२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

‘शालीन’ सुवास, ‘बाघ’ घिसिङ

छुदेन काविमो

दार्जिलिङमा अलग राज्यका निम्ति कुनै दिन सशस्त्र आन्दोलन होला ? ८० को दशकअघि यो प्रश्नबारे धेरैले सोच्न पनि सक्दैनथे । किनकि त्यो बेला दार्जिलिङका आम मान्छेले सरकारविरुद्ध बोल्ने कुरा त छाडिदऊँ, बोल्नेहरूको कुरा सुन्ने आँटसम्म गर्दैनथे ।

‘शालीन’ सुवास, ‘बाघ’ घिसिङ

यस्तो बेला एकाएक एक कवि सडकमा निस्किए र चिच्याए–

‘बरु मलाई त जंगली बाघकै मुटु

एकै दिन भए पनि पैंचो मागेर

मूल सडकबीचै मेरा पैतालाका डामहरू

छाडिराख्न मन लाग्छ ।’

त्यसपछि ? त्यसपछि त बिस्तारै त्यही पैतालाका डाम पछ्याउँदै दार्जिलिङका आम मान्छे सडकमा निस्किए । नारा लगाउन थाले । गोर्खाल्यान्डको निम्ति मर्न अनि मार्नसमेत तयार हुन थाले । यति ठूलो करामत गर्ने कवि उनै ‘सुवास’ थिए, जो दार्जिलिङको राजनीतिमा ‘घिसिङ’ बनेर गर्जिए ।

दार्जिलिङको मिरिङमा एउटा सानो कमान छ, मञ्जु । त्यही कमानमा २२ जुन, १९३६ मा जन्मिएका थिए घिसिङ । तर, त्यो बेला उनलाई न सुवास भनिन्थ्यो, न घिसिङ । घरकाहरूले दिएको नाम थियो– ‘शेराब’ । उनी शेराब बनेरै मञ्जु प्राइमेरी स्कुल पुगेका थिए । मञ्जु वरिपरिको जंगल । तलतिर बग्ने बालासान खोला । वरिपरिको चियाकमान । शेराब त्यतै घुमिरहन्थे । रेडियो सुन्थे । जब स्कुल छुट्टी हुन्थ्यो, बालासान खोलातिर दगुरिहाल्थे ।

खोलासँग तिनको लगाव यति धेरै थियो, दुईतीन दिनसम्म खोलामै बसिरहन्थे । दुवाली घुमाउँथे । माछा मार्थे । ओढारमै आगो फुकेर सुत्थे । त्यसैले घरकाहरू दिक्क मान्थे, ‘नांगेको शिकार गर्नु राम्रो होइन ।’

जब घर फर्किन्थे, तब फेरि जंगल जान्थे । र, घाँस काट्दै गरेका साथीहरूलाई सुनाउँथे, ‘एक दिन यो जंगलमा म सडक बनाउनेछु । हेर्नु मात्रै, यहाँ एक दिन गाडी कुद्नेछ ।’

सुवासका आप्पा कमानका मुन्सी थिए । घरको अवस्था साह्रै खराब थिएन । त्यसैले हाइस्कुलका निम्ति अब उनी सन्त रोबर्ट दार्जिलिङ पुगे । त्यहाँ फादरहरू थिए, जो बुधबार सबैलाई नक्सा बनाउन लगाउँथे । शेराबले अब नक्सा बनाउन थाले । कविता लेख्न थाले । उनको नाम बदलियो । अब उनी सुवास बने ।

हो । त्यही बेला हो, उनले नाटक लेखे, ‘भत्किएको घर’ । गाउँमा प्रदर्शन गरे ।

सुवास घिसिङको ‘नीलो चोली’ ब्ल्याकमै बिक्री भयो । किताब कति छापियो ? गन्ती राख्नै सकिएन । तर, उनीमाथि अश्लील साहित्य लेखेको आरोप घरीघरी दोहोरिइरह्यो ।

सुवास त्यही बेलादेखि नै हरथोकमा अघि हुन्थे । कविता सुनाउन सबैभन्दा पहिला आइपुग्थे । उनी फुटबल खेल्थे । चित्र बनाउँथे । भायोलिन बजाउँथे । म्यारोथन दोडिन्थे ।

जीवन ठीकठाकले हिँडिरहेकै थियो । अचानक गाउँमा टाइफाइडको रोग आइदियो । त्यही रोगले उनका आप्पालाई लिएर गइदियो । अनि त सुवासको पढाइ रोकियो । उनले अब नयाँ बाटो खोजे । सन् १९५४ मा उनी फौजी बने । फौजी बनेपछि नै उनले १९५९ मा माध्यमिक तह पास गरे । तर, घरको अवस्था सुध्रिन सकेन । घरमा एक्ली आमा थिइन् । उनी निकै वृद्ध भइसकेकी थिइन् । त्यसैले बारम्बार भन्थिन्, ‘पर्दैन फौजी हुनु । छोड्दे त्यो काम ।’

त्योबेला सुवास लेसनायक बनिसकेका थिए । नागाल्यान्डमा उनको ड्युटी थियो । एक दिन सेनासँग उनी नुचुङ खोलानजिक गस्तीमा गइरहेका थिए । एक घाइते नागासँग जम्काभेट भयो । उग्रवादी मानिने नागालाई सेनाले घेरामा हालिहाल्यो । त्यसपछि सोधियो, ‘तिमेरको नेता अङजामे फिजो कहाँ छ हँ ?’

‘मलाई थाहा छैन । त्यसै पनि म घाइते छु । बरु मलाई मारिदिए हुन्छ ।’

नागाको आँट देखेर सुवास छक्क परे । र सोधे, ‘किन तिमेरू यसरी लड्छौ ? किन मर्न पनि डराउँदैनौ ?’

‘हामी त आफ्नो माटाका निम्ति लड्दै छौं’, घाइते नागाले अन्तिम लाइन जोडे, ‘बरु तिमेरूचैं केको लागि यहाँ हामीलाई दबाउन आएको नि ? भातका लागि ?’

‘माटो’ को कुराले सुवासलाई तान्यो । उनले सेनालाई अर्डर दिए, ‘घाइतेमाथि गोली ठोक्नु कुनै बहादुरी होइन । उसलाई छोडिदेऊ ।’

नागालाई छोडियो । तर, खबर हाइकमान्डसम्म पुगिहाल्यो । सुवासमाथि कारबाही हुनेभयो ।

सुवासले फेरि गाउँ सम्झिए । बूढी आमा सम्झिए । बालासान खोला सम्झिए । र, १९६० मा फौजी छोडेर फेरि दार्जिलिङ फर्किए ।

अब उनी शिक्षक बने । त्यो १९६१ को कुरा हो । उनले तीनधारे बंगला स्कुलमा पढाउन थाले । त्यही बेला तीनधारेमा सांगीतिक कार्यक्रम हुँदै थियो । सुवासलाई भायोलिन बजाउने मुड चलिहाल्यो । उनी बीचैमा जबरजस्ती मञ्चमा उक्लिए । र, भायोलिन बजाउन थाले । अब बिग्रिएन त कार्यक्रम ?

दर्शकहरूले दिक्क मान्न थाले । बलजफ्ती बजाइरहेको धुन बन्द गर्न हुटिङ नै सुरु गरिदिए, ‘भयो, भयो । तिम्रो धुन मिलेन ।’

तर, सुवासको ढिप्पीसँग कसले सक्ने ? उनले स्टेजबाटै जवाफ दिए, ‘बजाउँदै गर्नुपर्छ । धुन एक दिन आफैं मिलिहाल्छ ।’

एक वर्ष शिक्षक बनेपछि उनले टिचर ट्रेनिङ गर्ने भए । त्यसैका निम्ति १९६२ मा बीटी गर्न कालेबुङ पुगे । त्यो बेला बीटी गर्नेहरूका निम्ति काम छुट्याइन्थ्यो । सुवास घिसिङलाई फुड सेक्रेटेरी बनाइएको थियो, जहाँ होस्टेलको खाना व्यवस्थाबारे उनले हेर्नुपर्ने हुन्थ्यो । तर, त्यही समय अर्को घटना भयो । एक दिन ट्रेनिङमा आउने एक शिक्षकलाई झाडा लागेछ । घिसिङले खाना बनाउनेलाई अर्डर दिइहाले, ‘आज सबैका निम्ति खोले बनाइदिनू ।’

‘झाडा लाग्ने त एक जना मात्रै हुन् । किन सबैले खोले खानू ?’, प्राचार्यकहाँ गुनासो पुगिहाल्यो । प्राचार्यले घिसिङलाई बोलाए र सोधे, ‘किन यस्तो गरेको ? तिम्रो काम त यहाँ के छ, के छैन– हेर्ने मात्रै हो त !’ यति सामान्य कुरा थियो । प्राचार्यसँग बहस चल्यो । उनले फेरि बीटी कलेज पनि छाडिदिए ।

त्यसपछि त उनी दार्जिलिङ कलेज आइपुगे । त्यहीँ उनको भेट राजनीतिक नेताहरूसँग हुन थाल्यो, साहित्यिकहरूसँग हुन लाग्यो, जहाँ साहित्यकार एडोन रोङ्गोङ र उनी एउटै होस्टेलको कोठामा बस्थे । त्यही कोठामा सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीहरू गफ गर्न आउँथे । दावा बम्जनहरू आइपुग्थे । कवि आगमसिंह गिरी, नन्द हाइखिम, समीरण ‘प्रियदर्शी’ हरू आइरहन्थे । सुवास आफूले लेखेको उपन्यास पढ्थे । र, अरूलाई सुनाइरहन्थे ।

पछि सुवास घिसिङ किरायाको अर्को घरमा सरे ।

भिनितामा उनको सानो कोठा थियो । उनी त्यही बस्थेँ । चर्किएको चस्मा लगाउँथे । कोठामा एउटा कालो बिरालो थियो । कुनै बेला बिरालो आएर उनको कुमैमा बसिदिन्थ्यो । तैपनि उनी लेखिरहेकै हुन्थे । आगो ओगल्ने कविता लेख्ने घिसिङको चर्किएको चस्माबारे एक दिन लेखक जीवन लावरले सोधे, ‘किन चर्किएको चस्मा लगाउनुहुन्छ तपाईं ?’

उनले ठट्यौली गरे, ‘यो बंगाललाई हेर्ने मेरो चस्मा हो ।’ हो, त्यही बेलाको कुरा हो । उनले कविता लेखे । पहिलो उपन्यास ‘नीलो चोली’ लेखे । त्यो उपन्यास रातारात यसरी हिट भइदियो, जो हरेकको हात– हातमा पुग्न थाल्यो । त्यो बेला नेपाली किताब बनारसमा छापिन्थ्यो । एउटा छापाखानामा काम सकेर जब उनी दार्जिलिङ फर्किंदै थिए, सिलगडीमा आइपुग्दा छक्क परे । किनकि, त्यहाँ त उनको ‘नीलो चोली’ ब्ल्याकमा बिकिरहेको थियो ।

त्यसपछि त हो, उनले घोषणा गरे, ‘अब किताबको भित्री पन्ना मात्रै बनारसमा छाप्ने हो । कभरचैं दार्जिलिङमै छाप्ने हो ।’ किताबको कभरलाई उनीहरू ‘ज्याकेट’ भन्थे । त्यसपछि त नयाँ किताबको ‘ज्याकेट’ दार्जिलिङमै छापियो । त्यो ‘परिस्थिति’ उपन्यासको कभर थियो, जो भारतमै रंगीन कभरको रूपमा छापिएको पहिलो नेपाली किताब बन्यो ।

‘नीलो चोली’ ले सुवासलाई धेरै पाठकसम्म पुर्‍यायो । उनले चर्चा पाए । अश्लील लेखेको भन्दै गाली पनि खाए । तर, साहित्यमा परिचित नाम त बनिहाले । अब उनको कलम रोकिएन । ‘मने’ लेखे । ‘लुङखुङ क्याम्प’ लेखे । ‘नीलो चोली’ को नयाँ संस्करण घरीघरी आइरह्यो । ‘किताब कति छापियो ?’ पछि त सुवासले गन्तीधरि राख्न सकेनन् । तैपनि उनीमाथि अश्लील साहित्य लेखेको आरोपचैं घरीघरी दोहोरिइरह्यो । अनि त उनले सार्वजनिक रूपमै भने, ‘नेपाली साहित्य पढ्ने कति जना छन् र ? पढ्दै नपढेकाहरूलाई किताबप्रति तान्नलाई नै मैले यो उपन्यास लेखेको हुँ । पहिले म नेपाली किताब पढ्ने जमात बनाउन चाहन्छु ।’

सुवास लेखक थिए । त्यसैले त भावुक पनि थिए । उनी दार्जिलिङका मानिसहरूले भोगिरहेको दुःख देखेर हैरान हुन्थे । आम मान्छेको त्यही समस्या देखेरै १९६६ मा उनी पहिलोचोटि तरुण संघमा जोडिए । त्यो युवाहरूको जमात थियो, जसले आम मानिसको हितमा आवाज उठाउँथ्यो । सुवासलाई तरुण संघको मुद्दाले तान्यो ।

ऊ बेला दार्जिलिङमा आम मानिसको अवस्था निकै खराब थियो । त्यहीबेला देशमै खाद्य संकट सुरु भयो । यस्तो बेला युनाइटेड लेफ्टिस्ट फ्रन्टले देशव्यापी आन्दोलनको घोषणा गर्‍यो । दार्जिलिङमा खाद्य संकट चरममा पुगेको थियो । मान्छे राशनका निम्ति घण्टौं लाइनमा उभिनुपर्थ्यो । त्यसैले आन्दोलनको समर्थनमा दार्जिलिङ पनि उभियो, जसलाई तरुण संघले पनि समर्थन गर्‍यो । सुवास घिसिङ पहिलोचोटि सडकमा ओर्लिए ।

त्यो दिन दार्जिलिङमा ठूलै झडप भयो । पहिलोचोटि सरकारी वाहन जलाइयो । क्लबसाइड नजिकदेखि चौरस्तासम्मका दोकानपाट तोडफोड गरियो । बाटाको चप्पल फ्याँकाफ्याँकसम्म भयो । त्यसपछि के चाहिन्थ्यो ? सरकारले आन्दोलनकारीविरुद्ध मुद्दा दर्ता गरिदियो । १४४ जना आरोपी पक्राउ परे, जसमा सुवास घिसिङ पनि थिए । पछि अरूलाई छाडियो, तर १२ जना विरुद्ध नन–बेलेबल मुद्दा चल्यो । सुवास घिसिङ पहिलोचोटि जेल गए । जुन दिन उनी जेल पुगे, कोइला टिपे र भित्तामा कविता लेखे–

‘म वास्ता गर्दिनँ

म मेरो जीवनपथमा

डर पनि मान्दिनँ

ममाथि आकाशै खसे पनि

हाँस्न छाड्दिनँ ।’

त्यसपछि साथीहरूलाई नयाँ कथा सुनाए, ‘अब दार्जिलिङमा आन्दोलन नै गर्नुपर्लाजस्तो छ । यो थानाको राइफल पनि एक दिन खोस्नुपर्छ । दार्जिलिङलाई हामीले कब्जा गर्नुपर्छ ।’

केटाहरू खित्का छाडेर हाँसे, ‘पगलाजस्तो कुरा नगरौं !’ तर, घिसिङको त्यो अठोट बदलिएन । उनले त अब दार्जिलिङको सत्ताको सपना देख्न थालिसकेका थिए । त्यो बेला दार्जिलिङे राजनीतिमा घिसिङका निम्ति सबैभन्दा ठूलो चुनौती को थियो त ? त्यो देवप्रकाश राई नै थियो, जसको राजनीतिक धरातल चर्काउन अब घिसिङले नयाँ योजना सुरु गरे । राई किन दार्जिलिङमा यति धेरै शक्तिशाली छन्, जसलाई चुनावमा हराउनै सकिँदैन ? घिसिङले देवप्रकाश राईको शक्तिको धरातल खोजी निकाले । त्यो शक्ति गोर्खालीसँग जोडिएको ‘गोर्खा’ शब्द नै थियो ।

अनि ?

अनि, घिसिङले नयाँ रणनीति बनाए । देवप्रकाशलाई काउन्टर दिन सबैभन्दा पहिलो मुद्दा उठाए, ‘हामी गोर्खा होइन, नेपाली हौं ।’

१९६८ मा उनले यही मुद्दा उठाएर नयाँ पार्टी खोले । पहाडमा ‘नीलो झन्डा’ जन्मियो । अब उनले पत्रिका निकाले । र लेखे, ‘यो गोर्खा शब्दमा गुलामीको गन्ध आउँछ । नेपाली हुँदाहुँदै केको गोर्खाली ? हामी जन्मिँदा नेपाली हौं, मर्दा नेपाली हौं ।’

त्यसपछि उनी १० वर्षसम्म नेपाली–नेपाली भन्दै दगुरिरहे । देवप्रकाश राईलाई चुनौती दिन चुनावै लडे । चील चुनाव चिह्न लिएर आए । तर, देवप्रकाशको शक्तिअघि घिसिङको चीलले राजनीतिक उडान भर्नै सकेन । उनले ५ सय भोट पनि पाएनन् । तैपनि उदेक भयो । देवप्रकाशसँग चुनाव लड्ने अरू १२ जना थिए । तर, राईले घिसिङबारे मात्रै नसोचेको भविष्यवाणी गरिदिए, ‘अरू त के हो कुन्नि ? म मरेपछि यो चीलले चैं एक दिन उधुम मच्चाउनेवाला छ है !’ सबै छक्क परे । घिसिङ केही दिनलाई चुपचाप भए ।

ठीक त्यही बेलाको कुरा हो । दार्जिलिङ–कालेबुङमा खूब तर्क प्रतियोगिता हुन्थ्यो । सुकियापोखरीमा पनि तर्क प्रतियोगिता हुने भयो । ‘दार्जिलिङमा अलग राज्य चाहिन्छ/चाहिँदैन ?’ यसमाथि पहिलोचोटि तर्क–प्रतियोगिता हुने भयो । कुमार भोटिया यसका संयोजक थिए । उनले गोर्खा–लिग नेता देवप्रकाश राईसँग सुझाव मागे । जब राईले प्रतियोगिताको विषय हेरे, उनी हच्किए, ‘तर्कचैं राज्य हुनु हुँदैन भन्नेले जित्यो भने के हुन्छ ?’

आयोजक चकित भए, ‘साँच्चै राज्य हुँदैन भन्नेहरूले जिते के हुन्छ ?’ केहीअघि मात्रै कालेबुङमा अन्तर विद्यालय तर्क प्रतियोगिता भएको थियो । विषय थियो, ‘रक्सी खानु राम्रो हो कि होइन ?’ गभर्मेन्ट हाइस्कुलले ‘रक्सी खानु राम्रो हो’ भन्ने पक्षमा तर्क गर्नु थियो । उनीहरूले यति राम्रो तर्क राखे, अन्त्यमा प्रतियोगिता नै जिते । अर्थात् ‘रक्सी खानु राम्रो हो’ भन्नेहरूले जिते । अब परेन त फसाद ?

देवप्रकाश राईले नयाँ सुझाव राखे, ‘यो त गम्भीर विषय हो । यसमाथि तर्क प्रतियोगिता होइन । सेमिनर राख्नुपर्छ । बुद्धीजीवीहरूलाई बोलाउनुपर्छ ।’ तर्क प्रतियोगिता हठात् सेमिनारमा बदलियो । बुद्धीजीवीहरू कसलाई बोलाउने ? लेखक, प्रोफेसरहरूको सूची तयार गरियो । संगोष्ठीमा शिवकुमार राईदेखि इन्द्रबहादुर राईहरूसम्म भेला भए । मदन तामाङदेखि सुवास घिसिङहरूसम्म आइपुगे । त्यही सेमिनारले घोषणा गर्‍यो ‘अब अलग राज्य माग्ने हो । यसका निम्ति साँझा मञ्च बनाएर लड्ने हो ।’

अब प्रान्तीय मोर्चाले छुट्टै राज्यको मागलाई जोडदारसँगले अघि बढाउन थाल्यो, जसलाई घिसिङ आफैंले पनि केही समय नेतृत्व दिए । पछि कवि गुमानसिंह चाम्लिङले यसको अगुवाइ गरे । तर, जब नेतृत्वबीच मतभेद देखिन थाल्यो, घिसिङले ६ अप्रिल, १९८० मा आफ्नै अर्को नयाँ दल खोले, ‘गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ।’

तर, फेरि पनि घिसिङले भनेजस्तो समर्थन पाएनन् । त्यो यस्तो समय थियो, जतिबेला घिसिङ मान्छे थुप्रिएको देख्नसाथ भाषण सुरु गरिहाल्थे । मञ्जुमा त फुटबल फाइनल हुँदै गर्दा जित्नेले ट्रफी पनि थाप्न पाउँदैन थिए, घिसिङ सुरु भइहाल्थे । यस्तो बेला ८ अगस्त, १९८० को दिन सुकियापोखरीमा अर्को संगोष्ठी भयो, जहाँ प्रान्त परिषद् बनाउने घोषणा भयो, जो साँझा मञ्च थियो, जसले अब छुट्टै राज्यको मुद्दा अघि बढाएर लैजाने भयो, जहाँ सुवास घिसिङ थिए । उनकै दल गोरामुमो पनि थियो । सीपीएमको झन्डा नै बोकेर आउने अबुल फजलहरू थिए । सीपीआईबाट विद्रोह गरेर आउने भीमलाल दंगालहरू थिए । विभाजित गोर्खा–लिगको झन्डा नै बोकेर आउने मदन तामाङ अनि कंग्रेसका गजेन्द्र गुरुङहरू पनि थिए । आखिल भारतीय भाषा समितिका इन्द्रबहादुर राई र सीके श्रेष्ठहरू पनि थिए । उनीहरू सबै अब साझा मञ्चमा उभिए । त्यही संगोष्ठीको घोषणाअनुरूप २७ सेप्टेम्बर, १९८० मा अर्को बैठक बस्यो, जहाँ साहित्यकार इन्द्रबहादुर राईलाई ‘दार्जिलिङ प्रान्त परिषद्’ को अध्यक्ष बनाइयो । अब प्रान्त परिषद् शक्तिशाली संगठन बन्यो, जो कमान–कमान पुग्न थाल्यो । बस्ती–बस्ती पुगेर मान्छेलाई जागरुक गराउन थाल्यो । छुट्टै राज्यका निम्ति इन्दिरा गान्धीलाई पत्र लेखियो । तर, त्यही समय घिसिङ चुपचाप एउटा टोली लिएर नेपालका राजा भेट्न हिँडे । सुरु भएन त अर्को विवाद ?

अब प्रान्त परिषद्ले घिसिङलाई ‘शो कज’ गर्‍यो । कालेबुङको प्रणामी स्कुलमा बैठक बोलाइयो । एक बस समर्थकहरूसँग सुवास घिसिङ कालेबुङ आइपुगे । अध्यक्षको नातामा इन्द्रबहादुर राईले प्रश्न गरे, ‘यो त गलत काम गर्नुभयो । तपाईं प्रान्त परिषद्मा पनि हुनुहुन्छ । कसरी तपाईं नेपालको राजा भेट्न जानुभयो ? कारण बताउनुहोस् !’

घिसिङ जुरुक्क उठे । दुईचोटि खोके । र, भने, ‘यो सब मैले तपाईंहरूलाई बताई बस्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

शक्तिशाली प्रान्त परिषद् अचानक फेरि दुई फ्याक भयो । तर, फेरि पनि घिसिङ त रोकिनेवाला थिएनन् । उनी अब रात–दिन भाषण गर्दै हिँड्न थाले । जनता त फेरि पनि उही त थिए नि । घिसिङलाई पागल नै सम्झिरहे । त्यसपछि दिक्क भएर उनले भन्न थाले, ‘यो दार्जिलिङको मान्छे गुलुप हो गुलुप ।’

‘गुलुप ?’ घिसिङको आफ्नै लजिक थियो, ‘गुलुप भनेको बेलुन हो । र, दार्जिलिङका जनता त्यही बेलुनजस्तै छन् । जो फुक्दा मात्रै फुलेर यत्रो हुन्छ । फुक्न छोडिदिए, सुकिहाल्छ ।’ तर, उनले अब धेरै गुलुप फुकिरहन परेन । उनको कठिन संघर्षले त्यसपछि त बिस्तारै सफलताको लिक पक्रिहाल्यो, जतिबेला देवप्रकाश राईको निधन भयो । ‘नेपाली–नेपाली’ भन्ने घिसिङले हठात ‘गोर्खा’ शब्दलाई टिपे । र, इन्दिरा गान्धीलाई पहिलो चिठी लेखे, ‘हामीलाई गोर्खाल्यान्ड राज्य चाहियो ।’ अनि त पूरै युटर्न लिएर हाक्काहाक्की कराउन थाले, ‘नेपाली भन्नेहरू नेपाल जौं । हामी गोर्खा हौं । हामीलाई गोर्खाल्यान्ड चाहिन्छ ।’

‘गोर्खाल्यान्ड भनेको के हो ?’, धेरैले घिसिङको कुरा बुझेनन् । धेरैले उनलाई पागलकै संज्ञा दिइरहे । तैपनि उनले आफ्नो काम छाडेनन् । एक्लै पोस्टर गरिरहे । त्यसपछि कालेबुङमा जनसभा गरे । र, प्रान्त परिषद्माथि जाइलागे– ‘यो प्रान्त परिषद् भन्नेहरूले गर्दा हामीले गोर्खाल्यान्ड नपाएको हो ।’

मुद्दामाथि राजनीतिक बहस छेडिँदै थियो । दार्जिलिङमा आएर उनले अर्को तर्क पेस गरे, ‘राज्य माग्नेले नाम दिनुपरेन ? छुट्टै राज्य, अलग प्रान्त भनेर मात्रै हुन्छ ? हाटबजारमा सब्जी गर्न जानेले ‘मलाई एक केजी सब्जी देऊ’ भनेर हुन्छ ? ‘आलु’ चाहिन्छ भने ‘आलु’ माग्नुपर्छ । ‘टमाटर’ चाहिएको हो भने ‘टमाटर’ माग्नुपर्छ । त्यसैले अब हामीले तोकेर ‘गोर्खाल्यान्ड’ माग्नुपर्छ ।

घिसिङले अब भावी राज्यको न्वारनै गरिदिए, ‘गोर्खाल्यान्ड’ ।

घिसिङ बिस्तारै लोकप्रिय बन्दै थिए । ठीक त्यही बेला पूर्वोत्तरमा नयाँ हिंसा भड्कियो । मेघालयबाट नेपालीहरू लखेटिन थाले । घिसिङले त्यही मुद्दालाई समाए र भने, ‘अब पनि गोर्खा नजागे हामीलाई पनि यसरी नै लखेट्नेछ ।’

त्यसपछि त दार्जिलिङमा आन्दोलनको आगो सल्किहाल्यो । १३ अप्रिल, १९८६ मा घिसिङले विराट जनसभा गर्दै दार्जिलिङबाट १३ सूत्रीय आन्दोलनको घोषणा गरे, जहाँ पहाड बन्ददेखि लिएर भारत–नेपाल सन्धिको धारा–७ जलाउने कार्यक्रमसम्म थियो । जब पहिलो चरणको बन्द सुरु भयो, पानीघट्टमा निमा थिङ सहिद बने । फेरि खर्साङमा पुलिसको गोली चल्यो, थप अन्य ५ को ज्यान गयो । तर, घिसिङको कार्यक्रम त हातैमा थियो । २७ जुलाईमा भारत–नेपाल सन्धि जलाइने भयो । कालेबुङको थाना डाँडामा अर्कोचोटि पुलिस फायरिङ भयो । थप १३ जना सहिद बने ।

अब त पहाडमा गोर्खाल्यान्डको आगो लागिसकेको थियो, जो २८ महिनासम्म लगातार चलिरह्यो । हजारौं मान्छे मारिए । सैकडौं निखोज भए । दर्जनौं घरविहीन भए । कैयौं बलात्कृत बने । तैपनि आन्दोलन चलिरह्यो ।

त्यो आन्दोलन यति भयानक थियो, जहाँ दुनियाँको नजरै दार्जिलिङमाथि थियो । बीबीसीदेखि, गार्जियनसम्म, टाइम्स अफ इन्डियादेखि, भोइस अफ अमेरिकासम्म । सबै दार्जिलिङको खबर खोजिरहन्थे । तर, अन्त्यमा आन्दोलन विफल बन्यो । घिसिङले सम्झौताको बाटो रोजे । पहिलोचोटि दार्जिलिङमा अलग व्यवस्था आयो । दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) गठन भयो ।

जब गोर्खाल्यान्ड आन्दोलन विफल बन्यो, तब उनले एउटै कुरामा मात्रै ध्यान दिइरहे, ‘नयाँ व्यवस्थाको नाममा ‘गोर्खा’ शब्द त हुनैपर्छ ।’ सरकारले उनको कुरा सुनिदियो । २२ अगस्ट, १९८८ मा ‘दागोपाप’ सम्झौता भयो ।

व्यवस्थामा गोर्खा नाम हालिसकेपछि पो उनले बुझे, ‘समतलको भूभाग त गुमिसकेको छ । कालीझोडासम्म परिषदमा छैन । यस्तो कसरी भयो ?’ उनले फेरि बंगालका मुख्यमन्त्रीसँग कुरा गरे । बंगाली मुख्यमन्त्रीलाई कसले सक्ने ? ज्योति बसु मुस्कुराए मात्रै, ‘यो हिल काउन्सिलको सम्झौता भएको हो । हिल भनेको पहाड होइन र ? अब यसमा समतल र डुवर्सको कुरा कसरी आउँछ नि ? तिमीले भनेको ‘गोर्खा’ त हालिदिएको छु त !’

घिसिङसँग अर्को विकल्प थिएन । चुपचाप ‘दागोपाप’ को चेयरमेन बने । र, विकासको काम सुरु गरे ।

त्यसपछि त उनले गाउँ–गाउँमा सडक बनाउन थाले । पुल बनाउन थाले । दार्जिलिङको अभेग ठाउँहरूलाई जोड्न थाले । अनि त उनले सबैथोक भुले । लेखन भुले । आन्दोलन भुले । हरेक दिन आफ्नै काममा व्यस्त देखिन थाले । ठूलाठूला सडकहरू बनाउन पनि उनलाई इन्जियिर चाहिँदैन थियो । छाताले जता जता देखायो, त्यतैत्यतै जेसीबी दगुर्थ्यो ।

पहाडमा यसरी किरिङमिरिङ नयाँ सडकहरू बनिन थाले । बिस्तारै घिसिङ अब पहाडको मुकुटविहीन राजा नै बने । झन्डै दुई दशकसम्म पहाडमा उनको हुकुमत चलिरह्यो । उनको आदेशबिना पहाडले कुनै नयाँ थोक सोचून् ? यो असम्भव जस्तै भइसकेको थियो ।

तर, उनलाई थाहा थियो– मान्छे ‘दागोपाप’ सँग खुसी छैनन् । त्यसैले उनले घरीघरी उटपट्याङ मुद्दाहरू उठाइरहे । कहिले ‘नोम्यान्सल्यान्ड’ भने । कहिले ‘लिजहोलल्यान्ड’ भने । कहिले ‘सिडेडल्यान्ड’ को कुरा गरे । कहिले हेगमा मुद्दा लगाउने धम्की दिए । तर, उनलाई थाहा थियो, त्यो मुद्दालाई लगेर कहाँ बिसाउनुपर्ने हो ! त्यसैले फर्किएर उनी छैटौं अनुसूचीमा आइपुगे ।

‘दागोपाप’ को चुनाव तीनचोटि भइसकेको थियो । अब चौथो चुनाव हुनेवाला थियो । उनले ‘दागोपाप’ को बढोत्तरीको मुद्दा उठाए । यस्तो लाग्छ, उनी अझै राजनीतिमा केही नयाँ गर्न चाहन्थे । त्यसैका निम्ति केही पुराना पार्षदलाई पनि फ्याक्न चाहन्थे । यसैले उनी अब खुलेरै बोल्न थालेका थिए, ‘अब मलाई सुगर पेसेन्ट पार्षदहरू चाहिँदैन ।’

ठीक त्यही बेला उनले अर्को गोटी फ्याँके । जम्मै पार्षदहरूलाई राजीनामा दिन लगाए । २१ मार्च, २००५ मा उनका पार्षदहरूले सामूहिक राजीनामा दिए । तर, आफैंचाहिँ ‘दागोपाप’ कै केयरटेकर बनेर बसिरहे । तर, त्यहीँबाट पनि उनले नयाँ करामत देखाए । ६ डिसेम्बर, २००५ मा छैटौं अनुसूचीको सम्झौता गरे । तर, त्यही छैटौं अनुसूची बिलको रूपमा पारित हुन पाएकै थिएन । दार्जिलिङमा राजनीतिक बदलावको अर्को पटकथा लेखियो । घिसिङ घरिघरि भनिरहन्थे, ‘दार्जिलिङमा अर्कै पोलिटिकल एटमसफियर क्रियट हुन सक्छ । तर, त्यो मैले क्रियट गरेको हुँदैन । त्यो हुरी बंगालले पठाएको हुनेछ । र, त्यसले पहाडलाई निलेको हुनेछ ।’

घिसिङ राजनीतिमा माहिर थिए । उनी उनै पार्षदहरूलाई नजिक राख्थे, जो सोझा हुन्थे वा अलि बढी मूर्ख हुन्थे । राजनीतिमा चतुर हुनेहरूले पहिले त टिकटै पाउँदैन थिए । पाए नि, बिस्तारै साइडलाइन गरिन्थ्यो । यस्तो समयमा पनि उनी विमल गुरुङको चाहिँ प्रशंसा गर्थे । खुलेरै भन्थे, ‘पार्षद भएपछि विमल गुरुङजस्तो हुनुपर्छ ।’ तर, उनै विमल गुरुङले घिसिङलाई ओभरटेक गरिदिए ।

दार्जिलिङमा त्यो बेला छैटौं अनुसूचीको विरोध चर्किन थालेको थियो । हर्कबहादुर छेत्रीहरूले लगातर घिसिङविरुद्ध लेख लेख्न थालेका थिए । त्यसमा महेन्द्र पी. लामाहरू थपिए । मदन तामाङ, आरबी राईहरूको स्वर अझै प्रखर बन्दै थियो । यस्तो बेला ‘इन्डियन आइडल’ को नयाँ शो सुरु भइदियो, जसको मञ्चमा अचानक दार्जिलिङका प्रशान्त तामाङ झुल्किए ।

सोनी टीभीबाट प्रशारित हुने उक्त रियलिटी शोमा पहिलोचोटि कुनै नेपाली पुगेका थिए, जसले गर्दा विश्वभरिका नेपालीले प्रशान्तलाई सघाउन थाले । तर, यस्तोबेला उनै घिसिङचाहिँ मौन बसिदिए । बिस्तारै विमल गुरुङले यसैलाई हतियार बनाए । घिसिङका सबैभन्दा प्रिय पार्षद गुरुङ नै उनीविरुद्ध बोल्न थाले र प्रशान्तका निम्ति फ्रेन्ड्स क्लबहरू खोल्न थाले ।

अब अन्य पार्षदहरू आतिए । र, घिसिङलाई सुझाव दिन पुगे, ‘भेल अर्कोतिर जान लाग्यो । अब केही गर्नुपर्‍यो अध्यक्षज्यू !’

तर, घिसिङ त कला बुझ्ने मान्छे थिए । उनलाई लाग्थ्यो, ‘कलाकार त जन्मिनुपर्छ । यसरी जबरजस्ती जन्माएर हुँदैन । एउटा मान्छेलाई धुरेर भोट गरेर जिताउँदैमा केही हुनेवाला छैन ।’ तर, त्यहीबेला एउटा एफएमले फुकिदियो, ‘अब गोर्खाले पनि गीत गाउँन थाले, चौकीदारी कसले गर्ने ?’ त्यसपछि त गोर्खा सेन्टिमेन्ट ह्वात्तै अघि आइदियो । अनि त, शोका जज अनु मलिकले ‘प्रशान्तको स्वर राम्रो छैन’ भनेर कमेन्ट गर्दा पनि मान्छे रिसाउन थाले । रातरात जागा रहेर भोट हाल्न थाले ।

बिस्तारै घिसिङ खलनायकजस्ता देखिन थाले । वर्षौंदेखि उनीविरुद्ध चुइँ बोल्न नपाएकाहरू सडकमा आएर कराउन थाले, ‘घिसिङ चौकी छोड् ।’

हो । त्यही आवाज बिस्तारै भीडमा बदलियो । त्यही भीडले घिसिङको चौकी हल्लाइदियो । विमल गुरुङले नयाँ बाटो भेटे । छैटौं अनुसूचीको समर्थनमा मिठाई बाँड्ने उनै विमल गुरुङ थिए, जो अब विरोधमा खुलेआम बोल्न थाले । १० मार्च, २०१० भित्र गोर्खाल्यान्ड ल्याउने घोषणा गर्दै ७ अक्टोबर, २००७ मा नयाँ पार्टी नै खोले– गोर्खाजनमुक्ति मोर्चा ।

अब पहाडको राजनीति बदलियो । बाघजस्ता गर्जिने घिसिङ मायालाग्दा भए । २००८ मा उनले दार्जिलिङ पहाड छाडे ।

घिसिङ ती नेता हुन्, जसले गोर्खाहरूलाई एकजुट गराए । पहिचानबारे बुझाए । सडकमा ल्याए । चिनारीका निम्ति लड्न सिकाए । तर, ती नेता पनि हुन्, जसका कारण अलग राज्यका निम्ति बनिएको साझा मञ्च सुरुमै भत्कियो । एकल नेतृत्वको राजनीति दार्जिलिङमा हावी हुँदै गयो । आन्दोलनपछि जब ‘दागोपाप’ अस्तित्वमा आयो, दार्जिलिङको पुरानो सीमा गुम्यो । पञ्चायतराज पूरै ठप्प बन्यो । दार्जिलिङमा नयाँ किसिमको राजनीतिक संस्कार सुरु भयो ।

घिसिङभन्दा अघि दार्जिलिङको राजनीतिक संस्कार अलग थियो । बौद्धिक राजनीति हुन्थ्यो । लेख्ने, पढ्नेहरू अगाडि हुन्थे । साहित्यकार रूपनारायण सिंह, शिवकुमार राईहरूले गर्ने राजनीति कति संस्कारको थियो होला ? दार्जिलिङमा त्यही राजनीति चल्थ्यो । तर, घिसिङको आन्दोलनपछि सबै बदलियो । शान्त र सुन्दर दार्जिलिङमा हत्या र हिंसा समान्य मुद्दा बन्न थाल्यो । घर जलाउनु, तोडफोड गर्नु, सरकारी सम्पति नष्ट गर्नुजस्ता घटना घरीघरी सुनिन थालियो ।

हो । पहाडको राजनीति अब विचारले होइन, पाखुराको बलले चल्ने भयो । मान्छेले फेरि पनि खुलेर बोल्नै पाउन छोडे । लेखक–पत्रकारहरूले लेख्नै नसक्ने भए । पहिले राज्यसत्ताको डरले बोल्न–लेख्न सकिँदैन थियो, आन्दोलनपछि आफैंले लडेर ल्याएको व्यवस्थामा बस्नेहरूको डरले बोल्न–लेख्न नसक्ने भए ।

‘गोरामुमो’ विरुद्ध जो बोल्थ्यो, ऊ आफैं समस्यामा पर्थ्यो । घिसिङको शासनकालभरि नै हत्या र हिंसाका घटना दोहोरिइरहे । दिनदहाडै प्रकाश थिङहरूको हत्या गरियो । सीके प्रधानहरूलाई गोली ठोकियो । घिसिङ आफैंमाथि पनि सात घुम्तीमा हमला भयो । त्यसैको आरोपमा उनीविरुद्ध बोल्ने छत्रे सुब्बाहरूलाई दस–दस वर्षसम्म जेलमा राखियो ।

तैपनि उनी चुपचाप बसिरहे । सन् २००० को अगस्टतिर देशमा तीनवटा नयाँ राज्य बनियो । दार्जिलिङका जनताले फेरि अलग राज्यको सपना देख्न थाले । ‘अब घिसिङले के बोल्ने हुन् ?’, धेरैले पर्खिंदै थिए । तर, उनले त उटपट्याङ कुरा गरिदिए, ‘साउन महिनामा बोल्नु हुँदैन । देउता त पानी छल्नका निम्ति पाताल गएका हुन्छन् ।’

हो । घिसिङ अब राजनीतिको मायाजालमा फसिसकेका थिए ।

उनले लेख्न छोडिसकेका थिए । उनको साहित्यिक गतिविधि राजनीतिको चक्रव्यूहभित्र फस्दै गएको थियो । उपन्यास र कवितामा क्रान्तिका कुरा लेख्ने सुवास अब भन्न थालेका थिए, ‘हामीले पहिले भूगोल बचाउनुपर्छ । टिस्टा र बालासन बचाउनुपर्छ । भाषा साहित्यभन्दा मुख्य कुरा भूगोल हो ।’

तर, उनले अध्ययन गर्नचाहिँ छाडेका थिएनन् । दार्जिलिङमा यस्ता नेता थोरै छन्, जसले मान्छेलाई दस्तावेज पढ्न सिकाए । सन्धिहरूबारे चर्चा गर्न लगाए ।

‘सुवास’ को लेखनमा जब ‘घिसिङ’ को राजनीति हावी बन्दै थियो, त्यहीबेला साहित्यकार गोकुल सिन्हाले सोधे, ‘नयाँ लेखाई केही हुँदै छ ?’ घिसिङले केहीबेर खैनी मोले । र भने, ‘यो लेख्नु भन्ने कुराचैं सजिलो छैन । किताब निकाल्दा पूरै बाइस दिन ओथ्रा बसेर आउने कुखुराको माउजस्तो हुनुपर्छ । बाहिर निस्किँदा चारो छर्ने कोही हुने होइन !’

तर, घिसिङभित्र एउटा लेखक त जीवित थियो नि । उभित्रको एउटा कविले त सास फेरिरहेकै थियो नि, जसले राजनीतिको दलदलबीच पनि भनिरहन्थ्यो–

‘म कवि हुँ

त्यसैले

हरथोक मेरो मुडमाथि निर्भर गर्छ ।

मेरो मुड मात्रै बदलिदिइयोस्,

म हरथोक गर्न सक्छु ।’

हो । उनले जे–जे मुड आयो, त्यही त्यही गरिरहे । गोर्खाहरूलाई विदेशीको लाञ्छना लाग्यो, उनलाई आन्दोलन गर्ने मुड भयो । ‘गोर्खाल्यान्ड’ शब्द जन्माए । हरेकको छातीमा छुट्टै राज्यको आगो सल्काए । र, आन्दोलन सुरु गरे । तर, जब सरकारको दबाब झेल्न गाह्रो हुन थाल्यो र पार्टीभित्रै वर्चस्वको लडाइँ सुरु भयो, तब उनले सम्झौतामा जाने मुड बनाए । कवितामा भनेझैं उनको मुडलाई कसले रोक्ने ? अब उनले हजारौं सहिदको सपना नै बिर्सिदिए । अनि सरकारसँग सम्झौता गरिदिए । जब जीवनका अन्तिम दिन आए, राजनीतिबाटै सन्यास लिने मुड बनाए । तब आफैंले जन्माएको शब्द केलाउँदै भनिदिए, ‘गोर्खाल्यान्ड नफल्ने वनतरुल हो । यसको पछि नदुगुर्नू ।’

तर, घिसिङ त घिसिङ थिए नि । उनीजस्ता न कोही थिए, न कोही हुनेछन् । उनले जे–जे पनि भने, जहिलेजहिले पनि भने, सधैं चर्चैचर्चामा रहे । दार्जिलिङमा घिसिङ मात्रै यस्ता नेता थिए, जसले बोल्दा पनि समाचार बन्थ्यो, नबोल्दा पनि समाचार बन्थ्यो ।

हो । घिसिङ दार्जिलिङको राजनीतिको त्यो नाम हो, जसले अलग राज्यको मुद्दालाई आम मान्छेको मुद्दा बनाइदिए । हरेक पहाडवासीको छातीमा आज जुन गोर्खाल्यान्डको भुङ्ग्रो छ, त्यो आगो सल्काउने पहिलो व्यक्ति उनै थिए, जसले गोर्खाल्यान्ड मुद्दा उठाएर सरकारलाई थर्काए । बंगाललाई चर्काए । यस्तो लाग्छ, घिसिङपछि आउने नेताहरूले त खासै केही गरेनन्, उनले फर्काएको दुवालीको माछा टिप्ने काम मात्रै गरिरहे । घिसिङले आन्दोलन गरे । राजनीति गरे । उनकै भाषामा भन्ने हो भने ‘नानाभाँति’ गरे । तर, जब राजनीतिदेखि दिक्क भए, जब दुई दशक लामो सत्ता पल्टियो, भूभागको कुरा गर्न सिकाउने घिसिङ आफैंले जब आफ्नै ठाउँ छोडेर जानुपर्‍यो, तब फेरि उनले लेखनका दिन सम्झिए । आफ्नै कविता सम्झिए । उपन्यास सम्झिए । र, भने, ‘अब उब्रिएको समय किताब लेख्न चाहन्छु ।’

अनि त उनले एउटै सन्देश दिइरहे, ‘राजनीति गर । नानाभाती गर । तर, आफूभित्रको कला नमार । किनकि एक दिन सबथोक मर्नेछ । तर, कला मर्ने छैन ।

म त भन्छु, राजनीति गर्न पनि कला चाहिन्छ । जीवन नै राजनीतिलाई दिएर पनि कलालाई प्रेम गरिरहने उनै सुवास थिए, जसले २९ जनवरी, २०१५ मा सधैंका निम्ति यो धरती छाडे ।

प्रकाशित : चैत्र २५, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?