कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०

बर्डफ्लु: विश्वका ३ सय ५९ जनाको लिइसक्यो ज्यान

अतुल मिश्र

काठमाडौ — मुलुकका केही क्षेत्रसँगै काठमाडौंमा समेत यसै साता दुई पटक कुखुरा र्फमहरूमा बर्डफ्लुको संक्रमण देखिएको छ ।

योसँगै कुखुरा लगायत पन्छीजन्य वस्तु उपयोगमा सावधानीको आवश्यकता समेत विशेषज्ञहरूले औंल्याएका छन् । सामान्य उपाय अपनाउँदा यो संक्रमणको जोखिम धेरै हदसम्म न्यून गर्न सकिन्छ ।
गत तीन वर्षयता चितवनमा पहिलो पटक बर्डफ्लु संक्रमण देखिएपछि हालसम्म मुलुकमा २८ पटक देखिइसकेको छ । भक्तपुर र ललितपुरमा बर्डफ्लु यसअघि नै देखिए पनि काठमाडौंमा भने यो संक्रमण पहिलो हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार गत एक दशकमा बर्डफ्लु संक्रमणले गर्दा हालसम्म ३ सय ५९ जना को मृत्यु भइसकेको छ । यी सबै प्रयोगशाला प्रमाणित संक्रमणमा देखिएको मृत्यु हो ।
मृत्यु हुनेहरू बंगलादेश, पाकिस्तान, म्यान्मार, चीन, थाइल्यान्ड , कम्बोडिया, जिबोटी, इजिप्ट, इन्डोनेसिया, इराक, लाउ पिपुल्स डेमोक्रेटिक रिपब्लिक, नाइजिरिया, टर्की भियतनाम, अजरबैजानका नागरिक हुन् । विश्वमै इन्डोनेसियामा सबैभन्दा बढी अर्थात् १ सय ५९ जनाको यही संक्रमणका कारण मृत्यु भएको छ ।
बर्डफ्लु पन्छीमा हुने संक्रामक रोग हो । यो इन्फ्लुएन्जा विषाणुले गर्दा हुन्छ । यसको संक्रमण जंगली पन्छीबाट हुन्छ भने पछि घरपालुवा पन्छी हुँदै यसको सम्पर्कमा आउने व्यक्तिहरूमा समेत सर्न सक्छ । मानिसमा भने मुख्य रूपले इन्फुएन्जा ए-एच-५-एन-१ र एच-९-एन-२ विषाणुले गर्दा हुन्छ ।
डब्लूएचओका अनुसार बर्डफ्लु संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हुन गाह्रो भए पनि यो संक्रमण भएपछि मृत्यु दर करिब ६० प्रतिशत रहन्छ । पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.विजयकान्त झाका अनुसार मनुष्यमा बर्डफ्लु हुनुको मुख्य कारण संक्रमित पन्छी र जीवित वा मृत पोल्ट्री वा उनीहरूको सुलीसँगको निकट सम्पर्कले हुन्छ । यो भाइरस भएको एक ग्राम दूषित सुलीले १० लाख कुखुरा संक्रमित पार्न सक्छ । यस्तै, सुलीसँग टाँसिएका वस्तुहरू ज्ास्तै अन्डा, अन्डाको क्रेट, दानाको बोरा, फार्ममा जाने मानिसको जुत्ता, लुगा, हात तथा सुली टाँसिएको सवारीसाधनको पांग्रा आदिको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा संक्रमण फैलिन सक्छ । संक्रमित कुखुराको र्‍याल तथा सुलीमा रोगका जीवाणुहरू न्यूनतम १० दिनसम्म रहन सक्छ ।
सामान्यतः यो भाइरस मानिसमा विरलै देखापरे पनि यो रोग कुखुरा, हाँस वा अन्य पन्छीमा लागेपछि ती पन्छीसँग असावधानीपूर्वक जथाभावी सम्पर्कमा आउनेहरूमा यो रोग सर्ने सम्भावना हुन्छ । जस्तै, पन्छी काट्ने, भुत्ल्याउने र बोक्ने मानिस तथा कुखुरासँग खेल्ने स-साना बच्चामा समेत संक्रमण सर्न सक्ने सम्भावना हुन्छ ।
'बर्डफ्लुको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया भई रोग घातक समेत हुन्छ,' स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडी ठाकुर भन्छन् । मनुष्यमा यो संक्रमण हँुदा आँखाको संक्रमण, पmलु जस्ता लक्षण अर्थात् ज्वरो, घाँटीमा खसखस, खोकी मांसपेसी दुख्नु वा छातीमा संक्रमण हुन सक्छ । बढी गम्भीर प्रकारको विषाणु अर्थात् एच-५एन-१ ले गम्भीर रोग सँगै मृत्यु समेत हुन सक्छ । मानिसमा यो रोगको खास उपचार छैन । तर रोगको प्रभाव कम गर्न चिकित्सकको सल्लाह अनुसार एन्टिभाइरल औषधि प्रयोग गरिन्छ । डब्लूएचओका अनुसार हालसम्म राम्ररी तयार पारेर उचित तापक्रममा पकाएको खानाबाट यो रोग सरेको प्रमाण छैन । यसरी पकाएको पन्छी लगायत कुखुराको मासु खानु सुरक्षित नै हुन्छ । खाना पकाउँदा उपयोग गरिने सामान्य तापक्रम अर्थात् ७० डिग्री सेल्सियस यदि खाद्यपदार्थको हरेक भागमा पुगेमा यो भाइरस मार्न पर्याप्त हुन्छ ।
'संक्रमणमा परेको थाहा भए त्यस्ता मासु स्वस्थकर मानिँदैन, जहाँसम्म मासु स्वस्थ पशु पन्छीकै खानुपर्छ,' सैनिक अस्पतालकी डाइटिसियन रमा सुब्बा भन्छिन्, 'हाल बजारमा शंकास्पद स्थिति देखिएकाले मासु राम्ररी पकाएर मात्र खानु राम्रो मानिन्छ ।' संक्रमण देखिएको ठाउँमा पन्छीको पोलेको मासु न खानु नै राम्रो मानिन्छ । यस्तै मासुको चोक्टा जति ठूलो हुन्छ त्यति नै पाक्ने सम्भावना कम हुने भएकोले सकेसम्म स-साना टुक्रा गरी मासुलाई राम्ररी पकाएर उपयोग गर्नुपर्छ । संक्रमण आदि देखिएको समय प्रेसर कुकरमा मासु पकाउनु सबैभन्दा सुरक्षित हुने समेत उनी बताउँछिन् ।
डा. झाका अनुसार बर्डफ्लु संक्रमण भएपछि अकस्मात् र अस्वाभाविक रूपमा केही दिनभित्रै एकैचोटि धेरै पन्छीहरू मर्ने, सास फेर्न गाह्रो हुने, आँखा रातो र भिजेको हुने, सिंगान, र्‍याल आदि देखिने जस्ता लक्षण देखिन्छ ।








 

प्रकाशित : पुस १४, २०६९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?