२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आयल निगमले नै किन्यो विद्युतीय गाडी 

कान्तिपुर संवाददाता

काठमाडौँ — पेट्रोल, डिजेल बिक्रीका लागि एकाधिकार पाएको नेपाल आयल निगमले नै विद्युतीय गाडी खरिद गरेको छ । पहिलो चरणमा निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।

आयल निगमले नै किन्यो विद्युतीय गाडी 

इन्धनको उच्च खपतलाई न्यूनीकरण गर्दै लैजानुपर्ने अहिलेको आवश्यकता रहेकाले विद्युतीय गाडी खरिद गरिएको निगमले जनाएको छ । निगमका उपनिर्देशक मनोज ठाकुरले इन्धनको खपत घटाउनुपर्ने अहिलेको आवश्यकता भएकाले उदाहरणस्वरुप निगमले नै विद्युतीय गाडी किनेको बताए । केन्द्रीय कार्यालयका लागि गाडी प्रयोगमा आउने उनले बताए । 'पेट्रोल, डिजेलको खपत घटाएर अब विद्युतीय सवारीको प्रयोग बढाउने नीतिअनुरुप हामीले नै गाडी खरिद गरेका हाैं' उनले भने । साथै आउने दिनमा निगमका पेट्रोल/डिजेल सवारीलाई समेत विद्युतीयमा रुपान्तरण गर्ने अवसरको खोजीमा रहेको उनले बताए ।

बीवाईडीका लागि नेपालमा रहेको आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय गाडी अल न्यू ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरसम्म यात्रा गर्न सकिने बताइन् । विद्युतीय गाडीको प्रयोग गरी पेट्रोलियम पदार्थमाथिको निर्भरता हटाउन सके मुलुकको ब्यापार घाटामा समेत राहत मिल्ने उनले बताइन् । उनले भनिन् ‘आयल निगमले नै विद्युतीय गाडी प्रयोग गर्न थाल्नुले राम्रो सन्देश जानेछ, नेपालमा विद्युतीय सवारीको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ ।’


प्रकाशित : फाल्गुन ३०, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?