कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

ग्रामीण अल्ट्रासाउन्डले गर्भवतीलाई सजिलो

धादिङ — गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा जाँच गराउँदा आफ्नो गर्भमा रहेको जुम्ल्याहा शिशुको अवस्था सामान्य रहेको जानकारी पाउँदा नानीमाया शाक्य फुरुङ्ग छिन् ।

उनीमात्र होइन जिल्लाको मुरलीभन्ज्याङ गाविसका अधिकांश गर्भवती महिला ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमबाट लाभान्वित भएका छन् । यसले उनीहरू पूर्वतयारीमा जुट्न सहयोग पनि पुगेको छ ।
जिल्लाभरि नै सञ्चालित यो घुम्ती कार्यक्रमबाट गर्भवती महिलालाई निकै राहत मिलेको मुरलीभन्ज्याङ उपस्वास्थ्य चौकीका इन्चार्ज कृष्णप्रसाद पौडेलले बताए । भौगोलिक समस्याका कारण महिलाले चाहेर पनि गर्भ जाँच गराउन सकेका थिएनन् । गर्भवती महिलाले नियमित रूपमा स्वास्थ्य संस्थामा ४ पटकसम्म जाँच गराउनुपर्ने नीतिअन्तर्गतको कार्यक्रम सञ्चालनमा ल्याइएको पौडेलले
बताए । त्यसो त घरायसी कामको व्यस्तताका कारण पनि जाँच गराउन स्वास्थ्य संस्थामा जान नसकेको अवस्थामा कार्यक्रमले निकै राहत पुर्‍याएको मुरलीभन्ज्याङ ७ की गर्भवती कल्पना विसुन्खेले बताइन् । 'आफ्नै गाउँमा जाँच गराउन पाउँदा निकै सजिलो र खुसी लागेको छ,' अर्की गर्भवती सोही गाविसकी २० वषर्ीया विमला कुमालले भनिन् । त्यसो त धादिङका ५० वटै गाविसमा सुरु गरिएको कार्यक्रमको प्रभाव समुदायमा राम्रो पाइएको धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक भोगेन्द्रराज डोटेलले बताए ।
गत साउनको दोस्रो साताबाट सुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमको पहिलो चरण सकिएलगत्तै दोस्रो चरण पनि सुरु भइसकेको स्वास्थ्यले जनायो । कार्यक्रम २ वटा मेसिनबाट प्रत्येक गाविसमा रोटेसनका रूपमा सञ्चालित छ । कार्यक्रमको पहिलो चरणमा सबै गाविसका गरी १३ सयभन्दा बढी गर्भवतीले सेवा लिएको पनि जनस्वास्थ्यले बतायो । गर्भस्थ शिशुको अवस्थाबारे तत्कालै थाहा पाउने भएकाले पनि कार्यक्रम प्रभावकारी बनेको जिल्ला स्वास्थ्य कार्यालय धादिङकी पब्लिक हेल्थ नर्स सावित्री सुवेदीले बताइन् । 'ग्रामीण समुदायका महिलालाई आफ्नै ठाउँमा गएर तालिम प्राप्त स्वास्थ्यकर्मीले चेकजाँच गर्ने गर्छन्,' उनले भनिन् ।
धादिङ र मुगु जिल्लामा मात्र यो कार्यक्रम सञ्चालनमा छ । धादिङमा अल्ट्रासाउन्ड कार्यक्रमका लागि २ वटा मेसिनले रोटेसन मिलाएर सबै गाविसमा सेवा पुर्‍याइएको सुवेदीले बताइन् । मेसिन सञ्चालनका लागि विद्युत् सेवा अत्यावश्यक भएकाले यस कार्यक्रमलाई चाहेर पनि एकै पटक धेरै स्थानमा पुर्‍याउन सकिएको छैन । मेसिन चार्ज गरेर केही समय काम गर्न सकिने भए पनि लामो समयसम्म चलाइराख्न चार्ज नपुग्ने गरेकाले समस्या भएको उनले सुनाइन् । 'कार्यक्रमबाट अहिलेसम्म गर्भमा उल्टो बच्चा, जुम्ल्याहा, पाठेघर खाली रहेको अवस्थालगायतका समस्या भेटिएकाले गर्भवती महिलालाई पूर्वसतर्कता र सावधानीमा सहयोग पुर्‍याएको छ,' सुवेदीले भनिन् ।
 

प्रकाशित : पुस १५, २०६८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?