२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किसानलाई भन्दा व्यापारीलाई ‘गुलियो’

किसानसँग प्रतिकिलो ३० रुपैयाँमा किनेर ठूला व्यवसायीले थोक व्यवसायीलाई ४५/५० रुपैयाँमा बेच्छन्, तिनले खुद्रा व्यवसायीसँग किलोमा थप ५ रुपैयाँ असुल्छन्
भरत जर्घामगर

सिरहा — आम्रपाली, मालदह, बम्बई, दशहरी, कलकतिया जातका स्थानीय आँपले सिराहका स–साना बगैंचा भरिन थालिसकेका छन् । जिल्लाको ९ हजार ३ सय ५० हेक्टर जग्गाको आँप बगैंचाले यस वर्ष ९९ हजार ५ सय टन आँप उत्पादन गर्ने अनुमान कृषि ज्ञान केन्द्र सिरहाको छ । गत वर्ष जिल्लामा ९ हजार ५ हेक्टर जग्गामा ९८ हजार टन आँप उत्पादन भएको थियो ।

किसानलाई भन्दा व्यापारीलाई ‘गुलियो’

लामो खडेरी, फूल लाग्ने समयमा मधुवा किराको प्रकोप र दाना लागिसकेपछि हावाहुरीको क्षति नभइदिएको भए यस वर्ष झनै धेरै आँप उत्पादन हुने अनुमान थियो । सोचे जस्तो उत्पादन नहुँदा किसानले भोगिरहेको पीडामा बजार मूल्यले थप आहत थपेको छ । थोक विक्रेताहरूले बगैंचाबाट औसतमा प्रतिकिलो ३० रुपैयाँमा किनेको काँचो आँप खुद्रा विक्रेताको हातमा पुग्दा ४५ देखि ५० रुपैयाँ परिरहेको छ । डेढ बिघा जग्गामा आँप खेती गरेका सरहा गढियाका जुगेश्वर सहनी लहान बजारमा आँप बेच्न आएका थिए । उनले किसानले पाउने फाइदा व्यापारीको हातमा पुगिरहेको गुनासो गरे ।

उपभोक्ताको मुखमा आँपको गुलियो स्वाद पुग्नुअघि यसका किसानको अथाह दुःख मिसिइसकेको हुन्छ । जस्तो कि, चैतमा आँपको फूल फुल्न थालेदेखि नै कैयौं किसान आँपकै बगैंचामा सुतेर यसको रेखदेखमा खटिन्छन् । सिरहाको लहान नगरपालिका–२४ मल्हनवाका ५४ वर्षीय फुलेश्वरप्रसाद कुर्मी आँप बगैंचामा सुत्न थालेको चार महिना भयो । साढे दुई बिघा जग्गामा १ सय ५० बोट आँपखेती गरेका फुलेश्वरले बोटमा फूल खेल्नुअघिदेखि प्रत्येक बोटमा पानी पटाउने र मलखाद हाल्नेजसो काममा दिनहुँ खटिनुपर्ने बताउँछन् । ‘फूल खेल्ने बेला किरा मार्ने औषधि हाल्नेदेखि फल टिकाइराख्न दिनरात हेरचाह गर्नुपर्छ,’ उनले भने ।

गर्मीका सर्प र अनेक किराको जोखिम मोलेर बगैंचामा सुतेर उनले फलाएको आँप यति बेला बजारमा पुग्न थालिसकेको छ । १ लाख रुपैयाँ लगानी र घरपरिवारका सारा सदस्यको अथक मिहिनेतले फलेको आँप बेचेर चार लाख रुपैयाँ हात पर्छ । यसमा तीन लाख फाइदा हुने उनको अनुमान छ । यही आँपको कमाइले उनले छोरालाई एमबीबीबीएस र छोरीलाई हेल्थ असिस्टेन्ट पढाइरहेका छन् । अर्को छोरालाई लेखा व्यवसायी बनाएका छन् । आँप उत्पादनमा किसानले गर्ने दुःखबाट अरूले फाइदा लिइरहेको उनको गुनासो छ । ‘बजारमा पुग्ने हरेक दानामा हाम्रो पसिना परेको हुन्छ,’ उनले उपभोक्ताको हातमा पुग्ने बेलासम्म हुने अनेक चरणतिर संकेत गर्दै भने, ‘खानेलाई आँप ‘गुलियो’ होला, हामीलाई भने ‘अमिलो’ छ ।’

गढियाका जुगेश्वर सहनीले पौने दुई बिघा जग्गामा आँप खेती गरेका छन् । उनले आफ्नो उत्पादनमा व्यापारीले मनमौजी मूल्य तोक्ने प्रचलनप्रति पनि गुनासो गरे । ‘सरकारी निकायले आँपको पनि दररेट तोक्नुपर्‍यो,’ जुगेश्वरले भने, ‘व्यापारीको मनपर्दीले हामी किसान मारमा परेका छौं ।’

ब्रान्डिङ गरिँदै

पछिल्लो समय परम्परागत आँप खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने अभ्यास सुरु भएको छ । आँपको मुख्य संकलन केन्द्र रहेको लहानमा गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ‘लहानको आँप’ भनेर ब्रान्डिङ गरी ग्रेडिङ र प्याकेजिङ गरी बजार पठाउन सुरु गरेको छ ।

गत बिहीबार मेयर महेश चौधरीले आँप पठाउने कार्यक्रमको उद्घाटन गरे । यस पटक ब्रान्डिङ गरी ग्रेडिङ र प्याकेजिङ गरेर ९० हजार किलो आँप बजारमा पठाउने तयारी गरेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साहले सुनाए । ९ किलो तौलका १२ हजार प्याकेट पठाउने तयारीका लागि नगरपालिकाले सरस्वती कृषि फार्मसँग साझेदारी गरेको छ । नगरपालिकाले आँप बिक्रीका लागि लहान र काठमाडौंमा ‘लहानको आँप’को स्टल स्थापना गरेको छ ।

विषादी प्रयोग गरेको आँप बिक्री वितरण गर्न नपाउने गरी नीति अपनाउनसमेत सुरु गरिएको कृषि शाखा प्रमुख साहले जनाए । स्थानीय तहको सक्रियताले उपभोक्ताले स्वस्थकर आँप पाउने उनको भनाइ छ ।

प्रकाशित : असार १०, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?