१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

चैते धानको पीर

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम ४ की किसान खेमकुमारी लिम्बूले माघ अन्तिम साता १९ पाथी धान ब्याडमा छरिन् । टुसाउँदा-नटुसाँउदै बाँदरका बथानले ब्याडमै नष्ट गरिदिए । उनले राखेको १९ पाथीबाट बल्लतल्ल १ सय ५० मुठा बीउ निस्कियो ।

चैते धानको पीर

अहिले उनलाई खेत कसरी ढाक्ने भन्ने चिन्ता छ । भनिन्, ‘दुई/तीन त्यान्द्राको गाँज हालेर पातलो रोप्दा पनि खेत नढाकिने भयो । भोकै पो परिने हो कि ?’

खेमकुमारीको जस्तै चिन्ता चैते धान लगाइरहेका अन्य किसानहरुको पनि छ । फिदिम ५ का नन्दबहादुर श्रेष्ठलाई पनि बाँदर, खडेरी र रोग किराका कारण बीउ नसप्रिँदा हिलो आली गरिसकेको खेत बाँझिएला कि भन्ने चिन्ताले सताएको छ । चैते धान लगाइरहेका धेरैजसो किसानहरुले भोगिरहेको मुख्य समस्या भनेको बीउ नै नउम्रिने र उम्रिएको बीउ पनि बाँदर लगायतका जंगली जनावरले नस्ट गरिदिन्छन् कि भन्ने नै हो । पानी र मल बीउको साझा समस्या त उनीहरुले वर्षौंदेखि भोगी नै रहेका छन् ।

किसान जीतबहादुर यवाका अनुसार चैते धानको चुनौती ब्याड राख्नु अगाडिबाटै सुरु हुन्छ । माघ अन्तिम साता खडेरी लाग्यो भने बीउ नउम्रिने सम्भावना धेरै हुन्छ । उम्रिइसकेको धानको बीउ बाँदरले माडेर नष्ट गर्नका साथै चराचुरुङ्गीले पनि आहारा बनाउँछन् । उनले सुनाए, ‘रोपिसकेपछि पानीको मात्रा नमिल्दा धान मर्ने सम्भावना हुन्छ । गाँज सरेपछि पँधेरो सहितका रोग किराले सताउन थाल्छ, आवश्यकताअनुसार मल किन्न पाइन्न, किटनाशक औषधि नहाले उब्जनी नहुने पीर ।’

फिदिम ४ की गोमा श्रेष्ठले चैत लागेपछि भएका एकाध वर्षाले किसानमा आशा थपिदिएको सुनाइन् । भनिन्, ‘वर्षाले किसानमा झिनो आशा थपिएको छ । गाँज सर्‍यो भने एक, दुई मुरी फलिहाल्ला कि ?’

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत केशरबहादुर मग्राती संघ र प्रदेश सरकारबाट चैते धान लगाउने किसानलाई राहत दिने खालका कुनै कार्यक्रम नभएको बताउँछन् । भन्छन्, ‘सीमित स्रोत साधन र जनशक्तिका कारण किसानलाई सेवा दिन नसकेको साँचो हो ।’

बाली विकास निर्देशनालयको तथ्यांकअनुसार चैते धान कोशी प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन हुन्छ । प्रदेशभर १२ हजार ३ सय २७ हेक्टरमा यो धान खेती गरिन्छ । जसको उत्पादन ५० हजार ५ सय १ मेट्रिकटन छ । जसमध्ये हिमाली जिल्ला ताप्लेजुङमा २०७ र सोलुखुम्बुमा समेत ७७ हेक्टर जमिनमा यो धान खेती हुन्छ ।

प्रकाशित : चैत्र २४, २०८० २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?