कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

दृष्टि छर्दै दृष्टिविहीन

शिव शर्मा

कास्की — विकट जिल्ला हुम्लाका दृष्टिविहीन अर्जुन बोहरा संसार नदेख्दाको पीडा गीतबाट यसरी पोख्दै थिए । उनलाई गीतमा खेमा सापकोटा र भीम ठटालले सघाउँदै थिए ।

सारा संसार अन्धकार छाउँदा
आफन्तको सहारा नपाउँदा
मनमा माया साँच्नै मन छैन
दुवै आँखा नदेख्ने भएर
अन्य दृष्टिविहीन साथी मादल, हार्मेनियम बजाएर उनलाई साथ दिन्छन् ।
पोखराका सडकमा बिहीबारदेखि यसरी नै दुःख, मर्म र चेतनाको गीत घन्काइरहेका छन् यी अपांग समूह । त्यसो त दृष्टिविहीनमाझ कहलिएका कलाकारहरू यसमा सामेल भएका छन् ।
सडकका मुख्य चोक र चौतारामा भेला भएर उनीहरू गीत गाएर दृष्टिविहीनका लागि सहयोग जुटाइरहेका छन् । गाउँका बेरोजगार दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई सीप सिकाएर आत्मनिर्भर
बनाउने उद्देश्य छ उनीहरूको । यही महान् उद्देश्यका लागि काठमाडौंबाट निस्केको दृष्टिविहीन टोली यतिबेला पोखराका सडकमा यत्रतत्र छन् । सडकमा उनीहरू स्थानीयको मात्र नभई यहाँ घुम्न आउने विदेशीमाझसमेत आकर्षण बनेका छन् ।
दृश्यविहीन युवा संघ काठमाडौंको यो टोलीमा युवा र युवती गरी १४ जना छन् । यतिबेला यहाँका सडकमा यिनीहरूको मर्म पीडाका गीतसँगै देशको चिन्ताप्रति चेतनामूलक गीत घन्किरहेको छ । उनीहरू सडकमा गीत गाउँदा सर्वसाधारणको भीडसँगै उनीहरूलाई दुई-चार रुपैयाँ पनि दान गरिरहेका देखिन्छन् ।  बाहिरी संसार नदेख्ने उनीहरूको कला प्रतिभासँगै सहयोगका लागि चालेको कदमको प्रशंसा गर्दै सहयोग गर्नेहरूको हात बढिरहेको छ ।
गीतकै स्वर र लयबाट सहयोग जुटाउँदै गरेका भीम ठटाल सबैलाई मन फुकाउन आफ्नो भाकाको बीचबीचमा अनुनय पनि गर्छन् । 'तपाईंहरूको यो सानो सहयोगले आर्थिक रूपले गाउँमा पिछडिएर बसेका दृष्टिविहीनको भविष्य बन्छ,' उनी भन्दै थिए, 'हामी अहिले तिनै दृष्टिविहीन साथीलाई सीप सिकाइ आत्मनिर्भर बनाउने अभियानसहित देश दौडाहमा सहयोग जुटाउँदै हिँडेका हौं ।' त्यतिबेला मनोरञ्जन लिइरहेका दर्शक खल्तीबाट रुपैयाँ निकाल्दै आफूले सकेको सहयोग गर्छन् ।
गीत र मनोरञ्जन दिएरै उनीहरू सहयोगका लागि सडक सांगीतिक कार्यक्रममार्फत निस्केका हुन् । दृष्टिविहीन र अपांगता भएका व्यक्तिका लागि थुप्रै सरकारी तथा गैरसरकारी संस्था खडा भए पनि दूरदराजमा रहेका दृष्टिविहीनतर्फ कसैको ध्यान नपुगेको उनीहरूको गुनासो छ ।
'गाउँघरमा धेरै दृष्टिविहीन पिल्सिएर बसेका छन्, उनीहरूको खोजी गरी सहयोग गर्ने अभियानमा लाग्दा खुसी लागेको छ,' अभियानकी सुष्मा पलामीले भनिन्, 'आफ्नो सबै व्यक्तिगत काम छाडेर सेवा भावनाले हिँडेका छौं ।' उनले त्यस्ता दृष्टिविहीन साथीहरू खोज्न गाउँगाउँ पुगेर तथ्यांक राखी सहयोग अभियानलाई अघि बढाइने सुनाइन् ।
काठमाडौंबाट नारायणगढ र भरतपुरमा सांगीतिक कार्यक्रम गर्दै पोखरा नगरी छिरेका उनीहरू अरू ठाउँमा भन्दा यो सहरलाई अलि बढी समय खर्च गर्ने मनस्थितिमा छन् रे ।  झन्डै १५ दिन पोखरा आसपासमा सांगीतिक कार्यक्रम पस्की सहयोग संकलन गरेर अन्य जिल्लातर्फ पाइला चाल्ने दृष्टिविहीनहरूको योजना छ । बिहीबारदेखि पोखरामा गीत गाउँदै सहयोग जुटाउँदै हिँडेका उनीहरूको टोलीमा पोखराका दुई जना दृष्टिविहीनसमेत सामेल भएका छन् । 'अझै १० दिन जति पोखरामा बस्छौं' विवेक लम्सालले भने, 'पोखरामा अरू ठाउँभन्दा धेरै नै बस्ने भनेर हामी आएका हौं ।'
सेतो छडीको सहारामा कालो चस्मा लगाएका उनीहरू एक अर्कोको हात समाउँदै छामछुम गर्दै सडक पार गर्दा कतिपय सर्वसाधारण उनीहरूलाई सडक पार गराउन सहयोग गर्छन् । यतिबेला पोखरामा उनीहरूको मार्मिक गीत सुन्नेदेखि सहयोग गर्न चोकचोकमा हूल देखिन्छ । 'हाम्रो सानो सहयोगले दृष्टिविहीनलाई आत्मनिर्भर
बनाउँछ भने किन नगर्ने, सिर्जनाचोककी तीर्थ ढकालले भनिन्, 'यो सामाजिक अभियानमा हामी पनि साथ दिन्छौं ।'
मादल, हार्मोनियम, मुजुरालगायत बाजागाजा बोकेर आएका टोलीले सडक-सडकमा जनचेतनामूलक गीत गाएर  सहयोगका लागि आह्वान गरिरहेका छन् । साथै गीतमार्फत देशको चिन्ता र नेतालाई  संविधान लेख्न खबरदारी गरेका छन् । सहयोगको अभियान त उनीहरूको छँदैछ त्यो  सँगै देशको चिन्ता पनि सँगसँगै लिएर  हिँडेका छन् । नेताहरूको आपसी मनमुटाव र सत्तामोहले जनताले राहत नपाएको तिक्तता पनि गीतमा पोख्दै थिए ।
वर्तमान अवस्थाको यथार्थ ओकलेको यो गीत सुन्दा गीत सुनिरहेका सर्वसाधारणले होमा हो मिलाउँदै साथ दिए । सहयोग अभियानसँगै नेताहरूलाई गीतमार्फत यसरी खबरदारी समेत गर्दै उनीहरू अभियानमा हिँडिरहेका छन् । यस्तै अभियानलाई साथ दिएर नै यहाँका सर्वसाधारणले आफ्नो हैसियतअनुसारको सहयोग जुटाएका हुन् ।
विशेष गरी ग्रामीण भेग बेरोजगार भएर  बसेका र सडकमा बेबारिसे भएका दृष्टिविहीनहरूलाई काठमाडौं, पोखरा, विराटनगरजस्ता सहरमा ल्याएर उनीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियानको मूल उद्देश्य उनीहरूको छ ।  दृष्टिविहीनका लागि सहज हुने, मैनबत्ती बनाउने, झोल साबुन, सिन्केधूप बनाउने लगायतका तालिम दिनका लागि मेसिन चाहिने भएकाले मेसिन खरिद गर्न सहयोग जुटाउन उनीहरू सडक सांगीतिक कार्यक्रममार्फत लागेका हुन् । दृष्टिविहीनहरू भोक तिर्खा केही नभनीकन सडक सांगीतिक कार्यक्रममार्फत सहयोग जुटाउन निस्केका हुन् ।




 
 

प्रकाशित : पुस ९, २०६८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?