२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

मामा क्रेब्सको कहानी

‘मलाई अपरेसन थिएटरको टेबलमा सुताइएको छ । दायाँ स्तनमा साना गिर्खा आएदेखि यो थिएटरसम्म मैले तय गरेको यात्रा भयंकर त्रासदीपूर्ण छ । म निकै डराइरहेको छु ।’

अपरेसन थिएटर
मध्यजर्मनीको सानो सहर वेजलस्थित एक अस्पतालको अपरेसन थिएटरमा छु (म्युनिखको एक स्त्रीरोग विशेषज्ञको सम्मेलनमा जर्मनी आइपुगेको थिएँ) । आजको अपरेसन लिस्टमा एक २६ वर्षे महिलाको पूरै दायाँ स्तन निकालेर सिलिकनको नक्कली स्तन राखिने केस पनि रहेछ । तिनलाई सुताइएको छ– अपरेसन थिएटरको अपरेसन टेबुलमा लमतन्न पारेर । हातको नसामा सलाइन, मूत्रद्वारमा पिसाब नली, नाकको पोरामा अक्सिजनको पाइप । अब मुखमा बेहोस पार्ने इन्डोट्राकियल ट्युब राखिँदै छ । कुनै छिद्र बाँकी छ ? सायद छैन, शरीरका नौ छिद्रमध्ये आँखा, कान र मलद्वार मात्रै बाँकी राखिए ।

मामा क्रेब्सको कहानी

बिरामीको एकालाप

मलाई अपरेसन टेबुलमा सुताइएको छ लमतन्न । त्यसो त दायाँ स्तनमा साना गिर्खा आएदेखि यस टेबुलसम्मको मैले तय गरेको दूरी कम त्रासद छैन । स्तनमा गिर्खा आएसँगै डर मानी–मानी अप्वाइन्टमेन्ट मिलाईवरि सर्जन भेट्न गएकी थिएँ । रगतको जाँच अनि म्यामोग्राम गर्न लगाइयो । त्यसपछि एफएनएसी (स्तनको शंकास्पद गिर्खामा सानो सियो छिराई, सियोमा अटेजत्तिको मासु (तन्तु) निकालेर क्यान्सर छ/छैन भनी जाँचिने प्रविधि) स्तन क्यान्सरको निर्क्योल गरिँदा म छाँगाबाट खसेसरह भएँ । अनि क्यान्सर काखीको ग्रन्थिसम्मै फैलिएको आशंकापछि एमआरआई जाँच गरियो । अपरेसन गर्नैपर्ने निधो भएपछि त्यसका लागि फिट छु कि छैन भनेर अनेकथरी रगत जाँच, अपरेसनका लागि रगतको जोहो । यी इत्यादिका लागि इन्स्योरेन्सको चक्कर कम दिक्दारी थिएन । आखिरीमा हिजो अस्पताल भर्ना हुन आएँ, मध्यरातिदेखि केही पनि खान दिइएको थिएन ।

अहिले अपरेसन टेबुलमा सुताउँदा भोक लागिरहेको भए पनि डर बढी छ । अपरेसन कोठामा नजर डुलाएँ । थरीथरीका मेसिनहरू, टेबुलभरि अपरेसनका औजार, दराजभरि औषधि एवं सिलाइका सामग्री । अपरेसनको चाँजोपाँजो मिलाउन नर्सहरूको कुदाकुद । मेरो केसको अपरेसन व्यवस्थापनलाई लिएर चिकित्सकबीच भलाकुसारी ।

ओहो ! मेरो दायाँ र बायाँ हातको नसामा सलाइन जोड्न नसा खोलिँदै छ, मुटुको धड्कनमा तेजी आउन लाग्यो । एनेस्थेटिस्टले ढाडस त दिइरहेका थिए, तर डर छँदैछ । मेरो मनको डरको प्रमाणस्वरूप एकैछिनका लागि भए पनि भेन्टिलेटरको मनिटरमा ब्लड प्रेसर एवं नाडीको चालको अंक बढ्ने क्रम जारी छ । अब पिसाब नली हाल्ने रे, बाफ रे मेरो नितान्त गोप्य अङ्ग योनीद्वारको ठीक माथिको पिसाबनलीको प्वालमा रे, हे भगवान् । त्यस्तो संवेदनशील ठाउँमा ? अरू विकल्प पनि त छैन । अब मलाई ‘अक्सिजन दिने’ भन्दै नाकमा अक्सिजनको पाइप जोडिएको मास्क लगाइयो । ४५, ५० केजीको मेरोजस्तो सानो काँटको ज्यानमा पनि प्रकृतिले रक्तनली, पिसाब नली, खाद्य नली, लिम्फ नली कति व्यवस्थित गरेको छ । अहिले अपरेसन कोठामा मेरो शरीरमा ठाउँठाउँमा नानाथरीका पाइप (सलाइन, अक्सिजन, पिसाब, बेहोसको) टाङ्राङटुङ्रुङ कति भद्दा तवरले झुन्ड्याइँदै छ । मानवले प्रकृतिमाथि विजय प्राप्त गरें भनेर के फुइँ लाउनु खै ? यस्तै कुरा सोच्दै थिएँ, एनेस्थेटिस्टले ‘भरसक आँखा खुल्लै राखी एकदेखि दससम्म गन्नू’ भनी अह्राए । (गन्ती एक, दुई, तीन कति पुर्‍याएकी थिइन् कुन्नि, हातको नसामार्फत् बेहोस पार्ने सेतो दुधालु औषधि नसामा ठेल्न थालेसँगै ती निर्जीवझैं भइन् ।)

चिकित्सकीय मानस

म निरन्तर स्तन निकालिने अपरेसन हेरिरहेको छु । ब्रेस्ट सर्जनले मुन्टा अनि स्तनको बोक्रा जत्तिको बाह्य छाला बाँकी राखी स्तन अडिएको पेक्टोरेलिस मसल (मांसपेशी) सम्म सबै निकालिन् र ओरिजिनल स्तन निकालेपछि सिलिकनकृत कृत्रिम स्तन हालिदिइन् । म हजारौं माइल टाढाको विकासशील देश (नेपाल) देखि अब्जरभेसन तालिममा आएको थाहा पाएकी थिइन् ती सर्जनले । बिरामीको शरीरमा अपरेसन थाल्न बेटाडिन दलेदेखि नै तिनले मलाई फुटबल, क्रिकेटमा झैं लाइभ कमेन्ट्री गरिरहेकी थिइन् । म केवल बुझिरहेको भावमा मुन्टो हल्लाइरहेको थिएँ । स्तन निकालेपछि दाहिने काखीको लिम्फ ग्रन्थिको झुप्पा (लिम्फ नोड) निकाल्न थालिन् । करिब दुई घण्टाको संघर्षपछि अपरेसन सकियो । ती महिलाको अपरेसन सफल भयो । अब केमो चाहिन्छ/चाहिँदैन, त्यो स्तन एवं काखीको लिम्फ नोडको बायोप्सी रिपोर्ट आएपछि निश्चित हुन्छ ।

स्तन क्यान्सरलाई जर्मन झाषामा मामा त्रेब्स भनिन्छ । स्तन क्यान्सरको अपरेसन हेर्दै गर्दा, महिला सर्जनको अपरेसन कमेन्ट्री सुन्दै गर्दा मलाई झट्ट एन्जेलिना जोलीको याद आयो । हो, त्यही एन्जेलिना जोली उर्फ हलिउडकी सफलतम सुन्दरी नायिका । नियमित स्वास्थ्य जाँचका क्रममा बीआरसीए पोजिटिभ आएपछि प्रोफाइल्याक्टिक रूपमा दुवै स्तन निकालेर तिनको शरीरमा पनि कृत्रिम स्तन राखिएको थियो (मेडिकल क्षेत्रमा प्रोफाइल्याक्टिक भन्नाले रोकथामका हेतु अर्थात् कुनै समस्या आउन सक्ने जोखिम छ भने त्यसलाई रोक्ने हेतुले गर्ने कार्य भन्ने बुझिन्छ) । एन्जेलिना जोलीकी आमाको पनि स्तन क्यान्सरबाटै निधन भएको थियो । कति कठोर निर्णय गर्नुपरेको थियो होला, स्तन फ्याँक्ने सर्जरीका लागि तयार हुँदा जोलीलाई ।

(‘बीआरसीए’ के हो ? ब्रेस्ट क्यान्सरको छोटो रूप हो– बीआरसीए । स्तन क्यान्सरको सम्भाव्यतालाई लिएर रगतमा बीआरसीए १ र २ गरी दुईथरी जाँचिन्छ । बीआरसीए–२ पोजिटिभ पाइएको भन्दा बीआरसीए–१ पोजिटिभ पाइएका महिला (७० वर्षको उमेरसम्ममा) मा स्तनको क्यान्सरको जोखिम हुन्छ । स्तन क्यान्सर भएका परिवारका सदस्यमध्ये ७ प्रतिशतमा र स्तन एवं डिम्बाशयको क्यान्सर दुवै भएका परिवार सदस्यमध्ये ४० प्रतिशतमा बीआरसीए– १ म्युटेसन पोजिटिभ आउने सम्भावना हुन्छ । जबकि स्तन एवं डिम्बाशय दुवै भएमध्ये २० प्रतिशत परिवारमा र स्तन क्यान्सर मात्र भएकामध्ये तीन प्रतिशतभन्दा कम परिवारमा बीआरसीए–२ भेटिन सक्छ ।)

वक्ष अर्थात् स्तन महिलाको सहायक प्रजनन् अंग हो । महिलाको छातीमा रहने यी विशेष ग्रन्थि शिशु–पोषणमा झैं यौनको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । चिकित्सा विज्ञानको दृष्टिले स्तन ग्रन्थि, बोसो तथा रेसादार तन्तुले बनेको पिण्ड हो । ट्यानरका अनुसार, आकृति तथा आयतनको दृष्टिले स्तनको विकास ५ चरणमा हुन्छ । इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको प्रभावमा धेरैजसो किशोरीमा स्तनको वृद्धि ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ ।

नवजात शिशुका लागि आमाको दूध अमृत समान हो । स्तनपान नगराएकी महिलाभन्दा स्तनपान गराएकी महिलामा स्तन क्यान्सरको जोखिम कम हुन्छ । सहरी क्षेत्रका ‘फिगर कन्सस’ महिला कम स्तनपान गराउँछन् र स्तन क्यान्सरको जोखिममा छन् ।

५ मिनेटको सेल्फ केयर

स्तनको सेल्फ केयर र स्तन परीक्षणबारे थुप्रै भिडियो छन् युट्युबमा । छोटकरीमै सही, स्तनको सेल्फ केयरबारे केही बताइहाल्छु । के तपाईं आफ्नो स्तनको स्वास्थ्यलाई ५ मिनेट समय दिन सक्नुहुन्छ ? सकिन्छ भने यी निर्देशन एकपछि अर्को पालना गर्नुस् ।

ऐनाअघि उभिएर शरीरको माथिल्लो भाग नांगो बनाई दुवै स्तन एक–एक गरी निरीक्षण गर्नुहोस् । त्यसपछि कम्मरको दुवैतिर हात अड्याई फेरि दुवै स्तन नियाल्नुहोस् । यही पोजिसनमा बिस्तारै दुवै हातलाई टाउको पछाडि लैजानुहोस् । यस क्रममा स्तनलाई निरन्तर निरीक्षण गर्न नछुटाउनुहोस् ।

अब तपाईं हत्केलाका औंलाका टुप्पाले स्तनको पुच्छरतिर अर्थात् काखीतिरको चोसोतिर छाम्नुहोस् । दायाँ वा बायाँ स्तनलाई मसाज गरेजस्तै घडीको सुई हिँड्ने दिशामा छेउबाट मुन्टातिर छाम्दै जानुहोस् । यही प्रक्रिया विपरीत स्तनमा पनि गर्नुहोस् । त्यसपछि तपाईं आरामसँग बेडमा पल्टिनुहोस् र स्तनको साइडतिर, मुन्टादेखि छेउसम्म छाम्दै जानुहोस् । र, अन्तिममा एकपछि अर्को दुवैतिरको मुन्टा निचोरेर स्तनबाट रगतमिश्रित श्राव आउँछ कि चेक गर्नुहोस् । यसरी माथि उल्लिखित सेल्फ परीक्षण प्रक्रियामा तपाईंले स्तनमा आलुजस्तै कुनै डल्ला वा गिर्खा भेट्नुभयो भने वा मुन्टाबाट रगतमिश्रित श्राव भेट्टाउनुभयो भने चेकअपका लागि जानुहोस् । यो स्वपरीक्षण कार्य तपाईं हप्ता वा महिनाको एकपल्ट गर्न सक्नुहुन्छ ।

कतिपय बेला तपाईं आफैंलाई के सामान्य, के असामान्य थाहा पाउन गाह्रो हुन्छ । त्यसैले आफ्ना नजिकका कसैलाई स्तन स्पर्श गर्न भन्नुस् र उनीहरूले केही असामान्य महसुस गरे कि भनी सोध्नुस् ।

चनाखो रहनुस्

स्तनमा गिर्खा देखापर्नु, आकारमा परिवर्तन आउनु, मुन्टाबाट रगत वा पीप बग्नु, स्तनको छालामा परिवर्तन आई सुन्तलाको बोक्राजस्तै स–साना प्वाल हुनु, मुन्टा भित्र धसिनु आदि स्तन क्यान्सरका शंका मान्नुपर्ने लक्षण चिह्न हुन् । तर, स्तनमा दुःखाइ भने प्रायः हुँदैन । रोकथामका हकमा स्तनमा गाँठागुँठी तथा गिर्खाका अलावा माथि उल्लिखित अन्य लक्षण चिह्न देखापर्नेबित्तिकै स्वास्थ्य परीक्षणका लागि जानुपर्छ । ढिलो विवाह नगर्ने, बच्चा पाउन ढिलो नगर्ने र बच्चा पाएपछि अनिवार्य स्तनपान गराउनुपर्छ । यस अलावा धूमपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, रेसादार खाना बढी खाने, कीटनाशकरहित फलफूल तथा सागसब्जी बढी खाने विषयबारे भनिराख्नु परोइन । चालीस कटेपछि दुईतीन वर्षको अन्तरालमा म्यामोग्राफी गराइराख्नु राम्रो हुन्छ ।

स्तन क्यान्सर भइहाले पनि समयमै पत्ता लगाउन सकिएको खण्डमा अथवा स्तन क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र फैलिए/नफैलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी लगायतका उपचारका विकल्प हुन्छन् । उपचारबाहेक बिरामीलाई पोषण, स्याहारसुसार तथा माया पनि उत्तिकै जरुरत पर्छ । पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ । अमेरिकामा गरिएको एक अध्ययन अनुसार भेटिएका सय स्तन क्यान्सरमध्ये एक पुरुषमा हुने गरेको पाइयो ।

(नेपाली महिलालाई हुने क्यान्सरको सूचीमा दोस्रो नम्बरमा छ– स्तन क्यान्सर (२०२० को ग्लोबोक्यानको तथ्यांक) । स्तन क्यान्सरका भुक्तभोगी, यसका चिकित्सक र सेल्फ केयरसँगका केही प्रसंग समेटेर यो आलेख तयार पारिएको हो ।)

प्रकाशित : माघ २८, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?