१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

कात्तिकभित्र ठेक्का नगरे बजेट रोक्का

काठमाडौँ — आयोजनाहरू कार्यान्वयनका लागि अब कात्तिकभित्र ठेक्का व्यवस्थापनको काम गरिसक्नुपर्ने भएको छ । समयमै ठेक्का प्रक्रिया अगाडि नबढेका कार्यक्रममा विनियोजित रकम रोक्का गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए । ‘आगामी आर्थिक वर्षको असोज मसान्तसम्म एवं असार महिनामा रकमान्तर र कार्यक्रम संशोधन गरिनेछैन,’ बजेट वक्तव्यमा भनिएको छ, ‘दुर्गम र पिछडिएका क्षेत्रका आयोजना तथा कार्यक्रममा विनियोजित रकम अन्यत्र सार्ने प्रवृत्तिलाई कडाइसाथ निरुत्साहित गरिनेछ ।’

कात्तिकभित्र ठेक्का नगरे बजेट रोक्का

विकास आयोजना तथा कार्यक्रमका निर्धारित लक्ष्य हासिल गर्न आयोजना प्रमुख र विभागीय प्रमुखलाई जिम्मेवार बनाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । पटकपटक आयोजना प्रमुख फेरिँदा कार्यान्वयनमा प्रतिकूल असर पर्ने गरेकाले आयोजना अवधिभर निश्चित अवधि तोकी आयोजना प्रमुख खटाउने र कार्यसम्पादन प्रगतिका आधारमा मात्र प्रमुख हेरफेर गरिने बताइएको छ ।

निर्माण व्यवसायीले मुलुकभर लिएका ठेक्का सम्झौताको विवरण र कार्यप्रगतिको आवधिक विवरण एकीकृत रूपमा प्राप्त हुने गरी सूचना प्रणाली विकास गरिने जनाइएको छ । यस प्रणालीका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताको प्रगति अनुगमन गर्ने र अनुगमनबाट गम्भीर प्रकृतिका लापरबाही देखिए सम्बन्धित आयोजनाले पेस गरेको प्रतिवेदनका आधारमा निर्माण व्यवसायीको इजाजतपत्र रद्दसम्मका कारबाही गर्न सकिने गरी कानुनी व्यवस्था गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्र नै तर्जुमा गरी कार्यान्वयनमा लगिने जनाइएको छ ।

कार्ययोजनाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट नियमित रूपमा अनुगमन गरिनेछ ।

प्रकाशित : जेष्ठ १६, २०८० ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?