२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
बजेट ०८०/०८१

भौतिकमा पुरानै कार्यक्रमलाई निरन्तरता, बजेट घट्यो

विमल खतिवडा

काठमाडौँ — सबैभन्दा बढी विकास निर्माणका काम हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३० अर्ब रुपैयाँ घटाइएको छ । चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट पाएको यस मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ का लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ पाएको हो ।

भौतिकमा पुरानै कार्यक्रमलाई निरन्तरता, बजेट घट्यो

आगामी आर्थिक वर्षमा मन्त्रालयअन्तर्गत पुरानै कार्यक्रम दोहोरिए पनि धेरैजसो आयोजनाको बजेट घटाइएको छ । बजेट घट्नेमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अघि छ । यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३० अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । अहिले यस आयोजनाको बजेट ७ अर्ब ५७ करोड रुपैयाँ घटाइएको हो । सबैभन्दा बढी बजेट पाएर कम खर्च गर्नेमा पर्ने आयोजनाको म्याद ०८१ मंसिरसम्म छ । तर भौतिक प्रगति २२.४७ प्रतिशत मात्र छ । उक्त समयमा काम नसकिने देखिएपछि सरकारले म्याद ०८३ चैतसम्म थपेको छ । नागढुंगा–सिस्ने खोला सुरुङको पनि बजेट घटाइएको छ । चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड बजेट पाएको उक्त सुरुङमार्गलाई आगामी आर्थिक वर्षलाई ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

सुरुवाती ठेक्का सम्झौताअनुसार सुरुङ निर्माणको काम नसकिएपछि यसको पनि एक वर्ष म्याद थपिएको छ । यसको ठेक्का गत वैशाखमा सकिएको हो । काम नसकिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । त्यस्तै आगामी आर्थिक वर्षमा नागढुंगा–नौबिसे सडक खण्डको स्तरोन्नति पनि अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ । नौबिसे–मुग्लिङ खण्डको २५ किमि सडक निर्माण तथा स्तरोन्नतिका लागि २ अर्ब १६ करोड, मुग्लिङ–पोखरा सडक विस्तार गर्न ५ अर्ब ४२ करोड विनियोजन गरिएको छ । चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) विस्तार गर्न २ अर्ब ७ करोड रुपैयाँ छुट्याइएको छ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने भन्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तारको काम आगामी आर्थिक वर्षमा सकिने बजेट वक्तव्यमा उल्लेख छ । तर यी दुबै सडकमा सोचेअनुरूप भौतिक प्रगति भएको छैन । कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिंगे, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुबाङ सडक खण्डको स्तरोन्नतिको काम आगामी आर्थिक वर्षमा सुरु गरिने अर्थमन्त्री महतले जनाए ।

पूर्व–पश्चिम राजमार्गमै पर्ने नारायणी नदी र तिनाउ नदीमा भने सिग्नेचर पुल निर्माण सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ । पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड छुट्याइएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, बागलुङ, जाजरकोटलगायत विभिन्न १२ खण्डको निर्माण तथा स्तरोन्नति गर्न ३ अर्ब ९६ करोड र हुलाकी राजमार्गअन्तर्गत तराई मधेशका ८ खण्डको सडक निर्माण तथा स्तरोन्नतिका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट छुट्याइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेलधुरा खण्डको निर्माण तथा स्तरोन्नतिका लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

कर्णाली करिडोरअन्तर्गत खुलालु–सलिसल्ला खण्ड र हिल्सा–सिमकोट खण्ड निर्माणका लागि ९७ करोड र कालीगण्डकी करिडोरका लागि १ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ । कोशी करिडोरका लागि ८० करोड छुट्याइएको छ । अन्तरदेशीय व्यापारिक मार्गका रूपमा रहेको गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिलाई ५१ करोड रुपैयाँ विनियोजन गरिएको छ । ललितपुरको ग्वार्को, सातदोबाटो, एकान्तकुना र काठमाडौंको कोटेश्वरमा फ्लाइओभर र अन्डर पास निर्माण अघि बढाइने अर्थमन्त्री महतले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८० ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?