१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिद्धबाबा सुरुङ निर्माण २ वर्षमा १२ प्रतिशत मात्रै

१.१२६ किमि लामो सुरुङको बाँकी ८८ प्रतिशत काम तीन वर्षमा सक्नुपर्ने, निलम्बनमा समेत परिसकेको चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीलाई नै एकपछि अर्को ठेक्का
विमल खतिवडा

काठमाडौँ — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म भौतिक प्रगति १२ प्रतिशत मात्र छ । बल्ल उत्तर र दक्षिणतर्फ सुरुङको पोर्टल (मुख) बनाउन थालिए पनि सुरुङ खन्ने काम भने सुरु नै हुन सकेको छैन ।

सिद्धबाबा सुरुङ निर्माण २ वर्षमा १२ प्रतिशत मात्रै

यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो ।

सुरुङको उत्तरतर्फको पोर्टल बनाउने काम पूरा भइसकेको छैन । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले दक्षिणतर्फको पोर्टल निर्माणका लागि भने काम भइरहेको बताए । ‘डिजाइनअनुसार साइट क्षेत्रमा चट्टानको अवस्था बुझ्न सुरुङ खनेर हेर्ने काम भइरहेको छ, जसअनुसार मेसिनको प्रयोग गरेर २० मिटर सुरुङ खनिसकिएको छ,’ उनले भने, ‘अबको दुई हप्ताभित्र विस्फोटक पदार्थ प्रयोग गरेर खन्ने भएकाले कामको गति बढ्नेछ ।’ शाक्यका अनुसार केही समय रूख कटान र डिजाइनले गर्दा निर्माणमा ढिलाइ भएको हो । ‘अब कुनै समस्या आइनपरे तोकिएकै समयभित्र काम सकिन्छ,’ उनले भने ।

सुरुङको ठेक्का लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी विभिन्न साइटका ठेक्का लिएर काम ढिला गर्नेमा बदनाम छ । नारायणगढ–बुटवल सडक विस्तार र काठमाडौं/तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पनि यही कम्पनीले लिएको हो । १ सय १३ किमि नारायणगढ–बुटवल सडक खण्ड विस्तारको प्रगति सन्तोषजनक छैन । २०७९ साउन २२ मा नै सक्ने गरी २०७५ पुस ५ मा ठेक्का लिएको चाइना स्टेटले काम नसकेपछि दोस्रो पटक २०८१ असारसम्मको म्याद पाएको छ । जबकि यो ५ वर्षमा ४३ प्रतिशत मात्रै काम भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नतिको यो ठेक्काको थप गरिएको म्याद पनि पाँच महिनामा सकिँदैछ । निर्माण कम्पनी पुनः म्याद थपका लागि अघि सरेको छ ।

सोही निर्माण कम्पनी चाइना कन्स्ट्रक्सनले सिद्धबाबा सुरुङ निर्माणको काममा पनि ढिलाइ गरिरहेको हो । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता लिएको यो कम्पनीले १.१२६ किमिको मुख्य सुरुङसहित ३ सय मिटर लामो आपत्कालीन सुरुङ बनाउनुपर्नेछ । यसको ठेक्का ईपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा भएको हो । जसअनुसार निर्माण व्यवसायीले नै प्राविधिकमार्फत डिजाइन गरेर सडक विभागको स्वीकृतपछि काम थाल्नुपर्ने हुन्छ । ‘नागढुंगा–सिस्नेखोला सुरुङमा भन्दा यहाँ चट्टान नरम भएकाले एक चरणमा दुई मिटरका दरले चट्टान काट्न मिल्नेछ,’ निर्देशक शाक्यले भने, ‘जसले गर्दा निर्माणको गति बढ्ने अपेक्षा छ ।’ निर्माण उपकरण पर्याप्त रूपमा ल्याएर कामको रफ्तार बढाउन निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको उनको भनाइ छ । ‘दुवै खण्डमा पहुँच सडकमा पर्ने पहाड काट्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म विस्फोट गराएर निर्माण नथालिएकाले पनि प्रगति कम देखिएको हो, अब सुरुङ खन्ने कामले गति लिनेछ ।’

समयमै काम नसक्ने कम्पनीका रूपमा चिनिएको चाइना स्टेटले फास्ट ट्र्याकमा पनि सुरुङ निर्माणको ठेक्का लिएर ढिलाइ गरेपछि निलम्बनमा परेको थियो । उक्त कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्म सुरुङ निर्माणको ठेक्का लिएको हो । ठेक्का तीन वर्षभित्र सक्ने गरी २०७८ वैशाख ३१ मा सम्झौता भएको थियो । तर गुणस्तरीय काम नगरेको र समयसीमाभित्रै काम नसकेको भन्दै उक्त कम्पनीलाई २०७९ जेठ ९ मा निलम्बन गरिएको थियो । तर पछि सोही कम्पनीबाट काम गराइयो । उक्त कम्पनीले २१ अर्ब ६१ करोड रुपैयाँमा सुरुङ निर्माणको ठेक्का पाएको हो । छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किमि छ । सिद्धबाबा जस्तै अन्य ७ वटा सुरुङको सम्भाव्यता अध्ययन सकिए पनि निर्माणको काम सुरु हुन सकेको छैन ।

प्रकाशित : माघ २५, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?