२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने

गोकुल थोकर

सोल — दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।  

दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने

कोरियामा मजदुर अभावलाई कम गर्नका लागि अहिलेसम्मकै बढी विदेशी कामदारलाई ल्याउन लागेको हो । दक्षिण कोरियाले नेपाल, पाकिस्तात, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्वेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।

कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजदुर र उद्योगीहरुको प्रतिनिधिहरु सहभागी हुन्छन् ।

सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार कामदारमध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना आउने छन् । कामदार मध्ये २१ हजार ४ सय ६० जना कोरियामा एक कार्यावधि काम गरेका प्रतिबद्ध कामदार हुनेछन् । एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्न सक्ने नियम छ । कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर पहिलो पटक कोरिया आउने नयाँ कामदारको रुपमा रहने छन् ।

कामदारमध्ये उत्पादन क्षेत्रमा ९५ हजार जना कामदार आउनेछन् भने कृषि क्षेत्रमा १६ हजार जना कामदार कोरिया आउन पाउनेछन् । पानी जहाज ५ हजार, निर्माणमा ६ हजार, सर्भिस क्षेत्रमा १३ हजार कामदार कोरिया आउनेछन् । त्यस्तै २० हजार कामदार भने माग बढी हुने क्षेत्रमा यहाँ ल्याउने गरी कोटा निर्धारण गरिएको छ । कोरियाली सरकारले पहिलो पटक ईपीएसमार्फत नै रेस्टुरेन्ट, होटेल, मोटेल र वनजंगल कटानी गर्नेजस्ता क्षेत्रमा पनि कामदार ल्याउने भएको छ ।

यो वर्ष तोकिएको २०२३ मा १ लाख १० हजार कामदार कोटा तोकिएकोमा हालसम्म ९८ हजार कामदार कोरिया आएका छन् । यसमध्ये नेपाली कामदार सबैभन्दा बढी २० हजार जना कोरिया आएका छन् ।

हालसम्म नेपाललगायत ईपीएसमार्फत काम गर्न कोरिया आएका कामदारको संख्या ३ लाख ५ हजार रहेको छ भने नेपाली कामदारको संख्या ५० हजारभन्दा बढी छ ।

प्रकाशित : मंसिर ६, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?