संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो

एजेन्सी

काठमाडौँ — संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ । यूबीएसले स्वीस बैंकलाई ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिदको सम्झौता गरेको हो । १६७ वर्ष पुरानो स्वीस बैंकले समयमै तरलताको व्यवस्थापन गर्न नसक्दा संकटग्रस्त बनेको थियो ।

तरलता व्यवस्थापनका लागि स्वीस बैंकले यसअघि आफ्नो मुख्य लगानीकर्ता साउदी नेसनल बैंकसँग थप आर्थिक सहायता माग गरेको थियो । तर साउदी नेसनल बैंकले थप सहायता प्रदान गर्न नसक्ने बताएपछि संकटग्रस्त बनेको बैंक अन्ततः यूबीएसले खरिद गर्ने भएको हो । साउदी नेसनलले स्वीस बैंकको ९.९ प्रतिशत सेयर स्वामित्व ग्रहण गर्दथ्यो ।

साउदीले प्रतिसेयर ३.८२ स्वीस फ्र्यांक (४.१२ अमेरिकी डलर)का दरले सेयर खरिद गरेको थियो तर अब यूबीएसले बैंकको सेयर प्रतिकित्ता ०.७६ फ्र्यांक (०.८२ अमेरिकी डलर)का दरले खरिद गरेको छ । साउदी नेसनल बैंकले क्रेडिट स्वीसमा भएको लगानीवापत ८० प्रतिशत नोक्सानी ब्यहोरेको जनाएको छ । साउदी नेसनल बैंकका अध्यक्ष अम्मार अल खुदियारीले आतंक सिर्जना गराई बैंकमाथि षडयन्त्र गरिएको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीसँग उनले भनेका छन् ‘एउटा आतंक सिर्जना गरी अनुचित कार्य गरियो, यसप्रति मेरो आपत्ति रहन्छ ।’ यूबीएसको खरिदबाट मात्रै बैंकिङ प्रणालीमा स्थायित्व नहुने भएकाले प्रणालीगत जोखिम कायमै रहने स्वीसका अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । त्यसअघि अमेरिकाका दुई बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक पनि तरलता समस्याका कारण बन्द हुन पुगेका थिए । त्यहीं घटनाक्रमको आफूहरूलाई सबैभन्दा ठूलाे असर परेको क्रेडिट सुइसका अध्यक्ष एक्सेल लेहम्यानले बताएका छन् ।


प्रकाशित : चैत्र ६, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीका ६ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले एक-एक लाख रुपैयाँ दिने 

यू–१९ टोलीका ५ खेलाडीलाई जनही ५० हजार दिने
घनश्याम गौतम

देउखुरी, दाङ — लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लुम्बिनी प्रदेशका खेलाडीहरुलाई प्रति व्यक्ति एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

सोमबार दाङको देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्‍याउन सफल लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं खानेपानी, ग्रामिण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले बताए ।

आईसीसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रूपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी, र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका लुम्बिनी प्रदेशका ५ जना खेलाडीहरुलाई पनि प्रतिखेलाडी पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय सरकारले गरेको छ । हालै यूएईमा सम्पन्न यू–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यू–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश निजामती कर्मचारीसम्बन्धी विधेयक थप परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश सरकारले निजामती कर्मचारी विधेयक तयार गरी प्रदेशसभामा लैजाने तयारी गरेको थियो । तर, प्रदेश लोक सेवा गठन भएर काम गरिरहेकाले प्रदेश सरकारसँग सम्बन्धित कर्मचारीहरुको नियुक्ति, व्यस्थापनलगायतका विषयमा आयोगको परामर्शबाट निर्णय गर्दा सहज हुने देखिएकाले प्रदेश लोक सेवा आयोगमा थप परामर्शका लागि पठाइएको मन्त्री आचार्यले बताए ।

त्यस्तै सरकारले प्रदेशको आन्तरिक स्रोत, बजेट परिचालन र आर्थिक संकटको व्यस्थापनका लागि लुम्बिनी प्रदेश सरकारको २० प्रतिशत बजेट कटौती गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×