कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

न्यायको पर्खाइमा मनवीरेका परिवार

तुलाराम पाण्डे

कालिकोट — दिनहुँ कमाइ गरेर ५ जनाको परिवारको लालनपालन गर्दै आएका घरमूलीको हत्या भएपछि मनवीरे सुनारका परिवारको विचल्ली भएको छ ।


'घरमूली नभएपछि जिउनै गाह्रो भो,' पत्नी रेश्माले भनिन्, 'दोकान पसलमा पिटेपछि पुनः घरमा आएर पनि कुटे ।' उनले थपिन्, 'हामीले न्याय पाउनु पर्‍यो ।' उनले जातीयताकै कारण गाली बेइज्जती गरेर कुटेको बताइन् ।
 मनवीरे ७० वषर्ीय वीरभद्देका एक्लो छोरा हुन् । ०६६ मा जेठी पत्नीको मृत्यु भएपछि ०६७ असारमा १९ वषर्ीया रेस्मासँग विवाह गरेका थिए । उनी स्थानीय सत्यदेवी उच्च माविमा कक्षा ९ मा अध्ययनरत छिन् । उनका जेठी छोरी विमला कक्षा ५ मा अध्ययनरत छिन् भने छोरा मुकेश ५ र कान्छी छोरी अमिशा ३ वर्षकी भइन् ।
माओवादी द्वन्द्वमा विद्यालय छाडेर उनी माओवादीमा लागेका थिए । भूमिगत हुँदा सँगै खाना खाएका मीमबहादुरसहितले जातीयताको नाममा गाली गरेपछि मनवीरेले 'भूमिगत हुँदा मेरो घरमा खाना खाँदा म दलित भइन्, अहिले कसरी भएँ ?' भनेर प्रतिवाद गरेका थिए । त्यही निहुँमा उनलाई निर्घात कुटपिट गरेका थिए । मीमबहादुर माओवादीका एरिया कमिटी सदस्य र दिपबहादुर समर्थक हुन् ।
घरको एक्लो छोरा मनवीरे मंसिर २४ गते देशभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै गर्दा यहाँको जुविथा ६ माईधाराको एक पसलमा चुलोमा चुरोट सल्काएको आरोपमा निर्घात कुटपिटको सिकार भए । उनलाई स्थानीय वडा नं ८ का ३५ वषर्ीय मीमबहादुर शाही र वडा नं ९ का ४५ वर्षीय दीपबहादुर शाहीले कुटपिट गरी सख्त घाइते बनाएका थिए । उनलाई आफन्तले स्थानीय मेडिकलमा बोकेर लगेपछि थप उपचारका लागि सदरमुकाम लैजान सल्लाह दिएपछि जिल्ला अस्पताल नपुर्‍याउँदै मान्म बजारमा मंसिर २५ गते राति ११ बजे मृत्यु
भयो । उनको परिवारले राज्यबाट कुनै राहत पाउन सकेको छैन ।
'माथि (गृह मन्त्रालय) बाट कुनै रकम आएको छैन,' प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले भने, 'राहतका लागि निवेदन पनि परेको छैन ।' उनले जातीय विभेदका कारण मनवीरेको ज्यान गएको भन्दै जिल्लास्थित दलित अधिकारकर्मीहरूले सहिद घोषणा र परिवारलाई लालनपालनका लागि १० लाख राहत माग गर्दै प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।
 कुटपिट गर्ने र कुटाइ खाने सबैले मदिरा सेवन गरेको प्रहरीले जनायो । घरको सम्पूर्ण जिम्मेवारी लिने एकमात्र छोरा मरेपछि उनका वृद्ध बुवा अर्धचेत अवस्थामा छन् ।  कुपिटमा संलग्न दुवै जनालाई जुविथास्थित खल्लागाड प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको छ । पसलमा चुरोट सल्काउँदा दुर्वचन लगाउने बालकुमारी शाही र उनका पति जसबहादुरलाई प्रहरीले अनुसन्धानका लागि मान्म ल्याएको प्रहरी प्रमुख होमनाथ निरौलाले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, दलित आयोग, जिल्लाथिस्त विभिन्न अधिकारवादी संघसंस्थाका प्रतिनिधिले घटनाको स्थलगत अनुगमन गरेका छन् । सबैले जातीयताकै कारण विवाद भएको र कुटपिट गरिएको प्रारम्भिक जानकारी दिएका छन् । कालिकोटमा जातीय छुवाछूतका घटना दिनहुँ हुने भए पनि ज्यानै लिएको यो पहिलो घटना भएको अधिकारकर्मी बाले विश्वकर्माले बताए । 

प्रकाशित : पुस १०, २०६८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?