२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चार देशका भन्सार अधिकारीबीच छलफल, व्यापार सहजीकरणमा पहल गर्ने

पर्वत पोर्तेल

झापा — चार देशका भन्सार अधिकारीहरुको छलफलले सीमावर्ती क्षेत्रका भन्सार प्रशासनसँग सम्बन्धित समस्या पहिचान गरी एकअर्काले सहजीकरण गर्दै लैजाने निर्णय गरेको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को पहलमा मंगलबार धुलाबारीस्थित मेची क्राउनमा सम्पन्न नेपालसहित भारत, बंगलादेश र भुटानका सीमावर्ती भन्सार अधिकारीहरुको चौथो बैठकले त्यस्तो निर्णय गरेको हो ।

चार देशका भन्सार अधिकारीबीच छलफल, व्यापार सहजीकरणमा पहल गर्ने

भन्सार विभागले आयोजना गरेको बैठकलाई मेची भन्सार कार्यालयले सहजीकरण गरेको थियो । सासेकले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल र श्रीलंकाबीच क्षेत्रीय समृद्धि प्रवर्द्धनसँगै आर्थिक अवसरहरूको पहिचान गर्ने लक्ष्य राखेको छ । यसले दक्षिण एसियामा अन्तरक्षेत्रीय व्यापार र सहयोगलाई बढावा दिँदै ती देशबीच साझा दृष्टिकोणको खाँचो औल्याउँदै आएको छ । म्यानमार, चीनसहित दक्षिणपूर्वी एसियासँग सम्पर्क र व्यापार स्थापित गर्ने उद्देश्य सासेकको छ ।

‘सीमा भन्सारमा हुने समस्या समाधान गर्दै व्यापार सहजीकरणका लागि पहल गर्ने विषयमा चार देशका भन्सार अधिकारीबीच सामूहिक समझदारी भएको छ’, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भने,‘अन्तर सीमा व्यापारका विभिन्न आयामबारे पनि खुला छलफल गरेका छौं ।’

वैठकमा चारै देशका व्यापारिक समस्या, व्यापारीका गुनासाबारे पनि खुला रुपमा छलफल गरी कानुनी रुपमा कार्यान्वयनका लागि पहल गर्ने निर्णय भएको रेग्मीले बताए । बैठकमा बंगलादेश, भारत, नेपाल र भुटानका १८ जना प्रतिनिधि सहभागी थिए । जसमा भारतीय दूतावास र एसियाली विकास बैंकका चारै देशका प्रतिनिधि उपस्थित थिए ।

नेपालबाट भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, निर्देशक हरिहर पौडेल, उपमहानिर्देशक द्वय रमेश अर्याल, सेवन्तक पोखरेलको सहभागिता थियो । एसियाली विकास बैंकको समन्वयमा सासेक भन्सार उपसमूहको पहिलो वैठक भारतको सिलिगुढीमा सन् २०१७ मा सम्पन्न भएको थियो । त्यसयता सन् २०१८ मा बंगलादेशको बुरिमारीमा, सन् २०१९ मा भुटानको फुन्छ्योलिङमा र कोभिडअघि सन् २०२० मा भर्चुअल माध्यमबाट वैठक सम्पन्न भएको थियो । हालै बंगलादेशको ढाकामा सम्पन्न भन्सार उपसमूहको ११ औं बैठकले नेपालको झापामा चौथो सासेक सिमावर्ती बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।


प्रकाशित : आश्विन ३, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?