२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नेपाली चियालाई भारतीय बजारकै भर

पर्वत पोर्तेल

झापा — चीनपछि सबैभन्दा बढी चिया उत्पादन गर्ने देश भारत भए पनि नेपाली उत्पादनको बजार भने भारतमै निर्भर  छ । पश्चिम बंगालसहित भारतका केही राज्यहरुमा नेपाली चिया खपत हुँदै आएको छ । युरोपलगायतका देशहरुमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आएका उद्यमी उदय चापागाईंका अनुसार नेपालले वार्षिक करिब २ करोड ३० लाख किलो चिया उत्पादन गर्छ ।

नेपाली चियालाई भारतीय बजारकै भर

जसमध्ये अधिकांश चिया भारत निर्यात हुँदै आएको छ । ‘उत्पादनको ८० प्रतिशत भन्दा बढी चिया भारतीय बजारमै खपत हुन्छ’, चापागाईले भने, ‘सीटीसी र अर्थोडक्स दुवै चिया भारत निर्यात हुन्छ ।’ मेची भन्सार कार्यालयको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा पनि पुष्टि हुन्छ कि नेपाली चियाको खपत भारतमा उच्च छ । पूर्वी नाकाबाट साउनदेखि वैशाखसम्म करिब ३ अर्बको १ करोड ४३ लाख किलो चिया निर्यात भएको छ । जसमा २ अर्ब ८७ करोड मूल्यको १ करोड ४१ लाख किलो चिया भारतकै लागि निर्यात भएको छ । बाँकी साढे २ करोड मूल्यको १७ हजार ४ किलो चिया जर्मनी, ६ करोड ३० लाख मूल्यको १ लाख १९ हजार किलो चिया रसिया, पौने १८ लाखको करिव १५ हजार किलो चिया नामिबिया तथा साढे २ करोड मूल्यको १७ हजार २ सय किलो चिया नेदरल्याण्ड निर्यात भएको छ । युरोपेली र अफ्रिकी देशहरु इलाम, पाँचथरमा उत्पादित अर्थोडक्स चियाको माग धेरै छ । ‘युरोपमा अर्थोडक्स चियाको माग उच्च छ । माग अनुसार निर्यात गर्न सक्ने हो भने चियाबाटै डलर भित्र्याउन गाह्रो छैन’ इलामका चिया उद्यमी बुद्ध तामाङ भन्छन् ।

भारतले पनि आफ्नो उत्पादनको अधिकांश चिया निर्यात गर्छ । भारतमा पश्चिम बंगाल, आसम, सिक्किम, नागाल्याण्ड, हिमाञ्चल, त्रिपुरा, अरुणाञ्चलजस्ता पूर्वोत्तर राज्यमा धेरैजसो चिया उत्पादन हुन्छ । १० बढी राज्यमा चिया उत्पादन भएपनि त्यहाँको आन्तरिक बजार नेपाली चियाले नै धान्ने गरेको व्यपारी बताउँछन् ।

पछिल्लो समय जलवायु परिवर्तन, श्रम समस्या, कम उत्पादकत्वका कारण भारतको चिया उत्पादनमा गिरावट आएको छ । ‘भारतमा उत्पादन घट्ने वित्तिकै नेपाली चियाको माग दोब्बर बढ्छ’, भद्रपुरका चिया उद्यमी आदित्य पराजुलीले भने, ‘अघिल्ला दुई वर्ष भारतमा कोभिडका कारण उत्पादन घट्दा नेपाली चियाको थप माग भएको थियो ।’

इन्डियन टी एक्सपोर्टस् एसोसिएसनका अध्यक्ष अंशुमान कनोरियाका अनुसार ठूलो आयातकर्ता जर्मनी आर्थिक मन्दीबाट गुज्रिएका बेला युरोपमा दार्जिलिङको चिया माग करिव १५ प्रतिशतले गिरावट आएको छ । उनका अनुसार रुस–युक्रेन द्वन्द्वका कारण प्रतिष्ठित दार्जिलिङ चियाको माग युरोपमा घटेको छ । ‘युरोपमा गत वर्षको तुलनामा १५ प्रतिशत कम माग भइरहेको छ’, उनले भने ।

पछिल्लो समय जापानमा पनि भारतीय चियाको निर्यात घटेको छ । दार्जिलिङ चिया वार्षिक उत्पादनको झण्डै आधा बढी युरोपियन मुलुकमा निर्यात हुन्छ । गत वर्ष ३० लाख किलोभन्दा बढी चिया निर्यात भएको इन्डियन टी एक्सपोर्टस् एसोसिएसनले जनाएको छ । दार्जिलिङ चियाको उत्पादनमा पछिल्लो समय क्रमिक गिरावट आएको एसोसिएसनले जनाएको छ । सन् २०११ मा करिव एक करोड किलो उत्पादन भएको दार्जिलिङ चिया सन् २०१६ मा करिव साढे ८० लाख किलो मात्रै भएको थियो ।

अध्यक्ष कनोरियाका अनुसार २०१७ भएको गोर्खाल्याण्ड आन्दोलनको प्रभाव सबभन्दा बढी चिया क्षेत्रमा परेको थियो । दार्जिलिङको चियालाई विश्व बजारमा प्रवर्द्धन गर्न सरकारबाट कुनै पहल नभएको उनको आरोप छ । दार्जिलिङमा मात्रै करिब ७० बढी चिया बगान छन् ।


प्रकाशित : जेष्ठ १९, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?