन । जिन्दगीमा सुखी हुने कि दुःखी हुने आफ्नै फैसला हो । मुख्यपात्र अनघले प्रज्ञा पारमिता प्राप्त गरोस् वा नगरोस्, पाठकले प्राप्त गर्नु आवश्यक छ भन्ने आख्यानको जिकिर छ ।

अध्यात्ममा संसारा र निर्वाण एउटै हो । यसलाई छुट्याउने कुनै रेखा छैन । ऊँटले काँडा चपाएर आफ्नै रगतको स्वाद लिन्छ । डिप्रेसनले आफ्नो घाउ आफैं कोट्याएर पीडा बढाइदिन्छ । अनघ वा सुप्रिया दुर्व्यसनको दलदलबाट उम्केका छन् । दुर्व्यसन, डिप्रेसन र अध्यात्मको ‘रेसिपी’ लिएको यो उपन्यास पछिल्लो समय आएका ताप, निर्वाण, निर्वेद, सुवर्णलता आदि उपन्यासजत्तिकै पठनीय र रुचिकर छ ।

प्रकाशित : वैशाख १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?