१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

निर्धारित समयमै फास्ट ट्य्राक निर्माण सक्न सरकारलाई निर्देशन

३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब १.५२९ किमि मात्र खन्न बाँकी

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई-मधेश द्रुत मार्ग(फास्ट ट्य्राक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ । 

निर्धारित समयमै फास्ट ट्य्राक निर्माण सक्न सरकारलाई निर्देशन

शुक्रबार बसेको समितिको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले भने, ‘खोकनाको समस्या तुरुन्तै समाधान गरी द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालयलाई आवश्यक सहयोग र संयोजनका लागि निर्देशन दिने निर्णय गरेको छ ।'

समितिले द्रुततर आयोजनामा निर्धारित समयमा नै सक्ने कार्यका साथ सेनाले गरेको प्रयासप्रति सहयोग पुर्‍याउन र आवश्यक सहजीकरण गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा जानकारी लिनका लागि शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालगायत नेपाली सेनाका उच्च अधिकारीहरूलाई बोलाएको थियो। बैठकमा प्रधानसेनापति शर्माले तोकिएकै समयमा द्रुत मार्ग निर्माण हुने बताए ।

त्यस्तै समितिले दार्चुला–टिङ्कर सडकलगायतका सेनाले बनाउँदै गरेका सडकहरुलाई पर्याप्त बजेट उपलब्ध गराउन पनि निर्देशन दिएको छ । समितिले उक्त क्षेत्रमा काम गर्ने सबै सैनिकहरूलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ । नेपाली सेनाले बनाउँदै गरेका सबै सडक आयोजनाहरू समयमै सम्पन्न गर्न र पि वान तथा राष्ट्रिय गौरवका आयोजनाका सन्दर्भमा आवश्यक निर्णय र सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई समितिले निर्देशन दिने भएको छ । समितिले काठमाडौं–तराई-मधेश द्रुतमार्गलगायत नेपाली सेनाले बनाएको सबै आयोजनाहरूमा स्थलगत अध्ययन तथा अवलोकन गर्ने निर्णय पनि गरेको छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण गर्न व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको ६ वर्षमा समग्र आयोजनाको प्रगति ३३.२० प्रतिशत पुगेको छ ।

तर, यही आयोजनाअन्तर्गत निर्माण भइरहेका ६ वटा सुरुङ मार्गको भौतिक प्रगति भने ७६ प्रतिशत छ । अहिले तीनवटा सुरुङको निर्माण जारी छ । सडक मार्गमा सबैभन्दा लामो दूरीको सुरुङ पनि यहीं बन्दै छ । उक्त मार्गमा पर्ने लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किमिका ३ वटा सुरुङ निर्माणाधीन छन् ।

महादेवटारमा ३.३५५ किमिमध्ये २.१३८ किमि सुरुङ खन्ने काम सकिएको छ । त्यस्तै धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.३९८ किमि सुरुङ खन्ने काम सकिएको छ । १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.३५० किमि खनिसकिएको आयोजनाले जनाएको छ । ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब १.५२९ किमि मात्र खन्न बाँकी छ ।

द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाखमा सेनालाई दिएको हो । जस अनुसार ०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने हो । उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ थियो । म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ । अहिलेसम्म समग्र आयोजनाको प्रगति कम रहेकाले थपिएको समयमा पनि काम सकिनेमा आशंका उब्जिएको छ । पूर्वाधारविज्ञहरूका अनुसार फास्ट ट्र्याक निर्माण भएर सञ्चालनमा आए उक्त मार्गमा दैनिक ५ हजार बढी सवारी साधन गुड्नेछन् । वार्षिक इन्धन बचत १० अर्ब र सवारी मर्मतमा १५ अर्ब रुपैयाँ बचत हुने आकलन गरिएको छ ।

त्यस्तै दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने पारवहन मार्गका रूपमा विकसित हुने हुँदा यसको छुट्टै रणनीतिक महत्त्व रहेको विज्ञहरूको भनाइ छ । फास्ट ट्र्याक निर्माण भएपछि निजगढबाट १ घण्टा २ मिनेटमा राजधानी आइपुग्न सकिनेछ ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख ७, २०८१ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?